हिल बिजिनेस समीट : पहाड़मा उद्योग व्यवसाय स्थापित गर्न चाहने उद्योगपति वा कम्पनीहरूलाई जीटीएले गर्ने सहयोग

दार्जीलिङ, 28 फरवरी


हिल बिजिनेस समिट नामले आगामी 13 अनि 14 मार्चमा सम्पन्न हुन गइरहेको इण्डस्ट्रियल बिजिनेस मीटको आयोजनको सबै सरकारी औपचारिकताहरूमाथि छलपल गर्न हिजो 27 फरवरीको दिन कलकत्ताको पार्क होटेल कन्फरेन्स हलमा जीटीए अनि कन्फेण्डेरेशन अफ इण्डियन इण्डस्ट्रीज (सीआईआई)-माझ एक बैठक सम्पन्न भयो। जीटीए अनि पश्चिम बङ्गाल सरकारको संयुक्त आयोजनामा दार्जीलिङ पहाड़मा पहिलोचोटि सम्पन्न हुन गइरहेको उक्त समिटको सीआईआई समिट पार्टनर हुन्।

उक्त बैठकमा हिल बिजिनेस समीटलाई सफल बनाउने विषयलाई लिएर धेरै चर्चा परिचर्चा गरियो भने धेरैवटा महत्त्वपूर्ण निर्णयहरू पनि लिइएको बताइएको छ।

सीआईआईको तर्फबाट उक्त समिटलाई सफल बनाउनको निम्ति 31 वटा निवेशकहरू आमन्त्रण गरिएको छ जसमा आइटीसीका चेयरम्यान, आम्री अस्पतालका चेयरम्यानलगायत पर्यटन उद्योग, चिया उद्योग, चिकिस्ता उद्योगलगायत  थुप्रैवटा उद्योगहरूको नामचीन उद्योगपतिहरू रहेका छन्।

जीटीएको पक्षबाट सभालाई सम्बोधन गर्दै जीटीए, बीओए अध्यक्ष विनय तामाङले पहिलोपल्ट दार्जीलिङ पहाड़मा उक्त समिट सम्पन्न हुन गइरहेको र जीटीए उक्त समिटलाई सफलताको साथ सम्पन्न गर्न पूर्णरूपले तयार रहेको बताए। पहाड़मा उद्योग व्यवसाय स्थापित गर्न चाहने उद्योगपति वा कम्पनीहरूलाई जीटीएको तर्फबाट हरसम्भव सहयोग प्रदान गरिने पनि उनले आश्वस्त गराए।

बैठकमा जीटीएको तर्फबाट जीटीए बोर्ड अफ एडमिनिस्ट्रेटर्स अध्यक्ष विनय तामाङ, मुख्य सचिव सुब्रत विश्वास, सचिव सी, मुर्गन, दार्जीलिङका विधायक अमरसिंह राई, खरसाङका विधायक डा. रोहित शर्मा आदिले सहभागिता जनाएका थिए भने पर्यटन, आइसी एण्ड ई, एमएसएम एण्ड टी, आइटी एण्ड ई, एग्रीकल्चर, टेट, ट्रान्सपोर्ट, हेल्थ, हायर एडुकेशन, एफपीआईएच, नर्थ बेङ्गल डेभलोभमेन्ट बोर्डलगायत जीटीए आदि विभागहरूले भाग लिएका थिए। उक्त बैठक नवान्नमा बिहान 11 बजीदेखि 1.30 सम्म भएको थियो।

आज पारित गरिएका प्रस्तावहरू

-पहाड़ अनि समतलका किसानहरूको निम्ति सिलगढ़ीमा अक्सन केन्द्र निर्माण गर्ने।

-दार्जीलिङ पहाड़को पर्यटन प्रोमोट गर्न एको टुरिज्म अनि होम- स्टे परियोजनाहरू शुरू गरिने।

-पहाड़मा एडभेञ्चर स्पोर्ट्स प्रशिक्षण शुरू गर्ने।

-हेरिटेज टुरिज्म प्रोमोट गर्ने। पुराना हेरिटेज बिल्डिङहरूलाई हेरिटेज होटेलको रूपमा परिणत गर्ने।

यसबाहेक आजको अन्तर्विभागीय सभामै हिल बिजिनेस समिटको समय अनि स्थान अनि निश्चित गरिएको जसअनुसार आगामी 13 मार्चको दिन हुने पहिलो दिनको उद्घाटनी समारोहको उद्घाटन माननीय मुख्यमन्त्री ममता व्यानर्जीले गर्नेछिन्।

उक्त अपराह्न 2 बजीदेखि चौरास्ता माल परिसरमा सम्पन्न गरिनेछ।

दोस्रो दिन अर्थात् 14 मार्चको कार्यक्रम बिहान 11 बजीदेखि 1. बजीसम्म अनि 1.30 देखि 2.30 बजीसम्म गरेर दुई चरणमा सम्पन्न हुनेछ। मुख्यरूपले समिटमा भाग लिने विभिन्न विभागका सचिवहरूमाझ अन्तर्क्रियात्मक कार्यक्रम हुनेछ। अपराह्न 3 बजी माननीय मुख्यमन्त्री ममता व्यानर्जीले हिल बिजिनेस समिटको समापन गर्नेछिन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया