ड्रीम थिएटरमा अज्ञात उपद्रवीहरूद्वारा तक्निकी सामाग्रीहरू नष्ट, एक सातासम्म थिएटर बन्द रहने

कालेबुङ, 28 फरवरी।

बाहिरका उद्योगपतिहरूलाई पहाडमा निवेश गर्नका निम्ति जीटीएले औद्योगिक भेला गरेर सहमतिमा ल्याउने प्रयास गरिरहेको बेला यता अघिबाटै निवेश गर्नेहरूको सुरक्षा विषयलाई लिएर भने प्रश्न चिन्ह खडा भएको छ।

कालेबुङमा निर्मित आधुनिक सुविधा युक्त सिनेमा घर ‘ड्रिम थिएटर’ तोडफोड भएको घट्नाले उक्त प्रश्न खडा गरेको हो। कालेबुङको 9 माइलमा माबो चेम्जोङ अनि सुषमा चेम्जोङले निवेश गरेर आधुनिक सुविधा सम्पन्न सिनेमा घर ‘ड्रिम थिएटर’ निर्माण गरेका छन्। कालेबुङका मानिसहरूलाई ठूलो पर्दामा चलचित्र हेर्नका निम्ति सम्पूर्ण सुविधा युक्त रहेको ‘ड्रिम थिएटर’ मा केही उपद्रवीहरूले गत राती ‘प्रोजेक्सन रूम’ भित्र पसेर तक्निकी सामाग्रीहरू नष्ट गरिदिएका छन्।

अज्ञात उपद्रवीहरूले रातीको समयमा ड्रिम थिएटरको प्रोजेक्सन रूमको पछिल्लो दैलोबाट पसेर भित्र रहेका तक्निकी सामाग्रीहरू नष्ट गरेको कारण अब उसो लगभग एक सप्ताहसम्मका निम्ति कालेबुङका मानिसहरूले ड्रिम थिएटरमा कुनै पनि चलचित्र ठूलो पर्दामा हेर्न सक्ने सुविधा नपाउने भएका छन्। यता लाखौँ खर्च गरेर सिनेमा उद्योगका निम्ति निवेश गर्ने माबो चेम्जोङ अनि सुषमा चेम्जोङलाई पहाडमा नै निवेश गरेर व्यापार गर्न एकपल्ट सोंच्नपर्ने अवस्थामा पुऱ्याएको उनीहरूले बताएका  छन्।

आफ्नै ठाउँमा निवेश गरेर व्यापार गरे आफ्नै ठाउँको विकास सँगै यहाँकै मानिसहरूले रोजगारको सुविधा पाउने सोंच राखेर आफूहरूले निवेश गरेको भए तापनि यस प्रकारको घटनाले धेरै दुखित तुल्याएको चेम्जोङ परिवारले बताएका छन्।

“हामीले कालेबुङ अनि कालेबुङवासीको निम्ति भनेर नै सुविधासम्पन्न यो ड्रिम थिएटर शुरू गरेका थियौं तर अहिले जुन प्रकारको घटना भएको छ यसले धेरै नै दुख लागेको छ”- सुषमा चेम्जोङले भनिन्। “यस प्रकारको कार्य गरेर जहाँ हामीलाई धेरै नै नोक्सानी पुऱ्याएका छन् भने यसको कारण दर्शकहरूलाई पनि असुविधा बनाएका छन् उपद्रवीहरूले जसको कारण हामीलाई धेरै दुख लागेको छ- उनले अझ भनिन्। उपद्रवीहरूले सिनेमाघरको प्रोजेक्सन रूमभित्रका तक्निकी समाग्रीहरू नष्ट गरेर केवल चेम्जोङ परिवारलाई मात्र नोक्सान पुऱ्याउने कार्य गरेको होइन तर आफ्नै कालेबुङको सम्पत्तीलाई नष्ट गरेको पनि उनले बताइन्।

चेम्जोङ परिवारलाई अहिलेघरी ‘ड्रिम थिएटर’ को प्रोजेक्सन रूमभित्र पसेर अपद्रवीहरूले तक्निकी सामाग्रीहरू नष्ट गरेपछि आफ्नै निवेश पुञ्जी जोगाउन गाह्रो परिरहेको छ। यस्तो अवस्थामा ड्रिम थिएटर आधुनिक सुविधासम्पन्न कालेबुङका जनताको सम्पति रहेको कारण यस्ता सम्पत्ति जनताले सुरक्षा गर्नुपर्ने कुरामा माबो चेम्जोङले जोड दिएका छन्।

“आफ्नो ठाउँको निम्ति केहि गरौं भनेर निवेश गरे वापत पनि यस प्रकारको घटना दोहोरिए के पुन: निवेश गर्न सकिएला र?”- माबो चेम्जोङले प्रश्न गरेका छन्। सुषमा चेम्जोङले पनि कालेबुङका जनताप्रति खेद प्रकट गर्दै उपद्रवीहरूले सिनेमाघरको प्रोजेक्सन रूमभित्रका तक्निकी समाग्रीहरू नष्ट गरेको कारण केही समयसम्म सिनेमा देखाउन नसक्ने सन्देश दिँदै सबैलाई सहयोग गरिदिने आह्वान गरेकी छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया