तेञ्जिङ शेर्पाको नाममा फूटबल : जित्नेलाई 1 लाख

दार्जीलिङ, 28 फरवरी।


हिमपुरूष तेञ्जिङ शेर्पालाई श्रद्धार्पण गर्नको लागि युनाइटेड शेर्पा एसोसिएशनले शुरू गरेको फूटबल प्रतियोगिताको फाइनल खेल आगामी 3 मार्चको दिन रिम्बीक-लोधेमाअन्तर्गत फिञ्चेटार खेल मैदानमा हुने एसोसिएशनका अध्यक्ष दावा नर्बु शेर्पा र महासचिव टाँसी शेर्पाले जानकारी गराए।

शेर्पा सङ्गठनले गत वर्षदेखिनै फूटबल खेलको आयोजना गरिरहेको छ, जसमा विजेता दललाई यस वर्ष 1 लाख अनि उपविजेता दललाई 50 हजार रूपियाँ पुरस्कारस्वरूप दिने तय गरेको छ। उनीहरूले बताएअनुसार, देशका गौरव अनि विश्‍वभरिनै परिचित तेञ्जिङ शेर्पालाई कसरी सम्मन गर्न सकिन्छ भन्ने विषय लिएर संगठनले चर्चा-परिचर्चा गरेको थियो, जसमा बाल-बालिकादेखि वृद्ध-दृद्धाहरूसम्मका लागि चासोको विषय बनेको फूटबल खेलको आयोजना गर्ने विषयमा निर्णय भयो।

जसअनुसार, गत वर्षको माघे संक्रान्तिको छेक पारेर फूटबल प्रतियोगिता शुरू गरिएको थियो। जसको गुणस्तरसँगै यस वर्षदेखि यसको पुरस्कार राशिमा पनि बढ़ोत्तरी गरिएको छ। गत वर्ष विजता दललाई 50 हजार र उपविजेता दललाई 30 हजार रूपियाँ प्रदान गरिएको थियो भने यस वर्ष यो राशि बढ़ाएर 1 लाख र 50 हजार बनाइएको छ। जसमा भाग लिन यस वर्ष पनि नेपाल, सिक्किम, सिलगढ़ी तथा दार्जीलिङ पहाड़का लगाएर 32 वटै दल भएका थिए, जसमध्ये आगामी 3 मार्चको दिन कर्मटार बनाम रङ्बुलमाझ भिड़न्त हुनेछ।

उनीहरूले भने-फिञ्चेटारमा आयोजना गरिएको फूटबल खेलको गुणस्तर वर्षेनी बढ़िरहेको छ। यसैले यस वर्ष सिलगढ़ीको फूटबल टीमले नाइजेरियाबाट बरो गरेर खेलाड़ीहरू ल्याएको थियो। युनाइटेड शेर्पा एसोसिएशनले आगामी दिनमा तेञ्जिङ शेर्पाको नाममा खेलाउन थालिएको यस फूटबल खेललाई दार्जीलिङमा जीटीएको अधीनमा खेलाउन शुरू गरियोस् भन्ने पनि चाहना राखेको छ। ताकि देशका गौरव स्व. तेञ्जिङ शेर्पाको नाममा खेलाइएको यस फूटबल खेलले अझै व्यापकता पाउन सकोस् अनि यसलाई गोल्ड कपको रूप प्रदान गरियोस्, उनीहरूको माग वा चाहना छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया