सिरिया सङ्कट अनि मानवताको पक्षमा लेखिएका केही कविताहरू

(संसारभरि एकपटक सम्पूर्ण सोसल मिडिया जाम हुनेगरी एक हप्ता सबैले  #SaveSyria र #SaveHumanity ह्यासट्याग सहित स्टाटस/कविता/मुक्तक/हाईकु जे हुनसक्छ त्यो लेखौं । मानवताको पक्षमा उभिऔँं।-खबरम्यागजिन)

 

सि रि या 
भूपिन खड्का

जब बारूदको ओछ्यानमा बन्दुकसँग सुत्छ बादशाह
देश कसरी स्वर्ग रहन्छ ?

जब नानीहरू
उज्यालो खस्ने आकासबाट बम खस्ने भयले
शिर उठाएर आकास हेर्न डराउँछन्,
जब नानीहरू
फाटेको घरको भित्ताबाट गोली छिर्ने चिन्ताले
घरको आँगन हेर्न डराउँछन्
देश कसरी स्वर्ग रहन्छ ?

कसरी स्वर्ग रहन्छ देश
जब कोही बच्चा स्कुल जाँदाजाँदै
उसको सबैभन्दा प्रिय भर, बाको औँला छुट्छ ?
जब कोही नानी
अनुहारमा रगतले कोरिदिएको पेन्टिङ लिएर
भग्नावशेष गल्लीमा एकोहोरो रोइरहेको भेटिन्छ
जब बमले उडाएको आफ्नै आमाको हात चपाउँदै
भोक मेटिरहेको हुन्छ कोही अबोध बालक
या कोही बचेरा
डढेको कपाल र फुटेको नाथ्री समाउँदै
जब लुगलुग काँप्दै बसिरहेको हुन्छ एम्बुलेन्समा
वा चिप्लेकिराको सिङजस्तो
क्यामेराको लेन्स देख्दा समेत
हात उचालिरहेको हुन्छ आत्मसमर्पणमा
देश कसरी स्वर्ग रहन्छ ?

पुटिन या ट्रम्प
बन्दुकको वेश्यालयलाई चर्च बनाएर
तिमी बारूदको अगरबत्ति बालिरहेछौ
एकथरी बनाइरहेछौ सरकारलाई ग्राहक
र बन्दुक बेचिरहेछौ।
अर्कोथरि बनाइरहेछौ विद्रोहीलाई ग्राहक
र मिसाइल बेचिरहेछौ ।

वाह ! क्या जुक्तिले
बनाएर राष्ट्रसङ्घलाई गोजीको रूमाल
तिमीहरू मानिस मार्ने धन्दा चलाइरहेछौ !

जब तिमीजस्ता राक्षसहरूले
कुन्दाले रेटीरेटी
लखेटीलखेटी
मार्न थाल्छौ देवताजस्ता केटाकेटी
देश कसरी स्वर्ग रहन्छ ?

इस्लामिक स्टेट र बसर अल असद
ध्वस्त सहरको ध्वस्त सडकमा उभिएर
सारा भाषामा भनिने
सबैभन्दा अश्लिल गालीहरू सोचिरहेछु म
र तिमीलाई समर्पित गरिरहेछु
स्वीकार !

सुन, म त्यही अभागी कवि हुँ यस देशको
जसले कन्चटमा गोली लागेकी छोरीको
अन्तिम बिलौना सुनेको थियो-
‘नरोऊ बा
म सबै कुरा अल्लाहलाई सुनाउने छु !’

मलाई थाहा छ-
अब कुनै अल्लाहले सुन्ने छैन मेरी छोरीको पुकार
किनकि
जसको कारण असंख्य मानिस मारिन्छन् यो धरतीमा
जिजस र तेत्तिसकोटी ईश्वरझैँ
अल्लाह पनि एक खतरनाक बम हो
र धर्म हो मानिसको खराब आविष्कार ।

तर म तिम्रो र ईश्वरको विरूद्ध
कविता लेखिरहने छु
मेरो हत्या नहुन्जेल ।


कस्तो होला आजको बिहान
सिरियामा 

सञ्जीव छेत्री

आज बिहान म ब्युँझदा
बाबाले गाइ दुहिसकेका थिए
आमाले सेतो पातलो लुगाको चाल्नीमा
तारेर त्यो ग्यासमा टेकाइसकेकी थिइन्
सुशीलाले मेरो लागि ब्ल्याक टी बनाइसकेकी थिइन्
र प्रणवले हिज राती होम वर्क गरेर असरल्ल छाडेको किताब – खाता
समेटेर ब्यागमा हालिदिइसकेकी थिइन् |
बाबालाई आज ब्रोकोलीको बारीमा केजाती गर्नु थियो
आमालाई उतेसको बिहामा जानु थियो
सुशीला अस्तिदेखि उजाती गर्नुपर्छ भन्दै थिइन्
प्रणव उठेको थिएन

अस्तिको हप्ता एलियोन दादा
आमाको फोटो बोकेर होस्टेल गएदेखि
आमा निकै खोज्छ प्रणव
ऊ सुत्दा आमा छेउमै भइदिनुपर्छ
ऊ उठदा आमा छेउमै गइदिनुपर्छ

आज उठेर चेस खेल्नुपर्छ भनेको छ मसित
ऊ उठेपछि दिन शुरू हुन्छ
धेरै दिनपछि घर आएको छु
मलाई छुट छ |

म प्रणवसित खेल्छु
आमा बिहामा जानुहुन्छ
बाबा बारीमा जानुहुन्छ
सुशीला घरधन्दा गर्छिन्
बारासी फुपू पानी जोर्न आउनेछिन्
बिहान बित्नेछ आरामले|

खालि एउटै पीडा
मुटु कुटुकुटु खाइरहेछ आज
कस्तो होला आजको बिहान
सिरियामा।


मेरो स्यानु साथी

राबत

चुम्बन मात्र धान्न सक्ने
तिम्रो कपासे निधारमा
थपक्क आएर बस्यो चट्टान !

हावाले कुल्चँदा पनि बिझाउने
तिम्रो नौनी छातीमाथि
बारूदले खेल्यो होली !

काँ…चो दूधको
स्वाद पनि नउडेको तिम्रो गिजाले
ओ…हो !
कस्तरी चपाउनुपऱ्यो मृत्यु !

मलाई माफ गर,
मेरो स्यानु साथी !

सातसमुद्र पारिको देशबाट
तिम्रो यो अङ्कलले
एकथोपा आँसु बाहेक
केही दिन सकेन ।


सिरिया

 बिकाश रोका मगर 

यो समय
ठिक यस्तै केही हुँदैछ –
म नलेख्न सक्दो छु – तिम्रो नाममा कुनै कविता।

चिहानबाट बौलिएर आएको छ – मृत्यु
तिम्रो पवित्र आँगनमा।
र बनाइहिँडेको छ – खरानीको कुरूप नक्सा।

नानीहरूको कोमल आँखामा
बसेको छ त्रासको डरलाग्दो चित्र
जसबाट आँशुको सट्टामा झर्छ डरकै थोपाथोपा ।

पड्किएको छ – बम तिम्रो पूज्य स्थलमा
थाहा छ – त्यहीँबाट भागेको छ ईश्वर पनि
एक्लै एक्लै गुजार्दैछौ युद्ध घाइते दैनिकीहरू ।

छु म पनि छु – तिमीले टेकेकै धर्तीमा
तिम्रो सपना जलेर कालो धुवाँ पुगेको आकाश-
मेरो पनि शीरमै छ उस्तै जूनतारा अडिएको।
बतासमा गन्ध त पक्कै छ बारूदको निख्खर तिखो।

तिम्रा पाठशालामा
अब हुनेछ नयाँ इतिहासको उदय –
जहाँ बम बारूद र लाश अक्षर भै बसेका भेटिनेछन् ।
र टोकिरहनेछन् आउने सन्तानको कलिलो मस्तिष्क ।

सिरिया
म पनि उही दुःखी आफन्ती हुँ
देखेको छु मैले पनि युद्धको जर्जर अनुहार
धोएको छु मुख रगतको खोलामा
लाशहरूको बीचमा – सुतेको छु बेचैन निद्रा।
हाम्रो गर्धनमा पनि –
तेर्साइएथ्यो भाला तरबार र बन्दुक ।

दुखेको छु म पनि तिम्रो दु:खमा दुखेको छु
रिस पनि छ – इतिहास लेख्न रगत बली माग्ने यो समयसँग ।
थाहा छैन अब के-के हुने हो ?

यद्यपी ओ ! सिरिया
तिम्रो जलेको घर वरपर – जलेको छ एक मानवता
मुस्लो बनेर उडेको छ – संवेदनाको नयाँ जहाज ।

सिरिया
सम्झँदैछु – यो समय म पनि युद्धमा गुमाएका आफन्तीहरू
एकएक पीडित घाइतेहरूको निर्दोष अनुहार ।
मलाई थाहा छ तिमी दुख्नुको गहिराइ
हो म पनि रणमैदानबाट एक उछिट्टिएको चोइटो हुँ चोइटो ।

यो समय
ठिक यस्तै केही हुँदैछ –
म नलेख्न सक्दो छु – तिम्रो नाममा कुनै कविता।

अक्षरमा बसेर मृत्यु जिस्काइबसेको छ – मेरा सोंचहरूलाई ।


मृत्युउत्सव

सुनिता खनाल

ओ पत्थरको मान्छे !
तेरो भोकको प्रकृति कुन हो ?
यत्ति विभत्स रूपले
शिशु चपाइरहेछस्
आमा चपाइरहेछस्
र देश चपाइरहेछस् !

यसरी किस्ता किस्तामा मारिइरहेका
शिशु जन्माउने कोखलाई सोध्
पीडाको गहिराई
आफैँ फुलेको डाली काटिएपछि
माटोमै घिस्रदै गुहार मागिरहेका
सुन्दर थुँगालाई सोध्
मातृशोकको उचाई
र तँ आफैँसित सोध्
तैंले पृथ्वी टेक्नुको अभिशाप !

यतिबेला म
भत्किनुसम्म भत्किएकी छु
बहुलाउनसम्म बहुलाएकी छु
देख्छु नानिहरूका अबोध अनुहार
जहाँ, मेरो सपना तुहिरहेको छ
बिपना रोइरहेको छ !

बन्दुकको नाल र रकेटको धुवाँबाट
मृत्यु निलिरहेको छोरो
लाग्छ,
आमा भनिरहेझैँ
केही मागिरहेझैँ
म छु लाचार लाचार….

ओ ज्यानमारा !
तेरो पापको पराकाष्ठा कतिसम्म हो ?
कतिसम्म खेल्नुछ अझै
रगतको बाछिटासित ?

मुटु रेटिने यी दृश्यहरूले
मेरो मथिङगल हल्लिएपछि
म मौन मौन गर्भवती भएकी छु
तर, यो पटक
म जन्माउनेछैन
बुद्ध,
सीता,
भृकुटी,
गान्धी !
जन्माउनेछु त केवल
एउटा भयङ्कर काल
जसले तेरै बधपश्चात मात्र
मनाउनेछ मृत्यु उत्सव !


 

सम्पूर्ण कविता कविका फेसबुकबाट साभार गरिएका हुन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया