आकाशदीप छेत्री : हिन्दी धारावाहिकका नेपाली निर्देशक 

कुनै दिन त कसैसित बातचित गरिहेरूँ अनि केही लेखूँ न भन्ने सोच आएर साथी विकास दूतराजलाई टाटा इंस्टिट्युट अफ फन्डामेन्टल रिसर्चमा फोन लगाएँ। उसले भन्यो, ‘उदीप भन्ने एकजना भाइ छन्, बलिउडमा सङ्घर्ष गरिरहेका युवा भाइ। बाख्राकोटतिरकै हुन् उनलाई भेटेर बातचित गरूँ … म मिलाइराख्छु।’

विभिन्न धारावाहिकहरूमा रचनात्मक निर्देशक (क्रिएटिभ डाइरेक्टर) -को सेवा पुऱ्याइरहेका उदिप भाइले भनेछन्, ‘दाइ, मेराबारे हैन तर एकजना दाइ हुनुहुन्छ … उहाँसित भेट गरूँ न। मेरो त ऐले नै केही लेखिहार्नुपर्ने बेला भइहालेको छैन।’

उदीप भाइसितको कुराकानी भविष्यको थाँतीमा राख्दै हाम्रो भेट हुन्छ एक होनहार युवा प्रतिभा आकाशदीप छेत्री (कटुवाल) -सित मुम्बईको व्यस्ततम ठाउँ मिरा रोडस्थित भाड़ाको घरमा। विकास आइपुग्छन् कोलाबादेखि, म पुग्छु अन्धेरीबाट। फोनको फोनमै हाम्रो भेट गर्ने ठाउँ तय हुन्छ मिरा रोडको मछलीबजारको टिकट काउन्टरमा।

हामी आफु भेट गरेर ती दुइ भाइसित सम्पर्क गर्नथाल्छौँ अनि उनीहरूकै मार्गनिर्देशनअनुसार यौटा रिक्सा समातेर लाग्छौँ आकाशदीपको डेरा। लिफ्टमा चढ़ेर बिल्डिङमा त पस्छौँ तर कोठामा भने बाहिरबाट ताल्चा मारिएको पाउँछौँ। फोन थिच्दै मात्र हुन्छौँ त्यही लिफ्ट पुनः माथि चढ़ेको सङ्केत सङ्गीतको धुनले दिन्छ। दुइ भाइ आइपुगेका रहेछन्।

कोठाभित्र पस्छौँ। टु-बीएचके डेरा। यौटा कोठाको भुइँमा हार्मोनियम बज्न खोजिरहेको अवस्थामा। आज भने सङ्गीतको रसपान पनि गर्न पाउने भयौँ त भन्ने सोच्दै चिनाजाना गर्छौँ दुवैजनासित अनि बातचितकै क्रमलाई सानु नोटबुकमा लेख्दै जान्छौँ। त्यसपछि यसरी तयार हुन्छ आकाशदीपसितको कुराकानीमाथि आधारित वार्तालाप….

मुम्बई सपना देख्नेहरूको सहर हो। मुम्बई सङ्घर्ष गर्नेहरूको लागि अखाड़ा हो। तालिम केन्द्र हो। यहाँ पाइलापाइलामा मान्छेले नयाँ कुराको अनुभव गर्न पाउँछ। यहाँ गरिब पनि बाँच्छ, धनी पनि। तर बाँच्नसक्ने सास फेर्न पाउनु मुम्बईमा गारो काम हो। सारा जीवनमा ननिस्किएको पसिना मुम्बईको लोक्कल रेलले निकालिदिन्छ। जीवनभरि नभोगेको कुरा मुम्बईमा भोग्नुपर्छ। वड़ापाउ खाएर जीवन धान्नेदेखि लिएर आफ्नै हवाइजहाजमा सपिङ गर्न विदेश जानेहरूसम्म बाँच्ने भूमि हो यो मुम्बई।

तर मुम्बईमा सजिलैसित अनि रातारात सफल हुन असम्भव छ। जसले मुम्बईमा चुनौतीको सामना गर्दै सफलताको एकै भऱ्याङ मात्रै उक्लिन सक्यो अनि त्यसमा इमानदारी र कटिबद्धतासित अघि हिँड्यो – उसले आफ्नो जिन्दगीको उद्देश्य अवश्यै पुरा गर्नसक्छ।

आफुले मुम्बईलाई माया मारे पनि मुम्बईले सङ्घर्षशील, इमानदार र कटिबद्ध प्रतिभालाई दोस्रो मौका दिन्छै दिन्छ। तर आफुले त्यो मौकाको औसरलाई चुकाउनु भएन, चिन्नुपऱ्यो। यो व्यावसायिक सहर मुम्बईमा जो टिक्छ, त्यो बिक्छ। आफुलाई बिकाउन सक्नुपर्छ यहाँ। मपाईँ भएर, हीनभावनालाई पन्छाएर अघि आउनेहरू मात्रै यहाँ सफल बनेका छन्। सङ्कोचको घेराबन्दीमा बाँचेर, लाज र सरमको बर्को ओढ़्नेहरू बेखबर बनेका छन् यहाँको भिड़ र होहल्लाभित्र अनि आफ्नो सपनासँगै गुमनाम जिन्दगी जिउने प्राणीमा परिणत भएका छन् धेरैजना।

आकाशदीप यस्तै एक सङ्घर्षशील पात्र हुन्। सिर्जनात्मक क्षेत्रमा केही बनेर चम्किने सुनौलो सपना देख्ने करोड़ौँ आँखाहरूमा एकजोड़ी आँखा आकाशको पनि छ। त्यही आँखाले देखेको सपनाले दोहोऱ्याएर ल्याएको छ उनलाई मुम्बई महानगरीमा।

भारतको उत्तर-पूर्वी राज्य आसामको गोगामुखको मोहरी क्याम्पमा 25 जनवरी, 1978 -मा जन्म लिएका आकाशदीप छेत्री मुम्बईलाई माया मारेर दुइपल्ट घर फर्किसकेका युवा प्रतिभा हुन्। आफ्नो लक्ष्यले सही बाटो नसमातेको देखेर उनले कलिलो सपनालाई बिचमै परित्याग गरेका हुन्। साधारण गोठालाका छोरा आकाशदीपका पिता चक्र छेत्री अनि माता लीलामाया छेत्री हुन्। शिक्षाको क्षेत्रमा विज्ञान विषय लिएर स्नातकीय परीक्षा पुरा गरेका भए तापनि आकाशको रुची भने सानैदेखि सङ्गीत र कलाप्रति थियो। कलिलै उमेरदेखि गीतहरू गुन्गुनाउने आकाशका प्रिय सङ्गीत कलाकार थिए भुपेन हजारिका।

विश्वनाथ, चारालीको कलेजबाट बीएससी उत्तीर्ण गरेका आकाशले स्कुले जीवनमै हिन्दी बोल्नसिके किनभने उनी हिन्दी सिनेमा खुप हेर्थे। बोल्न त सिके साथै हिन्दी गीत गाउन पनि थाले।

यसै क्रममा सन् 1989 -मा उनको जीवनमा यौटा अनौठो मोड़ आयो। उनको गाउँछेउमा यौटा सुटिङ टोली आइपुग्यो। बाबुले चलाउँदै गरेको हुटेलमा काम सघाउने आकाशले आफुले जानेको लटरपटर हिन्दी बोलीको कारण उक्त टोलीसित मिस्सिएर काम गर्ने मौका पाए। संयोगवश उक्त टोलीमा थिए आकाशकै आदर्श पुरुष भुपेन हजारिका अनि कल्पना लाजमीजस्ता कलाकारहरू। यतिखेर आकाशको उमेर 12-13 साल थियो। उक्त सुटिङ टोलीका निर्देशक उदय भट्टाचार्य आकाशको बाल-प्रतिभाबाट मोहित बने। उनले बोलेको हिन्दी, गाएको गीत अनि परिश्रम देखेर भट्टाचार्यले आकाशका पिताजीसित बात गर्ने मन बनाए। आसामको यौटा सानु गाउँको साधारण परिवार चाहन्थ्यो आकाशले नोकरी पाएको हेर्न। तर पिताजीले भने, ‘आफ्नो जिन्दगीको फसेला आफै गर्नू।’

वास्तवमा आकाशको उद्देश्य थियो अभिनय कलामा आफुलाई होमेर स्थापित बन्नु। यसैले उनी मुम्बई आए। भारतको उत्तरपूर्वाञ्चलबाट सपनाको सहर मुम्बईसम्मको यात्रा एक्लै तय गरेर आकाशले यहाँ आफ्नो कलाकारिताको परीक्षा दिनथाले। त्यति सजिलो कहाँ रहेछ त मुम्बईमा जिउन? पाइला-पाइलामा ठोकर, कदम-कदममा कठिनाइ। यहाँ आएर उनले आफुभन्दा पहिला आएका साथीहरूसित भेट गरे। फिल्म लाइनका मानिसहरूसित भेट्ने क्रम जारी राखे। यसैबिच उनले एकजना साथीले बनाएको यौटा सुची हात पारे जहाँ सबै निर्देशकहरूको नाउँ र नम्बर लेखिएको थियो। त्यो सुचीअनुसार आकाशले पनि सम्पर्क साँध्न थाले।

साथी त फर्किसकेका थिए त्यो सुची थमाएर आकाशलाई। आकाशले त्यसैबाट सम्पर्क गर्ने क्रममा एकदिन बातचित भयो फिल्म निर्देशक रमेश मोदीसित। मोदीले आकाशलाई उनको अफिसमा अफिस-बोयको काम दिए अनि पटकथा लेख्ने काममा सघाउनुपर्ने उनको काम सुरू भयो। मोदीसित 14 महिना काम गरेपछि आकाश त्यस दफ्तरबाट बाहिरिए।

अब आकाशलाई गीत-सङ्गीत रच्ने लहड़ चल्यो। यसरी नै सम्पर्क गरेर लोखोनवालास्थित लर्ड्स भिडियोमा म्यानेजरको काम पाए आकाशले।

महिनाको एक हजार रुपियाँ तनखामा उनले त्यहाँ काम गर्दा हिन्दी गीतहरू सिर्जना गर्नथाले फुर्सतको समयमा। कलिलो युवा कलाकार आकाशले यसरी गीतहरू लेखेको देखेर अन्य कलाकारहरू छक्कै पर्थे अनि कुनै सङ्गीतकारसित सम्पर्क गर्ने सल्लाह दिन्थे। त्यसै सल्लाहलाई पालन गर्दा उनको बात भयो एकदिन टेलिफोनमार्फत् नै प्रसिद्ध सङ्गीतकार जोड़ी नदीम-श्रवणका श्रवणसित। श्रवणले उनलाई टेलिफोनमै गीत गाउन लगाए। उनको गीत मन पराएर श्रवणले आकाशलाई आफ्नो घरैमा बोलाएर भने, ‘तिमी यहाँ हरेक दिन आउनू। काम सघाउनू। महिनाको 3 हजार दिन्छु।’

‘यसरी म प्रत्येक दिन सङ्गीतकार श्रवणकहाँ जान्थेँ र केही न केही काम सिक्थेँ। त्यतिखेर जुन काम सिक्दै गएँ पछि गएर बुझ्दा त्यसैलाई सम्पादन अथवा एडिटिङ भन्दो रहेछ’ भन्दै आकाश आफ्नो पुरानो दिन याद गर्छन्।

3 हजार त भनेका मात्रै थिए तर मलाई श्रवणले त्यतिखेरको समयमा नभनेको पनि प्रतिमाह रुपियाँ 10 हजार जति दिन्थे।

यसरी सङ्गीत सम्पादनमा हात चल्न थालेपछि आकाशलाई आफ्नो मौलिक एल्बम तयार गर्ने मन भयो र ‘गीताञ्जली’ नामक एल्बम तयार गरे। यस एल्बममा उनले त्यतिखेरका लोकप्रिय नेपाली गायकहरू रामकृष्ण ढकाल, कुमार कान्छा, रुपकुमार राठौड़ अनि बाबुल सुप्रियोलाई गीत गाउन लगाए। अभिनय कलामा सङ्घर्ष गर्न मुम्बई आएका आकाश अब सुस्तरी सङ्गीत क्षेत्रमा प्रवेश लिनथालेका थिए।

यो एल्बमलाई बिक्री गर्नका लागि उनी चारैतिर घुम्नथाले अनि पुगे नेपालको राजधानी काठमान्डौँ। पहिलो एल्बमले आर्थिक खति दिए पनि लोकप्रियता भने उनलाई दिँदै गयो। नेपाल पुगेपछि उनलाई सङ्गीत नेपाल कम्पनीले ‘आँचल’ नामक अर्को एल्बम बनाउने काम दियो। त्यसपछि उनले नेपालमै बसेर ताल म्युजिकका अन्य एल्बमहरू – ‘उजान’, ‘निष्ठुरी’ आदि तयार गरे।

यसरी आसामबाट मुम्बई अनि नेपाल पुगेका आकाशको मन फेरि मुम्बईतिरै आकर्षित हुनथाल्यो। एकपल्ट फेरि मुम्बईमै केही नौलो काम हुनसक्छ कि भनेर आकाशले सन् 2004 -मा पुनः यहाँ फर्किने कोसिस गरे। पुरानो ज्ञान अनि नयाँ अनुभवको आधारमा आकाशलाई केही सफलता हात लाग्न गारो परेन।

त्यतिखेर उनले धीरज कुमारको ‘तुलसी’ आदि धारावाहिकमा शिर्षक गीतहरू रच्ने मौका पाए। तरै पनि भनेजस्तो सफलता हात नलागेको बुझेर यहाँबाट अब अन्तिमपल्टको लागि आफ्नो घर फर्किने सोच लिएर रेलको टिकट काटे। चाड़बाड़को बहानामा आसाम फर्कने अनि अब कहिल्यै मुम्बईमा पाइला नटेक्ने सोचेर घरबाट निस्केका आकाशको भेट त्यतिखेरै बल्लु रावत नामक निर्देशकसित भयो। रावत त्यसबेला ‘स्ट्रग्लर’ नामक हिन्दी सिनेमा निर्माण गरिरहेका थिए। आकाशलाई त्यसै फिल्ममा सङ्गीत दिनू भनेर रावतले मौका दिए।

भाग्यवश आकाशले पनि आफ्नो जिन्दगीको सङ्घर्षशील पलहरूलाई लिएर यौटा गीत बनाएका थिए। त्यो गीत उनले बल्लुलाई सुनाउनेबित्तिकै रु. 1000 -को साइनिङ एमाउन्ट दिएर आकाशलाई सङ्गीतकारको भार प्रदान गरे। घर पुगेर फर्किआउने वचन दिई आकाश आसामतिर लागे। फर्केर आई फेरि बल्लुसित भेट गरी फिल्मको लागि खटे तर दुर्भाग्यवश उक्त फिल्म प्रदर्शन हुनपाएन। त्यसपछि बल्लुले उनलाई दूरदर्शनको धारावाहिक ‘मेरे अपने’ -मा सहायक निर्देशनको भार दिए र रु. 3000 दिने वचन दिए। तिनै बल्लुको अर्को धारावाहिक ‘हवाएं’ -को सम्पादनको समयमा आकाशले देखाएको रुची र ज्ञानबाट युनिटकाहरू सबै छक्कै परे। उनको सिर्जनात्मक सल्लाहहरू सुनेपछि धारावाहिकका निर्माताले तुरुन्तै आकाशलाई पोस्ट-प्रोडक्सन इन्चार्ज बनाए।

यसको लगत्तै दस दिनपछि उनलाई एक्जुकेटिभ प्रोड्युसर बन्ने भार आइलाग्यो। त्यसपछि त सुटिङको सेड्युल बनाउनेजस्तो महत्त्वपूर्ण काम आफ्नो काँधमा आइलाग्यो आकाशको। यसरी उनको फिल्मी जीवनमा निर्देशनको भूमिका पो उल्लेखनीय बन्दै गयो। सबै काम आफ्नो थाप्लामा आएपछि सकी-नसकी, आफ्नो ज्ञान र अनुभवले सकिने कामहरू दक्षतापूर्वक निर्वाह गर्दै गए आकाशले। यसरी उनले ‘भाभी’, ‘डोली सजाके’, ‘साजन घर जाना है’ र ‘दिया और बाती’ जस्ता लोकप्रिय धारावाहिकहरूमा चिफ एसिस्टेन्ट डाइरेक्टर र डाइरेक्टरको जिम्मावारी पालन गर्दै आफुलाई टिभी-को दुनियाँसित परिचित गराउन थाले।

11 नोभेम्बर, 2011 -का दिन आकाशले पहिलोपल्ट पूर्ण रुपमा धारावाहिकको निर्देशकको भार सम्हालेका थिए। त्यस दिनको सम्झना गर्दै आकाश बताउँछन्, ‘त्यस दिनदेखि मेरो झुकाउ निर्देशनपट्टि बढ़्दै जानथाल्यो। अभिनेता बन्ने सपना साँचेर मुम्बई भित्रिएको म ऐले यसरी धारावाहिकहरूको निर्देशनमा लागिपरेको छु।’

हालमा प्रसारणमा आइरहेका उनका धारावाहिकहरूमा लोकप्रिय छन् – ‘तु मेरा हिरो’ (स्टार प्लस), ‘तुम्ही हो बन्धु सखा तुम्ही’ (जीटीभी), ‘बडी देवरानी’ (एनटिभी), ‘अकबर’ (बिग म्याजिक), ‘मेरी दुर्गा’ (स्टार प्लस) आदि। यी सबै धारावाहिकलाई खुबै निष्ठापूर्वक निर्देशन गरिरहेका कलाकार निर्देशक आकाशको सपना तर अर्कै छ।

आफु जहीँ पुगे पनि आफ्नो गाउँघरको माया र त्यहाँका खुद्रा समस्याहरूले पिरोलिइरहने खयालका आकाश चाहन्छन् आसामी भाषामा यौटा सिनेमा बनाउने। ‘आलोही’ नाम भएको यो सिनेमा उनको गाउँमा निर्माणाधीन रहेको नदीको बाँधको परियोजनासित सम्बन्धित छ अनि यसले एउटा सामाजिक मुद्दालाई उठान गर्ने प्रयास गर्नेछ। यसरी नै आकाशको चाहना छ उत्तर प्रदेश र काठमान्डौँलाई आधारित गरेर यौटा हिन्दी-नेपाली सिनेमा निर्माण गर्ने।

यति छोटो अवधिमा धेरैवटा लोकप्रिय धारावाहिकहरूको निर्देशन गरिसकेका आकाश मुम्बई आइपुगेर कुनै ठुलो उपलब्धि हात नपारेको बताउँछन्। प्रत्येक महिना रु. 16 हजार किराइ तिर्दै मुम्बईमा बस्न सक्षम बनेका आकाशले भर्खरै बिहे गरेका छन्। गत दिसम्बर महिनामा मात्रै परिणय सूत्रमा बाँधिएका आकाशको विवाहको घटना पनि कुनै धारावाहिक भन्दा कम छैन।

‘दिया और बाती’ धारावाहिक रुचाउने धेरै महिलाहरूमा एक युवती हुन् – सिन्धु पौड्याल। केही सालअघि सिन्धु पौड्याल आफ्नो रैथाने ठाउँ तेजपुरबाट अध्ययनका लागि मुम्बईमा पीएचडी गर्न आएकी थिइन्।

मुम्बई विश्वविद्यालयकी छात्रा पौड्यालले धारावाहिक हेर्दै गर्दा कास्टिङमा एकजना छेत्री केटाको नाम देखिन् अनि सामाजिक सञ्जालमार्फत् ती युवकको खोजी गर्नथालिन्। यसरी सन् 2013- मा आकाशले सिन्धु पौड्यालको फ्रेन्ड रिक्वेस्ट पाएपछि दुइजनामाझ मित्रताको गाँठो प्रगाढ़ भएर गयो। दुवैजना आसामका परेको थाहा पाएर त खुसीको सीमा नै रहेन। यसैबिच सिन्धुका मातापिता छोरीको कन्भोकेसनमा मुम्बई आउँदा हुनेवाला ज्वाइँसित बातचित भयो। त्यसपछि दुवैजनाको सम्बन्ध अझ प्रखर भयो अनि गत दिसम्बर महिनामा मात्रै दुवैजना वैवाहिक सम्बन्धमा गाँसिन पुगे।

यतिन्जेल मनोविज्ञान विषय लिएर अध्ययन सिध्याएकी सिन्धुले मुम्बई र गोआ विश्वविद्यालयमा अस्थायी प्रोफेसरको काम पनि गरिन्। हालमा स्थायी प्रोफेसरको रुपमा अगरतला युनिभर्सिटीमा सेवारत सिन्धु पौड्यालको भेट तर आकाशसित मुस्किलले हुने गर्दछ। भर्खरै उनीहरूको भेट भएको थियो मुम्बई विश्वविद्यालयमा यौटा सङ्गोष्ठीमा भाग लिन सिन्धु यता आएकी बेला मात्रै। तर सिर्जनात्मक कलाकारलाई भौगोलिक सिमारेखाले छेक्ने हैन। फेरि भएन आफ्नो गाउँघरको समस्यामाथि समानान्तर सिनेमाहरू बनाउने ध्येय राख्ने आकाश एकदिन उत्तरपूर्वाञ्चल पुगेर त्यहाँ नै आफ्नो काम स्थापित गर्नसक्ने क्षमता राख्दछन्।

‘कुछ पाने के लिए कुछ खोना पडता है हैन तर मुम्बईमा कुछ पाने के लिए सबकुछ खोना पडता है’ भन्दै आकाश भन्छन्, ‘गाउँघर भनेको स्वर्ग हो। यसलाई नत्याग्नू, नछोड़्नू। आफ्नो गाउँको माटाको सुगन्ध कहीँ पनि पाइँदैन। मुम्बईमा सबैभन्दा ठुलो सङ्घर्ष हो आफ्नो चरित्रलाई बचाएर काम गर्नु। आफ्नो स्वाभिमानलाई जिउँदो राखेर काममा सफल हुनु। यसैले समयसमयमा आफ्नो गाउँघर पुग्दै गर्नुपर्छ। आफ्नो गाउँघरलाई बिर्सेर मुम्बईको रमझममा अल्झियौँ भने हामीले सर्वस्व गुमाउनेछौँ, आफ्नोपन गुमाउनेछौँ।’

मुम्बई आएर सबैभन्दा ठुलो उपलब्धि के पाउनुभयो त भन्दा आकाश भन्छन्, ‘मैले मेरा पिताजीलाई पाएँ। क्यांसर जस्तो रोगले ग्रस्त मेरा पिताजीलाई मुम्बईमा उपचार गराउने मौका पाएँ। धेरैजना गाउँलेहरू यो रोगको उपचार नपाएर आफ्नो जीवन त्यागिरहेका छन्। तर मैले भने आफ्नो व्यक्तिगत उपलब्धिहरूभन्दा पनि ठुलो कुरो पाएँ मेरा पिताजीको रोगको उपचार। यही नै मेरो मुम्बई जीवनको ठुलो काम भएको छ।’


एन्टप हिल, मुम्बई – 37

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया