सिकायना मुखिया भोइस इन्डियाको फाइनल राउन्डमा : रियलिटी शोमा एकपछि अर्को गोर्खे प्रतिभाहरूको चमत्कार कायम

मुम्बई, 5 मार्च


एकपछि अर्को गोर्खे कलाकारहरूले आफ्नो प्रतिभा प्रदर्शनी गरेर चर्चा बटुलिरहेको समयमा लोकप्रिय मनोरञ्जन च्यानल एन्ड टिभी -को गायन प्रतियोगिताको अन्तिम राउन्डमा पुगेर देहरादुनकी बाल गायिका सिकायना मुखियाले पनि सबैलाई चकित पारिदिएकी छिन्। पेसाले सङ्गीतका शिक्षक रहेका पिता विकास मुखिया र माता बिरा मुखियाकी सुपुत्री सिकायनाले गत वर्षको सेप्टेम्बर महिनामा देहरादुनमा सम्पन्न द भोइस इन्डिया किड्सको अडिसन चक्रमा 3000 प्रतियोगीहरूलाई उछिनेर भारतको राजधानी दिल्लीमा आयोजित राउन्डमा भाग लिएकी थिइन्।

त्यहाँ पनि उत्कृष्ट गायन प्रतिभाको प्रदर्शन गरेपछि उनको लागि मुम्बईको ढोका खोलिएको थियो। देहरादुनको दालनवालानिवासी 11 वर्षीया सिकायना मुखियाले कलिलै उमेरदेखि आफ्ना सङ्गीतकार पिताको सङ्गतमा लागेर गीत गाउन सिकेकी हुन्।

तरै पनि उनका पिता विकास मुखियाले बताएअनुसार सिकायनाले यति सहजतासित सङ्गीतको सुर समातेकी देखेर उनी पनि सुरूमा अवाक् बनेका थिए। देहरादुनको सन्त थोमस स्कुलमा छैटौँ श्रेणीकी छात्रा रहेकी सिकायनाले आफ्नो कलाकारिताको जादु देखाएर द भोइस इन्डिया किड्सको ग्रान्ड फिनालेमा आफुलाई पुऱ्याइसकेकी छिन् अनि यसबाट उनलाई विजयी बनाउनका लागि सङ्गीतप्रेमी समस्त श्रोताहरूले व्यापक भोट गर्न आवश्यक रहेको उनका पिताले बताएका छन्। सिकायनाका पिताले बताएअनुसार आगामी 10 मार्च शनिबार राति 9 बजीसम्म भोट गर्न सकिनेछ जसका लागि कुनै प्रकारको तकनिकी समस्या पनि छैन अनि खर्च पनि छैन।

उनले दिएको जानकारीअनुसार, सिकायनालाई भोट गर्नका लागि कुनै पनि सिम कार्डबाट 07097297304 एकसय पल्टसम्म मिस्ड कल गर्नसकिनेछ भने अङ्ग्रेजीको ठुलो अक्षरमा एसकेएन (SKN) – लेखेर एसएमएस पनि गर्नसकिनेछ। यसरी एउटा सिमबाट जम्मा 200 पल्ट भोट गर्नसकिने हुनाले भारतभरिका नेपालीभाषी गोर्खा अनि गैर-गोर्खा समुदायका समस्त सदस्यहरूले व्यापक रुपमा सहयोग पुऱ्याइदिनुहुने अनुरोध उनले गरेका छन्।

माया नामक व्यान्डका संस्थापक रहेका विकास मुखियाले पाश्चात्य सङ्गीतमा डिग्री लिएका हुन् भने उनकै सिको गरेर छोरी सिकायनाले सानै उमेरदेखि सङ्गीतमा चासो देखाएकी हुन्। यसै प्रतिभाले उनलाई भारतको राष्ट्रिय स्तरको गायन प्रतियोगिता द भोइस इन्डिया किड्सको ग्रान्ड फिनालेमा पुऱ्याएको छ जसलाई देशका प्रख्यात गायक तथा सङ्गीतकारहरू सान, हिमेश रेसमैया अनि अनि पलक मुच्छल आदिले निर्णायकका रुपमा पर्यवेक्षण गरिरहेका छन्।

प्राप्त जानकारीअनुसार, आगामी 11 मार्चको राती 9 बजी एन्ड टिभी च्यानलबाट सिकायनाले अन्य पाँचजना प्रतियोगीहरूसित होड़बाजी गर्नेछिन् अनि सोही रात यस प्रतियोगिताको विजयीको नाउँ पनि घोषणा गरिइनेछ।


सिकायना मुखियाको लय

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया