इन्द्रनील, ‘गोर्खाल्याण्ड फोबिया’ र हामी

बी० पी० बजगाईं


पहाडको राजनीतिमा बिमल गुरुङले धेरै पटक ढाँटेका छन्| उहिले आग्सु खोल्दाको चेतसम्म छैन आज रोशन गिरीकोमा| तर त्यसको अर्थ मेरो घरमा आएर मलाई कुट्ने दाजुलाई अर्काले कुटेको देखेर सहन गर्ने? यदि त्यसो हो भने भोलि भाईलाई कुट्दा दाजुले तमाशा हेर्नु?


यो सप्ताह मेरो निम्ति असारको पन्द्रह नै भयो| एकै चोटी अपरिहार्य दुई तीनवटा सामाजिक जिम्मेवारीहरू खप्टिएका थिए| बाहिर संसारमा के हुँदैछ भनेर हेर्ने निमेष फुर्सद पाइएन| यसै अवसरमा दार्जीलिङमा बङ्गालका मन्त्री इन्द्रनील सेन ‘गोर्खाल्याण्ड फोबिया’ रोगको शिकार भएछन्| कठैबरा! उनलाई बङ्गाल सरकारको सरकारी खर्चमा मनोरोग चिकित्साको निम्ति कुनै राम्रो अस्पतालमा भर्ना गरेको राम्रो हो|
आज केही फुर्सद पाएपछि मैले उनको वक्तव्यलाई राम्ररी हेरेँ| उनी काग्निटिव डिस्आर्डर (ज्ञानात्मक विकार) अनि डेलीरियम (चित्तविभ्रम) –को रोगी रहेछन्| राजनैतिक पाटोमा मुख्यमन्त्री ममता व्यानर्जी पनि यही रोगको शिकार हुन्|
बङ्गाल सरकारले निकालेको व्हाइट पेपर ‘दार्जीलिङ बङ्गालको भू-भाग थिएन’ उभिने समय आएछ| यस्तो कुरा सुन्नलाई के दार्जीलिङ अनि कालेबुङ पहाडमा मान्छे बसेका छन्?

कुरा शुरु गर्न अघि दुइवटा सान्दर्भिक घटनाको उल्लेख गर्न चाहन्छु|

 

घटना एक:

७ मई आइतबारको दिन म सपरिवार खरसाङ बजार भएर घुम भन्ज्याङमुनि भालुखोप गाउँ जाँदै थिएँ| खरसाङ बजार झिलिमिली सजिएको थियो, त्यस झिलिमिलीमा सर्वाधिक झल्किएको रङ भने तृणमूल काङ्ग्रेस पार्टीको थियो| मेरो छोरा प्रशान्तले भन्यो, “बाबा, पहाडमा ममता (उसको आशय तृणमूल काङ्ग्रेस) पसेछ|”

मैले भने, “ छोरा, यो झण्डा र तोरण यहाँ ममता आफैले कलकत्ताबाट आएर टाँगेकी होइनन्| यो टाँग्ने हाम्रै पहाडे हातहरू हुन्|”

 

घटना दुई:

भोलिपल्ट सोमबार बिहान एक सप्ताहको हेक्टिक सेड्युल पछि बल्ल फेसबुक खोल्ने मौका पाएँ| फेसबुक खोल्ने बित्तिकै सबैभन्दा पहिला एउटा पोस्ट देखेँ|

“जे भए पनि उ हाम्रो मान्छे हो । हाम्रो घरको झगडा हामी आफै मिलाउँछौं ,” कसको भनाई हो?

यो पोस्ट शिक्षण पेशाका युवा आदर्श कैलाश सुब्बाको थियो| उनले किन यो पोस्ट लेखे भनेर धेरै बेर सोचें| पछि फेसबुकमा नै थाहा भयो इन्द्रनीलको वक्तव्य| मेरो एक सप्ताहको व्यस्तताले मैले मेरै गालामा हिर्काएको थप्पड पनि थाहा पाइनरहेछु|

यस सन्दर्भमा लेख्दा मैले विचन्द्र प्रधानले फेसबुक मै गरेको टिप्पणीको पनि उल्लेख गर्नैपर्छ|

“ती बङ्गाली मन्त्रीले नेपाली ढाका टोपी लाएर गोर्खा नेताहरूलाई नै दार्जीलिङबीच शहरमा भन्नु नभन्नु भने। तृणमूलपन्थी पहाडेहरूले खुशी हुँदै तररर ताली बजाए। ती मन्त्रीलाई नेपाली ढाका टोपी कसले लाइदिए? तिनलाई त्यसरी मनपरी बोल्ने हिम्मत कसले दियो?

पहाडबासी तृणमूलपन्थीहरूले नी अरू कसले र! आफ्नै खुट्टामा बञ्चरो हान्नु भनेको यही त हो नि|”

कुरा यहाँ जातीय स्वाभिमानको हो| मन्त्री इन्द्रनील सेनको वक्तव्यले पहाडमा जसलाई कुनै असर परेन उ पटक्कै गोर्खा होइन| उ गोर्खाको भेषमा गैर गोर्खा रगत हो| हामी भारतमा संविधानमुनि बसेका छौं, जसले सबै जात, जाति, धर्म इत्यादीलाई बाँधेर एउटै सूत्रमा राखेको छ| यसरी एउटा जाति विशेषको नेतालाई लक्षित गरेर अर्को जाति विशेषको नेताले जातीय विभेद ल्याउने वक्तव्य दिनु असंवैधानिक हो, अनि हो देश टुक्र्याउन जनतालाई आन्दोलित गर्ने वक्तव्य| यस दृष्टिकोणमा मन्त्री इन्द्रनील सेन देशद्रोही हुन्|

के हेर्दैछ केन्द्र सरकारले? कहाँ छ राज्य प्रशासन अनि किन दर्ता गर्दैन अदालतले ‘शो-मोटो’ मा केश?

क्षेत्रीय चुनावको मौकामा यसरी जातीय दङ्गाको चौका हाने इन्द्रनीललाई चुनाव आयोगले किन एक्शन लिँदैन?

के देशमा चुनाव आयोग छ? छ भने कहाँ छ?

म मान्छु, पहाडको राजनीतिमा बिमल गुरुङले धेरै पटक ढाँटेका छन्| उहिले आग्सु खोल्दाको चेतसम्म छैन आज रोशन गिरीकोमा| तर त्यसको अर्थ मेरो घरमा आएर मलाई कुट्ने दाजुलाई अर्काले कुटेको देखेर सहन गर्ने? यदि त्यसो हो भने भोलि भाईलाई कुट्दा दाजुले तमाशा हेर्नु? कुरा गम्भीर छ|

आफ्नो सानो तम्बुमा अरबीको ऊँट छिरेको कथा नहोस् हाम्रो पहाड| अरबीको ऊँटलाई मधेश मै खेद्नु आजको बुद्धिमत्ता हो| बरू भोलि हामी सबै मिलेर बिमल, हर्कहरूलाई घेराउ गरौंला, त्यो आँट बोकौं तर गैरगोर्खालाई भने हाम्रो इश्युमा पटक्कै बोल्न नदिउँ|

यसरी मधेसले पहाडलाई हेप्ने आँट दिने हामी नै होइनौं र? हाम्रै भित्र टुटफुट हुँदा “भाई फुटे गवाँर लुटे” भएको हो| केहिदिन अघि हर्कबहादुर छेत्रीको वक्तव्य भएको एउटा भिडियो हेर्दै थिएँ| त्यसको फुटेज अहिले पनि मसँग छ| उनको वक्तव्यको एउटा अंश हुबहू यस्तो थियो:

“तर भाई हो अलिकति चैं याद राख तीन महिना अगाडि तिमीले गोर्खा जनमुक्ति मोर्चाको जुलुसमा ‘ज्यान दिएर भए पनि हामी, शरीरको अन्तिम थोपा रगत बगाएर पनि हामी अलग राज्य गोर्खाल्याण्ड लिन्छौं लिन्छौं भन्दैथियौ है तिमार्ले, हामीले त भनेका थिएनौं त्यसरी…, त्यो भनेको तीन महिना पनि नपुगीकन तिमारु त उतापट्टि गयौ सुविधाको लागि|”

‘हामी अलग राज्य गोर्खाल्याण्ड लिन्छौं भनेर हामीले त भनेका थिएनौं’- भन्ने हाम्रै नेता हर्कबहादुर छेत्री| तृणमूल काङ्ग्रेसमा लाग्ने कालेबुङका युवा भाई-बहिनीहरूलाई उनले गरेको सम्बोधन हो यो| यसो सुन्दा त तृणमूलको विरोध गरेको जस्तो वक्तव्य थियो, तर गुदीमा भने ‘हामीले गोर्खाल्याण्ड मागेका छैनौं’ पनि भने डाक्टर छेत्रीले| तृणमूल काङ्ग्रेसको विरोध गरेको नाटकमा ममतालाई खुशी पार्ने यस्तै वक्तव्यहरूले हाम्रो एकता चर्किएको छ अनि त्यही चर्किएको चिरामा छिनो हालेर छिनालेर बोल्छन मन्त्री इन्द्रनील सेनहरू|

1986 मा बङ्गाल सरकारले ‘गोर्खाल्याण्ड एजीटेशन : द इश्यू’ नामक श्वेत पत्र जारी गर्दै दार्जीलिङको जमिन बङ्गालको नभएको स्वीकार गरेको छ|

मैले शुरू मै भनेको छु, बङ्गाल सरकारले निकालेको व्हाइट पेपर ‘दार्जीलिङ बङ्गालको भू-भाग थिएन’ उभिने समय आएछ| यस्तो कुरा सुन्नलाई के दार्जीलिङ अनि कालेबुङ पहाडमा मान्छे बसेका छन्?

आज दार्जीलिङ-कालेबुङले बङ्गाल सरकारले निकालेको व्हाइट पेपर बिर्सिएको छ होला तर सेन र व्यानार्जीहरूलाई भने यो कुरा थाहा छ| यसैले उनीहरूमा सदैव एउटा डरले/रोगले घर बनाएको छ, त्यो हो, ‘गोर्खाल्याण्ड फोबिया’| त्यही फोबियाले धताएर उनीहरूले पहाडको नेतालाई बाकसमा हालेर डाँडा कटाउने कुरा गर्दैछन्| सेन र व्यानार्जीहरूलाई लागेको रोगबारे बेखबर भएकोले यता हाम्रोहरूलाई उल्टा समाएको छ ‘ममता फोबिया’ले|

यसैले सान्दर्भिक छ कैलाश सुब्बाको पोस्ट| हाम्रो ‘आज’-लाई कथाकार शिव कुमार राईले ‘हिजो’- नै देखेका थिए| उनले लाक्षणिक लेखे| उनको फ्रन्टियर कथाभित्र नायिका सलिमाले बोलेको यो वाक्य आज सम्पूर्ण गोर्खा समाजले एकै स्वरमा बोल्नु पर्ने हो| तर माटोको आन्दोलनलाई विभिन्न सहुलियतहरूसँग साट्ने नेता र जनताले के त्यसो गर्न सक्छन्?

सक्छौं भने केही गरौँ, सक्दैनौं भने हाम्रो गोर्खा वीरताको एउटा पुत्ला बनाउँ अनि झरौं सिलगडीको किरणचन्द्र  शमसान घाटमा हाम्रो वीरतालाई दाग बत्ति दिन| लु त त्यस दिनको मिति सबै मिलेर तय गरौँ…|

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया