तर्साउने डकुमेन्ट्री

कालेबुङ खबरदाता, 9 मई/2017


जर्मनको हम्बर्ग शहरका एफएयुड( Free Workers’ Union of Germany (German: Freie Arbeiter Union Deutschlands; FAUD)) र आईडब्ल्युडब्ल्यु(Industrial Workers of the World)-का एक्टिभिष्टहरूलाई मई दिवस मनाउनुमात्र थिएन, विश्वभरका श्रमिकहरूको अवस्थाबारे आफ्नो वृत्तलाई बताउनु पनि थियो। उनीहरूले खोज्दै जाँदा भेटियो, मार्गरेट्स होप चियाबारीमाथि त्यहीँका चिया श्रमिकका छोराछोरीका क्यान्भस र रेप्टाइल्सले बनाएको डकुमेन्ट्री, ‘नबोल्दा नबोल्दै,’ अर्थात-‘साइलेन्स प्लोस’।

त्यसैको प्रदर्शन तय भयो।

भर्खरै चिया अक्सनमा गुडरिक कम्पनीले प्रतिकेजी चियाको 12 हजार 9 सय दाम पायो। त्यही मूल्यको चिया उत्पादन गर्ने चियाबारीका श्रमिकहरूको अवस्था चाहीँ कस्तो छ त?

त्यसैको पर्दाफास गरेको छ, नबोल्दा नबोल्दै-ले।

2 मईका दिन मार्गरेट्स होपको चिया बेच्ने हम्मबर्गको एक आउटलेटमा उनीहरूले विरोध प्रदर्शन गरे। वास्तवमा डकुमेन्ट्रीमा जुन जीवन छ, त्यसले उद्वेलित ती एक्टिभिष्टहरूले मई दिवसलाई विश्वभरिका श्रमिकहरूको न्यायको निम्ति आवाज उठाउने कार्यक्रम बनाएको थियो।

यसो भएको केही समयपछि मार्गरेट्स होपमा खलबली मच्चियो।

अहिले डोकुमेन्ट्रीमा संलग्नहरूलाई ‘यो डकुमेन्ट्री फेक हो भनेर लेखेर देउ’ भन्ने दवाब आइरहेको छ।

‘यस्तो दवाब कोबाट आउँदैछ, त्यो खुलिहालेको छैन, दवाबको निर्देशनको स्रोत बगान म्यानेजमेन्ट नै पनि हुनसक्छ,’ डकुमेन्ट्री निर्माण टोलीका शमीक चक्रवर्ती भन्छन्, ‘जर्मनको हम्बर्गमा जुन प्रदर्शन भयो, त्यसैको कारण यो खाले दवाब साथीहरूलाई दिइएको हुनसक्छ।’

मार्गरेट्स होपको चिया बेच्ने हम्बर्गको होलसेलरको आउटलेटमा एफएयु र आईडब्ल्युडब्ल्युका एक्टिभिष्टहरूले मजदुरहरूका जीवनस्तरको उन्नति अनि पश्चिम बङ्गालको जम्मै चियाबारीमा ‘मिनिमम वेज’ लागू गर्नुपर्ने माग गरेका थिए।

‘हुनसक्ला, कि त्यहाँबाट केही सोधपुछ यताको बगान म्यानेजमेन्टसम्म आइपुगेको छ, त्यही भएर बगानमा यस्ता अफवाह हरू फैलिएको हुनसक्छ, शमीक भन्छन्, ‘ बगान बन्द हुनसक्ने किसिमको अफवाह फैलिइरहेको हामीले सुनिरहेका छौँ।’

डकुमेन्ट्रीमा बगानका मजदुरहरू, ट्रेड युनियन लिडरहरू र अरू मानिसहरूले पनि ‘राम्रो’ ‘चालु’ बगानमा मजदुरहरूका दुर्दशा लिएर आ-आफ्नो मत व्यक्त गरेका छन्, जो बगान म्यानेजमेन्टले अघिबाटै बनाएको एउटा प्रोमोसनल फिल्मको ठिक विपरीत छ।

शमीकहरूलाई शङ्का छ, बगान व्यवस्थापनले बनाएको फिल्मले बताएको यथार्थलाई ‘नबोल्दा नबोल्दै’-ले जुन जवाब दिएको छ, त्यसैको कारण व्यवस्थापन रिसाएको छ।

‘तिनीहको पक्षबाट यो विकट स्थितिबाट निस्किन अनि आफूलाई अन्तर्राष्ट्रिय चिया बजारमा एक भव्य ट्रेडरको रूपमा प्रतिबिम्बित गराउनको निम्ति अफवाह फैल्याउन वा धम्की दिनको सट्टामा बगान र बगान मजदुरहरूका उन्नतिको लागि राम्रो कदम उठाउदा असल हुन्थ्यो,’  भन्छन्, शमीक।


के छ त डकुमेन्ट्रीमा?


टीका भाइको- समीक्षा

‘नबोल्दा नबोल्दै…’ — बोलिपठाएको सजीव कथा!


क्यानभास् अनि रेप्टाईल्सको संयुक्त प्रस्तुतिमा निर्मित वृत्तचित्र ‘नबोल्दा नबोल्दै’ दार्जीलिङका चिया मजदुरहरूको दैनन्दिन जीवनको कहाली लाग्दो जीवनको धेरै निकट उभेको छ। केरलाको एक अन्तर्राष्ट्रिय फिल्म महोत्सवको निम्ति चयन भएको र प्रदर्शित यस वृत्तचित्रको निर्माण धेरै सामान्य अनि कम खर्चालु भएपनि यसको विषय अनि सम्पादनले वृत्तचित्रलाई गहकिलो तुल्याएको छ। वृत्तचित्र निर्माणको पारम्परिक तरिकाहरूभन्दा भिन्न, बनेकै कारण यसमा कृतिमताभन्दा धेर स्वाभाविकता छ।

यसलाई हेर्दा ‘चियाबगान’-को जीवनमाथिका विभिन्न सवाल र सङ्कटहरू मनमा चित्र आउँछ अनि जान्छ। सायद ‘नबोल्दा-नबोल्दै’ शीर्षक राखिनुको कारण पनि वृत्तचित्रले कुनै नियोजित धारणा र उत्तर प्रस्तुत नगर्नुले गर्दा हो। यस वृत्तचित्रको प्रस्तुतिलाई काव्यिक मान्दा हुन्छ। विषयहरू निर्धारित अनि निश्चित नभएर चियाबारीका विभिन्न पक्षहरूलाई बिस्कुन जस्तो छरपष्ट देखाइदिएको छ र यसमा वृत्तचित्र अवलोकन गर्ने दर्शकका निम्ति चियाबारीको समस्या हेर्ने, समस्या बुझ्ने अनि जवाब खोज्ने स्पेस पनि दिन्छ।

एक चियाबारी मजदुर महिलाको साँझ-बिहान अनि मेलोमा बित्ने जीवन वरिपरीका घटनाक्रमहरूको सजीव चित्रसहित कमानको जीवनका विभिन्न पक्षहरूको सूक्ष्म चित्रणले वृत्तचित्रलाई बलियो तुल्याएको छ।  नाटकीयता भन्दा धेर स्वाभाविक घटनाचित्र, स्वाभाविक सम्वाद, साँचो अनि काँचो प्रस्तुतिले वृत्तचित्र हेर्दा कुनै वृत्तचित्र हेरिरहेको नभएर म कुनै चियाबगानमा घुम्दैछु अनि त्यो चियाबगानको सुख-दुःखसित परिचित बन्दैछु भन्ने भावले ओतप्रोत गरिदिन्छ।

एउटा विकट कमान छ, त्यहाँ पुग्ने बाटो राम्रो छैन, रोगीलाई बोकेर सडकसम्म पुराउनु पर्दछ, त्यहाँको जीवन र दुःख बुझ्न, मालिक-अधिकृत-नेताहरू कोही-कोही पुग्दैनन्। त्यहाँ एक मजदुर महिलाको जीवन र संसार छ। बेला-बखत चियाबारी समस्या लिएर स्वाभाविक कुराकानी अनि चियाबगानका मजदुरहरूको आफ्नो मन्तव्यलाई पनि देख्न सकिन्छ। यस वृत्तचित्र केवल एक एजेन्डा वा मुद्दामा केन्द्रित प्रस्तुति नभएर समग्रमा चियाबारी सङ्कट र मजदुर समस्याबारे आजको समाजलाई उठेको एक सवाल हो।

जस्तो दयनीयता, दुख पीडा वा सङ्कटहरू छन् त्यससित जसो-तसो ज्युन नै पर्ने जस्तो जीवन छ मेहनती चियाबारी मजदुरहरूको। देशको यो उद्योगमा मजदुर ऐन या सरकारको कुनै ठोस योजना या सुरक्षाले काम गर्दैन तर यसलाई त्यागेर अलग संसार र जीवनको कल्पना पनि गर्न नसक्ने चिया बगानका मजदुरहरूका जीवन-सङ्कटको वास्तविक समाधान के?– बेला-बखत तनखा बढ्नु, बोनस बढ्नु अनि कहिले घट्नु, मुनाफा घट्ने सम्भावना देख्दा कमान बन्द गरिनु अनि मजदुरहरूलाई कुनै राहत बिना बेसहारा जीवन बिताउन छोडिदिनु।

यस्ता धेरै कथाहरूले भरिएका छन् तर पनि ‘चुपचाप’ छन् कि लाग्छ। युवा-युवतीको औसत पढाई पछि गाउँ छाडेर टाढा काम खोज्न जानु अनि कमाई राम्रो हुनेहरूले घर अलि व्यवस्थित गऱ्यो, नसक्ने वा कम पढेकाहरू बाहिरी शहरतिर पनि उस्तै यातनापूर्ण जीवनकै हिस्सा बन्दैछन्। चियाबारीको उराठिलो जीवनमा ‘नबोल्दा-नबोल्दै’ निस्किने सुस्केरा, अनिश्चयता, दयनीयता आदिको सफल चित्रण बनेको छ यो वृत्तचित्र।


यहीँ ती दुवै डकुमेन्ट्री पनि राखिएको छ-जो परस्पर विरोधी भाषामा बोल्छ-

गुड्रिक टी-ले बनाएको डकुमेन्ट्री


क्यानभास् अनि रेप्टाईल्सले बनाएको डकुमेन्ट्री

 

 

 


सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया