चित्रकार/मुर्तिकार अमीर सुन्दास-का तीन कविता

फुलमाया

भन  फुलमाया !

तिमीले दिनमा कतिवटा च्याको बोट

कलम गर्छौ?

लगभग तीन सौ बुट्टाहरू होईन?

त्यसो भए फुलमाया,

के तिमी

एक दिनमा त्यही संख्यामा

टाउकाहरू छिनाउने दम राख्दैनौ?

अनि के मसिनगन् भन्दा

कमि छन् त बर्षौं

कलम काट्ने तिम्रा हात?

 

फुटेकै ऐना

भए पनि टुक्राहरू जोड़ेर

ध्यान लाएर हेर त

फुलमाया,

कत्तिको ताकत रहेछ

तिमीले चलाएको

कलम छुरीमा।

 

जसरी लडेकी थिइन्

मनमाया मगरनी

अचानक!

झम्टेको चितुवासँग च्याको गाछमुनि।

देशको कुनै च्यानलको

आँखा नपरेको बुट्टाहरू मुनिका

रगत्तामे विरताको कथा।

सैयौं कुल्लीहरूको विष्फोटक चिच्याईले

सातो उड़ेको चितुवाको कथा।

 

जसरी ,

एतवारीले दुईटा नानी च्यापेर

मातेर लास भएको ‘मरद’लाई

घरबाट तानेर जान बचाएकी थिइन्

गाउँमा दाह्रे हात्ती आउँदा।

एक पल्ट

तिम्रो आवाज दबाउनेको

गला निमोठेर हेर

फुलमाया!

खाई नखाई रूझिभिजी

पत्ति टिप्ने हात,

बुट्टा छाँट्ने हातमा कत्तिको

ताकत जम्मा भइसकेको छ।

एकदुईपल्ट खाँचो परेको बेला

अजमाएर त हेर

तिम्रो परिश्रमी हातलाई।

 

त्यो मैले लेखेको कविता

मैले बनाएको चित्र र

मैले गाएको च्याको  गीत भन्दा

कति गुणा शक्तिशाली छ

तिम्रो हात फुलमाया।

 

अनि पो साँच्चै

निर्धक्क फुल्ने छौ तिमी

फुलमाया।


कसो होला?

यसो गरे कसो होला?

बरू

प्रत्येक मज्दुर जसो तसो

गलाको दाम्लो फुकाऔं।

चियाको बुट्टा आफनै खुशीले

जति बढ्छ बढोस्

अघ्घोर जङ्गल सुन्दरबनै चियाघारी होस्

अनि कुन चैं मालिकले हिम्मत गर्ला

बनको बाघसँग जुझ्न ?

अनि

को चैं व्यापारी आउँदो र’छ

चियाको खुन चुस्न?

 

यसो गरे कसो होला?

बरू

हिउँद लाग्दा कलम पछि

जम्मै डँढेलो लगाइदिऔं

जिन्दगीमा एकै पल्ट

घाम नलागेपनि कमानेको आङमा

चियाको राप त ल्याऔं।

अनि

हेरून् न गुगलबाट संसारैभरि

चिया सल्केको झरिलो म्याप।

 

यसो गरे कसो होला?

जसरी तसरी रातै रात फेदैसँग

बुट्टासुट्टा ठुन्क्यादिऔं

जम्मै बुट्टाको चुली बनाई कुतुबमिनार बनाऔं

त्यसको टुप्पैबाट

एकेक गर्दै सेल्फि लिऔं

अत: नापिहेरौं शहरमा मालिकहरूको

अट्टालिका बराबर हुनछौं कि हुन्नौं ?

अत:

संसदभवनको टुप्पैबाट

यसको फोटो खिचोस्।

सेल्फिलाई चैं फ्रेमगरि

नातिनातिनालाई देखाऔं

त्यो गरे कसो होला ?

हँ ???

 


तिमीसँग के छ?

उसँग बन्दूक छ

पैसा छ

कानुन छ

तिमीसँग के छ गोर्खा?

 

उसँग राज्य छ

राज छ

राजनीति छ

तिमीसँग के छ गोर्खा?

 

उसँग राम छ

अयोध्या छ

रामदेव छ

तिमीसँग के गोर्खा?

 

उसँग सेना छ

सिमाना छ

सुरक्षा छ

अनि तिमीसँग?

 

उसँग विचार छ

दर्शन छ

दूरदर्शन छ

तिमीसँग के छ गोर्खा?

 

उसँग तिम्रो टोपी छ

उसँग तिम्रो खोपड़ी छ

उसँग तिम्रो गर्दन छ

 

तिमीसँग केछ गोर्खा?

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया