विमलपन्थीले समाते गोरामुमोका झण्डा : विनयपन्थी हिस्रिक्क

दार्जीलिङ, 18 मार्च।


विमलपन्थी गोजमुमो समर्थकहरूलाई विनय तामाङपन्थी गोजमुमोको साटो गोरामुमोमानै सामेल हुन ठीक लाग्यो। यसैले आज लप्चु, पेशोक, दवाईपानी, लामाहट्टा, टिस्टा हाई वे, रामपुरिया 6 माइलका लगभग 150 परिवार विमलपन्थी गोजमुमो समर्थकहरूले आज गोरामुमोको झण्डा ग्रहण गरेको गोरामुमो केन्द्रिय कार्यालय प्रवक्ता वाई. लामाले जानकारी गराए।

विमल गुरूङलाई पक्राउ गर्नमाथि लगाइएको रोकलाई देशको सर्वोच्च न्यायालयको खण्डपीठले खारेज गर्नसाथ विमल गुरूङपन्थी गोजमुमो समर्थकहरू आज गोर्खा राष्ट्रिय मुक्ति मोर्चामा सामेल भए, जसलाई पार्टी अध्यक्ष मन घिसिङले स्वागत जनाउँदै पार्टीको झण्डा प्रदान गरे।

यसबारे गोरामुमो केन्द्रिय कार्यालय प्रवक्ता वाई. लामाले पत्रकारहरूलाई सम्बोधन गर्दै भने-दार्जीलिङ पहाड़का धेरै जनता अहिले गोरामुमोमा सामेल भइरहेका छन्। उनीहरूमा छैटौं अऩुसूची भएरनै अलग राज्य गोर्खाल्यान्डसम्म पुग्न सकिन्छ भन्ने विश्‍वास दह्रिलो बनिरहेको छ।

गोरामुमो राजनैतिक रूपमा जनताबाट टाड़ा रहँदा जनताले केवल दुःख पाउन पर्यो भन्ने विषयलाई पहाड़का जनताले बुझेका छन्, यसैले जनताले अब पहाड़मा गोरामुमोनै पुनः दह्रिलो बन्नुपर्छ भन्ने जनताको इच्छा छ। यसैले एकपछि अर्को गाउँ र स्थानका जनता गोरामुमोमा सामेल हुन आइरहेका छन्।

जनताको लागि गोरामुमोले आफ्नो ढोका पूर्णरूपले खुल्ला राखेको छ, यसमा सबैलाई स्वागत छ। उनले जनताको बोलाहटमा पहाड़का विभिन्न स्थानहरूमा गोरामुमोले सभाहरू गरिरहेको बताउँदै गोरामुमोमाथि जनताको आस्था पुनः बढ़िरहेको बताए।

यसको ज्वलन्त उदाहरणनै गोरामुमोले गत केही सप्ताहअघि दार्जीलिङको मोटर स्ट्याण्डमा गरेको जनसभा हो, जसमा जनताको व्यापक सहभागिताले पहाड़का जनताले पुनः गोरामुमोलाई दह्रिलो बनाउने पहल गरिसकेको स्पष्ट हुन्छ, लामाले भने।

स्मरण गराइन्छ, गोजमुमोका संस्थापक अध्यक्ष विमल गुरूङ विरूद्ध सर्वोच्च न्यायालयले फसेला सुनाएपछि विनय तामाङपन्थी गोजमुमोले हिजो मात्रै विमल गुरूङकै घरको ठीकमुनि अवस्थित सार्वजनिक भवनमा एक सभा गरेर विमल गुरूङपन्थी गोजमुमो समर्थकहरूलाई सम्झाउने-बुझाउने काम गरेको थियो। तर यसको लगत्तै एक दिनपछि विमलपन्थी गोजमुमो समर्थकहरू गोरामुमोमा सामेल भएका छन्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया