ह्याभ अ ह्याप्पी पीरियड

Girl in a jacket

बहस

शैलीका छेत्री, दार्जीलिङ


नेपाली साहित्यमा धेरजसो नारीको हृदयस्तरमा उब्जिने विविध रीतिकालीन अनुभूतिलाई पन्साएर अधिकांश नारीको शरीर सौन्दर्य चिन्तनबारे कुरा धेर हुन्छ।  नारीका अरू आयामबारे बहस गर्ने परम्परा त भर्खर शुरु हुँदैछ। नारीलाई समाजको तेस्रो निम्नवर्गमा राख्ने प्रयास पुरानै हो। नारीलाई भोग्या वस्तु बनाउने पितृसत्ताको जग अहिलेसम्म पनि उत्तिकै बलियो छ। त्यसलाई भत्काएर नारी विमर्श गर्न सिमोन द बोउवाले धेरै चिन्तना अघि सारेका छन्।

फेमिनिज्म अहिलेसम्म विभिन्न भ्रमहरूसितै बहसको सतहमा छ।

उहिले उहिले फेमिन्ज्मको कुरा उति नचल्दा समाजमा नारीलाई भोग्या बस्तु बनाउने कविताहरू चल्थ्यो-

‘‘सौताको रीस गर्नु पाप छ बहुत्

एकै दुवैका पति।

मर्दामा पनि जानुपर्छ जसले

मिलेर सै सती

अहिले नारी विमर्श समाजमा आइसकेको छ। पितृसत्तामाथि धावा बोलिसकिएको छ।

वास्तवमा नारीत्व पुरूष सत्ता अघाड़ि कत्तै पनि कमजोर अनि लाचार थिएन। पितृसत्ताले आफ्नो शासन सुविधाको लागि नारीलाई कमजोररूपमा व्याख्या गर्दै आयो। जसले समाजलाई एकखाले मनोविज्ञान प्रदान गऱ्यो। नारी आफैले पनि त्यो सत्तामुनि आफूलाई कमजोर ठान्थे वा ठान्न बाध्य थिए। म यहाँ ती विषयतिर अहिले जान्न।

नारी त प्रकृतिको त्यो मलिलो भूमि हो, जसको पृष्ठभूमिमा परेको एकथोपा बीऊले पनि समग्र समाजको निर्माण गर्छ। नारीको हृदय कोमल त हुन्छ नै तर कोमललाई कमजोरको पर्यावाची बनाइयो। तर नारी आफैमा शक्तिहरूको बीज हो। नारीले कहिल्यै त्यो शक्तिको दाबी आफ्नो नीजि स्वार्थको लागि गरेन।

घोर द्वन्द्व, घात-प्रतिघात, विघ्न-वाधा अनि कठिन समस्यासित पनि शान्त र स्थिर बनेर झुझ्ने क्षमता नारीसित छ।  हिन्दू धर्मग्रन्थहरूले नारीलाई ब्रह्मको अति रहस्यमय सृष्टि मान्छ। पूर्व-विद्वान्हरूले धर्मशास्त्रमा पूर्ण-ब्रह्मको कल्पना गर्दा शिवको अर्धनारीश्‍वरको विग्रह रूपलाई बयान गरेका छन्-

‘‘यत्र नायस्तु पूज्यन्ते रमन्ते तत्र देवता’’

अर्थात जुन समाजमा नारीको सम्मान हुन्छ, त्यही देवताको वास हुन्छ।

शारिरिकरूपले पनि नारी अनुपम सृष्टि हो। नारीको शरीरलाई प्रकृति अनि विज्ञानको अति रहस्यमय रसायनशाला मानिन्छ। त्यसै कारण उ  एउटी कलिलो बालिकादेखि किशोरी, सम्पूर्ण नारी, प्रौढ़ नारी अनि वृद्ध नारी बन्छ। नारीको यस्तो परिवर्तनको प्रत्येक मोड़मै नारीको सौन्दर्यको आआफ्नै गरिमा छ।

कलिलो बालिकाबाट नारी बन्ने प्राकृतिक क्रीड़ामा नारीको शरीरमा दुई विशिष्ट रासायनिक संदेशवाहक एस्ट्रोजन अनि प्रोजेस्ट्रोन-को नाट्यक्रीड़ाले लगातार नारी शरीरमा परिवर्तन ल्याइरहने कुरा विज्ञानले गर्छ।

एस्ट्रोजन अनि प्रोजेस्ट्रोनको मिल्दो नृत्यमा, १०-१२ वर्षीय अबोध बालिकालाई अचानक परिवर्तनमा नयाँ अनुभव दिन्छ। त्यो नारीको प्रजनन शक्तिको अनौंठो उर्वरक मोड़ हो।

 

मेन्स्रुएसन: एक स्वाभाविक घटना

पीरियड्सलाई नारी प्रजनन चक्रको प्राकृतिक अङ्ग मानिन्छ। तर समाजमा त्यही एउटा टाबो बनेर बसेको छ। मानौं पीरियड्स एक महान अपराध हो। धर्मग्रन्थहरूले आफ्नै मूल्य थोप्ने र पितृसत्तालाई सघाउने हुनाले पनि पीरियड्सलाई लिएर समाजमा धेर नकरात्मक सोचको विकास भएको हो।

पीरियड्स त स्वाभाविक क्रिया हो। नारीको गर्भाशयबाट रक्त, योनीमार्ग भएर प्रत्येक महिना निस्कने गर्छ। त्यसैले पीरियड्स नारीको शरीरमा प्रत्येक महिना ५ दिन वा कसैमा ७ दिनसम्म चलिरहने स्वभाविक गायनिकोलजिकल घटना हो। पीरियड्सको प्रभावमा नारीले ६ महिनामा ३० दिन/सालमा ६० दिन अनि सम्पूर्ण जीवनकालमा ३००० दिन यो स्वभाविक प्रक्रियालाई फेस गर्छन्। आमतौरमा किशोरीको जीवनको १० देखि १५ वर्षको उमेरमा पीरियड्सको शुरूवाती चरण हो।

यस अघाड़ि किशोरीको मस्तिष्कमा रहेको पिट्यूटरी ग्रन्थीद्वारा गोनैडोट्रोपिन नामक रासायनिक संदेशवाहकको व्यापक प्रभावमा रहन्छ।  नारीको सानो भूँडीभित्रस्थित गर्भाशय जसको दुइपट्टि सानो बदाम आकारमा बनिएको अण्डाशय हुन्छ। त्यहॉंबाट प्रत्येक महिनामा सैकड़ौं अण्डा बनिने गर्छ। किशोरी जब यौवनको दैलोमा पुग्छ, उसको शरीरमा रासायनिक संदेशवाहकको मिल्दो-जुल्दो प्रभावले किशोरीको शरीरमा गर्भाशयलाई नियन्त्रित गर्ने अण्डाशय हार्मोन एस्ट्रोजेन अनि पोजेस्ट्रोनको अत्यन्त संवेदनशील असर देखिन्छ।

 

यौवनावस्थाको संवेदनशीलतासित किशोरी

एस्ट्रोजेन अनि पोजेस्ट्रोनको प्रभावमा किशोरीको शरीर मात्र प्रभावित नरहेर उसको भावनाको स्तरलाई पनि यो हार्मोनले परिवर्तनको बाटोमा हिँड़ाउँछ। सानो बालिकाबाट उत्साहपूर्ण किशोरी बन्नेबेला (८-१३ वर्षको आयुमा) किशोरीको स्तनमा अचानक परिवर्तन देखापर्छ।

त्यहाँ विस्तारै ब्रेस्ट टिस्यू मास थुप्रिँदा  सँधै सपाट अनुभव हुने स्तन विस्तारै विकसित बनेर ‘ब्रेस्ट बडस्’ बनिसकेको हुन्छ। किशोरावस्थामा हर्मोन्सले शरीरमा ल्याएको यस्तो व्यापक परिवर्तन, अदभूत प्राकृतिक घटना भए तापनि बालिका पजिटिभ पेरेन्टल शिक्षाको अभावले हीनभावनामा ग्रसित पनि बन्ने गरेको पाइन्छ।

तर, यो परिवर्तन यतिमै सीमित रहँदैन।  ८-१४ वर्षको कलिलो यौनवास्थामा जननाङगमा विस्तारै प्यूभिक हेयर्स उम्रिन थाल्छ। त्यसको साथमा किशोरीको हाइटमा पनि  ४.५ इञ्चको बढत हुन्छ। हात, खुट्टा, टाउको पनि बढ्छ। त्यसरी किशोरीको हिप डायामिटरमा विकास आएर उसको कमरको दुई भाग पनि हिप डायामिटरसित भित्र पस्दै जान्छ।

यसरी किशोरीको शरीर कालान्तरमा नारीको शरीर बन्दै गएको हुन्छ। तर, यसप्रकारको सुन्दर परिवर्तनले ल्याएको शारीरिक विकाससित किशोरीको योनीबाट सेतो वा पहेलो रङको चिपचिप पदार्थको स्राव प्रवाह हुने गर्छ। र त्यसको महिना दिनमा किशोरीको प्रजनन अङ्गबाट प्रथमचोटि मेन्स्रुएसन रक्त स्वत: प्रवाहित हुन थाल्छ।

किशोरीको शरीरमा मेन्स्रुएसन प्रक्रिया सुचारूढङ्गमा कार्यशील बन्न कतिपयलाई लामो समय लाग्न पनि सक्छ।

यी प्राकृतिक प्रक्रिया हुन्। तर पीरियड्स्बारे उसका अभिभावकहरूले नै ज्ञानभावले विभिन्न भ्रमहरू दिने सम्भावना हुन्छ। अभिभावकलाई पीरियड्सबारे ज्ञान हुन अनिवार्य छ।

 

मेन्स्रुएसन प्रक्रिया

रासायनिक संदेशवाहकले गर्भाशय हर्मोन एस्ट्रोजन अनि पोजेस्ट्रोनलाई नारी गर्भाशयमा महिनाको एकपल्ट परिपक्व अण्डा बनिने सङ्केत दिन्छ। यस अवधिमा परिपक्व बनेको अण्डा पुरूष शुक्राणुसित सेक्स प्रक्रियाद्वारा निषेचित भए, त्यो निषेचित अण्डा फिलोपियन टिब्यूअलको मार्ग भएर गर्भाशयको मोटो पोषक अस्तर (एन्डोमेट्रियम)-मा आएर टाँसिन्छ, अनि त्यहींबाट नौ महिनाको लामो अवधिमा एउटा विकसित शिशुको निर्माण हुन्छ।

तर, पुरूष शुक्राणुद्वारा नारीको अण्डा निषेचित हुन नपाए, त्यो अण्डा फिलोपियन टिब्यूअलको मार्ग भएर गर्भाशयमा आउँछ अनि लगातार कम्पनको प्राकृतिक प्रक्रियाबाट गर्भाशयबाट अण्डासहित गर्भाशयको भित्तामा गर्भावस्थाको निम्ति थुप्रिएको पोषक एडोमेट्रियमको मोटो परत अस्तर लगायत म्यूकस, गर्भाशय रक्तको रूपमा प्रत्येक महिना योनीमार्गमा रसिन्छ। जसलाई बायोलोजिकल संसारमा मेन्स्रुएसन भनेर बुझिन्छ।

प्रत्येक महिना गर्भावस्थाको निम्ति एक पीरियड चक्रको पहिलो दिनदेखि गनिने गर्छ। पीरियड चक्र नारीमा २८ दिनको लामो अवधिमा आए तापनि वयस्क नारीमा पीरियड चक्र २४ देखि ३२ दिन अनि किशोरी नारीमा २१ देखि ४५ दिनको अवधिपछि देखापर्छ। पीरियड चक्र नारी गर्भाशयमा रासायनिक संवेदवाहक एस्ट्रोजेन अनि पोजेस्ट्रोनको स्तरमा आएको वृद्धि एवम् गिरावटबाट नियन्त्रित भएको हुन्छ।

 

एब्नार्मल पीरियड्स

कैयौंपल्ट नारीको शरीरमा पीरियड अनियमित बन्ने गर्छ। कति नारीमा पीरियड चक्र महिनामा एकपल्ट नभएर दुई वा तीन महिनाको अन्तरालमा अत्यन्त पीड़ादायी पीरियड्स (डिसमेनोरिया) वा हेभी पीरियड्स (मेनोरेजिया) भएर नारीलाई शारीरिक रूपमा कमजोर बनाउँछ। यस्ता अनियमितताको मुख्य कारणहरू मेडिकल संसारमा प्रचलित रहेको पाइन्छ:-

– पलिसिस्टिक ओवरी डिसीज (पीसीओएस)

– पेल्विक इन्फ्लेमेट्री डिसीज (पीआईडी)

– प्री-मैच्योर ओवेरियन इएन्फिशियन्सी

– यूटेराइन ऐब्नार्मलिटीन

– इटिन्ग डिसअर्डर, जस्तै- एनोरेक्सिया, बुलिमिया

– भावनात्मक तनाव (इमोशनल स्ट्रेस)

– चुरोटको अत्याधिक सेवन

– अल्कोहलको अधिक सेवन

– मेनोपज

– एनीमिया इत्यादि।

यसप्रकारको बायोलोजिकल तथ्यपछि  मेन्स्रुएसन नारी गर्भाशयबाट प्रत्येक महिनाको २८ दिन (२१-४५ दिन)-को अवधिपछि योनीबाट रक्त प्रवाहित हुने स्वाभाविक प्रक्रिया हुन्छ। मेन्स्रुएसन रक्तमा विशेष गरेर म्यूकस, एडोमेट्रियमका अधिकांश अंश, रक्त ल्यूकोसाइट अनि गर्भाशयको अण्डा ग्रन्थीले बनाएको अनिषेचित अण्डा हुन्छ।

वास्तवमा, गर्भधारण नारी गर्भाशयमा नभएको खण्डमा पोषण एडोमन्ट्रियमको सतह अति वृद्ध बनेर आफै नै बायोलोजिकल प्रक्रियाद्वारा टुक्रिने गर्छ अनि अन्तमा रक्त प्रवाहको माध्यमबाट नारी गर्भाशयबाट निस्किन्छ। त्यसपछि मात्र नारी गर्भाशय फेरि अर्कोपल्ट गर्भावस्था निम्ति तैयार बन्ने गर्छ।

त्यसोभए मेन्स्रुएसन, ‘the funeral of the unfertilized ovum’ हो, जसको दु:खद मरणमा नारी गर्भाशय प्रत्येक महिना दु:खले रून्छ अनि उसको त्यो आँसु चाहिँ मेन्स्रुएसनको रूपमा बाहिर निष्काषित हुन्छ। यही कारण लाग्छ, यस्तो स्वाभाविक बायोलोजिकल प्रक्रियालाई किन पूरातन समाजले मेन्स्रुएसन ट्याबु बनाएर हेरेका होलान्?

 

मेन्स्रुएसन ट्याबु

समाजमा मेन्स्रुएसन नारी सम्बन्धित अहम् समस्या रहेकोले  समाजमा नारीलाई मेन्स्रुएसनको अतिसाधारण चक्रमा पनि अशुद्धिकरणको स्तर मुन्तिर दबाउने प्रयासमा देखिन्छ समाज। सायद त्यसरी नै समाजमा अज्ञानताको परत मुनि कैयौं मेन्स्रुएसन ट्याबुलाई प्रख्यात बन्ने बाटो प्राप्त भएको हुनसक्छ।

अहिले पनि पुरानो  मान्यताले नारीलाई पीरियड प्रवाहमा मन्दिरमा प्रार्थना, पवित्र पुस्तकको पठन, प्रसादको सेवन, भुइँमा सयन गर्ने, घरको मुखियालाई नछुने, पीरियड स्रावमा अमिलो अचार नखाने इत्यादि ट्याबुहरूमा बाँधेर राख्छ। जसको कुनै वैज्ञानिक आधार नै छैन।

यतिमात्र नभएर नारीलाई पीरियड्स रक्त लागेको लुगा सबैको आँखा छलेर बिहानीको प्रथम पहर वा रात्रीको अँध्यारोमा सफा गर्न लगाउँछ परम्परा। त्यसरी नै मान्यताले पीरियड्समा नारीलाई प्रयोग हुने कपड़ा सूर्यको किरणमा नसुकाएर, घरको कुनातिर झुण्ड्याउन बाध्य बनाउँछ।

यसरी सूर्यको किरणबाट मेन्स्रुएसन कपड़ा टाड़ो रहनाले त्यही पीरियड्सको लुगाबाट ब्याक्टेरिया अनि फल डिसीजबाट पीड़ित बन्छन् नारी। रक्त लागेको प्याड/कपडालाई वंशीकरणको निम्ति प्रयोग गरिन्छ भन्ने भ्रममा नारीलाई सैनिटेरी प्याड/कपडालाई जमिन मुनि डिसपोज गर्न लगाएको भेटिन्छ पुरातन समाजमा। त्यसरी अत्यन्त गोपनीय राखिन्छ समाजमा पीरियड्सलाई तर संसारको कतिपय कुनातिर मेन्स्रुएसन ट्याबुलाई पोजिटिभ दृष्टिले हेर्ने प्रख्यात् मान्यताहरू पनि छन्।

सेन्ट्रल अफ्रिकाको हन्टर ट्राइब Mbedjele-ले मेन्स्रुएसनलाई शक्तिशाली, उर्वरक तथा चोखो प्रक्रिया मान्ने गर्छ। त्यसैले यस ट्राइबलका नारीलाई पीरियड्समा सम्पूर्ण शारीरिक आरामको छुट् दिइन्छ, त्यसैले Mbedjele ट्राइबल नारीले मेन्स्रुएसनलाई My biggest husband is the moon भन्ने गर्छ।

जाइरियामा पनि Mbuti ट्राइबले मेन्स्रुएसनलाई चन्द्रमाको पवित्र उपहार मानेर, किशोरीलाई प्रथमचोटी पीरियड हुँदा, किशोरीलाई ट्राइबल समाजले बनाएको ‘मेन्स्रुएसन घर’-मा राखिन्छ। जहाँ ती किशोरी जस्तै- कैयौं अन्य किशोरी पनि मेन्स्रुएसन निम्ति आएका हुन्छन्। त्यही घरमा चन्द्रमाले किशोरीलाई प्रजनन निम्ति तैयार पारेकोमा अनौठो उत्सव मनाइन्छ। र त्यस घरलाई चलाउने ट्राइबल समाजका वरिष्ठ नारीले किशोरीलाई प्रजनन बारेमा महत्त्वपूर्ण जानकारी दिने गर्छन्।

पाश्‍चात्य समाजमा पीरियड अत्यन्त स्वाभाविक प्रक्रिया मानिन्छ। त्यसैले यहाँको समाजमा मेन्स्रुएसनप्रति जागरूकता रहेको छ। यहाँ नारी पूर्णतह स्वतन्त्र छ। तर भारतमा मेन्स्रुएसनमाथि कुन्नि किन हजारौं मिथहरूको मान्यता छ  र यस्तो मिथको चलनचल्तीको कारण नारीलाई घरबाट मेन्स्रुएसन अनि मेन्स्रुएसन सम्बन्धित विरामीलाई गोपनीय राख्न किशोरवास्थादेखि नै सिकाइन्छ।

त्यसैले यहाँ नारी मेन्स्रुएसन सम्बन्धित पालिप्स, फायब्रायड, एडोमीट्रिओसिस, पेल्विक इफ्लेमेट्री डिसीज (पीआईडी), एडिनोमायोसिस जस्ता हेल्थ समस्यामाथि कुरा गर्न लजाउँछन्।

तर, अहिलेको अत्याधुनिक युगमा जागरूक नारी समाज पनि छन्, जसले पीरियडस्लाई ‘हैभ अ हैप्पी पीरियड’-को क्याटेगोरीमा राखेर हेर्ने संस्कारसित बाँचेको देखिन्छ।

 

शहरमा मेन्स्रुएसन

शहरमा नारीहरूको कतिपय समाजले खुलेर प्रब्लम फ्री पीरियडस् अनि मेन्स्रुएसन हायजीनको जानकारी राख्छ। पीरियडस्को शुरूआती दिनमा पीरियड ब्लड एब्जार्पशन निम्ति प्रयोग गरिने लग्न व एक्सट्रा एब्जार्पशन गर्ने प्याड वा कम्ति फ्लोको दिनमा प्रयोग हुने सामान्य प्याड प्रत्येक २ वा ३ घन्टामा चेन्ज गर्ने कुरामा जोड़ दिन्छ यो नारी समाज।

हुनपनि मेन्स्रुअल ब्लड एकपल्ट योनीबाट प्याडमा एब्जब भएपछि, त्यही ब्लड व जननाङ्गको चिसेनीबाट अनेकौं संख्यामा जीवाणुहरू उब्जिने गर्छ। यहींबाट नारीमा यूरिनरी ट्रेक्ट इन्फेक्सन, वजाइनल इन्फेक्सन अनि स्किन रेश हुने खतरा बढ़ेर जान्छ।

पीरियडसमा नारीलाई नियमित रूपमा नुहाउने अनि प्रत्येक प्याड चेन्जमा वजाइनल रीजनलाई केवल पानीले मात्र सफा राख्ने मान्यतामा हुन्छन् शहरिया नारी।

शहरमा नारीले प्रीमेन्स्रुअल सिन्ड्रोम बारे खुलेर कुरा गर्छन्। मेन्स्रुएसन शुरू हुनु अघि हुने चिड़चिड़ापन, अनिद्रा, कमर दर्द, पिम्पलस्, पेट फुलिनु, स्तनमा भारीपन, टाउको दुख्नु, थकान अनुभव हुनु इत्यादि समस्याबारे जागरूकता चाहिन्छ। शहरिया नारीले एब्नर्मल पीरियड्सको तीन प्रमुख समस्याबारेमा पनि चर्चा गर्छ।

सेकन्डरी एमेनोरिया : यस समस्यामा प्रत्येक महिना आउने पीरियड दुइ वा तीन महिना निम्ति बन्द हुन्छ, यो समस्या पूर्णतह हार्मोन्सको गड़बड़ीबाट उब्जेको हो।

हैभी पीरियड्स (मेनोरेजिया) : यस समस्यामा नारीले नार्मल पीरियड्स भन्दा धेर ब्लीडिङ फेस गर्नुपर्छ। पीरियड्सको अवधि पनि मेनोरेजियामा नौ देखि दस दिनसम्म हुन्छ।

पेनफुल पीरिड्स (डिसमेनोरिया): गर्भाशयमा प्रोस्टग्लैडिन केमिकलको स्तर बढ़ेर जाँदा, प्रत्येक पीरियड् र टाउको दुख्नु, कमर दुख्नु, डायरिया अनि पीरियड्स क्राम्प्स मुख्य समस्या हुन्छ।

नारीमा आफ्नो शारीरिक समस्याबारेमा जागरूकता बढ़ेको छ। र यही जागरूकतामा बाँच्ने गर्छ, अत्याधुनिक युगका शहरीया नारी। तर, पीरियड्समा अज्ञानता अनि गरीबीले ग्रामीण नारीको हालत देहाती गाउँमा कस्तो बन्दो हो? सायद, गाउँका नारीले पीरियड्सको समस्यालाई लाजको परत मुनि दबाएर बाच्न बाध्य छन्।

 

गाउँमा मेन्स्रुएसन

गाउँमा शिक्षा अनि जागरूकताको कमीले गाउँको कतिपय गरीबीरेखा मुन्तिर गनिने नारी समुदाय मेन्स्रुएसन ट्याबुबाट अत्यन्त पीड़ित छन्। यस्ता अत्यन्त गरीब नारीको हिस्सामा आफ्नो शरीरको अङ्गलाई ढाक्ने कपड़ा पनि हुँदैन वा कतिपय गरीब घरमा पीरियड्समा प्रयोग गरिने दुइभन्दा पनि कम्ति सानो, पातुलो चित्रो कपड़ा मात्र हुन्छ।

यस्ता नारी समुदायको निम्ति पीरियड्समा ‘हायजनिक स्यानिटेरी प्याड’ जस्तै- ‘एब्जार्बेन्सी’, ‘लेन्थ व फ्लो प्याड’ अनि ‘मटीरियल कन्फर्ट प्याड’ किन्नु भनेको परिवारलाई एक हप्तासम्म भोको राख्ने विकटपूर्ण कुरा हुनसक्छ।

त्यसोभए यस्तो गरीबी हालतमा त्यस्ता नारीले ‘पीरियड् एब्जार्पसन’ निम्ति के प्रयोग गर्छन्? प्रश्‍न यस्ता गरीब नारीलाई जटिल छ।

ती गरीब नारीको शरीर ढाक्ने कपड़ालाई गरीबीपनले यतिको चित्रो बनाइसकेको हुन्छ। त्यस नारीको कपड़ामा उद्रेको भ्वाङको सिमारेखालाई कुनै पनि आश्‍वासन बोक्ने सियो धागोले पनि सिलाउनु नसक्ने अवस्थामा हुन्छ। खुला पोखरी वा नदीको घाटमा नुहाएपछि पनि  यस्ता नारीलाई परम्परागत गरीबीको चोटले त्यही मैलो कपड़ाले शरीर ढाक्न बाध्यता पर्छ।

प्रति महिना प्रजनन चक्रले ल्याएको मेन्स्रुएसन जस्तो सामान्य कुरा पनि यस्ता नारीको निम्ति ठूलो समस्या नै ठहरिन्छ। समस्या अत्यन्त गम्भीर छ, पीरियड ब्लड एब्जर्व गर्नु कुन कपड़ा त्यसबेला नारीले प्रयोग गर्ला? शरीरको लाज ढाक्ने फाटेको कपड़ा पीरियडमा प्रयोग गरे पनि  नारी शरीरको अङ्गलाई पुरूष सत्ताको कुदृष्टिबाट कसरी जोगाउनु सक्ला?

त्यसैले भारतको गरीब देहाती गाउँका ८० प्रतिशत नारी तथा बेघर सड़कमा आश्रय लिइरहेका मगन्ते नारीले महिनाको त्यो रक्त प्रवाहित दिनमा स्यानिटेरी प्याड वा कपड़ाको सट्टामा कुन पदार्थको प्रयोग गर्छन् त?

यस प्रश्‍नको उत्तर भारतीय नारी समाजलाई अत्यन्त मार्मिक कुरा थियो। जसलाई समाज अघाड़ि कतिपय जागरूक युवा क्लब-का सदस्य व हिन्दी फिल्म ‘प्याडमेन’-ले उजागर गर्ने प्रयास चलायो। गरीब नारीले पीरियड एब्जोर्पशनको निम्ति प्याड वा कपड़ाको सट्टामा सुकेको गोबरको ढेला, सुकेको पत्ताहरू, चिम्टे माटोको ढेला, सुकेको रूखको खस्रो बोक्रा, बलुवा प्रयोग गर्ने तथ्य चाहिँ फर्निस्ड बाथरूममा प्रयोग गर्दै पीरियडस्मा सैनिटेरी हायजीनबारे कुरा गर्ने जागरूक समाजलाई लज्जास्पद विषय नै हो।

आखिर शहरमा फर्निस्ड बाथरूममा खर्च हुने टयलेट वाश, टिश्यू पेपर वा टयलेट पेपर कम्ति मात्रामा प्रयोग गरेर यस्ता गरीब नारीलाई पीरियडस्मा साधारण न्यापकिन सरकारले प्रदान गर्न सके  सायद यस्तो असामान्य चिजको प्रयोगले नारीको शरीरमा उब्जाउने भयप्रद यूरिनरी ट्राक्ट इन्फेक्सनको कारण वजाइनामा व्याक्टेरियाले सङ्क्रमित गर्ने गायनिकोलजिकल विरामी शुरू हुने थिएन होला।

यस्तै पीरियड हायजीन नारीमा नहुँदा, गरीब नारीको प्रजनन अङ्गमा कहिले निको नबन्ने घाउ बनिन्छ अनि  त्यहींबाट सरभाईकल क्यान्सर जस्तो भयानक रोगले नारीको मृत्युसम्म हुन्छ।

उता अत्याधुनिक समाजका प्रतिनिधि अमेरिका, जर्मनी अनि अस्ट्रेलियाजस्ता विकसित देशमा नारीले पीरियडमा सिलिन्डर शेपमा बनिएको कटनको अत्याधुनिक पीरियड अवशोषित गर्ने प्याड अर्थात ट्याम्पून प्रयोग गर्छन्। यस्तो ट्याम्पूनको प्रयोग २ % चीनमा, ७०% यूरोपमा भएपनि नाइजीरिया, संयुक्त अरब अमीरात, तुर्की, केन्या, मारोको, थाईल्याण्डमा ट्याम्पूनको प्रयोग हुँदैन।

समयसाथ टेक्नोलोजी पनि बढ़ेर गएको छ र उन्नत टेक्नोलोजीले भर्खर मात्र स्यानिटेरी प्याडभन्दा सस्तो अनि सुरक्षित ‘मेन्स्रुअल कप’ -को निर्माण गरेको छ। यो ‘मेन्स्रुअल कप’ मेडिकल ग्रेड सिलीकनले बनिएको नम्य बेल शेपको अत्याधुनिक प्रयोगात्मक वस्तु रहेको छ। यस ‘मेन्स्रुअल कप’ -लाई पीरियड्समा योनीभित्र राखिन्छ अनि कति घन्टाको अन्तरालमा ‘मेन्स्रुअल कप’ -मा ब्लँड भरिएपछि, त्यसलाई सफा गरेर फेरि प्रयोगमा ल्याउने गरिन्छ। फेरि स्यानिटेरी प्याडमा प्रयोग भएको कटन चाहिँ  प्रयोग पश्‍चात् व्याक्टेरिल प्रक्रियाबाट नष्ट भई हाल्छ  भने यसमा प्रयोग हुने प्लास्टिकले प्याडको व्याक्टेरिया नष्ट प्रक्रियामा अवरोध पुऱ्याउँछ र त्यहींबाट पर्यावरणमा प्रदुषण फैलिने गर्छ।

यसै विषयलाई ध्यानमा राखेर अहिले बनाइएको अत्याधुनिक उपकरण ‘मेन्स्रुअल कप’ -लाई मानिएको छ।

तर, अहिले पनि भारतको २०% नारीले गरीबीको स्तर मुनि बाँच्ने हुनाले यस्ता नारी जमातले स्यानिटेरी न्याप्किन पीरियडमा प्रयोग गर्न सक्तैनन्। यस्तोमा  जतिनै समाज जागरूक भएपनि, यो जागरूकता समाजले नारी समुदायमा फैलाउनु पर्छ।

अनि समाजका जागरूक सत्ताले सकेसम्म प्रत्येक पछाड़िएका नारी समाजबाट अज्ञानता मेटाउने प्रयास गर्नुपर्छ।

As, a women whom providence has provided with beauty of spirit and body is a truth, at the same time both open and secret, which we can understand only by love, and touch only by virtue ; and when we attempt to describe such a women she disappears like a vapour.

कालेबुङको क्याफिन एन्ड कपिज-ले ग्रामीण नारीहरूलाई स्यानिटेरी न्याप्किन उपलब्ध गराउने जुन अभियान थालेको छ, के त्यसमा तपाईँको सहभागिता अनिवार्य छैन र?

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया