अब नारी मोर्चाले नारा होइन, रोजगारको व्यवस्था गरिदिने

दार्जीलिङ, 19 मार्च।


अब दार्जीलिङका नारीहरूले नारा मात्रै लगाउने छैन, बेरोजगार युवा-युवतीहरूका लागि रोजगारको व्यवस्था गरिदिने पनि निर्णय लिएको छ। जसको लागि गोर्खा जनमुक्ति नारी मोर्चाले दार्जीलिङ पहाडभरिनै 50 प्रतिशतभन्दा कम्ति अङ्क लिएर दशौं वा बाह्रौं श्रेणी उत्तीर्ण भएर बेरोजगारीको जीवन जिउन बाध्य बनिरहेका युवा-युवतीहरूका लागि विभिन्न विधामा प्रशिक्षण शुरू गर्ने भएको छ।

यसैको लागि आज नारी मोर्चाले केन्द्रिय समिति समन्वयक छिरीङ दाहालको नेतृत्वमा दार्जीलिङ नगरपालिका अध्यक्षसमक्ष ज्ञापन दियो। नारी मोर्चाले दार्जीलिङ नगरपालिकाबाहेक खरसाङ, कालेबुङ नगरपालिकामा पनि ज्ञापन दिइसकेको दाहालले जानकारी गराइन्। उनले भनिन्-दार्जीलिङ पहाड़का नगरपालिका क्षेत्रमा नगरपालिकाको ट्रेड लाइसेन्स लिएर धेरैले व्यवसाय चलाइरहेका छन्, ती व्यवसायिक संस्थानहरूमा स्थानीय बेरोजगार युवा-युवतीहरूलाई काम दिने कार्य भए यहाँको बेरोजगार समस्या धेरै हदसम्म समाधान भएर जानेछ।

यसको लागि नगरपालिकाले पनि सहयोग प्रदान गर्नुपर्छ भन्ने अपील गर्नको लागिनै नगरपालिकालाई नारी मोर्चाले ज्ञापन दिएको हो। उनले अझै अघि भनिन्-नारी मोर्चाले दार्जीलिङमानै रोजगारको व्यवस्था कसरी गर्न सकिन्छ भन्ने विषयलाई मूल मुद्दा बनाएको छ, यसैले चाहे सिंगड़ा दोकानमा होस् वा होटलमा स्थानीय बेरोजगारहरूलाई प्राथमिकता दिनुपर्छ। असल अङ्क लिएर परीक्षाहरूमा उत्तीर्ण हुने, राम्रो पढ्ने विद्यार्थीहरूले दार्जीलिङदेखि बाहिर गएर पनि राम्रो काम पाउन सक्छन्।

तर 50 दशौं र बाह्रौं श्रेणीमा 50 प्रतिशतभन्दा कम्ति अङ्क लिएर उत्तीर्ण हुने विद्यार्थीहरूले काम पाउन सक्तैनन्। यसैले यस्ता विद्यार्थीहरूका लागिनै नारी मोर्चाले यसप्रकारको योजना बनाएको हो, ताकि दार्जीलिङमानै उनीहरूले रोजगारको अवसर पाउन सकुन्। यसको लागि नारी मोर्चाले शीघ्रै दार्जीलिङ, खरसाङ, कालेबुङ र मिरिकमा प्रशिक्षण शुरू गर्ने भएको बताउँदै कालेबुङ नगरपालिकाले प्रशिक्षणको लागि स्थान उपलब्ध गराउऩे आश्‍वासन दिएको पनि दाहालले बताइन्।

उनले लगभग 1 सप्ताहदेखि 10 दिनको प्रशिक्षण गराएर सप्ताहमा 160 जना कर्मचारी तयार गर्न सकिने लक्ष्य राखिएको  बताएकी छन्, जसअनुसार 3 महीनाको अवधिमा 10 हजार कर्मचारी बनाउने भएको पनि बताइन्।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया