एक साथ दुइ गोर्खे कलाकारको भिड़न्त, आसाम बनाम देहरादुन अथवा विशाल बनाम आकाश

विकास दूतराज, मुम्बई, 24 मार्च।


भारतमा गोर्खाहरूको परिचयको विषयको उठान हुन साथै दार्जीलिङतिर हेर्ने परम्परा अब बिस्तारै ध्वस्त हुँदै गइरहेको प्रतीत हुँदछ। दार्जीलिङमा मात्रै नेपाली कलाकार र प्रतिभाहरू रहेको सोचमा अब बिस्तारै परिवर्तन आउन थालेको छ। छिमेकी राज्य सिक्किममा उचित भरण-पोषण प्राप्त गरेर प्रतिभाहरूले सबै क्षेत्रमा आफ्नो परिचय स्थापित गरी दार्जीलिङ केन्द्रित सोचमा परिवर्तन आउन थालिरहेको समय अब देशका ती राज्यहरूबाट गोर्खे कलाकारहरूले आफ्नो जातिको नाउँ प्रकाशित गर्ने काम गरिरहेका छन् जहाँ उनीहरू अल्पसङ्ख्यकमा बसोबासो गरेर आइरहेका छन्। आसाम, उत्तराखण्ड, दिल्ली, डुवर्स, मणिपुर, मुम्बई, नागाल्यान्ड, मेघालय आदि क्षेत्रबाट गीत-सङ्गीत, सिनेमा, खेल, साहित्य, शिक्षा, प्रशासन, सुरक्षा, विज्ञान, व्यापार-व्यवसाय, राजनीति, खेतीपाती आदि दिशामा गोर्खाहरू अघि आउन थालेर अनि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा जातिको नाउँ उजागर गर्न थालेको कारण मूल्यहीन राजनीतिक गतिविधिमा मात्रै अल्झिरहने दार्जीलिङको सुनाम अब धमिलिँदै गइरहेको देखिन्छ। हालमा दार्जीलिङइतर इलाकाहरूबाट गोर्खे प्रतिभाहरूले जुन ख्याति आर्जन गरिरहेका छन् त्यसलाई मध्यनजर गरेर हेर्नु हो भने अब गोर्खाहरूको हैकम यस पहाड़ी इलाकामा होइन तर देशका विभिन्न राज्यहरूमा पनि स्थापित हुन गइरहेको बुझिन्छ। राजनीतिकै दिशामा पनि देशमा सबैभन्दा धेर जनघनत्व रहेको दार्जीलिङ (जसलाई गोर्खा चेतनाको राजधानी पनि भनिन्छ) – बाट लोकसभामा गोर्खा सांसद नहुनु अनि आसामको तेजपुरबाट गोर्खा सांसद हुनु जस्तो घटनाले यो जातिको अस्तित्व दार्जीलिङमै मात्र सीमित छैन भन्ने गतिलो प्रमाण दिँदछ। प्रतिभाको क्षेत्रमा पनि अवस्था यस्तै छ।

मौका र अवसर मात्रै पाऊन् गोर्खे प्रतिभाहरूले कलाकारिताको माध्यमबाट आफ्नो पहिचान कायम गर्नलाई उड़ान भर्न थालिहाल्छन्। सानो पर्दा (टेलिभिजन) –को दुनियाँमा रियलिटी शो मार्फत् आफ्नो परिचय दखल गर्ने धेरै कलाकारहरूको नामावलीमा अहिले प्रखर बनेर अघि आइरहेका दुइ कलाकार हुन् देहरादुनका आकाश थापा अनि आसामका विशाल शर्मा।

आज 24 मार्चको राति सोनी इन्टरटेनमेन्ट च्यानलबाट राती 8 बजीदेखि जीवन्त प्रसारण हुने सुपर डान्सर सिजन दुई प्रतियोगिताको फाइनल चक्रमा पुगिसकेका यी दुई गोर्खे बाल कलाकारहरू तर यसपाली भने एकअर्कामा भिड़्ने भएका छन्। सुपर डान्सर सिजन दुईको यस फाइनल चक्रमा जम्मा पाँचजना कलाकारले आफ्नो जीवन्त प्रस्तुति प्रदर्शन गर्नेछन् भने यी दुई गोर्खे कलाकारहरूले पनि आफ्नो कलाकारितामार्फत् सम्पूर्ण समाजको नाउँ उज्यालो गर्ने प्रयास गर्नेछन्। यस प्रतियोगिताको फाइनलमा यी दुवै कलाकारहरूलाई विजयी बनाउनका लागि कलाप्रेमी सबै दर्शकहरूले आफ्नो मोबाइलमार्फत् निःशुल्क भोट गर्नुपर्नेछ। भोटिङ लाइन लाइभ प्रसारण भइरहेकै समय अर्थात आज 24 मार्चको राति 8 बजी नै शुरू हुनेछ। यसै सिलसिलामा दुवै कलाकारका अभिभावकहरूले पनि यी दुई बालकलाई अझ धेर मत प्रदान गरेर विजयी बनाई सम्पूर्ण गोर्खा जातिको नाक राख्नुपर्ने समय आएको बताएका छन्।

13 वर्षीय आकाश थापा देहरादुनको क्लिमेन्ट टाउनको इन्द्रपुरी फारमका निवासी हुन् भने 12 वर्षीय विशाल शर्मा आसामको जोरहाट निवासी हुन्। आकाश थापा देहरादुनको आर्मी पब्लिक स्कूलका आठौँ कक्षाका छात्र हुन् भने विसाल शर्मा जोरहाट राष्ट्रिय विद्यालयका छात्र हुन्। आकाश थापालाई नृत्य निर्देशक विवेक चचेरेको मार्गनिर्देशन प्राप्त भइरहेको छ भने विशाल शर्मालाई वैभव घुगेले सहयोग पुऱ्याइरहेका छन्।

आज राति यी दुई गोर्खे नृत्य कलाकारहरूले प्रतियोगिताको अन्तिम राउन्ड अर्थात फाइनल राउन्डमा देशका लाखौँ दर्शकहरूसामु जीवन्त प्रदर्शनी गरेर आफ्नो जातिको शिर उच्च राख्नेछन् भने यी दुवैलाई लाइभ भोटिङमार्फत् मत प्रदान गर्न खुबै आवश्यक परेको छ। यसैलाई मध्य नजर गरेर दुवैका मातापिता अनि परिवार पक्षले समस्त जातिप्रेमी बन्धुबान्धवहरूलाई अधिकाधिक मत प्रकट गर्ने अपील गरेका छन्। मत प्रकट गर्नका लागि आफ्नो मोबाइलमा सोनी लिभ एप डाउनलोड गर्नुपर्नेछ अनि आज राति 8 बजीदेखि एउटा मोबाइलबाट प्रत्येक आधा घन्टामा 25-25 वटा भोट राति 11 बजीसम्म प्रदान गर्नसकिनेछ। यसको अर्थ एउटा फोनबाट 150 पल्ट भोटिङ गर्नसकिनेछ भनी दुवै परिवारको पक्षबाट जानकारी गराउँदै सबैलाई यस प्रक्रियामा भाग लिइदिने अपील गरिएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares