चुनाउपछि पोस्टरमुक्त हुनेछ पहाड़

मोहन लामा, दार्जीलिङ, 7 मई/2017


दार्जीलिङलाई सुन्दर, सफा बनाउने मागलाई पनि एउटा मुद्दा बनाउने यी सबै राजनैतिक पार्टीहरुले चुनाउको समय शहरभरिका भित्ता, देवाल आदिमा व्यापक पोस्टरिङ गरेका छन्।


दार्जीलिङ पहाड़को नगरपालिका चुनाउ समाप्त हुनसाथ दार्जीलिङ पहाड़का प्रत्येक शहर पोस्टरमुक्त हुने भयो। किनभने,  दार्जीलिङ पहाड़मा हुने नगरपालिका चुनाउपछि शहरी क्षेत्रमा चुनाउ प्रचारको लागि लगाइएका सम्पूर्ण पोस्टर-व्यानर आदि सबै राजनैतिक पार्टीहरुले आ-आफै हटाउने निर्णय लिएका छन्। गोर्खा जनमुक्ति मोर्चा, तृणमूल काङ्ग्रेस, जनआन्दोलन पार्टी, गोर्खा राष्ट्रिय मुक्ति मोर्चा, मार्क्सवादी कम्युनिष्ट पार्टी आदिले पहाड़मा भइरहेको नगरपालिका चुनाउपछि आ-आफ्नो पार्टीले लगाएका पोस्टरहरू आफै हटाउने निर्णय लिएका छन्।

नगरपालिका चुनाउमा दार्जीलिङलाई सुन्दर, सफा बनाउने मागलाई पनि एउटा मुद्दा बनाउने यी सबै राजनैतिक पार्टीहरुले चुनाउको समय शहरभरिका भित्ता, देवाल आदिमा व्यापक पोस्टरिङ गरेका छन्, जसको फलस्वरूप दार्जीलिङ पहाड़का प्रत्येक शहरी क्षेत्रका भित्ता, देवाल आदि कुरूप देख्न थालिएको छ।

यसै विषय लिएर उपर्युक्त सबै पार्टीका नेताहरुसित प्रश्‍न गर्दा सबैलेनै दार्जीलिङलाई सफा बनाउन आवश्यक रहेको बताए। गोजमुमो नेता डीके प्रधानसित यसबारे प्रश्न गर्दा उनले भने-दार्जीलिङ हाम्रो हो र यसलाई हामीलेनै माया गर्नुपर्छ। दार्जीलिङ माया गर्नको लागि बाहिरबाट मान्छे आउँदैन। यसैले यसलाई सफा र सुन्दर देखिने बनाउने दाशित्व हाम्रो हो र यस चुनाउको समय पार्टी उम्मेद्वारहरुको पक्षमा लगाइएका पोस्टरहरु चुनाउ समाप्त भएपछि पार्टी आफैले हटाउने निर्णय लिएको छ। यसरीनै तृणमूल काङ्ग्रेस नेत्री शारदा राई सुब्बाले पनि नगरपालिका चुनाउ समाप्त भएपछि पार्टीले यस दिशामा अवश्यै ध्यान दिने र दार्जीलिङ पहाड़का शहरी क्षेत्रलाई सफा राख्न हरसम्भव प्रयास गर्ने बताए।

जनआन्दोलन पार्टीका व्यूरो सदस्य अमर लामा, गोरामुमोका युवा नेता वाई. लामा आदिले पनि यस विषयलाई समर्थन गरेका छन् अनि उनीहरुले पनि चुनाउ समाप्त भएपछि आ-आफ्नो पार्टीले लगाएका पोस्टरहरु हटाउने, वाल राइटिङहरु मेट्ने तय गरेको बताए। यसरीनै माकपा नेता एवं पूर्व सांसद समन पाठकसित सोध्दा उनले पनि भने-दार्जीलिङ शहरी क्षेत्रलाई सफा, सुन्दर बनाउने दायित्व नगरपालिका प्रशासनको मात्रै होइन, जनता अनि सबै पार्टीहरु पनि यसबारे सचेत हुन आवश्यक छ।

अहिले नगरपालिका चुनाउको माहौल छ, सबै पार्टीले भोट माग्छन्नै अनि प्रत्येक पार्टीको सन्देश जनतासमक्ष पुर्याउने एउटा सजिलो उपाय पोस्टरनै हो। यसैले अहिले चुनाउको समय लगाइएका पोस्टर, व्यानरहरु सबै पार्टीले चुनाउ सकिएपछि हटाएको उत्तम हुनेछ र यस विषयलाई माकपाले पूर्णरूपले समर्थन गर्छ। यद्यपि, चुनाउको समय जनताअघि दिइने यी राजनैतिक पार्टीहरूको आश्‍वासन र वचन, चुनाउपछि कति साकार हुनेछ, त्यो आगामी केही दिनपछि स्पष्ट भइहाल्नेछ।

 

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन