दाउराको पैसा देऊ, नत्र …

दार्जीलिङ, 30 मार्च।


आगामी 10 अप्रेलभित्र चियाश्रमिकहरूको दाउराको बाँकी पैसा भुक्तान गर्ने माग गर्दै 7 अप्रेलदेखि गोरामुमोको श्रमिक सङ्गठन एचपीडब्लुयूले डीटीए र आईटीए कार्यालय घेराउ गर्ने कार्यक्रम बनायो। यदि 10 अप्रेलभित्र चियाश्रमिकहरूले पाउनुपर्ने दाउराको पैसा नपाए 11 अप्रेलदेखि चिया बाहिर पठाउन नदिने पनि पनि एचपीडब्लुयूले चेताउनी दियो।

आज यहाँ एक पत्रकार सम्मेलनको आयोजना गरी एचपीडब्लुयू (हिमालयन प्लान्टेशन वर्कर्स युनियन)-का मूलसचिव जेबी तामाङले भने-चियाबगान मालिकहरूले 180 दिन काममा हिँड्ने श्रमिकहरूलाई मात्रै विभिन्न सहुलियतहरू उपलब्ध गराउने आफ्नै नियम वा कानून बनाएको छ। यसै नियम लागू गरेर 180 दिन काममा जाने श्रमिकहरूलाई मात्रै गत वर्षको दाउराको पैसा दिइएको छ।

तर हामी 180 दिनको यो नियमलाई कदापि मान्नेछैनौं। प्लान्टेशन लेबर ऐनअनुसार, वर्षमा 120 दिन काममा जाने श्रमिकहरूलाई सम्पूर्ण सहुलियत दिनुपर्ने प्रावधान छ र यसै प्रावधानलाई प्रत्येक चियाबगानमा लागू गर्नुपर्छ। यसैले दाउराको पैसा 120 दिन काममा जाने श्रमिकहरूलाई पनि दिनुपर्छ, नत्र सङ्गठनले 11 अप्रेलदेखि पक्का चिया यहाँबाट बेच्नको लागि बाहिर लान दिनेछैन।

उनले भने-चियाश्रमिकहरूलाई उनीहरूका सहुलियत तथा हक दिने कुरा आउनसाथ चियाबगान मालिकहरूले गत वर्षको 104 दिन पहाड़ बन्दको कुरा झिक्न शुरू गर्छ। जतैबाट पनि पहाड़का चियाश्रमिकहरू प्रताडित बनिरहेका छन्।  स्मरण गराइन्छ, चियाश्रमिकहरूलाई पीएल ऐनअनुसार, विभिन्न सहुलियतहरू दिने प्रावधान छ, जसअन्तर्गत प्रत्येक श्रमिकलाई वर्षमा 8 मन अर्थात 320 किलोग्राम दाउरा पनि दिइन्छ।

तर दार्जीलिङ पहाड़मा दाउरा नभएको कारण विगत निकै समयदेखि श्रमिकहरूलाई दाउराको साटो पैसानै दिने चलन शुरू गरिएको छ। जसको दर अलग-अलग चियाबगानमा अलग-अलगनै छ भन्ने तामाङले जनाए। उनले चियाश्रमिकहरूको यस अधिकारको लागि सबै पार्टीका श्रमिक सङ्गठनहरूलाई पनि अघि आउने आह्वान गरेका छन्। यसका साथै चियाबगानका स्टाफ, सब्-स्टाफहरूलाई दिइने एलटीएको लागि पनि मालिकपक्षले शीघ्र ठोस पहल नगरे यस विरूद्ध पनि सङ्गठनले कठोर पदक्षेप ग्रहण गर्ने चेताउनी दिएको छ।

यसैबीच, आगामी आइतबारदेखि एचपीडब्लुयूका प्रतिनिधिहरूले पार्टी अध्यक्ष मन घिसिङको सहभागितामा पहाड़का प्रत्येक चियाबगानको भ्रमण शुरू गर्ने योजना बनाएको पनि तामाङले जानकारी गराए। उनले आगामी आइतबार सङ्गठनले सोम र सिंगताम चियाबगानको भ्रमण गर्ने भएको पनि बताए।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया