सन्दर्भ-राशिन : तारा सुन्दासले भने- कालेबुङ पुलिसले पैसा खायो, म झुटो हुँ भने मलाई पक्राउ गर

विज्ञापन

डीके वाइबा, कालेबुङ 30 मार्च।


माकपा नेता तारा सुन्दासले कालेबुङ, दार्जीलिङ अनि खरसाङका जनताले अन्तिम हप्ताको राशिन नपाएको गुनासो गरेका छन्। मुख्यमन्त्री ममता व्यानर्जीले 105 दिन पहाड बन्दबेला राशन थाप्न नपाएका जनतालाई 14 सप्ताहसम्म दुईगुणा राशन दिन्छु भनेकी थिइन्।

सुन्दासले अन्तिम सप्ताहमा पहाडका जनताले राशन नै नपाएको आरोप लगाएका छन्।

‘मुख्यमन्त्री ममता ब्यानर्जीले घोषणा गरेअनुसार राशिन पाँउँदै थियो तर, आखिरमा अन्तिम सप्ताहको डबल राशन भने जनतालाई विभागले दिएन,’ माकपा नेता सुन्दासले भने, ‘किन नदिइएको हो? अघि पनि खाद्य सर्वराह विभागले जनतालाई नियमित राशन दिँदैनथ्यो। सन् 2011 मा पाउनुपर्ने राशन समेत आजसम्म विभागले जनतालाई सर्वराह गरेको छैन।’

उनले बताएअनुसार सन् 2011 मा जनताले राशन नपाएपछि माकपाले खाद्य नियन्त्रक अधिकारीलाई ज्ञापन चढाएको थियो। त्यसपछि विभागीय अधिकारीले जिल्ला खाद्य नियन्त्रकलाई पत्र लेखेर जनताले नपाएका राशन पाउनुपर्छ भनि पत्रचार गरेपनि जिल्ला खाद्य नियन्त्रकले भने राशन दिएन।

‘यो सप्ताह नदिएको राशन विभागले अर्को सप्ताह दिन्छु भन्न सक्छन्। तर, हामी विभागको कुरामा विश्वास गर्दैनौँ। किन भने सन् 2011 मा नै विभागीय अधिकारीले राशन दिनुपर्ने भनि लिखित आदेश दिएपनि आजसम्म त्यो राशन दिएको छैन,’ सुन्दासले भने,  ‘हामी विभागको कुनै आश्वासनमा विश्वास गर्दैनौँ।’

उनले मुख्य सचिव अनि खाद्य नियन्त्रक अधिकारी पहाड आउन लागेको भन्दै उनीहरूलाई पहाडका जनताले यसबारे कुरा उठान गर्नुपर्ने आह्वान गरेका छन्। उनले विगतका दिनका पुरुलियामा मुख्यमन्त्रीको भ्रमण अवधी त्यहाँका जनताले राशनमा वितरण हुने खाद्यन्न अत्यन्तै निम्न स्तरको रहेको गुनासो दर्ता गरेपछि तत्कालै मुख्यमन्त्रीले कार्वाही गरेको भन्दै पहाडमा पनि राशन नदिने अधिकारीविरुद्ध कार्वाही हुनपर्ने उनले माग गरेका छन्।

‘14 सप्ताह डबल राशन पाउनुपर्ने भएपनि जनताले 13 सप्ताह मात्रै डबल राशन पायो। यसबारे विभागले जावाद दिनुपर्छ’, तारा सुन्दासले अझ भने, ‘पहाडका जनताले नियम अनुसार राशनमा चिनी पाउनै पर्ने हो। पहाडका जनताले भने 6 महिना भन्दा धेर समयदेखि चिनी पाएका छैनन्। पहाडका जनताले पाउनुपर्ने चिनी कहाँ जाँदैछ?’

राशन डिलरहरूले पनि विभागलाई यसबारे कुरा उठान गर्नुपर्ने उनले माग गरेका छन्। उनले पहाडमा आउनुपर्ने राशन केवल कागजमा मात्रै आउने गरेको आरोप लगाएका छन्। सोहीक्रममा दार्जीलिङ, कालेबुङ अनि खरसाङका निम्ति सन् 2014 मा सरकारले पठाएको मैदा अनि पाम तेल नआएको भन्दै यसबारे कालेबुङ थानामा मुद्दा समेत दर्ता गरे पनि पुलिसले जाँच नगरेको आरोप लगाए।

‘मैले लगाएको मुद्दामा पुलिसले न्यायालयमा जाँच रिपोर्ट नै दर्ता नै गरेन। न्यायालयले पुलिसका जाँच अधिकारीलाई रिपोर्ट मागे पनि जाँच रिपोर्ट भने बुझाएन। जसको कारण यो मुद्दा खारेज भयो’, तारा सुन्दासले भने, ‘न्यायालयमा न्याय पाएन भने गरीब मान्छेले न्याय कहाँबाट पाउँछ?’

उनले उक्त मुद्दामा पुलिसका जाँच अधिकारीले न्यायालयमा रिपोर्ट नबुझाउनुको कारण राशन डिलरहरूबाट पैसा वसुली गरेको आरोप नै लगाएका छन्।

‘पुलिसले जतिजना सप्लायरहरू छ उनीहरूबाट पैसा खायो’, तारा सुन्दासले पुलिसप्रति आरोप लगाउँदै भने। यदि आफुहरूले लगाएको आरोप झुटो हो भने आफुलाई जाँच गरेर जेल हाल्ने चेतावनी समेत सुन्दासले दिएका छन्।

आफुले लगाएको मुद्दामा न्यायालयमा जाँच अधिकारीले रिपोर्ट दर्ता नगरेपछि आफुले उक्त अधिकारीलाई जाँच रिपोर्ट बुझाइदिने अनुरोध गर्दा समेत जाँच अधिकारीले रिपोर्ट दर्ता नगरेको सुन्दासको आरोप रहेको छ।

‘ममता दिदी तपाईँको एउटा पुलिसले सम्पूर्ण तृणमूल सरकारको बदनाम गर्ने कार्य गर्दैछ। मैले लगाएको आरोप गलत हो भने मलाई मुद्दा लगाएर पक्राउ गर। तर, सम्पूर्ण फाँतवारी दिएर पठाउँदा पनि पुलिसले रिपोर्ट नै दर्ता गरेन’, सुन्दासले पुलिस प्रशासनको भुमिकामाथि प्रश्न गर्दै भने, ‘गोर्खाल्याण्ड आन्दोलनको समयमा गोरुबथानमा एउटा घरमा दुई बोरा राशनको चामल र एक बोरा आँटा भेटेपछि पुलिसले पक्राउ गरेर जेलमा बन्द गरेको  थियो। यदि पुलिसले सक्छ भने जनतालाई राशन नदिने ठूला-ठूला व्यापारीहरूलाई पक्राउ गरेर देखाउ।’

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया