पहाड़ी प्रतिभा खोज्दै पुलिस : प्रथम राउण्ड अडिशनमा भीडभाड

दार्जीलिङ, 31 मार्च।


जनतासित असल सम्बन्ध बनाउने उद्देश्य राखेर दार्जीलिङ पुलिसले आयोजना गरेको पहाड़ी प्रतिभाको खोज नामक नृत्य अनि गायन प्रतियोगिताको आजदेखि दार्जीलिङ जिल्लाका विभिन्न स्थानहरूमा अडिशन राउण्ड शुरू भयो। जसमा आज प्रथम दिन दार्जीलिङको जिमखाना भवनमा नृत्य अनि क्यापिटल थिएटरमा गायनको अडिशन गरियो। जसमा सयौं प्रतियोगीहरूले उत्साहसित भाग लिएका थिए।

यसबारे पुलिस आईजी मनोज बर्माले भने-जनता र पुलिसमाझ असल सम्बन्ध बनाउने उद्देश्य लिएरनै राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीको निर्देशमा दार्जीलिङ जिल्लामा पहाड़ी प्रतिभाको खोजको आयोजना गरिएको हो। जसमा नृत्य र गायन सामेल छन्। यसको लागि दार्जीलिङ, खरसाङ, मिरिक तथा 9 वटा थाना र एउटा आउट पोष्ट क्षेत्रमा 4,418 जना प्रतियोगीहरूले भाग लिएका छन् भने कालेबुङ जिल्ला लगाएर मोठ प्रतियोगी संख्या 5 हजारभन्दा अधिक पुग्छ।

दार्जीलिङ जिल्लाका विभिन्न स्थानहरूमा भोलि पनि अडिशन जारी रहनेछ भने कालेबुङमा आगामी 4 र 5 अप्रेलका दिन अडिशन हुने भएको छ। मोठ 26 लाख 44 हजार रूपियाँ नगद राशि रहेको यस प्रतियोगितालाई 4 वर्गमा विभाजन गरिएको छ। जसमा 10 देखि 17 वर्ष अनि 18 देखि 32 वर्षसम्मका लागि नृत्य र गायन प्रतियोगिता सामेल छन्। जसअनुसार, 4 वटा वर्गमा विभाजन गरिएको यस प्रतियोगिताको फाइनल खेल अप्रेल महीनाको अन्ततिर हुने भएको छ।

पुलिस आईजी बर्माले भने-दार्जीलिङ पहाड़को स्थिति सामान्य बनिसकेको छ, यसैले यहाँ यसप्रकारका विविध कार्यक्रमहरूको आयोजना भइरहेको छ भन्ने सन्देश दिनकै लागि पनि यसप्रकारको कार्यक्रमको आयोजना गरिएको हो। स्मरण गराइन्छ, दार्जीलिङ पुलिसले यसअघि दार्जीलिङका विभिन्न स्थानहरूमा फूटबल प्रतियोगिताको आयोजना गरेको थियो। यस फूटबल प्रतियोगिता समाप्त भएपछि लगत्तै पहाड़ी प्रतिभाको खोज नाम दिएर  नृत्य अनि गायन प्रतियोगिताको आयोजना गरिरहेको छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया