बोधिसत्त्वका आयाम

विज्ञापन

चिन्तन

शैलीका छेत्री, दार्जीलिङ


प्राच्य रहस्यवाद अनि विशेष गरेर बौद्ध दर्शनले यहीँ बहु/उच्चतर-डाइमेनशनल अस्तित्वको कुरा गर्छ। जसअन्तर्गत, बौद्धको गहिरो ध्यानरत अवस्थामा यो थ्री-डाइमेनशनमा बाँधिएको दृष्टिबाट ब्रह्माण्डको आयतन बढ़ेर अत्यन्त अद्भूत देखापर्छ। यस स्टेटको स्पर्शले रीतिवादी मानव / मानसिकतामा पनि बद्लिएर उच्चतर डाइमेनशनमा विचार्ने क्षमता उब्जिन्छ।


महात्मा गौतम बुद्धको जन्मलाई भारतीय इतिहासमा एक महान् तथा युगान्तरकारी घटना मानिन्छ। उनको अस्तित्व अनि जीवन दर्शनले न केवल भारतीय धर्मशास्त्र अपितु विश्व दर्शनको इतिहासलाई नयाँ आयाम दियो। गौतम बुद्धले मानवतालाई मानवको मर्यादित धर्मको शिक्षा, अनि मानव मानसिकतालाई जाति वर्ण-धर्म माथि राखेर समाजका वस्तुगत उग्र तथा सङ्कीर्णवादी वैदिक कर्मकाण्डलाई निषेध गरे, अपितु भारतीय चिन्तनधाराले गौतम बुद्धको शिक्षाबाट नयाँ मोड़ प्राप्त गऱ्यो।

यसरी कतिपय विवेकशून्य धार्मिक रीतिको अत्याचारबाट मुक्तिको बाटो खोजिरहेका युगजीवनले एक मानवीय अनि पूर्ण धर्म गौतम बुद्धको शिक्षाबाट नै पायो।

ज्ञानतृप्त:कृतात्मान्

ते सर्वगं सर्वत:प्राप्य धीरा: युक्तात्मान:

सर्वेभंवाविशन्ति।

अर्थात् जो ज्ञानमा तृप्त छन्, जसले यो ज्ञानबाट आध्यात्म सत्ताको निर्माण गर्छ, जो धीर छन्, उनी सर्वग, सर्वव्यापी बन्दै सर्वहृदयमा प्रवेश गरेका छन्, उनै हुन् लोकनायक बुद्ध, जसको वैयक्तिक साधना शिक्षाले तदयुगीन जीवनमा जनक्रान्तिको अमूल्य परिवर्तन ल्यायो।

यसरी साधनाद्वारा प्राप्त आध्यात्मिक नवज्ञानलाई प्रत्येक व्यक्तिको हृदयमा सप्रेषित गर्नु भनी गौतम बुद्धले सम्यक् चिन्तनको अष्टविध पथलाई साधारण जनमानसको जीवन-व्यवस्थालाई प्रभावित पार्ने उदघोषक धर्मको उपदेश दिए।

यसरी उनको शिक्षा परिधिभित्र ब्राह्मण अनि साधु, तपस्वी अनि यति, परिव्यक्त अनि अनुतप्त र कुलीन तथा समग्र समाज नै अधिकारी बन्न पुग्यो।

वास्तवमा, बौद्ध ज्ञान जनक्रान्तिकारी  आत्मचिन्तन हो।

 

बोधी यात्रा

°

भगवान गौतम बुद्धले उन्तीस वर्षको अवस्थामा गृहत्याग गरी सन्यास धारण गरेर परिव्राजक सत्यशोधी जीवन प्रारम्भ गरे यसर्थ उनले ध्यानमग्नतामा तन्मय रही, ध्यानका चार स्थितिलाई स्वत: पार गरे पश्चात स्थिरता अर्थात निर्वाण प्राप्त गरे।

सिद्धार्थ सम्यक् बुद्ध बनिने बाटोमा, उनले एक दुर्बल अनि जरा-जर्जर बृद्ध, एक रोगी, एक मृत मनुष्य तथा एक परिव्राजक सन्यासीलाई देखे। त्यसपछि यही अनुभवले उनलाई जीवनमा शान्ति अनि गन्भीरता प्राप्त गर्न प्रेरित गरायो।

भारोपीय (Indo-European) एवम् प्राच्य रहस्यवाद अनुरूप समग्र सृष्टिको रचना ईश्वरको मनोवृत्तिबाट भएको मानिन्छ, यसर्थ यहाँ ईश्वर तत्वलाई ब्रह्माण्ड किरणरूपी सचेतना भन्न सकिन्छ। वास्तवमा समस्त प्रकृति-नियम, प्राणदायक शक्ति नै ईश्वर हुन् भने ईश्वरलाई प्रेम, जीवन एवम् यथार्थ तत्व भनि मानिलिन पनि सकिन्छ।

“Everything around us appears is changeless that holds together, creates, dissolves and re-creates that informing power or Spirit is God.”

वस्तुत: गौतम बुद्धले धर्म एवम् ईश्वरवाद, मानवलाई स्वातत्र्यहीन तुल्याउँदै मानवेतर ध्येयलाई प्राप्त गराउने अजेय शक्तिको रूपमा विध्यमान माने। निष्कलङ्क हृदय मन्दिरमा शाश्वत धर्म स्थापित हुन्छ, जसको गहिरो चिन्तनबाट आत्मा शून्यता / निर्वाणतर्फ अग्रसर बन्दछ।

यस्तै ईश्वर सम्बन्धित सम्प्रेषित भावलाई विवेचनात्मक आधारमा मूल्याङ्कन गर्दा भगवान गौतम बुद्धको बौद्धिक प्रामाणिकता तथा उनको नैतिक उत्कटताको आध्यात्मिक अर्न्तदृष्टिको विचार उजागर हुन्छ।

तथागत निम्ति धर्म अनि ब्रह्म उनको शरीर थियो र उनी धर्म तथा ब्रह्म दुवैसित एकरूप बनेका थिए। न त कठोर साधनाले आत्मालाई अर्न्तमुखी बनाउँछ  न त परम सुखले ज्ञान दिन्छ। जीवनमा सत्यको अनुभव स्वयं अष्टांग मार्गमा हिँड़ेर मात्र पाउँछ। यसप्रकार मनुष्यले चेतन ब्रह्मलाई स्पर्श गर्छ र यसैलाई अष्टविध मार्ग या ब्रह्मयान मानिन्छ अनि यही नै परमानन्दयुक्त अष्टमार्ग वा आत्मानुसन्धान वा सत्यको खोज हो।

 

बौद्ध ज्ञान अनि क्वाण्टम कनेक्ट

°

हिन्दु रहस्यवाद आनुष्ठानिक थियो भने बौद्ध ज्ञान मनोवैज्ञानिक यथार्थवादमा केन्द्रित थियो। बौद्ध ज्ञान संसारको शान्तिप्रेमको अनुनायी थियो। क्षणभङ्गुर संसार अनि प्रकृतिको अन्त तथा शुरूवातको रहस्यमय तथा आवृतिगत दोषको खण्डन गर्नुभन्दा बरू विपरीत बौद्ध शिक्षाले; निर्धन,

पीड़ित, सङ्घर्षरत मनुष्यको दु:खभोग अनि नैराश्यको तीब्रतालाई सार्थक तथा सटिक मार्ग देखाउने अनुभूतिको कुरा गर्थ्यो।

यही सूक्ष्म ज्ञानबाट प्रवाहित भौतिक विज्ञानको क्वाण्टेम सिद्धान्तले समग्र विश्वलाई एकलो विध्यामान भएको नठानेर महत्वपूर्ण अन्त:सम्बद्ध  कणहरू माझको कलात्मक अनि सङ्कल्पित संयोजन मान्छ। क्वाण्टमले सृष्टिलाई कणहरूको अपटूडेट हिसाबमा बारम्बार परिव्याप्त हुने बुनियादी निर्माणको ढाँचा मानेको छ।

यसरी नै बौद्ध शिक्षाले पनि मानव अनुभूति दर्शनको जड़ चेतनालाई मानव जीवनको विविध जटिल समस्यासित अन्त:सम्बद्ध गरेर मानव-विकास/ भौतिक विकाश / आध्यात्मिक विकास सोद्देश्य कुरा गर्छ। र औपचारिक रूपमा वैपरीत्य व्यक्तिगत सुक्ष्म या स्थूलतालाई मानव अस्तित्वको बुनियादी निर्माणको ढाँचा मानेको हुन्छ।

क्वाण्टम सिद्दान्तले विश्वलाई यूनिइफाइड तथा असीमित रहस्यमय गुत्थीको पादजाल सिद्ध गरेको छ र यही विचारधाराको निस्सन्देह परिचय बौद्ध रहस्यवादमा ध्यानमग्न अवस्थामा अनुभव गरिन्छ। कारण ध्यानरत मनुष्य शरीरको अष्टविध कोणबाट सीमित अणुमा विराट शक्तिको आवेष्टन भएको हुन्छ। जसको ज्ञानले- ब्रह्म अनि माया, पुरूष अनि प्रकृतिको संयोगलाई अन्ततिर सत्य ठान्छ। अर्थात सत्यम् शिवम् सुन्दरम्।

यसरी विज्ञानले जब ईश्वरलाई नैतिकताको आसनबाट हटायो तब शून्य सृष्टिमा भौतिक तत्त्व- शक्ति, कण-तरङ्ग, गति-स्थिरता, अनस्तित्व-अस्तित्व जस्ता विपरित तत्त्वहरू भौतिक विज्ञानको आँकड़ा असन्तुलित मानियो तर मानव चिन्तनको सिमा घेराभित्र अनियन्त्रित करार गरिने, यही विपरीत तत्त्वहरूको घर्षणबाट नै संसार अघाड़ि बढ़िरहको थियो।

यो विपरीत तत्त्व मध्ये अनस्तित्व-अस्तित्वको आधारसित आटमिक फिज्इक्सले घरि-घरि सामना गर्नु परिरहेको थियो। यसको विशिष्टतालाई क्वाण्टम सिद्दान्तले पनि कठिन विचार-विमर्शको रूपमा व्याख्येय गरेको हुन्छ।

फेरि दर्शन-मनोविज्ञान वा बौद्ध रहस्यवादमा पनि अनस्तित्व-अस्तित्व भावदशालाई मानव ईच्छा विपरित बगेको अति रहस्यमय दृष्टिकोण भनेर बुझ्छ।

तर बौद्ध ज्ञानले आटमिक फिज्इक्स जस्तैगरि सम्पर्क गर्छ, वास्तविकता वा यथार्थवादमाथि उभिने अनस्तित्व-अस्तित्व, भावबोधलाई, कारण मानव जीवनमा अनस्तित्व-अस्तित्वको विचारले  आफ्नो चारैतिर शून्यता रचेर आफ्नो भित्र पनि शून्यताको सृष्टि गर्छ। यसरी यही मनोवेगले मनुष्यलाई चिन्तन् वा आत्मा-निर्वासनको दास बनाउँछ। त्यसैले यथार्थवाद उभिन्छ अनस्तित्व-अस्तित्व परेको चिन्तन् सिमामा, जसलाई बुझ्न भौतिक विज्ञान अनि रहस्यवादलाई पनि विशिष्ट चिन्तन प्रतिक्रिया अपनाउनु पर्ने हुन्छ।

मानव चरित्रको सूक्ष्मतर अङ्ग ‘मन’ जब एउटा स्तम्भित तथा संस्थापित ढाँचामा निर्धारित रहँदैन, तब मन स्वतन्त्र बनेर लगातार बदलिन्छ, प्रत्येक परिवर्तनशील सम्भाव्यताको विस्तारित आयाम तरङ्गसित। विज्ञानमा यस्तै विस्तारित आयामको खेला हामीले मनुष्यको विचार-प्रतिमानमा पनि देख्छौँ, जहाँ प्रत्येक विचारलाई विशिष्ट तरङ्गको गतिमात्रामा आधारित भएको देखाइन्छ।

यस पद्धतिमा पोजेटिभ फिलिङ्कोसाथ तरङ्गको विस्तार-आयाम बढ़ेर जान्छ, त कहिले यसको तरङ्ग गति नौराग्य जस्तो नेगेटिभ फिलिङसित घटदै जान्छ।

तर, यही तरङ्गको उतार अनि चढ़ाबको श्रृङ्खलालाई बौद्ध ध्यानको टेकनिकद्वारा न्युनतर पनि बनाइन्छ। यसरी विचारको प्रतिमानमा आएको शून्यताको स्तरलाई ‘नो थिन्किङ’ भनेर बौद्ध रहस्यवादमा प्रचलित बनेको छ। यस ‘नो थिन्किङ’ स्थितिमा व्यक्तिको दृष्टिमा ईश्वर र प्रकृति एउटै देखापर्छ। क्वाण्टम सिद्धान्तमा तरङको यस शून्यतालाई ब्रह्माण्डको विस्तृतिकरणमा कस्मिक कणहरूमा आएको लगातार घर्षणबाट उब्जिने कस्मिक नृत्यसित तुलना गरिन्छ।

वैज्ञानिक प्रामाणिकताको मापदण्डमा कस्मिक नृत्यलाई वैज्ञानिक प्रक्रियाद्वारा हेर्दा, यसमा व्याप्त सिर्जना एवं विध्वंसको सामाञ्जस्यबाट उत्पन्न भएको बिम्ब चाँहि नटराज शिवको अविरल नृत्य झै देखापर्छ।

हुन पनि हिन्दु/प्राच्य रहस्यवादमा भगवान शिवको अस्तित्वात्मक प्रस्तुतिलाई भारतीय रहस्यवादमा सिर्जना एवम् विध्वसं जस्ता व्यापक ब्रह्माण्ड चक्र नियन्त्रित गर्ने अधिपति देवका रूपमा मानिन्छ। रहस्यवादको विविध सूत्र अनूसार जब चारैतिर ब्रह्माण्डमा शून्यता भरिएको थियो, जब थिएनन् त्यहाँ कुनै ग्रह- नक्षत्रगणले सजिएको अन्तरिक्ष, तब एउटै शक्ति त्यस अग्घोर अन्धकारमा देदिप्यमान थियो, उही शक्तिस्वरूप शिव निरन्तर निर्मुक्त नाँचिरहेका थिए र उनकै नृत्यले शून्य संसारमा जीवनको सृजना गरेको थियो र बौद्धले पनि ध्यानको अष्टविध अवस्था पार गर्दा ‘निर्वाण’-को त्यो ‘नो थिन्किङ’ स्टेटमा सायद यस्तै कस्मिक नृत्यको रहस्यमय संसार देखे होलान्।

 

बौद्ध रहस्यवादमा थ्री डाइमेनशनल सौन्दर्यबोध

°

थ्री डाइमेनशनल सौन्दर्यबोधमा संसारको समस्त आकृति एकजुट भएको देखिन्छ। स्फूर्त थ्री डाइमेनशनल सान्दर्भिक रहेको हुन्छ मानव सम्बन्धि प्रतिक्रिया। यसरी थ्री डाइमेनशनभित्र कलात्मक सौन्दर्यले सन्तुलन अनि सामाञ्जस्यमा प्रयुक्त बनेको हुन्छ मानव चेतना।

कलात्मक स्तरमा हेर्दा, थ्री डाइमेनशनको काल्पनाशील चित्रण-कौशल अहिले अत्याधुनिक चित्रकलामा भरपूर प्रयोग भएको पाइन्छ। जहाँ चित्रकारले चित्रण गरेको निर्जीव वस्तु पनि क्यान्वसको सपाट पृष्ठमा आश्चर्य-भावले प्रत्यक्ष जीवित वस्तु झै देखापर्छ। वास्तवमा थ्री डी बिम्बकला निमित्त चित्रकारले मानव दृष्टिलाई भ्रममा पार्ने ‘दृष्टिभ्रम सिद्धान्तको’ प्रयोग गर्छ, जसअन्तर्गत छायाभासको चढ़्दो र घट्दो मात्राको सटिक प्रयोगले, त्यहाँ उम्दा अनि आकर्षित चित्रकारिताको प्रदर्शनी हुन जान्छ।

यसरी ‘दृष्टिभ्रम सिद्धान्त’ मा बनाएको चित्रले दृष्टि भ्रमित भएर सपाट कोणमा बनाएको साधारण चित्र पनि अद्भूत जीवित चित्र झै देखापर्छ।

यसै अन्तर्गतमा ब्रह्माण्डको रहस्य खोजिरहेका फिजिक्सले विविध गणितीय रूढ़िवादी सिद्दान्तको अनुसन्धानात्मक प्रयोगबाट फोर डाइमेनशनल आकाश अनि काललाई हेर्ने दृष्टि पाएको थियो।

तर, मानवको चाँहि दृष्टि-दृश्यको कल्पना शक्ति थ्री-डाइमेनशनल प्रकृति संसारलाई बुझ्नु सक्ने क्षमतासम्म मात्रै सिमित रहेको हुन्छ। यसर्थ मानव विचारको प्रतिमानले केवल थ्री-डाइमेनशनल संसारसम्मको अस्तित्वलाई स्विकार गर्छ।

वास्तवमा मानव दृष्टिमा यो बृहत सृष्टि बहु-डाइमेनशनल छ। यसप्रकारको बहु-डाइमेनशनल कल्पना शक्ति मानव-सोचमाथिको अनपेक्षित सन्दर्भ हो। हुन पनि नाटकीय रहेको छ ब्रह्माण्डको समग्र प्रतिक्रिया। प्राच्य रहस्यवाद अनि विशेष गरेर बौद्ध दर्शनले यहीँ बहु/उच्चतर-डाइमेनशनल अस्तित्वको कुरा गर्छ। जसअन्तर्गत, बौद्धको गहिरो ध्यानरत अवस्थामा यो थ्री-डाइमेनशनमा बाँधिएको दृष्टिबाट ब्रह्माण्डको आयतन बढ़ेर अत्यन्त अद्भूत देखापर्छ। यस स्टेटको स्पर्शले रीतिवादी मानव / मानसिकतामा पनि बद्लिएर उच्चतर डाइमेनशनमा विचार्ने क्षमता उब्जिन्छ।

मानस विचार असाधारण अनुभूति माझ उभिँदा संसारिक या सामाजिक सम्बन्धको मोह बन्धन पनि स्थूल तथा मूल्यहीन साबित हुन्छ। समस्त उबडखाबड धारणा हटेर व्यक्ति विशुद्ध कलावादी वा आध्यात्मवादी चिन्तक बन्छ। नियन्त्रित बन्छ मनका कैयौं द्वन्द्वात्मक उतार-चढ़ाब।

 

अन्तिम क्षणमा तथागत

°

उन्नासी वर्षको उमेरमा भगवान् बुद्ध राजगृहको गृध्रकुट पर्वतमा वास गर्न लागे। यहाँबाट तथागत वैशाली, कपिलवस्तु, वेठदीप, पावामा बौद्ध ज्ञानको धार्मिक प्रवचन दिदैँ आए। अन्तमा तथागत हिरण्यवती नदी पार गरेर कुशीनगर पसे। यस कुशीनगरमा मल्ल राजाको शासन थियो। त्यहीँ तथागतले वैशाखी पूर्णिमाको दिन परिनिर्वाण निमित्त चयन गरे। उनले परिनिर्माण अघि मल्ल राजालाई बौद्ध प्रवचन दिए र उनको धार्मिक प्रवचनबाट मुग्ध बनेर सधैँलाई मल्ल राजा बौद्ध अनुयायी बन्न पुगे।

तथागतले परिनिर्वाण अघाड़ि आवश्यक्तानुसार भिक्षु-सङ्घलाई शिक्षा दिए, यस शिक्षामा उनले बुद्ध, धर्म, सङ्घ, आर्यमार्ग अनि यौगिक पदार्थ बारेमा महत्वपूर्ण ज्ञान दिए।

उनको विविध विषयको उपदेशमा – श्रद्धावानको लागि दर्शनीय अनि संवेगजनक चार तीर्थस्थान, स्त्रीप्रति भिक्षु सङ्घको व्यवहार, तथागतले अन्त्येष्टी क्रियाको विधि पनि सामिल थियो।

तथागत परिनिर्वाणको अन्तिम रात्रीमा हजारौं भक्त, उनको दर्शन निमित्त भेला भएका थिए, यही श्रद्धावानहरूको भीड़बाट विशाख नामक व्यक्तिले तथागतलाई ‘निर्वाण’ विषयमा प्रश्न गरे, तर तथागतले निर्वाणलाई आनन्दमय अन्त, जहाँ समस्त वासनाको क्षय, ब्रह्मको साथ एकात्म हुने सचेष्ट छन् भन्ने बताए। वास्तवमा, निर्वाण भौतिक प्राप्ति होइन, कारण निर्वाण-प्राप्य व्यक्तिप्रति जन्म-मरणको चक्र उदासीन रहन्छ। निर्वाणले मोक्ष जस्तो आनन्द ल्याउछ। बुद्धत्व वा निर्वाण आध्यात्मिक स्थिति हो, जहाँ सामाजिक तथा बौद्धिक कर्मकृत हुन्छ व्यक्तिको चेतना। जसमा व्यक्तिका अहंको भाव पूर्णतया नष्ट भएको हुन्छ। निर्वाणको स्टेटमा व्यक्तिको समस्त बम्धन निर्मूल बन्छ अनि सम्पूर्ण ज्ञानप्राप्त गरेर व्यक्ति सम चेतनाको विचारक बन्दै जान्छ।

तथागतले अन्तमा निर्वाणलाई अझ बुझाउँदै, उनको हातले गोलाकार आकृतितिर अर्थात स्तूपतिर संकेत गरे। यसबीच तथागत स्तूप योग्य चार व्यक्ति- तथागत अर्हत्, सम्यक्, सम्बुद्ध, प्रत्येक बुद्ध, तथागतको श्रावक (स्योतापन्न, सकृदागामी, अनाणामी अनि अर्हत्) अनि राजचक्रवर्ती बारेमा विस्तारित उपदेश पनि दिए।

 

‘स्तूप’ को हिन्दू रहस्यवादी कनेक्शन

°

प्राच्य रहस्यवादी मिथ अनुसार, ब्रह्माण्डमा व्याप्तशक्ति पुञ्ज बारेको जिज्ञासा पूर्ण गर्न हेतु, भगवान शिव समक्ष भगवान् विष्णु अनि ब्रह्मा उपस्थित भए। मानिन्छ, त्यसक्षण भगवान् शिवले टाड़ा शून्य ब्रह्माण्डमा रहेको भव्य स्तूप आकारको ज्योति स्तम्बतिर सङ्केत गरेका थिए। यसपश्चात् भगवान् विष्णु अनि ब्रह्मा, त्यस ज्योति स्तम्भको शुरूवात अनि अन्तको छोरलाई खोज्ने लक्ष्यमा हजारौं बर्षसम्म एकात्म्य रहे तर त्यस ज्योति स्तम्भको छोरबारे केही थाहा पाएनन्। हुनपनि, रहस्यमय छ ब्रह्माण्डको ब्रह्मपथ / रहस्यमय छ ब्रह्मको अस्तित्व / रहस्यमय छ प्रकृति अनि गतिशील ग्रह-नक्षत्रको क्रिया-कलाप।

अनि त आटमिक फिज्इक्सले पनि अनेकौ अनुसन्धान वा सिद्धान्तहरूको गहिरो अन्वेषणपछि ब्रह्माण्डलाई एउटा शक्तिशील ज्योति स्त्रोतमा केन्द्रित भएको बताउछ। यतिसम्म महान फिज्इक्सका महाप्रज्ञ अलर्बट आइस्टाइनले पनि उनको अन्तजीवनतिर ब्रह्माण्डलाई नियम-नियन्त्रित गर्ने ब्रह्म शक्तिलाई स्वीकार गरेका थिए। जून तथ्य चाहिँ फिज्इक्सको सिद्धान्तमाथि रहस्यवादतिरको कुरा थियो र सायद यस्तै रहस्यको वेगमा निर्वाणको अनुपम चरम स्थितिमा व्यक्तिले यस्तै ज्योतिस्तूपलाई अर्थात ब्रह्मलाई बुझ्छ होला। त्यसैले तथागतले पनि उनको परिनिर्वाणको अन्तिम क्षणमा निर्वाणलाई स्तूपसित जोडेर उपदेश दिए।

 

तथागतको परिनिर्वाण

°

अनेकौ ज्ञान उपदेशपछि तथागत रात्रिको अन्तिम प्रहरमा नीरव बनेर ध्यानमग्न भए। ध्यानको समस्त स्तर पार गर्दै तथागत अन्तमा उच्चतम संज्ञावेदयित-निरोधको स्तरमा पुगे। यस अवस्थामा ध्यानमग्न योगीको शारीरिक उष्णता अतिरिक्त केही वस्तु अनुभव गर्न सकिँदैन। यसरी तथागतले परिनिर्वाण पाए।

( स्तूप निर्माण

  • सम्राट अशोकले तथागतको परिनिरर्वाणस्थान कुशीनगरमा एक स्तम्भ निर्माण गरे।
  • आठ शरीर स्तूप आठ राज्य; राजगृह, वैशाली, कपिलवस्तु, अल्लकप्प, रामग्राम, वेठदीप, पावा अनि कुशिनगर निर्माण भयो।
  • मगधराज अज्ञातशत्रुले ‘द्रोणस्तूप’ निर्माण गरे।
  • पिप्फलिवनको मौर्यले पिप्फलिवनमा अंगारस्तूपको निर्माण गरे।)

( ‘महान गौतम बुद्ध’ पुस्तकबाट

                    प्राप्त तथ्यमा आधारित 

 

 

बौद्ध रहस्यवादको विचलन

°

भारतीय बौद्ध रहस्यवाद जब चाइनिज दार्शनिक विवेकसित सम्बन्ध भयो, त्यसबेला चाइनामा यही बौद्धको अस्तित्व ‘चि’अन’ भनेर प्रचलित बन्यो अनि जापानमा ‘जेन’। तर  यी मध्ये बौद्ध रहस्यवादको जापानिज समिश्रणबाट जन्मिएको सुत्र, जेनबुद्धिज्मको चाँहि सामाजिक जीवनसित गहिरो सम्बन्ध रहेको पाइन्छ। त्यसैले जेनबुद्धिज्मले प्राय: समसामायिक जीवनको ध्यानाकर्षण गरेको छ। अहिलेको दार्शनिक तथा सामाजिक मूल्यलाई बुझाउने सिद्धान्तमा आधारित रहेको छ, ज़ेनबुद्धिज्म।

कारण जेनबुद्धिज्मको कुनै निर्धारित तत्वज्ञान, धर्मसिद्धान्त वा धर्ममत छैन, यो रहस्यवाद स्वतन्त्र रहेर, नियमत तथा रूढ़िवादी मान्यताहरूदेखि विमुख रहेको पाइन्छ। वास्तवमा, जापनिज या चाइनिज जेन मास्टरले ‘जेन’ वा ‘चि’अन’लाई सामाजिक दायित्व निर्वाह गर्ने बौद्धज्ञानको रूपमा हेर्ने गर्छन्। हुन पनि जापान र चाइना जस्तो बौद्ध अनुयायी तर मोर्डन् टेकनोलोजिकल  देशमा बौद्ध धर्मको भारतीय मूलक शिक्षा, अष्टबोधि ध्यान, भिक्षु जीवन जस्तो कठिन पक्ष निर्वाह गर्न गाह्रो पर्छ। यसैले यहाँ बौद्ध ज्ञानको मानव दायित्व मूलक व्यवस्था मान्ने जेनबुद्धिज्मको शिक्षालाई प्राथमिकता दिइन्छ। त्यसैले जेनबुद्धिज्मको शिक्षा  व्यवहारिक दर्शनमा आधारित रहेको पाइन्छ। जहाँ, भिक्षु बन्नु या गृह त्याग गर्ने कुरा हुँदैन, त्यहाँ केवल मानवीय दिनचर्याप्रति जागरूक बन्ने शिक्षा दिइन्छ। जेनबुद्धिज्ममा आधारित ध्यान प्रक्रियाले मानवलाई केवल मानव समस्याप्रति जागरूक बन्न सिकाउछ र सायद यही नै जीवन जीउँने मूल मन्त्र हो।

यसैक्रममा जेन शिक्षामा आधारित एउटा प्रख्यात अनुभव यसप्रकार रहेको छ ;

“प्राचीन समयमा एउटा जेन विध्यार्थीले जेन मास्टर कहाँ, जेनको अर्थ सोद्धै आए। त्यस विध्यार्थीले सँधै ‘जेन’ को अर्थ खोजिरहन्थे तर जेनको वास्तविक अर्थ बुझ्दैन थियो। यसको सट्टामा जेन मास्टरले उसलाई बारम्बार चाबुकले हिर्काउने गर्थे।

त्यसरी जेन मास्टरको शिक्षा कार्यक्रम अन्तर्गत यसरी लगातार त्यस विध्यार्थीले जेन नुबझेको अनि मास्टरबाट चाबुकको मार परेको कैयौं वर्षपछि, त्यस विध्यार्थी आफै ‘जेन’ बुझ्ने क्रममा हिमालयतर्फ जान्छ र कति वर्षपछि ‘जेन’ बुझेको स्टेटमा फर्केर आइ, त्यस जेन मास्टरलाई

‘ओ, यही ‘जेन’ रहेछ’, भन्दै हिर्काउछ।

वास्तवमा ‘जेन’ बुझ्नु भनेको नै व्यवहारिक जीवनलाई बुझ्नु हो। 

 

बौद्ध-विवेक

°

यसप्रकार, बौद्धको व्यापक शिक्षा पछि गएर भारत देशदेखि कयौं देशहरूको तत्त्वज्ञानसित सम्बन्धित बनेर, परफेक्ट आध्यात्मिक दर्शन-मनोविज्ञान बन्न पुग्यो। जसबाट मानवले आत्मगत विवेकको रिनैसेंसमा सचेत बन्दै निर्णय लिने आत्म-ज्ञान प्राप्त गऱ्यो। कारण आत्मनिर्वासनको भावनाबाटै आत्मबोधको मार्ग खुलिन्छ। त्यसैले बौद्ध ज्ञानले जीवनको परम्परालाई ‘आत्मोदबोधमय’ अनुभूति दिलाउँछ। वास्तवमा, गौतम बुद्ध महाचिन्तक थिए। उनको रहस्यवादी दृष्टिकोणले सामाजिक तथा व्यक्तिगत अनुभूतिलाई नव दृष्टि प्रदान गऱ्यो। यस क्षणभङ्गुर संसारको क्षणभङ्गुर सम्बन्धलाई परिवर्तित भावबोध दिने आधुनिक विचारधारा नै बुद्धिज्मको मुख्य अभिव्यक्ति थियो। कारण बौद्धको प्रेमपूर्ण हृदयले सदैव पीड़ित मानवताको कष्टलाई हटाउने प्रयास गरिरह्यो। उनको ज्ञानले संसारलाई नयाँ उत्साह अनि नयाँ आनन्द जाग्रत गरायो, त्यसैले उनको प्रत्येक शिक्षा ध्यानमार्ग तथा सन्देशले प्रत्येकपल्ट नै युग-परिवर्तन गर्ने कार्य गरेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया