सुरज शर्माका तीन कविता

देश अनि मानचित्र

तिमी जब यो देशको कुरा गर्छौ

यस्तो लाग्छ तिम्रो दिमागमा देश होइन

केवल देशको मानचित्र हुन्छ ।

जहाँ मुम्बई, दिल्ली, कलकत्ता चेन्नाई अनि अहमदाबाद

अनेक ठूला शहरहरू हुन्छन् ।

 

तर गन्हाइरहने नालीले सिमाना कोरेका झुप्रे बस्तीहरू हुँदैनन्

जुन नालीको शुरूवात तिमीले फेरेको पिसाबदेखि हुन्छ ।

 

अचम्म लाग्छ जब शौचालय बनाउने विज्ञापनसहित आइपुग्छन् तिम्रा भक्त

किनकि चामलको दाना नभएर मरेको विपना टेक्दै

तिमी स्वच्छ देशको सपना देख्छौ ।

जब तिमी बुलेट ट्रेनको कुरा गरिरहेको हुन्छौ

लाम्फाङबाट बोराको स्ट्रेचरमा हालेर

बाटोमा निकाल्दा निकाल्दै मरिरहेका हुन्छन् बिरामी ।

 

बेरोजगारी हटाउन तिमीले दिएको ऋणको कागज

किन सुसाइड नोटमा परिवर्तन हुन्छ ?

कृषि विमा योजनाको विज्ञापन हेरेर

किन बद्लिँदैन हारेको किसानको मन ?

दर्शनशास्त्र पढेर जब सलमान भैया कपडा सिलाइरहेको हुन्छ

तिम्रो जुत्ता चाटेर कसरी सरकारी कार्यालयको मेचमा बस्छन् तिम्रा ढोलेहरू ?

 

तिमी देख्छौ स्वच्छ भारत

तिमी देख्छौ आधुनिक भारत

तिमी देख्छौ उन्नत भारत

तर यहीँ देशमा म हरेकदिन देख्छु भोक शोक अनि रोग ।

 

तिमीले देख्ने भारत अनि मैले देख्ने भारतमा कति फरक छ । हगी सरकार ?

 


फिक्का विचार

निक्कै फिक्का देखिन्छौ तिमी आजभोलि ।

 

यस्तो लाग्छ शुरूमा तिमी रातो थियौ ।

निक्खुर रातो ।

 

तिम्रो रातो रगतको लोभमा परेर आए निला मच्छडहरू कतैबाट ।

अहिले यिनै निला मच्छडहरूले हुकुमत चलाएको तिम्रो बस्तीभित्र

तिम्रा विचार सङ्क्रमित भए ।

 

अचेल छेपारोजस्तो रङ फेरिएको देख्छु तिम्रो ।

न रातो न निलो ।

न हरियो न कालो ।

जुन रूखमा टाँसिन्छौ उस्तै हुन्छौ ।

जस्तो रङको बोतलमा भऱ्यो उस्तै बन्छौ ।

 

आ – आफ्नो कम्पनीको ट्याग खिलेर

व्यापार गरिरहेछन् तिम्रो ।

 

यसरी अनेक रङहरू घोलिएर

 

बुझ्नै नसक्ने भएपछि

न यताको रह्यौ न उताको ।

जसले जसरी बुझ्छ त्यस्तै भइसकेको छौ तिमी ।

 

 


फिलुङ्गाहरू

पानी परिरहँदा लगातार पानीको थोपा

छानोमा ठोक्किएर तिम्रो कानहरूले सुनेपछि

तिमी नाँचिपठाएछौ भने यदि,

 

कुनै निर्जन बाटोमा हिँडिरहेको बेला

हावाले पातहरूलाई सुसिला मार्दा

तिमीले पनि एकाध गीतको सुर भरिपठायौ भने यदि

 

पारि त्यो डाँडा अनि त्यहाँबाट एकहोरो उठिरहेको कुइरोलाई हेर्दै

के के सम्झिएर तिमी अचानक रोइपठाएछौ भने

अथवा रोएकै बेला अर्को थरी कुरा सम्झिएर

मुसुक्क हाँसिपठाएछौ पनि भने यदि

 

सम्झनु

त्यो छात्तीमा मायाका खरानी केही बाँकी छन् ।

 

यादले सताएको कुनै एक दिन

त्यो खरानीलाई फुकिहेर्नु

प्रेमका फिलुङ्गाहरू अझ पनि रात्तै छन्

जसलाई तापेर हाम्रो प्रेम अझ बाँच्न सक्छ ।

अझ लामो बाँच्न सक्छ ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया