‘मैले कथामा एनिमेशन गरेको छैन’

कथा संवाद

¤

कवि ज्योति जङ्गल अब कथाकार भए।  साङ्ग्रिला बुक्सले उनको कथा सङ्ग्रह ‘छायाँ’ सार्वजनिक गरिसकेको छ।  ज्योति भट्टराईले यसै किताबमा केन्द्रित रहेर जङ्गलसित कुराकानी गरेका छन्।


कवितामा हुनुहुन्थ्यो, कथामा पो आउनुभो त?

कवितामा लेखेर नअँटाउने कथ्यहरूले मलाई जेल्दै लगे र म कथातर्फ हानिएँ। यसको अर्थ कवितालेखन छुटेको या विधा नै परिवर्तन भएको हो भन्ने चाँही होइन।

खासमा तपाईँ कथाकार कि कवि?

यो मैले मूल्याङ्कन गर्ने होइन होला। तैपनि कविता मलाई साहित्यमा सर्वप्रथम उभ्याउने धरातल हो। त्यहाँ नअँटेका कुरा कथामा आए। पात्रलाई जिम्मा दिन नसकेका र कवितामा नअँटाएका कतिपय कुरा निबन्ध पनि हुन्छन्। सिर्जनाका रूपले हेर्दा म कवितामै बढी छु।

तपाईँको पुस्तक बिमोचनमा राजकुमार बानियाँले भन्नुभयो, अहिलेका कथाहरूमा निमोनिया लागेको छ, घ्यार्र घ्यार्र मात्र छन्साङ्केतिक रूममा तपाईँप्रति पनि उनको भनाई लक्षितजस्तो लाग्थ्यो, के अहिलेका कथाहरूमा साँच्चै निमोनिया लागेकै हुन त?

सबैको आआफ्नो धारणा हुन्छ। उहाँको विचारमा मैले स्पष्टिकरण दिनु उचित हुँदैन। नेपाली कथा या आख्यान तरल भएको मैले पनि महसुस गरेको छु। अझ विश्वका अन्य भाषाका कथासँग नेपाली कथा दाँज्यो भने अर्कै परिणाम निस्कन्छ। समालोचकहरू दोस्रो उपस्थिति हुन्, प्रथम त सिर्जना नै हो तर सबै स्थानका पाठकलाई एउटै श्रष्टाले लेखेको कथाले सन्तुष्ट पार्न त सक्दैन नै। पाठक आफ्नो स्वाद छानेर सिर्जनाको पानी पिउन स्वतन्त्र छ।

लेखक फोटोग्राफर जस्तो हुनुहुँदैन, लेखकसँग त आफ्नै विश्वदृष्टि, कलादृष्टि हुनुपर्छ भन्ने भनाई तपाईँलाई कत्तिको सही लाग्छ?

संसार हेरेर बुझ्ने त्यहाँको फोटो उतारेर नै हो। लेखकहरू आफ्नो आँखाले संसार खिचेर विश्वलाई संवेग बाँड्दै पनि हुन्छन्। चिन्तन-मा आएर नै फोटो उतारिन्छ। कस्तो उतार्ने भन्ने चाँही परिवेशले तय गर्छ। विश्वदृष्टि बाँड्न सक्ने स्थानमा भएको मान्छेले मात्र विश्वलाई चकित पार्नेगरी चिन्तनका कोणहरू बाँड्न सक्दा हुन्। उभिनै नसकेको मान्छे त लौरो मागिरहेको हुन्छ।

छाँयामा रहेका कथाहरू फोटोग्राफरले खिचेका फोटाजस्ता मात्रै छन् नि, किन त्यसो गर्नुभएको हो?

यी कथाहरू के हुन् भनेर मैले अब पाठकलाई जिम्मा दिएको छु। समालोचकीय मूल्याङ्कन पनि हुने नै छ। एउटा कुरा चाँही के हो भने मैले सामाजिक विषयवस्तु उठान गरेकाले कथामा एनिमेशन गरेको छैन। मेरो समाजको अनुहारमा भएको काला छायाहरू नखिचिकन मैले त्यहाँ मेकअप गरिदिएँ भने मानवीयताको संरक्षण नहोला।

कत्तिको उत्साहित हुनुहुन्छ?

रचना मेरो धर्म हो। उत्साहित हुनुभन्दा पनि बढी मैले कथालार्ई आत्मासात गरेर सँगै हिँड्न थालेको छु।

पिक्चर अफ डार्क साईड, सोसाइटिको होल हो कि होइन ? यदि होइन भने तपाईँ सिर्फ जान्द्रामा कलम चलाउनुहुन्छ हो?

कतिपय डार्क साईड व्यक्तिले नोट गरेको हुँदैन। थाहा पाएर कति थाहा नपाएर उसले पनि यसरी डार्कलाई बढावा दिइरहेको हुन्छ। यो पिक्चर देखेपछि दर्शक मानसिक रूपले छोइएर सच्चिन सक्छ व्यवहारमा जोगिने कोशिश गर्न थाल्छ र समाजको कमजोरी क्रमशः घट्न सक्ला कि? समाज समानताको मान्यताले हुर्कन्छ तर यो होल किन जारी रहन्छ? होलमा परेर जीवन टेक्न नसक्नेको आवाज कलमले दिने हो कि होइन? यही स्वीकार्न जरूरी छ।

मान्छे र जगत् सदियौंदेखि दोहोरिएर आएका छन्। तपाईँ पनि दोहोरिएर मात्र संसारमा जन्मी आउनु भएको हो। मान्छे र जगत लेख्दा जान्द्रा हुन्छ भने म त्यहाँबाट बाहिर हुन कसरी सक्छु? तर शैली मेरो अनुहार हो, त्यहाँ सदैव म आफूलाई जोगाउने प्रयासमा हुन्छु।

तपाईँको लक्ष्य गम्भिर पाठक हुन कि सामान्य? पाठकको प्रतिक्रियाहरूलाई कसरी लिनुहुन्छ?

सर्जकले सिर्जना गर्दा पाठकलाई ख्याल नगरी गर्छ होला। कम्तीमा म चाँही त्यसो गर्छु। मलाई पाठक छानीछानी लेख्न आउँदैन। मैले छान्ने त पात्र मात्र हो। पाठकको प्रतिक्रियाले मेरो कलमको आँखा खुल्छ। त्यसलाई मैले आशीर्वाद जसरी ग्रहण गर्ने गरेकी छु।

पछिल्लो समयको नेपाली कथाकारितामा पात्र विधानमा लेखक हावी भएको बुझिन्छ, यस्तो हुनुको कारण के होला? यो लेखकको समस्या हो कि, तत्कालिन सामाजिक परिवेशको हो?

लेखक केही कुरा भन्न नै सिर्जना गर्छ। हो पात्रविधानमा लेखक हावी भएको भन्ने कुरामा सत्यता पनि छ तर लेखक चुप लाग्यो भने पिक्चर शुरु भो भन्ने कुरा आउँछ। लेखकको यो कमजोरीलाई उपचार त गर्नु पर्छ तर कतिपय प्रतिक्रिया पनि आफूमा कमजोर हुन्छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया