गोर्खाल्याण्ड बङ्गाल सरकार अनि ममता ब्यानर्जीको निम्ति ‘पोलिटीकल डेथ’ हो- विमल

उमेश तामाङ, कालेबुङ, 10 मई/2017


नगरपालिका चुनाउमा बङ्गाल सरकारले पुलिस-प्रशासन साथै बोर्डहरूको गलत प्रयोग गरेर चुनाउ जित्ने प्रयास गरिरहेको भए तापनि जनतालाई भोट कहाँ लगाउनुपर्ने अनि कसलाई जिताउनुपर्ने भन्ने कुरा पूर्णतया ज्ञात रहेको दाबी गोर्खा जनमुक्ति मोर्चा प्रमुख विमल गुरूङले गरेका छन्।

“तृणमूल काङ्ग्रेसले बङ्गालका मन्त्रीहरू ल्याएर यहाँ धुलो उडाउने कार्य गरिरहेको छ। गल्ली-गल्लीमा पुलिस तैनाथ गरेर टेरर गरिरहेछ। मानिसहरूलाई घरबाट निस्कन पनि नदिने खालको राजनीति गरिरहेछ यद्यपि जनतालाई जति रोके तापिन भोट कहाँ खसाल्नुपर्ने उनीहरूले बुझिसकेका छन्”-गुरूङले भने।

चुनाउ प्रचार अवधि तृणमूल काङ्ग्रेसले विकास बोर्डहरूको गठन जीटीएले पहाड अनि पहाडवासीको विकासार्थ कार्य नगरेको कारण नै राज्य सरकारले गठन गरेको बताए तापनि वास्तवमा आफूले गोर्खाल्याण्डको माग गरिरहेको कारण बङ्गाललाई साह्रो परेर बोर्ड गठन गरेको दाबी पनि गुरूङले गरेका छन्।

“गोर्खाल्याण्ड बङ्गाल सरकार अनि ममता ब्यानर्जीको निम्ति ‘पोलिटीकल डेथ’ हो। मैले गोर्खाल्याण्ड माग गरिरहेको कारण फड्को परेर नै बोर्ड गठन गरेर जाति विभाजन गर्ने काम बङ्गालले गरिरहेको छ”-उनले भने। अहिले आएर नगरपालिका चुनाउमा तृणमूल काङ्ग्रेसले विकास बोर्ड अनि विकास बोर्डका पदाधिकारीहरूलाई प्रयोग गरिरहेको आरोप पनि गुरूङले लगाएका छन्।

“तृणमूल काङ्ग्रेसले बोर्डका चेयरम्यानहरूलाई गल्ली-गल्लीमा घुमाइरहेको छ। यस्तो कुरा नहुनुपर्ने हो। गरीबहरूलाई घर दिँदैमा यस प्रकारको राजनीति गर्नु उचित होइन”-उनले भने, “म बोर्डका चेयरम्यानहरूलाई आह्वान गर्न चाहन्छु आफ्नो खानु अनि लाउनु छ, इमान बेच्नु हुँदैन। इमान बेचे भोलिको दिनमा चिहानमा पनि मानिसहरूले थुक्नेछन् त्यो कुरा याद राख्नुपर्छ।”

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया