दार्जीलिङका दुश्मनहरू

पहिलो भाग


पुलिसले आन्दोलन दबाउन अश्रुग्याससितै ताकेर आन्दोलनकारीमाथि गोली चलायो। सडकमा नै ढले केही आन्दोलनकारी। धेरै अझ घाइते छन्। उनीहरूको घाउ सकेको छैन। कतिको हात, खुट्टा भाँचियो, अझसम्म जोडिएको छैन। अनि दुख्यो दार्जीलिङको मन।

मन दुखेपछि दार्जीलिङका मानिसहरू सडकमा झनझन उर्लिए। किनभने उनीहरूलाई सरकारको दमन मन परेन। दमनको विरोधमा जहाँजहाँ पनि गोर्खाहरू छन्, त्यहीँत्यहीँबाट उठे। उनीहरू गाउँगाउँबाट उठे। शहरशहरबाट उठे। राज्यराज्यबाट उठे। देशदेशबाट उठे। उनीहरू त्यसरी उठेपछि सरकारलाई पऱ्यो अप्ठ्यारो।

 

मिचाहा वृत्तिको मुख्यमन्त्री ममता व्यानर्जीको शासकीय सनक दार्जीलिङले हानेको ढुङ्गाले टुक्राटुक्रा बन्यो। र भनिन्, ‘म बङ्गला भाषा थोप्दिन।’

तर जनावेग त भाषाभन्दा माथि उठिसकेको थियो। भाषा छोडेर उनीहरू छुट्टै राज्यतिर पुगिसकेका थिए। जनता भाषामाथि उक्लिएर छुट्टैराज्य-मा पुगेपछि गाह्रो पऱ्यो नेताहरूलाई। गोर्खा जनमुक्ति मोर्चालाई। गोर्खा राष्ट्रीय मुक्ति मोर्चालाई। अरूअरूलाई।

नेताहरूलाई जनता यसरी बौलिन्छ भन्ने हेक्का नै रहेन। जनता बौलिएपछि आत्तिए नेता, राज्य र केन्द्र।

त्यसपछि नै हो ‘जनावेग’ मार्ने बाटो खोजिएको।

 

भाजपालाई बङ्गालमा छिर्ने बाटो चाहिएको थियो। दार्जीलिङमा बङ्गला भाषाको विरोध हुने वित्तिकै मोदिया चलाइरहेका अर्नव गोस्वामीले पत्रकारहरू पहाड पठाए। अथवा पठाउन लगाइयो। उनका च्यानलले अङ्ग्रेजीमा दार्जीलिङ कभरेज गऱ्यो। देशका अङ्ग्रेजी दर्शक/श्रोतालाई च्यानलमार्फत भाजपा भन्न चाहन्थ्यो, ‘लु हेर्नुस बङ्गालमा ममताको दादा गिरी।’

अघिबाट नै भारतमा फेसनेबल बौद्धिकताको खेताला ‘बहसमञ्च’ भाजपाले तयार पारिसकेको छ। ती मञ्चहरूमा देशका जानेमाने सितारा, लेखक, विचारकहरू बुद्धिबिलास चल्छ। त्यसलाई मोदियाले प्रसारण गर्छ र अमुक विषयबारे देशको सतहमा एउटा तरङ तयार पार्छ। त्यही तरङलाई बाढी बनाएर बङ्गालमा पसाउने भाजपीय रणनीति बुझ्ने माइकालाल पहाडमा थिए त?

ती बहसमञ्चहरूमा भाजपा ममताको ‘दादागिरी’-लाई टपिक बनाउन चाहन्थ्यो। ममताले चाल पाइन्। ममतासित एउटै बाटो थियो-हिंसा।

पहाडमा हिंसा भड्कियो भने केन्द्रलाई दबाबमा पार्नै सकिन्थ्यो। अर्धसेना मागिन्। बङ्गालको पुलिस गोली ठोक्ने, त्यसको विरोधमा उठेक जनलहर रोक्ने सेना।

जब ‘आवेग’-ले अडचन भेट्यो, बौलियो दार्जीलिङ। त्यसपछि त्यसको विरोधमा, प्रतिवादमा क्षेत्रीय, राज्यीय, राष्ट्रीय, अन्तराष्ट्रीय ‘आवाज’ बुलुन्द बन्यो।

त्यो आवाजको माध्यम थियो, सोसल नेटवर्क। ममताले त्यहीँ ताला लगाइन्।

दार्जीलिङ दबिँदै गएपछि उत्तरपूर्वी कलकताको बरिसहाटमा भड्कियो, हिन्दू-मुश्लिम दङ्गा। अर्थात भाजपाको यो ममतामाथिको निरन्तर ‘हमला’ थियो। लक्ष्य थियो-विधानसभा र लोकसभा चुनाउ।

जो भाजपाको बङ्गाल पस्ने आरम्भिक बाटो थियो।

 

बाट्ठी ममतासित हिंसा थियो। त्यो हिंसाको शिकार बन्यो आन्दोलन। आन्दोलनकारी नेताहरूलाई ‘विदेशी’ भनियो र पुलिस थानाहरूमा ‘विस्फोट’ सुरु भयो। त्यसपछि लाग्न थाल्यो आन्दोलनकारी नेता र कार्याकर्तामाथि ‘देशद्रोही’-मुद्दा।

विस्फोटको मुद्दा लाग्ने विमल गुरूङको ‘इन्काउन्टर’ ट्रायलहरू गरियो। मात्थिला नेताहरू दुलो पसे, तल्लो लाइनका नेताहरू थुरथुर बने।

थुरथुर बन्ने नेताहरूले खाए पैसा र आफू बाँचे, आन्दोलनको घाँटी निचोरे।

आन्दोलन गरौं त पक्रिने, नगरौं त जनता हातबाट जाने। दुइमा एक त छान्नै पर्ने स्थिति बन्यो। किन भने राज्यातङ्कबारे अध्ययन नै नगरेका, सत्ताको ‘इन्ट्रेस्ट’-चिन्नै नसक्नेहरू थिए दार्जीलिङका पक्ष-विपक्षका ‘नेता’। जसको हातमा थियो- मुद्दा।

त्यही मुद्दा दबाउन आयो पुलिसको हुद्दा। त्यही हुद्दाले दबायो मुद्दा।

गोरमुमोलाई गोजमुमोसित रिस फेर्नु थियो। तल्लो वर्गका मोर्चा नेताहरू थुरथुर बनिरहेको ‘मौका’-लाई ममतासित हात मिलाउन गोरमुमोले गऱ्यो प्रयोग।

 

त्यसपछि नै हो सप्पै सकिएको।

 

यता, भाजपाको योजना फेल खायो। फर्कियो मोदिया। तर ‘जनावेग’ त्यो चरममा पुग्यो, त्यसलाई ‘कन्ट्रोल’ गर्ने क्षमता कुनै माइकालाल नेतासित थिएन। जोसित क्षमता हुन्न, उसलाई भारी बोकायो भने के हुन्छ?

योजना फेल भएपछि भाजपा पछि सऱ्यो। तर नेताहरूको आशा भने भाजपासित नै टाँसियो। ‘केही त गर्छ नी भाजपाले, केही त भन्छ नी भाजपाले, केही न केही त हुन्छ नै, जे हुन्छ त्यो भाजपाबाटै हुन्छ,’ बिहान भजनको साटो यो मन्त्र फलाक्ने भए नेता।

जेन्युन फाइदा नपाएसम्म भाजपा त्यसै हल्लिने पार्टी नै होइन। दार्जीलिङले भाजपालाई अध्ययन नै गरेको भए पो, हुन्थ्यो। र नै दार्जीलिङको राजनीति ‘आशा’-ले निर्माण गऱ्यो। त्यो आशालाई न सांसद एसएस अहलुवालियाले सम्बोधन गरे न त कुनै नेताले।

‘तिमेरको स्यानु मुद्दाको कारण मन्त्रीजस्तो पदको विरुद्धमा जानु?,’ दार्जीलिङका सांसदले त यसो पो भनिदिए।

आन्दोलन गर्नु त कता हो कता, जङ्गल पसेका नेताहरू अहिले भाजपासित मुद्दाबाट बाहिर निस्किन गुहार लगाइरहेका छन्। उनीहरूसित रणनीति थिएन। योजना थिएन। जोसित रणनीति छैन, उसलाई मिच्न सत्तालाई कति समय लाग्छ?

ती आन्दोलनकारी दलहरू, जसले भाजपाको निम्ति बङ्गाल पस्ने ‘इश्यु’-तयार पाऱ्यो। जनावेगले भाजपाको सपनामा पनि खलल पुऱ्यायो, नेताहरूको सपनामा पनि। यी सबैको बदला ममता व्यानर्जीले लिइन्। बीचमा परे जनता।

अब भन्नुहोस्, दार्जीलिङका दुश्मनहरू को को हुन्?

भाजपा, तृणमूल, गोजमुमो, गोरामुमो, क्रामाकपा, जाप, जिएमसीसी, एसेएस हलुवालिया, ममता व्यानर्जी, विमल गुरूङ, मन घिसिङ, विनय तामाङ, अनित थापा, निरज जिम्बा……

को को?

अब विस्तारमा कुरा गर्दै जाऔं।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया