लीला लेखन-बारे रूपेन्द्र प्रभावी कटु र कृष्ण धरावासी-बिचको संवाद

संवाद »

 

यो २०६६ सालमा पोखराको  रेडियो बाराहीको सिर्जनामञ्च कार्यक्रमको लागि रेडियो पत्रकार रूपेन्द्र प्रभावी कटु-ले  कृष्ण धरावासी-सित लीलालेखनबारे गरेको लामो कुराकानी हो।

 ‘प्रभावी कटुका प्रश्नहरू हाजिरी जवाफ जस्ता थिए। निक्कै लामो कुरा भएको थियो।  अनि शुरू भएको थियो लामो वार्ता । त्यस अन्तर्वातामा रूपेन्द्रले निकै मेहनत गरि सशक्त आक्रमक प्रश्नहरू गरेका थिए,’ धरावासी भन्छन्,   ‘कसो कसो म थामिएको थिएँ। आजसम्म लीलाबारे मैले गरेका संवादहरूमा यो मलाई निकै चित्त बुझ्दो लाग्छ।’

धरावासीले यस अन्तर्वातालाई युटुबमा पनि राखेका छन्। खबरम्यागजिनका पाठकहरूको सजिलोको लागि धरावासीले आफैले संवाद टेपबाट उतारेका हुन्। जसलाई यहाँ धारावाहिकरूपमा प्रस्तुत गरिरहेका छौं-सम्पादक

 

लीलालेखन के हो ?

यो प्रश्न जहिले पनि शुरू हुन्छ तर उत्तर ढिलो पाइन्छ । किनभने लीलालेखन भन्ने जुन शब्दावलीको प्रयोग भएको छ, त्यो आफैमा एउटा अलग्गै विषय छ । जस्तो कसैले यसलाई वाद, अभियान वा आन्दोलन जस्ता शब्दावलीहरूको पनि प्रयोग गर्ने गरेको पाइन्छ तर वास्तवमा लीला लेखन त्यस्तो कुनै अभियान होइन ।

यो एउटा लेख्ने प्रविधि हो । लेखन शैली हो, यो कुनै आन्दोलन होइन । आन्दोलन भनेको कुनै निश्चित अबधिमा शुरू हुन्छ र त्यसको उद्देश्य पूरा भए पछि त्यो समाप्त हुन्छ । यसको परिभाषा गर्नु भन्दा पहिला यसको अलिकति पृष्ठभूमि भन्नु पर्ने हुन्छ ।

यसको पृष्ठभूमिको कुरा गर्नु पर्दा तेस्रो आयाममा पुगिन्छ । नेपाली साहित्यमा कुनै सिद्धान्तका साथ शुरू भएको पहिलो आन्दोलन भनेकै तेस्रो आयाम हो । २०२० सालमा काव्यको क्षेत्रमा तेस्रो आयाम भन्ने एउटा आन्दोलन भयो । भारतको दार्जीलिङबाट इन्द्र ब.राई, बैरागी काइँला र ईश्वरबल्लभले यसलाई शुरू गरे । त्यस आन्दोलनका बारेमा केही विशेष कुराहरू उनीहरू भन्थे । त्यसमा पहिलो थियो ‘सम्पूर्णता लेखौं’ अर्थात हामी केहीको विषयमा लेख्छौं भने त्यसलाई पूर्ण रूपमा लेखौं ।

त्यस्तै आद्य स्वरूप वा मिथकको कुरा । अनि भाषा शैली चित्रात्मक हुनु पर्छ भन्ने भनाई थियो । कुनै कृति पढ्ने वित्तिकै त्यसको चित्र आँखामा आउनु पर्छ भन्थे । वस्तुता लेख्नु पर्छ भनेर पनि भन्थे ।

यसरी सिद्धान्तिकृत गरिएको थियो तेस्रो आयामलाई । त्यस विचारलाई सार्वजनिक गर्न उनीहरूले ‘तेस्रो आयाम’ भन्ने पत्रिका नै निकाले । त्यो पत्रिकामा त्यसै दृष्टिकोणमा आधारित सिर्जना र विचारहरू प्रकाशित हुन्थे । तर त्यो पत्रिकाले धेरै लामो यात्रा गर्न सकेन । त्यो २०२० साल जेठदेखि छापिन थालेर क्रमशः असार, श्रावण र भाद्र गरी चार महिनामा संयुक्ताङ्क सामेल पाँच अङ्क प्रकाशित भयो । अन्तिम अङ्क (४८५ अङ्क) एउटै पत्रिकामा संयुक्त भएर आएको थियो ।

त्यति छोटो अबधिमा एउटा आन्दोलनको चर्चा आएर पत्रिका बन्द भए पनि त्यसको प्रभाव र चर्चा भने आजसम्म पनि कायम नै छ ।

यहाँले तेस्रो आयामको कुरा गर्दै हुनुहुन्छ अहिले सम्म । तेस्रो आयाम र लीलालेखन अन्तर सम्बन्धित छन् ?

हो ! मैले भन्न खोजेको के भने त्यसरी प्रारम्भ भएको तेस्रो आयामका यी तीन प्रतिभाहरू मध्ये केही पछि ईश्वरबल्लभ काठमाडौं फर्किनु भो, बैरागी काइला पाँचथर फर्किनु यो । दुवै जना नेपालबाट दार्जीलिङ पढ्न जानु गएको विद्यार्थी हुनुहुन्थ्यो । इन्द्र ब. राईको घर चाहिँ दार्जीलिङ मै भएकाले उहाँ त्यतै बस्नु भयो । अनि पातलो पातलो प्रकारले आयामका काम हुदै गर्दा गर्दै पछि गएर इन्द्रबहादुर राईले तेस्रो आयाम भन्दा एक चरण अघि आफ्नो अध्ययनलाई बढाउनु भयो ।

त्यसै क्रममा उहाँले २०३४ सालमा काठमाडौंबाट प्रकाशित हुने रूपरेखा मासिकको २०० औं अङ्कमा एउटा लेख लेख्नु भयो ‘भ्रान्तिहरू र लीलालेखन मात्र’ शीर्षकमा । नेपाली साहित्यमा ‘लीलालेखन’ शब्द प्रयोग भएको पहिलो सामग्री नै त्यही हो । त्यसमा चाहिँ ‘अब हामीले लीला लेख्नु पर्छ’ भनिएको छ । त्यो लेखमा धेरै कुराहरू भन्दै गएर के भनिएको छ भने– भागवतको एउटा उदाहरण ल्याएर, कृष्ण कंशको सभामा पस्दा, (त्यो सभामा धेरै मानिसहरू थिए, बालकृष्णलाई कंशले आफ्नो शत्रु ठानी झुक्याएर झिकाएको थियो ।) कृष्ण सभामा पस्दा सभामा बसिरहेका विभिन्न मानिसहरूले कृष्णलाई विभिन्न रूपमा देखे भनिएको छ । देवकी र वशुदेवले छोरोको रूपमा देखे । तरूणीहरूले सुन्दर युवकको रूपमा देखे, कंशले कटाल मृत्युको रूपमा देख्यो, पहलमानहरूले आफू भन्दा पनि बलवान पुरूषको रूपमा देखे आदि भनिएको छ ।

भागवतको त्यो श्लोकलाई उद्धृत गर्दै उहाँ के भन्नु हुन्छ भने– वस्तु एउटालाई, द्रष्टा विभिन्नले विभिन्न प्रकारले देख्दा रहेछन्, कृष्ण त एउटा हो तर त्यहाँ उपस्थित विभिन्न मान्छेले एउटा कृष्णलाई विभिन्न देखे वा आफ्नो–आफ्नो कृष्ण देखे ।

दृष्टिकोण अनुसार फरक फरक देखे ।

अब आमाबाबुले प्रिय पुत्र देख्दा कंशले कराल मृत्यु देख्यो, किनभने देवकी र वसुदेवको आठौं पुत्रका हातबाट तेरो बध हुन्छ भन्ने भविष्यवाणी उसले बहिनी देवकीलाई विवाह गरेर अन्माउँदै सुनेको थियो ।

कृष्ण आफै पुत्र भएकाले उनलाई देख्ना साथ यो त मलाई मार्ने व्यक्ति हो भन्ने सम्झी हाल्यो । यसरी कंशले कृष्णलाई कराल मृत्यु देख्दा वशुदेव र देवकीले त आफ्नो प्यारो पुत्र देखे । यस दृष्टिकोणले बुझ्दा वस्तु एउटालाई द्रष्टा विभिन्नले, विभिन्न प्रकारले देख्दा रहेछन् भने त्यो वस्तु आफैं चाहिँ के हो ?

त्यसो भए वस्तुको आफ्नो अलग्गै परिचय चाहिँ के हुन्छ त ? भन्ने एउटा प्रश्न गरिएको छ । त्यो प्रश्नबाट लीलालेखनको जन्म भएको छ । त्यसैले पूवीर्य अध्यात्म साहित्यको भावगत ग्रन्थको एउटा श्लोकबाट वस्तुका अनेक रूप र अर्थहरूको खोजी गर्दै त्यो लेख प्रकाशित भएको थियो ।

त्यो लेख त्यहाँ छापिइसकेपछि त्यस लेखको निकै चर्चा भयो । पछि गएर उहाँले अरू अन्तर्वार्ताहरूमा पनि भन्दै जानु भयो अनि पछि २०४४/४५ साल तिर उहाँको कठपुतलीको मन शीर्षकको कथा सङ्ग्रह प्रकाशित भयो । त्यस सङ्ग्रहमा आठवटा कथाहरू छन् । ती आठवटा कथामा विभिन्न प्रकारका प्रयोगहरू गरिएका छन् । नेपाली कथा साहित्य आख्यानको क्षेत्रमा विनिर्माणवाद् उत्तरआधुनिकता वा लीला ज–जसले जे–जे भने पनि नमूनाको रूपमा ‘कठपुतलीको मन’ शीर्षककै एउटा कथा छ, जुन कथामा गुरूप्रसाद मैनालीको परालको आगो भन्ने कथालाई विनिर्माण गरिएको छ । भनेपछि गुरूप्रसाद मैनालीले लेखेको ‘परालको आगो’ कथालाई उहाँले पुननिर्माण गर्नु भएको छ ।

त्यसलाई भत्काएर नयाँ कथा बनाउनु भएको छ । पात्र तिनै हुन्, घटनाहरू तिनै हुन्, तर त्यहाँ अरू नयाँ पात्र पनि थपिएका छन् । र एउटा स्थिर मिथक ‘लोग्ने स्वास्नीको झगडा, परालको आगो’ भन्ने भनाई समाजमा जुन थियो, त्यसलाई भत्काउँदै उहाँले सबै लोग्ने स्वास्नीको झगडा परालको आगो हुँदैन भन्ने सन्देश दिने गरी लेख्नु भएको छ ।

त्यसलाई सावित गर्न अरू विभिन्न उपकथाहरू जोडिएको छ । कुनै लोग्ने स्वास्नीको झगडामा छोड्पत्र भएको छ कुनै लोग्नेस्वास्नीको झगडामा मेलमिलाप भएको छ, कुनै लोग्ने स्वास्नीको झगडामा स्वास्नीले लोग्नेलाई परित्याग गरेर विदेश गएकी छ, कुनै लोग्ने स्वास्नीको झगडामा स्वास्नीले आत्महत्या गरेकी छ ।

त्यसैले हरेक लोग्ने स्वास्नीको झगडा परालको आगो हुन सक्दैन, विभिन्न अरूथोक पनि हुन्छ भन्ने अर्थ दिने गरी एउटै कथा विभिन्न उपकथाहरू थरिएको छ । त्यस सङ्ग्रहका अरू कथाहरूमा ‘लीला धारा’ लाई बल पुग्ने विषयहरू राखिएका छन् । लीलाको पृष्ठभूमि रचना यसैलाई मानिन्छ ।

त्यसो भए यो तेस्रो आयामले जन्माएको प्रश्नको उत्तर स्वरूप आएको एउटा आन्दोलन हो।

त्यो तेस्रो आयामको बाटो हुँदै लीला सम्म आइपुग्यो । तर यसले तेस्रो आयामको के चाहिँ लियो त भन्दा तेस्रो आयामबाट एउटा मात्र कुरा लियो यसले । त्यो एउटा कुरा चाहिँ थियो ‘वस्तुता’ ।

लेखन वस्तुता…..।

वस्तुता भनेको के हो भन्दा खेरी– वस्तुको आफ्नो अबस्था चाहिँ वस्तुता हो । अथवा वस्तुको कुन अबस्था भन्दा त्यो अबस्था जुन अबस्थामा वस्तुको आफ्नो कुनै पहिचान नै नभएको स्थिति हुन्छ । जस्तो कुनै वस्तु त्यहाँ छ तर त्यो वस्तुको गुण, विशेषता नाम केही थाहा नभए पनि वस्तु त्यहाँ हुन्छ नि ।

त्यो थाहा पाउनु भन्दा अगाडिको अबस्था जुन हो त्यो वस्तुता हो । यदि हामीले कुनै चीजलाई ढुङ्गो भन्यौं भने त्यो ढुङ्गो मात्र भो अब अरू हुँदैन, त्यो त्यसको अरू अर्थमा आइसकिहाल्छ । त्यो वस्तुले अर्थ पाउनु अघि वस्तुले नाम पाउनु भन्दा अघि वस्तुले परिचय पाउनु भन्दा अघिको स्थिति जुन हो, त्यो चाहिँ वस्तुता हो । त्यो वस्तुता भनेको चाहि जे पनि हुन सक्ने सम्भावना भित्र छ त्यो ।

जेलाई हामी ढुङ्गो भन्छौं, त्यसलाई फूल पनि भन्न सकिन्छ त्यसलाई पानी पनि भन्न सकिन्छ । जे पनि भन्न सकिन्छ तर एक पल्ट त्यसलाई पानी भनिसकेपछि ढुङ्गो त भन्न पाइएन । जस्तो बच्चा जन्मिएपछि त्यसको न्वारानमा हामीले उसको नाम हरिप्रसाद राख्यौं भने त्यो नाम राख्नु अघि त हाम्रो काखमा एउटा बच्चो मात्रै त छ ।

बेनाम छ । खाली बाबुआमाको पहिचानसँग उसलाई जोडिएको मात्र छ । त्यसलाई कुनै नाम, गोत्र, थर केही दिएकै छैन भने उसको त्यो स्थितिको परिचय के हो ? तर न्वारान गरिसकेपछि बल्ल त्यसलाई हामी हरिप्रसाद भट्टराई वा रामविलास यादव भनिसके पछि अब त्यो श्यामप्रसाद चौधरी पनि भएन, धनबहादुर चेम्जोङ पनि भएन, अब्दूल खाँ पनि भएन, ऊ तोकिएकै थर र गोत्रमा रूढ भयो ।

अब त्यो बालकको अरू जे–जे नाम, थर, गोत्र हुनसक्ने सम्भावनाहरूको अन्त्य भएर एउटा खास परिचयमा उभिन पुगेको हुन्छ त्यस अबस्थामा त्यो बालकको वस्तुताको स्थिति समाप्त भएको हुन्छ । त्यसैले वस्तुताको स्थिति भनेको वस्तुको आफ्नो प्रारम्भिक अबस्था हो । आयामबाट लीलाले सँगै बोकी ल्याएको भनेको चाहिँ त्यही वस्तुता मात्र हो।

अनि यही वस्तुताको कारणले आयामबाट विपरित अवस्थामा पुग्यो लीला । किन कि आयामले भन्थ्यो– सम्पूर्णता लेखौं । त्यसले भन्थ्यो रूख लेख्नु छ भने ‘म रूख जस्तो’ भनेर नलेखौं ‘म रूख’ भनौं भन्थ्यो । म रूख जस्तो उभिएको छु भन्दा ‘जस्तो’ वीचमा राखिन्छ नि । उहाँहरू आयाम यात्राका बेला के भन्नु हुन्थ्यो भने ‘म रूख उभिएको छु ।’ ‘जस्तो’ उभिएको होइन ‘रूख’ नै उभिएको छु ।

म सडक जस्तो सुतेको छु होइन, म सडक सुतिरहेको छु । त्यो बिचमा ‘जस्तो’ नराख्नु त्यही वस्तु नै लेख्ने भन्ने थियो । यसरी आयामले पूर्णता लेख्नु पर्छ भन्थ्यो भने लीलामा आइपुग्दा चाहिँ थाहा भयो– सम्पूर्णता लेख्न नसकिँदो रहेछ । कम्प्लिट राइटिङ्ग भन्ने नहुँदोरहेछ । पूर्णता भन्ने त चीज नै हुँदोरहेनछ भन्छ लीलाले यता आएर । आयामबाट अघि बढेको यात्रा आयाम भन्दा ठीक विपरित ध्रुवमा उभिन पुगेको छ ।

त्यसो भए पूरै विपरित नै छ यो धराबासी

हो नि ! उसले पूर्णता लेखौं भन्थ्यो, यसले पूर्णता भन्ने नै हुँदैन भन्छ ।

आपसमै विरोधाभाष छन् यी दुवै ?

हो !

भनेपछि बाबु र छोरा बीचको विपरीत ध्रुवीय सम्बन्ध छ ?

छ ।

बाबु र छोरा भन्न मिल्छ नि यसलाई ?

मिल्छ ! मत पो मिलेन तर उत्पत्तिको विन्दु त एकै ठाउँ भो नि । यस्तो भए पछि अब आयाम र लीलाको सम्बन्धलाई के गरेर हेर्ने भन्दा उही भन्न मिलेन किन कि उसले सम्पूर्णता लेख्नु पर्छ भन्थ्यो यसले सम्पूर्णता हुनै सक्दैन भन्ने वित्तिकै यिनीहरूको सम्बन्ध एकदम नै टाडिएर गयो ।

भनेपछि यसले वस्तुगत अवस्थाको चाहिँ विरोध गर्छ । पूर्ण यथार्थताको विरोध गर्छ । यथार्थता भन्दा अगाडिको काल्पनिक कुराहरू अर्थात यर्थाथता समाजमा  उद्घाटित हुनु भन्दा अगाडिको यथार्थता यसले स्वीकार गर्छ । न्वारान हुनु भन्दा अघिको बच्चालाई यसले स्वीकार गर्छ, न्वारान भइसके पछिकोलाई चाहिँ नि ?

त्यो चाहिँ के भने– जस्तो त्यो वस्तुले जब अर्थ प्राप्त गर्छ नि, वस्तुको अर्थ प्राप्त गरे पछि त्यो वस्तुका सम्भावनाहरू समाप्त हुन्छन् । त्यसैले लीलालेखनले चाहिँ के भनेको भने वस्तुका विविधताहरू र सम्भावनाहरू अर्थात यसले हरेक कुरामा जे पनि हुनसक्ने सम्भावना देख्छ ।

अनेक सम्भावना भन्ने कुनै एक सम्भावना मध्येको अर्थ प्राप्त गरे पछि बाँकी अर्थहरू मर्छन् र एउटा मात्र अर्थ त्यस वस्तुले ग्रहण गर्दछ । त्यो अर्थ ग्रहण गर्नु भन्दा अगाडिको स्थितिबाट नै सोच्न थाल्नु पर्छ भन्छ यसले ।

भनेपछि यो त लेखकको मृत्यु हुन्छ भन्ने कुरासँग पो मिल्न जान्छ कि कसो ?

मिल्छ त्यो पनि । वस्तुले आफ्नो अर्थ पाइसकेपछि उसको अघिल्लो अवस्था समाप्त भयो । जस्तो एउटी छोरी मान्छे मानौं मेरी छोरी छ । कृष्णप्रसाद भट्टराई मेरो नाम हो । त्यसकारण मेरी छोरीको नाम प्रतिमा भट्टराई हो ।

अहिले उ प्रतिमा भट्टराई त हो तर उ के साँच्चै प्रतिमा भट्टराई हो त ? यहाँ एउटा प्रश्न उठ्छ । हाम्रो सामाजिक परम्परा अनुसार ऊ अन्तिमसम्म प्रतिमा भट्टराई होइन । के हो त ? भन्दा ऊ सुवेदी, उप्रेती, थारू, चौधरी, लिम्बु, राई, तामाङ जे पनि हो ।

उसले कोसँग बिहे गर्छे, त्यो बिहे गरेको मान्छेको थर ऊसँग जोडिन आउँदा उसको अहिलेको प्रतिमा भट्टराई, प्रतिमा देखि पछिको जुन भट्टराई हो, त्यो भट्टराईलाई छोप्ने अरू नै के–के थरहरू आउछन् । त्यसैले प्रतिमा भट्टराईलाई तपाईले चिनिरहँदा अन्तिम चिनेको हुँदैन ।

यो त विरोधाभाष भएन र ? तपाई भन्दै हुनुहुन्छ कि एउटा पहिचान दिइसकेपछि त्यसका सम्भावनाहरूको अन्त्य हुन्छ लिला लेखनले यसो भन्छ, भन्दै हुनुहुन्छ फेरि प्रतिमा भट्टराई अर्को जुनसुकै थरमा परिवर्तन हुनसक्छ, त्यसो पनि भन्नु हुन्छ । यो आफैंमा विरोधाभाष भएन ?

त्यसो त जीवन नै विरोधाभाषपूर्ण नै त छ ।

त्यसो भए लीला लेखनको मूल आसय चाहिँ के हो त नि ?

लीलालेखनको मूल आसय भनेको के हो भने यसले कुनै कुरालाई पनि निर्णय दिँदैन ।

त्यसो भए ध्रुबसत्य भन्ने कुरो केही पनि छैन ।

हो । ‘एब्सलुट त्रुथ’ निर्विकल्प सत्य भन्ने केही पनि छैन भन्ने कुरालाई यसले स्वीकार गर्छ । सत्यहरू आ–आफ्नो दृष्टिकोण अनुसार, आ–आफ्नो बोध अनुसार सत्य, देखिन्छ ।

मैले यहाँ जोड्न चाहेको के भनेयहाँले वस्तुताको अन्त्य भएपछि अर्को कुनै सम्भावना रहँदैन भन्नु भएको हो नि ! फेरि यहाँ नै भन्दै हुनुहुन्छ कि परिवर्तन पनि हुन्छ । अर्को सम्भावना भनेको परिवर्तन होइन र ?

हो ! जस्तो एउटा वस्तुताको स्थितिको अन्त्य पछि त्यो सदाकालको लागि समाप्त हुँदैन। नयाँ अर्थसँगै नयाँ वस्तुताको स्थितिको शुरूवात भइहाल्छ नि । जस्तो हिजो प्रतिमाको नाम राख्नु अघि एक वस्तुता थिई, नाम राखेर उसलाई प्रतिमा भनियो, जब प्रतिमा भट्टराई उसको अर्को वस्तुता भयो किन कि उसको फेरि अर्को थर गोत्र हुने सम्भावना कायमै छ। एउटा वस्तुताको अन्त्यसँगै अर्को वस्तुताको स्थितिको प्रारम्भ भइहाल्छ ।

सांसारिक विचित्रता हो यो ।

त्यसैले छिनछिनमा परिवर्तशील छ यो कुरा । कुनै वस्तुको अर्थ हाम्रो ज्ञानको सीमा अनुसार वा बोधको सीमा अनुसार र हाम्रो स्वार्थ अनुसार लाग्छ । त्यसैले सबैको लागि एउटै उत्तर त्यो वस्तुले बोकेको हुँदैन । व्यक्तिको इच्छाअनुसार वस्तुले अर्थ बोक्छ । जस्तो म एउटा लोग्ने मान्छे, मेरो घरमा म छु । म बाहेक मेरो श्रीमती, छोरा, छोरी, भाई, बुहारी आदि थुप्रै छन् एउटै घरमा ।

अब त्यो घरभित्रको मेरो स्थिति के हो ? भनेर प्रश्न गरियो भने त्यहाँ मेरा विभिन्न स्थितिहरू छन् । श्रीमतीले मलाई लोग्नेका रूपमा बोलाउँदा खेरी आमाले छोराको रूपमा बोलाएको हुन्छ । छोरीले बाबु भनेको हुन्छ, बहिनीले दाजु भनेको हुन्छ । सासू ससुराले ज्वाइँ भनेको हुन्छ । ती प्रत्येकले सम्बोधन गरिएको व्यक्ति त मै एक्लो त हुँ नि । एउटै हुँ नि त मान्छे त । म कृष्णप्रसाद भट्टराई एउटा शरीरले त्यहाँ छ तर यतापट्टि श्रीमतीले सम्बोधन गर्दा म लोग्ने जस्तो भएर फर्केर श्रीमतीसँग कुरा गर्नु पऱ्यो । लोग्ने भइदिनु पऱ्यो श्रीमतीलाई, त्यति बेलै आमाले बोलाउँदा खेरी आज्ञाकारी पुत्र बनेर आमातिर फर्किनु पऱ्यो । छोरीले बोलाउँदा बाबु जस्तो हुनु पऱ्यो ।

व्यक्ति एक भूमिका अनेक……?

हो नि ! पात्रो त जसको जीवनमा पनि छ नि । यस्तो स्थितिमा मैले भूमिका निर्वाह कसरी गर्ने त ! घरमा आमा, बहिनी, श्रीमती तीनवटै आइमाई त, हुन् नि प्राकृतिक हिसाबले । तर उनीहरू सँग मैले गर्ने व्यावहारमा कति फरक छ त ? श्रीमती सँग आमासँग र बहिनीसँग गर्ने व्यावहार कस्तो होला त ? यी सबै आइमाई त हुन् नि भनेर सबैसँग एउटै व्यावहार गर्न मिल्छ त ? गर्न सकिन्छ त ? त्यसैले एउटै व्यक्तिले प्रत्येक व्यक्तिसँगको व्यक्तिगत सम्बन्ध अनुसार आफ्नो भूमिका निर्वाह गर्नु पर्दा, स्वयं म आफू कृष्णप्रसाद भट्टराई त्यो घरभित्र को हुँ ? मेरो रूढ पहिचान त्यहाँ के हुन्छ ? के– हो के हो ? सम्बोधन गरिए अनुसार म त्यहाँ हुन्छु ।

गीतामा एक ठाउँ कृष्ण पात्रले के भन्छ भने—

जो जस्तो भाव लिई आउन्, तिनमा त्यस्तै म बन्दछु

            सबै मानिसले पार्थ अनुगम्य सदा म छु ।

जो जस्तो भाव लिई आउन् तिनमा त्यस्तै म बन्दछु । त्यो आउने मान्छे, मलाई भेट्न आउने मान्छे जुन भाव लिएर आउँछ, त्यसको भावको उत्तरको रूपमा म प्रस्तुत हुन्छु । ऊ मसँग मित्रवत् भएर आयो भने मित्र जस्तो हुन्छु शत्रु भएर आयो भने म पनि आफ्नो सुरक्षाको लागि लड्न तयार हुन्छु ।

ऊ माग्ने भएर आयो भने म दाता भएर उपस्थित हुन्छु । ऊ के भएर आउँछ, त्यसको उत्तरको निम्ति म तयार भएर बसेको हुन्छु । त्यसैले म अलग्गै एउटा स्थिर मान्छे छैन । मलाई उपयोग गर्न चाहने र सम्बोधन गर्न चाहने अनुसार नै म सम्बोधित हुन्छु । त्यस कारण म आफैमा रूढ परिचयले छुइनँ । त्यसैले सबै मान्छे, एउटै जीवनमा बाँचिरहँदा पनि हाम्रो उपस्थिति सापेक्ष छ । त्यसैले लीलालाई सापेक्षतावादको सिद्धान्तबाट पनि हेर्न सकिन्छ ।

लीलालेखन भ्रमहरूको जालो हो जस्तो पनि लाग्छ नि ?

एककिसिमले हेर्दा यो भ्रमपूर्ण देखिन्छ । र आरोप पनि छ लीला लेखन भनेको भ्रमको लेखन हो ।

वास्तविकता पनि त्यही हो जस्तो लाग्छ कुरा सुन्दा खेरी । कता कता घुमाइराख्नु भा छ मान्छेलाई झुक्याउनका लागि । अनि म ठूलो हुँ भन्नलाई लेखेको जस्तो । सामान्य जनतालाई सामान्य मान्छेलाई झुक्याइ दिने अनि आफ्नो विद्वता प्रदर्शन गर्ने । त्यो पनि हो कि ?

त्यो पनि हुन सक्छ । किनभने सम्भावना त त्यो पनि छ नि ।

यसको ध्येय नै त्यही हो ?

ध्येय त्यो भन्नाले पनि खासमा हामी सबैको जीवनमा भ्रम छ । तर हामीलाई भ्रम भन्ने कुरै थाहा छैन । त्यसलाई हामीले सत्य सम्झेर हिँडेका हुन्छौं । भरे परिणाममा मात्रै ए ! यो त होइन रहेछ, यत्रो बाटो हिँडेर आइयो भन्दै फेरि फर्किनु पर्ने हुन्छ । यस्ता कति घटनाहरू भइरहन्छन् हाम्रा जीवनमा । त्यसो हुनाले जीवनमा भ्रमहरू छन् । तर भ्रमलाई चिन्यो भने त भ्रमबाट मुक्त हुइन्छ नि ।

भ्रमहरूलाई चिर्ने काम गर्छ त यसले ?

यसको काम चाहिँ भ्रमलाई चिनाउने हो ।

भ्रमलाई चिर्ने कि चिनाउने ?

चिनाउने । भ्रमलाई चिनिसकेपछि त भ्रम टुटिहाल्यो नि । जस्तो भनौं एउटा लामो चीज अँध्यारो बेलामा ढोका छेउमा देखियो । खुट्टाले पनि त्यसलाई छोयो । खुट्टामा केही चोट लागे जस्तो पनि केही अनुभव भयो भने– ला…..! मलाई त साँपले टोक्यो । भनेर मान्छे तर्सिन्छ । किनभने अँध्यारोमा कुनै लामो वस्तु देख्नासाथ हाम्रो दिमागमा साँपको भ्रम पैदा भइहाल्छ ।

त्यस्तो धारणामा हामीमा पहिल्यैदेखि सुरक्षित रहेको हुन्छ । हामीलाई त्यो आकृतिले नै साँपको अनुभूति गराउँछ । आत्तियो ऊ नभर्स भो, थुक सुक्यो, बेहोस हुन आँट्यो । तर होइन होला । कहाँबाट हुन्छ साँप खै लाइटले बत्तिले । बत्ति बोकेर गएर हेर्दा त डोरी रहेछ । त्यो देख्नासाथ त्यो व्यक्तिको अघिको तर्सेको, डराएको सबै बिस्तारै हराउँदै जान्छ।

अघि साँप हो भन्ने मनले सोच्दा लागेको डर अहिले साँप होइन भन्दा सर्लक्कै हराएर जान्छ । यदि उसलाई त्यो साँप नभएर डोरी पो हो त भन्ने सावित नगराएको भए ऊ नर्भस भएर मरि पनि सक्थ्यो । र अरूलाई पनि साँपले टोकेरै मरेकोमा विश्वास हुन्थ्यो । त्यसकारण विष भन्ने चीज बाहिरबाट मात्र आउने होइन, दिमागबाट पनि विषको उत्पादन हुन्छ । साँपको विष मान्छेको दिमागभित्रैबाट पनि उत्पादन हुन्छ । हर्मनले कहिले विष उत्पादन गर्छ कहिले अमृत उत्पादन गर्छ त्यो पनि त्यसले भ्रमको सृजना गर्ने होइन भ्रमलाई चिनाउने काम गर्छ ।

भ्रमलाई चिनिसकेपछि त हामी भ्रमबाट मुक्त भएर सही रूपमा बाटोमा आउँछौं नि । यसले भ्रम सृजना गर्छ भन्नेहरू नै भ्रममा छन् अब यसो भनौं न त्यसरी नभनौं यो के छ भने भ्रम त जति बेला पनि छ होइन, अहिले हामी दुइ जनाले गफ गरी राखेको पनि हामीलाई के भ्रम छ भने हामी भयङ्कर ठूलो कुरामा छलफल गर्दैछौं भन्ने छ, बहुत मान्छेले घरघरमा बसेर हाम्रो कुरा सुनिरहेका छन् मानौं कि हामी नेपाली साहित्यमा एउटा यस्तो चीजको चर्चा गर्दैछौं भन्ने सोचेर यहाँ कुरा गरिरहेका छौं ।

यो त तपाई हाम्रो भ्रम हो नि । त्यसो त अहिले हामीले गरिरहेकै कुरा पनि कुन ठूलो कुरा हो र ? अहिले हामीले गरिरहेको कुराले कसैको घरमा भात पनि पाक्दैन, यो कुरा कतै परिक्षाको उत्तर पुस्तिकामा लेख्न काम पनि दिँदैन । यो कुरो सुनेर जागिर पनि पाइँदैन पैसा पनि कमिँदैन । तर अहिले हामी यसलाई यस्तो महत्व दिइरहेका छौं कि यो कुरा सबैले सुन्नै पर्छ र त्यसलाई बुझ्नै पर्छ । मानौं कि हामीलाई यस्तो लाग्छ लीला लेखन भन्ने अब नबुझि हुँदैन । त्यो नबुझे जीवनको कुनै अर्थै छैन, आदि ।

यहीं पनि त आत्मपरकता छ नि त । आफ्नो पक्ष आयो नि । यही भ्रम मै हामीले जीवन बिताएका पनि हुन्छौं । त्यसो त हेर्नोस् अहिले हामीले गरिरहेको कुरा वास्तवमा लेखनको होइन बोधको कुरा हो ।

लीला बोधको कुरा । यो चाहिँ लीला लेखनको दार्शनिक पक्ष हो । यो कुरो बुझ्यो भने त्यो मान्छेको जीवनमै एक किसिमको दार्शनिकताको पक्ष बढेर आउँछ । लेख्दा पो लेखन हुन्छ, नलेख्दा त के को लेखन ! सबैले त लेख्दैनन् ।

बोध गर्नु र लेख्नु फरक कुरा हो ।

जसले लेख्यो त्यसको लेखन भयो, नलेख्नेलाई त किन बुझ्नु पऱ्यो त यो लेखन सिद्धान्त भन्ने प्रश्न उठ्नु स्वभाविक छ । नलेख्नेले बोध गर्नु पऱ्यो । लीलालाई बोध गर्नु पऱ्यो । बोध गरेपछि त्यसले आफ्नो जीवनमा त्यसलाई दार्शनिक तहबाट हेर्नु पऱ्यो । त्यसले जीवन चलाउन सजिलो पार्छ । कुनै पनि कुरामा हामीले रूढ भएर– च्वाट्टै छिनाइदिन्छु त्यसलाई भन्ने रिस पनि त उठ्छ नि । कसैले त छिनाइ पनि हाल्छ । यदि छिनाइ हाल्यो भने भरे थुक्क किन छिनाएँ होला ? भन्ने पश्चाताप गर्छ । अघि त्यो च्वाट्ट छिनाइदिन मन हुने भावना जुन छ नि, लीला बोध गरेमा त्यस्तो भावनै उत्पन्न हुँदैन ।

कसरी हुन्छ त त्यो लीला बोध ?

किन हुँदैन भने, कुनै घटनालाई मैले जसरी हेर्छु अर्कोले पनि त्यसरी नै हेर्छ भन्ने छैन । भन्ने हामीले बोध गऱ्यौं भने त्यहाँ कुनै समस्या उत्पन्न हुँदैन नि त ।

अघि यहाँले भन्दै हुनुहुन्थ्योलीलालेखन बुझेर के हुन्छ, केही पनि हुँदैन । कसैको भात पनि पाक्दैन, विद्यार्थीलाई परिक्षामा उत्तर दिने सामग्री पनि बन्दैन भन्दै हुनुहुन्थ्यो । अनि किन बोध गरिरहनु त फेरि ?

(यसको जवाब धरावासीले के दिए होलान्? पर्खनुहोस्, अर्कोहप्तासम्पादक)

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया