उज्ज्वल बमजन-का तीन कविता

संसद आक्रमण


संविधानको सिरेटोले
बेस्सरी हानेको छ
उसको विपन्न नाङ्गो आङमाथि।

सयदिने रोजगारले उड़ाएको
गाउँले धूलोको तुवॉंलोभित्र रूमल्लिएर
स्वजलधारा परियोजनाको गङ्गोत्री मरूभूमिमा
बलबहादुर अनि बुधवाहरू
पिइरहेछन् काकाकुली बनेर पेप्सी कोकोकोला
सुकाउँदै निधारको काउँसो पसीना
हम्किँदै फ्यातुलो जब्-कार्डको हाते-पङ्खाले।

कारगिल सहिदको कात्रो
क्वात्रोचीको बोफोर्स-विवाद
सन् १९५०-को सन्धि
र परमाणु प्रतिवादको घोषणा
थाङ्काहरूमा सिर्जेर
फर्किआएका छन् दुर्गामल्ल,न्यूटन र जङ्गबहादुरहरू
गिद्दे पाहाड़मा
थाल्नलाई त्यहीँबाट
अविराम नित्य पद्मसम्भवयात्रा।

साइरन रन्काउँदै
कालो बत्तीमा हिँड़्ने आसुरहरू
संविधानको प्रत्येक पृष्ठ च्यातेर
चट्पटे, कोफ्ता र फम्बी खाइरहेछ
चुहाउँदै नीलो दैत्य ओँठमुनि
पुच्का, छोला र फिङको रक्तरस।

बलबहादुर र बुधवा
दुवै नै त्रसित छन्
आत्मघातीहरूद्वारा संसदमाथिको
बम, ग्रेनाइट र बन्दुकको आक्रमणले
अनि बहुसङ्ख्यकहरूद्वारा
अल्पसङ्ख्यकहरूमाथि भएको
संसदको विधेयक अतिक्रमणले।

बेमौसम गुञ्जिरहेछ चारैतिर
र्‍याइर्‍याइती
अल्पसङ्ख्यक र आदिवासीहरूका अधिकार
र सुरक्षाका झ्याउँकिरी सिम्फोनीहरू।


गणतन्त्रको मृत्युदिवस
उपसंहार –
चीरहरण भइछाड़्यो
यो युगमा
अल्पसङ्ख्यक आदिवासी द्रौपदीको
बेलतलाको खुल्ला सडकमा।

कृष्णले उपस्थित भई
चीरहरण रोक्ने कथाको पृष्ठ
धेरै अघि नै कसैले च्यातेर
थुङ्गा बनाई सत्ताभोगको झालमुरी खाइसकेछन्।

द्रौपदीको नाङ्गो शरीरलाई
डिजीटल र मोबाइल क्यामेराले खिचेर
लेमिनेशन गर्नमा मस्त थिए
छेउछाउका नपुंसक भीम, अर्जुन, नकुलहरू।

मेरो देशले
ब्वॉंसोहरूका सुरक्षार्थ
निर्दयतापूर्वक लाठीचार्ज गरिरहेछ
सोझो कस्तुरी मृगहरूमाथि
दार्जिलिङ मोड़हरूमा।

कबीरको कपास कोमलता
दल्सिङ ढुङ्गाको पर्याय बनेको छ
र गान्धीको गणतन्त्र गहना
खिया परेर धनुङ्कारको साम्राज्य फैलाउने
साधनमात्र बनिरहेछ।

निरङ्कुशताका खस्रा धोतीसरा धारहरूले
स्वतन्त्र कोमल जिब्राहरू पाछिएपछि
अमानवीयताका अविश्‍वसनीय भूस्खलनहरूले
स्वाभिमानी छातीहरू तारेभीर झैं ताछिएपछि
सडकमा उत्रिएका छन् बुद्धहरू
गेरूवा कम्ब्याटमा गोरिल्ला युद्धका निम्ति
युद्धम् शरणम् गच्छामी
बुद्धत्वमा शान्त सुसाएको यो देश
क्लान्त बनेको छ मोदीत्वमा।

मोतीबिन्दु
र रतन्धोग्रस्त छन्
गणतन्त्रका गेलुक्पाहरू।


उपदंश
बोन्बोहरू
थर्थर् कॉंपिरहेछन्
सम्झँदै कृष्ण विवर
निठारी निर्दयता।

चिसो किङ्चूम जोङ्बूलाई
ग्वाम्मै अङ्गालो हालेर बसेको छ
सृष्टिदेखि नै दार्जिलिङले
इतबु देबु रमको सिर्जनामा।

अहा! कति सुन्दर
गोर्खाको कोमल हृदय ढिकुरामाथि फलेको
विश्‍वासिलो वीरताको स्वादि काल्डुङ्गे च्याउहरू।
यो देशले
कहिले च्याउ खावोस्
र च्याउको स्वाद चाल पावोस्।

सक्रिय छन् अत्यन्तै
भित्रभित्रै ढिकुरा खन्ने
डिकुरे मुसाका जत्थाहरू।

देशको संविधानको
छाती र ढाड़भरि
अरिबहादुरका हर्कुलस हस्ताक्षरहरू सल्बलाइरहेछन्
यत्रो सगरमाथा सत्यतालाई
यदि ढाक्यौ भने
ओ मेरो देश तिमीले
तिम्रो स्वाभिमानी छाती
र सार्वभौम भूगोलको ढाड़भरि
असह्य जनैखटिराहरू निस्कनेछन्।

मेरो प्रिय देशले अझैसम्म पनि
मेरो देशभित्रकै दार्जिलिङहरूलाई
खालपाड़ा र दिनबजार वेश्यालयहरूमा
सम्भोगमात्र गरिरहेछ
अनि लगातारको असुरक्षित सम्भोगले
यौनरोग लागेर
कुहिनथालेका छन् फ्यात्त-फ्यात्त
देशका विविध विशेष अङ्गहरू
सतीका असम्पृक्त अङ्गहरू झैं।

बायोप्सी गरेर यो देशको माटोको
परिभाषित गर ओ उल्फाहरू !
यो देशप्रतिको तिम्रो भावानुभूति
यो माटोप्रतिको तिम्रो प्रेमानुभूति
अनि विज्ञप्ति गर आफैमा
तिम्रो विघटनात्मक प्रत्यागमनले।

ओ गान्धी !
तिम्रो अहिंसाको आकर्षणमा
झिँगा झैं भन्किरहेछन्
यो देशका अमर्यादित अनागरिकहरू
अल्झिए झैं सम्पूर्ण सौरमण्डल
गुरूत्वाकर्षणको लहरेपट्टामा।

उत्क्रमणका यी क्षणहरूमा
उत्तप्त ज्वालामुखी बौलिनुभन्दा
सुसुप्त हिमवाह पग्लनु
चिन्तन चौतारीमा
मथिङ्गल मन्थनको मेला लगाएको छ।

अस्त्र-शस्त्रहरूका घनघोर जङ्गलबाट
फर्क रामसरह विध्वंशको वनवासदेखि
यो खुल्ला निमन्त्रणा उल्फाहरूलाई
यो हॉंकी आमन्त्रणा उल्काहरूलाई
यो खॉंटी समवेदना उपदंशहरूलाई।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares