मनले पठाए मुख्यमन्त्रीलाई पत्र

दार्जीलिङ, 8 अप्रेल।


कालेबुङ जिल्लाको ऐतिहासिक दामसाङगड़ीलाई एक पर्यटन स्थलको रूपमा विकसित तुल्याउनुपर्ने अनि भारत स्वतन्त्र भएकै समय मान्यता पाएको साङ्चेन दोर्जे जुनियर हाई स्कूललाई पूर्ण हाई स्कूलको मान्यता प्रदान गर्नुपर्ने माग गर्दै आज गोरामुमो अध्यक्ष मन घिसिङले राज्यकी मुख्यमन्त्री ममता व्यानर्जी र शिक्षामन्त्रीलाई पत्राचार गरे। हिजो मात्रै गोरामुमो अध्यक्ष मन घिसिङले कालेबुङ जिल्लाको भ्रमण गरेका थिए अनि त्यसै भ्रमणको क्रममा साक्योङ, कास्योङका साथै अन्य स्थानका जनताले दामसाङगड़ीलाई हेरिटेजको रूपमा घोषणा गर्नुपर्ने अनि यसलाई एक पर्यटन स्थलको रूपमा विकसित गर्नुपर्ने माग गरेका थिए।

यसको लागि गोरामुमोले राज्य सरकार वा सम्बन्धित विभागसित पहल गरिदियोस् भन्ने पनि जनताको चाहना थियो। यति मात्रै होइन, पार्टी अध्यक्ष घिसिङलाई त्यहाँका जनताले साङ्चेन दोर्जे निम्नोच्च विद्यालयलाई उच्च विद्यालयको रूपमा मान्यता दिलाउनेबारे पनि माग गरेका थिए। यसको लागि पनि उनले मुख्यमन्त्रीलाई अलगै पत्र पठाएको गोरामुमो केन्द्रिय कार्यालय प्रवक्ता वाई. लामाले जनाए।

उनले भने-सन् 2011-को जनगणनाको आधारमा साङ्चेन दोर्जे निम्नोच्च विद्यालय वरिपरिको जनसंख्या 6,120 थियो। अहिले यो जनसंख्यामा अझै बढ़ोत्तरी भएको छ। यसैले यस स्थानका विद्यार्थीहरू उच्च शिक्षाको लागि कैयौं किलोमिटर हिँड़ेर जान बाध्य बनिरहेका छन्। यसैले यसै स्कूललाई उच्च माध्यमिक  विद्यालयको दर्जा प्रदान गरिए यहाँका विद्यार्थीहरूलाई धेरै सहयोग पुग्नेछ। यसैले आज पार्टी अध्यक्ष घिसिङले मुख्यमन्त्रीलाई पत्र पठाएर यस स्कूललाई बढ़ोत्तरी गर्ने माग गरेको लामाले बताए।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया