म जाति र आफ्नो मुद्दाप्रति पूर्णरूपले प्रतिबद्ध छु – विनय तामाङ

 

संवाद


(विमल गुरुङलाई पछिल्लो गोर्खाल्याण्ड आन्दोलनको क्रममा एकाएक बिना चुनाउ सत्ताच्युत पारेर अहिलेघरि विनय तामाङ जीटीएको चौकीमा आसिन बनेका छन्। प्रस्तुत छ जीटीए बोर्ड अफ् एडमिनिस्ट्रेसनका अध्यक्ष विनय तामाङसँग पत्रकार डी.के. वाइबाको अन्तरवार्ता।)

प्रश्न – पहाड़का मानिसहरूले अहिलेको राजनैतिक स्थितिलाई हेरेर एकाधिक अड्कलबाजी गरिरहेका छन्। गोर्खाल्याण्ड आन्दोलन त्यसपछि जीटीए अनि अहिले जीटीए-2 जस्ता व्यवस्थाहरूमा अल्झेका जनताले सम्भावनाहरूको अडकलबाजी गर्दैछन्। वास्तवमा पहाड़को राजनीति अहिले कतातिर जाँदैछ भन्ने लाग्छ तपाईँलाई?

उत्तर – हेर्नुहोस्, 2017 को घटना हाम्रोमा आलै छ। यो घटना त्यतिबेला भयो जतिबेला बङ्गला भाषालाई जब्बरजस्ती प्रयोग गर्ने पहल भयो। बङ्गला भाषालाई बलजफ्ती प्रयोगको प्रयास हुँदा त्यसको विरोध हुन थाल्यो अनि त्यही विरोधको स्वर गोर्खाल्याण्ड आन्दोलनतर्फ मोडिएर गयो। त्यसबेला शुरु भएको गोर्खाल्याण्ड आन्दोलन बिस्तारै गणतान्त्रिक हुनको साटो अगणतान्त्रिक हुन थालेपछि अनित थापाज्यू र मैले जनताले दुःख पाउन थाल्यो, हाम्रा मानिसहरू मारिन थाले अनि यो स्थिति अझ भयानक भएर जानेछ भन्ने हेतुले दार्जीलिङ पहाड़, तराई र डुवर्स अनि हाम्रा सम्पूर्ण सन्तानलाई आगोबाट बाहिर निकाल्न कम्मर कसेका हौँ।

अहिलेघरि हामीलाई जति पनि मानिसहरूले गाली गर्दैछन् उनीहरू कसैलाई पनि त्यो जलन थाह छैन। किनभने त्यसबेला हामी फिल्डमा थियौँ अनि अहिले गाली गर्नेहरू सबै बाहिर थिए। त्यसबेला जति पनि जनता-जनार्दन यहाँ थिए उनीहरूलाई त्यो पीड़ा थाह छ।

प्रश्न –  अँ तपाईँले गोर्खाल्याण्डको आन्दोलनलाई आगो भन्नु भयो। हो यो आगो नै हो। अझ यो त भुसको आगो हो सल्किरहने। तर, राजनीतिमा यो गोर्खाल्याण्डको आगो कहीँ कतै सत्तामा पुग्ने मुद्दा मात्र होइन?

उत्तर हेर्नुहोस् तपाईँको यस प्रश्नमा मेरो सय प्रतिशत सहमति पनि छैन अनि सय प्रतिशत असहमति पनि छैन। कतिजना विज्ञ राजनीतिज्ञहरूले यसलाई चुनावी मुद्दा बनाए अनि बनाएर लगिरहेका पनि छन्। तर, म यसलाई चुनावी मुद्दा बनाएर लैजान चाहन्नँ।

गोर्खाल्याण्ड प्रत्येक पहाड़, तराई र डुवर्सवासीलगायत सम्पूर्ण गोर्खाहरूका एउटा सपना हो अनि कोर आइडियोलजी पनि हो। जबसम्म हामी भारतमा मात्र होइन तर विश्वभरि गोर्खाहरू छौँ त्यतिबेलासम्म गोर्खाहरूको नशा-नशामा बग्ने रगतहरूसँगै यो गोर्खाल्याण्ड रहिरहनेछ।

तपाईँको प्रश्नमा सयप्रतिशत सहमत पनि छुइनँ अनि असहमत पनि छुइनँ भन्नुको तात्पर्य चाहिँ जबसम्म हामीले भावानात्मक कुरालाई लजिकलसँग प्रस्तुत गर्दैनौँ तबसम्म सफलताको चुचुरोमा पुग्दैनौँ।

प्रश्न तपाईँको भनाइअनुसार हो भने गोर्खाल्याण्डको मुद्दालाई अहिलेसम्म लजिकल्ली पेश गरिएको छैन?

उत्तर हामीले जसले सफलता पायो उनीहरूबाट शिक्षा लिनुपर्छ। जस्तै तीनवटा राज्यहरू बाजपेयी सरकारमा गठन भयो। युपीए-2 को समयमा सम्पूर्ण राजनैतिक दलहरूको परामर्शअनुसार तेलेङ्गना गठन भयो। यी जम्मै चारवटा राज्य बनिँदा उनीहरूले कस्तो कसरत गरे? कस्ता लजिकल पदक्षेपहरू ग्रहण गरे त्यसबारे हामीले जानकारी लिनु आवश्यक छ।

प्रश्न त्यसो भए के गर्नु त गोर्खाल्याण्डको निम्ति ?

उत्तर यो सामूहिक मुद्दा हो। सबै मिलेर एउटा मञ्चमा आएर उठाउने मुद्दा हो। एक्लो व्यक्तिले उठाउने कुरा होइन। यसकारण हामी सामूहिक विचारमा, सामूहिक सोंचमा, सामूहिक कार्याप्रणालीमा एक भएर एउटा प्लेटफार्ममा एकवद्ध बनेर आउन सके सायद अर्को सय वर्ष लाग्दैन होला। तर, हाम्रो यही व्यवहार, यही प्रवृत्ति, यही सोंच र यही विचार राखे सायद अर्को दुईसय वर्षमा पनि सम्भव छैन।

प्रश्न स्व. सुवास घिसिङले गोर्खाल्याण्ड भने अनि दागोपापको चौकीमा बसे। विमल गुरुङले सुवास घिसिङलाई सत्ताच्युत पारेर गोर्खाल्याण्डको मुद्दा उठाए अनि जीटीएको चौकीमा बसे। तपाईँले विमल गुरुङलाई सत्ताच्युत पार्नुभयो अनि जीटीएकै चौकीमा बस्नुभयो। अर्थात् यो गोर्खाल्याण्ड भनेको आखिरमा सत्ता नै हो?

उत्तर हेर्नुहोस्, यसलाई तपाईँहरूले फरक तरिकाले हेर्नुपर्छ। मैले गोर्खाल्याण्डको नाउँमा चौकी लिएको होइन। मलाई चौकी दिएको हो। त्यो चौकी कसरी दियो भन्ने पनि मलाई थाह छैन। तर, मलाई अहिले पनि चौकीको लोभ छैन। यदि आज मभन्दा ओजस्वी व्यक्ति अथवा मभन्दा अझ राम्रो, जसले चलाउन सक्छ उनी आएर तपाईँको अध्यक्षपद लिन चाहन्छु भन्छन् भने म यो चौकी दिनलाई तयार छु। किनभने मैले पनि तृणमूल स्तरदेखि गोर्खाल्याण्डको आन्दोलन गर्दै राजनीतिमा प्रवेश गरेको हुँ। आजसम्मको लगभग 31-32 वर्षको राजनैतिक अनुभवमा मैले चौकी चाहिँ ताकेको थिइनँ।

तर, अहिले वाध्यतावस तपाईँहरू जनतालाई सुरक्षा प्रदान गर्नका निम्ति, सबैलाई सम्वृद्ध बनाउनका निम्ति अनि आगोमा परिरहेका सबैलाई बाहिर निकाल्नका निम्ति जिम्मेवारी लिएको हुँ। त्यसभन्दा उता केही छैन।

प्रश्न – जीटीएलाई स्वायत्त शासन भनिन्छ। वास्तवमा जीटीए स्वायत्त छ? स्वायत्तले काम गर्ने मौका पाउनुहुँदैछ?

उत्तर हेर्नुहोस्, यो आफ्नो इच्छाशक्तिमा निर्भर पर्छ। जो व्यक्तिलाई जिम्मेवारी दिएको छ उसको इच्छशक्तिमा निर्भर पर्छ। अनि अर्को राजनैतिक इच्छाशक्ति पनि हो। आफ्नै इच्छाशक्ति पनि हुन्छ। यी सबै इच्छाशक्तिमा निर्भर पर्ने कुरा हुन्।

जीटीए ,जतिबेला हामी निर्वाचित सदस्यहरूले चलाउने कार्य गऱ्यौँ अनि जतिबेला विमल गुरुङ प्रमुख थिए त्यसबेला सटिक ढङ्गले चलाउन नसक्दा फेल्युर पनि भयो। तर अहिले धेरै परिवर्तन भएको देख्नुहुनेछ। यो मेरो मौखिक बयान होइन फिल्डमा हेर्नुभयो भने रिजल्ट पाउनुहुनेछ। हो, हामीसँग अहिले सीमित क्षमता छन्। तर, सीमित क्षमतालाई पनि सही प्रयोग गऱ्यौँ भने जनताको इच्छा आकाङ्क्षालाई केही हदसम्म पुरा गर्न सक्छौँ भन्ने लागेको छ। यो काम गर्ने व्यक्तिको इच्छाशक्तिमा निर्भर हुने विषय हो।

प्रश्न अहिले पहाड़मा जीटीए र हिल एरिया डेभलभमेन्ट कमिटी समानान्तर रूपमा चलिरहेको छ। दुईवटा व्यवस्था एकैसाथ सञ्चालन हुँदा तपाईँको जीटीएको स्वायात्त भनिएको जीटीएको क्षमतामा आघात पुग्दैन?

उत्तर तपाईँहरूले केवल दुईवटा व्यवस्था मात्रै देख्नुहुँदैछ। म त थुप्रै देख्दैछु। हेर्नुहोस् जिल्लापालबाट काम चल्दैछ, 15 वटा विकास बोर्ड चल्दैछ। उत्तर बङ्गाल विकास बोर्डले पनि काम गर्दैछ। गोरामुमोले एचएडीसी पाएको छ अनि काम गर्दैछ। यसको निम्ति मलाई कुनै आपत्ति छैन। जसले पनि काम गर्दैछ त्यो पहाड़का जनताको हितमा काम भइरहेको छ। यसकारण यहाँ काम रामले गरोस् अथवा लक्ष्मणले गरोस् त्यसमा मेरो आपत्ति छैन।

प्रश्न भारतका प्रधानमन्त्रीले गोर्खाको सपना मेरो सपना भने। त्यो सपना अहिलेसम्म सपनामा नै सीमित भएको छ। गोर्खाल्याण्डको कुनै कुरै छैन। के भन्नुहुन्छ यसबारे?

उत्तर गोर्खाल्याण्डको कुरा त छोडिदिनुहोस् 11 वटा जातिलाई जनजातिको मान्यता दिने विषयमा पनि भाजपा सरकारले क्यै गरेको छैन। 11 वटा जात गोष्ठीलाई जनजातिको मान्यता प्रदान गर्नलाई पश्चिम बङ्गाल सरकारले एसेम्ब्लीमा पास गरेर केन्द्र सरकारलाई पठाइसकेको छ। त्यसबारे पनि केन्द्रले केही गरेको छैन।

भारतका माननीय प्रधानमन्त्री नरेन्द्र मोदीले विधानसभा चुनाउको समय वीरपाड़ा अनि बागडुग्रामा आउँदा 11 वटा जात गोष्ठीको नाउँ लिएर नै जनजातिको मान्यता दिलाउनेछौँ भने। तर, विधानसभा चुनाव सकेको यतिञ्जेलसम्म केही गरेको छैन। त्यसकारण भाजपा पहाड़, तराई-डुवर्स र गोर्खा जातिको समस्यालाई लिएर चिन्तित छ जस्तो लागेको छैन। सायद उहाँहरूले 11 वटा जातिको मुद्दालाई आगामी 2019 को लोकसभा चुनाउको ठिक तीन-चार महीना अघि दिएर हामीलाई फेरि लट्टाउने जस्तो छ। यसबारे मैले उनीहरूलाई 2009 र 2014 को जस्तो भावानात्मक मुद्दा बोकेर लट्टाउने प्रयास गर्नका निम्ति नआउनू भनि खबर पठाइदिएको छु। किनभने अहिलेका जनता त्यसबेलाको भन्दा परिवर्तन भइसकेका छन्। अब जनताले भावानामा भोट हाल्दैनन्। अब हामी निश्चित उपलब्धिमा मात्र भोट हाल्नेछौँ।

प्रश्न – तपाईँहरूले पनि जीटीए बोर्ड अफ् एडमिनिस्ट्रेसनको चौकीमा बसेर 2019 कै लोकसभा चुनाउको निम्ति राजनैतिक गोटी त चालिरहनु भएको छैन?

उत्तर अहिलेघरि म 2019 को चुनाउलाई लिएर चिन्तित छुइनँ। समय आएपछि हामी पार्टीमा बसेर निर्णय लिनेछौँ। तर, अहिले 2019 लाई लिएर भारतीय मानचित्रमा जे जस्ता राजनैतिक घट्नाक्रमहरू भइरहेका छन् त्यसलाई हेर्न आवश्यक छ। साथै रिजनल राजनीतिलाई पनि हेर्न आवश्यक छ। त्यसपछि अझ अर्कोपट्टि हाम्रो आफ्नै मुद्दा छ। यो सबैलाई एउटै ठाउँमा राखेर उपयुक्त समयमा उपयुक्त निर्णय लिनेछौँ। यसबारे अहिले नै केही टिप्पणी गरिहाल्नु अपरिपक्व हुनेछ। हामी हतारमा निर्णय गरेर पछि पछुतो मान्ने पक्षमा छैनौँ।

प्रश्न तपाईँले ठाउँ-ठाउँमा जनतालाई धोका दिनेछुइनँ। जे ल्याउनेछु संवैधानिक व्यवस्था ल्याउनेछु भनिरहनु भएको छ। संवैधानिक व्यवस्था के ल्याउने पक्षमा हुनुहुन्छ?

उत्तर यसबारे मैले 21 जनवरीका दिन सर्वप्रथम सुकुनाको जनसभाबाट घोषणा गरेको हुँ। तर, अहिले नै मैले यसबारे खुलस्त पार्नु मूर्खता हुनेछ। किनभने विगतका धेरै तितो अनुभव छ। सबै रणनीति उजागर गर्नु राम्रो हुनेछैन। म जे ल्याउँछु एकदमै रामो संवैधानिक व्यवस्था ल्याउनेछु। जुनदिन आउनेछ त्यसै दिन जनताले त्यसको स्वाद पनि थाह पाउनेछन्। अहिले नै खुलस्त भने पार्न सकिँदैन।

प्रश्न भन्नुको तात्पर्य त्यो संवैधानिक व्यवस्था भित्राउनका निम्ति काम गरिरहनु भएको छ?

उत्तर हेर्नुहोस्, समुद्रमाथिबाट देख्दा बगेको देख्दैन एकदमै शान्त देख्छ। तर, भित्री करेन्ट भने खतरनाक हुन्छ। त्यसकारण यो विषयमा पनि देख्दा शान्त नै देखे पनि भित्री करेन्ट भने धेरै छ।

प्रश्न तपाईँले त गोर्खाल्याण्डको निम्ति आमरण अनशन नै बस्छु भनेर घोषणा गर्नु भएको थियो। अहिले जीटीएको चौकीमा बसेपछि यसबारे के सोंचिहनुभएको छ?

उत्तर समयले जतिबेला जे माग्छ त्यो गर्नलाई म तयार छु। सन् 1986 को आन्दोलनमा पनि जेल बसेकै हो। त्यसपछि 2007 देखि सुरु भएको आन्दोलनमा पनि दुईचोटि भोक हड़ताल बसेकै हो। जीएमसीसी गठन भएको समयमा पनि आमरण अनशन बस्नुपर्छ भनेकै थिएँ। मैले त त्यसबेला आफ्नो नाउँ पनि दिइसकेको थिएँ।

म जाति र आफ्नो मुद्दाप्रति पूर्णरूपले प्रतिवद्ध छु। भोलिको दिनमा यदि भोक हड़ताल नै बस्न पर्छ भने पनि तयार छु।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares