दार्जीलिङ :  शहरको निर्माण, वर्तमान अवस्था र उत्तरदायित्व

जनसरोकार

सुनिति छेत्री


दार्जीलिङमा अङ्ग्रेजीहरूको प्रशासन फरवरी १८३५ सालदेखि प्रारम्भ भएको हो। यस पूर्व यस भूभाग सिक्किम राज्यको अधिनमा थियो। दार्जीलिङ पहाड़को वन जङ्गलले ढाकिएको ठाउँ ठाउँमा केही घरबारी रहेको खुवै पातलो आवादी भएको यस क्षेत्रविशेषलाई अङ्ग्रेजी शासक पक्षले शहरको स्थापनाको प्रक्रिया डा. क्याम्पबेलको देखरेखमा प्रारम्भ भएको हो।

जुलाई १९५० मा दार्जीलिङको नगरपालिका स्थापना भएको घोषणा भयो। नगरपालिका निर्धारित क्षेत्रमा शहर निर्माण योजनालाई साकार गर्ने दूरदर्शी, सुव्यवस्थित परियोजना तयार गरियो। शहर निर्माणमा सामुहिक आवासीय-व्यावसायिक व्यवस्थामा आवश्यक विविध सार्वजनिक योजनालाई कार्यान्वित गर्न सरल हुँदैन।

व्रिटिश सरकारले सड़क, बाटोघाटो निर्माणलाई प्राथमिकतामा राख्यो। किनभने यो एक स्थानलाई अर्कोसँग सम्पर्क राख्ने साधन एवम् भारवहन अनिवार्य थियो। यसैले जहाँ सिलगढ़ीसँग दार्जीलिङ जोड्ने मूलसड़क हिलकार्ट रोड (हाल तेञ्जिङ नोर्गे पथ) निर्माण भयो। नगरपालिका क्षेत्रलाई अन्य स्थानमा जोड्न ठाउँ ठाउँमा सड़क सिँड़ी, बाटोघाटोसँगै माथि-मुनि देवल लगाइयो।

दार्जीलिङ पहाड़ भूस्खलनको लागि एक निक्कै संवेदनशील क्षेत्र हो। यसको एक प्रमुख कारण बर्खाको पानी एवम् आवासीय क्षेत्रको निष्काषित पानीको सही निकास व्यवस्था नहुनु पनि हो। यसो हुनाले पहिरोको जखिम बनिरहन्छ।  यसैले सड़क, बाटोघाटो निर्माण सँगसँगै नाली, झोड़ाको निर्माण पनि खूबै योजनावद्धरूपले गरिएको पाइन्छ।

दार्जीलिङ शहरको नाली, झोड़ाबाट एकत्रित हुने फोहोर पानीलाई व्यवस्थित गर्न शहरदेखि तल टाड़ा सिद्राबोङमा दुई कृत्रिम जलाशयको निर्माण गरियो। त्यही जलाशयबाट एशियाकै प्रथम हाईड्रल प्रोजेक्ट निर्माण भयो अनि यसबाट निर्मित विद्युतले दार्जीलिङ शहर रातको अंध्यारोमा झिलीमिली बन्यो। सिद्राबोङ जल विद्युत योजना फोहोर पानी संयोजना (Liquid Waste Management)को एक अनुपम अनि अनुकरणीय उदाहरण हो।

शहरी क्षेत्रमा नगरपालिका अन्तर्गत ठूला ठूला नगरपालिका भवन- ए. बी. सी. डी. ई आदि निर्माण गरियो, व्यावसायिक एवम् आवासीय उपयोगको निम्ति। शहरीकरणमा सार्वजनिक शौचालय निर्माण अति आवश्यक हुन्छ। अङ्ग्रेजी शासक पक्षले दार्जीलिङ नगरपालिका क्षेत्रका ठाउँ ठाउँमा वृहत अनि व्यापकरूपमा सार्वजनिक शौचालय निर्माण गरेको पाइन्छ।

जसलाई एकै चोटि आठ-दस जनाले प्रयोग गर्न सक्छन्। त्यो पनि स्त्री-पुरूषको निम्ति अलग अलग। शौचालय निर्माण कार्य सहज हुँदैन। वैज्ञानिक पद्धतिद्वारा निर्मित शौचालयमा मलमूत्र निकासीको  सठीक व्यवस्था गरिएको हुन्छ। भूमिगत पाइप जड़ान गरी निर्दिष्ट स्थलसम्म मलमूत्र निकासीको सठिक व्यवस्था गरिएको हुन्छ। दार्जीलिङ शहरमा रेलवे स्टेशनदेखि चौक बजारसम्म मात्र पनि आठ-दशवटा यस प्रकारका सार्वजनिक शौचालय छन्। यसप्रकार सैकडौं फीट सोलपाइपलाई भूमिगत जड़ान गर्न सहज कार्य हुँदैन।

यसरी दार्जीलिङ शहरमा शौचालयको व्यवस्था नगरिएको भए मलमूत्रको प्रदूषणले कस्तो हुने थियो होला यसको अड़कल लगाउन सक्छौं। केही वर्ष पूर्वसम्म अङ्ग्रेजद्वारा निर्मित शौचालयको मलमूत्र निर्दिष्ट स्थलमा नपुगेको एवम् जड़ान गरिएका पाइप विषय सही जानकारी नभएको जान्नमा आएको थियो। सम्भवत् यस समयसम्म थाहा लागिसकेको होला।

शहरमा स्वच्छ परिशोधित पेयजलको परम आवश्यकता बन्यो। यद्यपि दार्जीलिङ शहरमा त्यसताकको पातलो जनसंख्यामा जलको  अभाव थिएन तर एक दूरदर्शी योजना अनुसार द्रुतगतिमा जनसंख्या वृद्धिको कारण पानीको आवश्यकता अनुभूति गरिएकोले सिञ्चेल छेउछाउका खोला-नालाका पानी दुई कृत्रिम जलाशयमा एकत्रित गरिन्थ्यो अनि यस जललाई परिशोधन गरी दार्जीलिङ शहरमा सार्वजनिक पेयजलको व्यवस्था गरिएको हो। सन् १९०६ मा अग्निशमन विभाग स्थापना भयो। अङ्ग्रेजी शासनकालमा अग्निशमन विभागद्वारा प्रत्येक हप्ता-पन्ध्र दिनमा अस्थायी चौक बजार चौरस्ता झैं सफा हुन्थ्यो।

दार्जीलिङका पर्यावरण सचेतक समाजसेवी श्री डी. एस. रसाइलीले ‘दार्जीलिङ पहाड़का नगरपालिका क्षेत्रको विकास र खाने पानीको इतिहास संक्षिप्तमा’ नामक आफ्नो पुस्तकमा यसरी लेख्नुभएको छ, ‘‘सन्तपाल र रक्भिलमा भएका ट्याङकबाट पानी वितरण हुने अलिक मोटो पाइपसँग अग्निशमनका पाइपहरू जोड़ेर शहरका २३ वटा संवेदनशील ठाउँहरूमा ल्याइएको थियो। यसरी नै शहरमा अग्निशमनको निम्ति पानीका ट्याङ्कहरू निर्माण गरिएको थियो। नगरपालिका सफाईको निम्ति सफाईकर्मीद्वारा बिहान बेलुकी सफाईको व्यवस्था गरिन्थ्यो जो वर्तमानमा पनि गरिन्छ। यसोप्रान्त बाटाघाटा, सड़क छेउका झार-जङ्गल सफाई गर्न, फाँड़्नलाई खलासी पनि नियुक्त गरेकै हुन्छन्।

सिलगढ़ीबाट माथि दार्जीलिङ चढ्ने गाड़ी, ट्रकहरूलाई सुकुनामा ‘वे ब्रिज’-मा नापतौल गरिने व्यवस्था भयो। जसमा सड़कको सुरक्षार्थ सरकारद्वारा निर्धारित ओजनसम्म मात्र भारवहन गर्ने अनुमति दिइयो।। दार्जीलिङ बजारमा सागसब्जी, फलफूल, राशन, लुगाफाटा, माछा-मासु आदि अलग अलग विभागमा पसलहरू हुन्छन्। चौक बजार त्यसताक गुन्द्री बजार नामले प्रचलित अस्थायी बजार। बजारका खाद्यान्न जाँच गर्न नगरपालिकाका खाद्य निरीक्षक विभाग सक्रिय भए। खाद्य

पदार्थ परीक्षणार्थ नगरपालिकामा प्रयोगशाला स्थापित थियो, जहाँ सेता मूसाहरू पनि पालिन्थ्यो। मुसाको प्रयोग सम्भवत् खाद्य पदार्थ जाँच गराउनलाई हुन्थ्यो।

त्यसताक दार्जीलिङको मूल सड़क बाटोघाटो छेउ (माछा-मासुको दोकानको अनुमति दिइँदैन थियो, स्वच्छता-स्वास्थ सुन्दरताको दृष्टिले) बजारबाट कुखुरालाई बाँधी उधोमुन्टो बोकेमा अपराध ठहर गरिन्थ्यो अङ्ग्रेजको शासनकालमा। गोसवालाहरूले ल्याएका जानवरको विशेष निरीक्षण गरी स्वीकृति प्राप्त गरेका गाई-भैंसी राँगा आदिलाई विशेष स्थल किलखानामा वध गर्ने अनुमति दिइन्थ्यो।

गर्भवती गाई, बाछालाई वध गर्ने अनुमति थिएन। अङ्ग्रेजीकालमा गोरू, घोड़ा, गधा, खच्चरको जमाना थियो। गोरू गाड़ी यातायातको एक प्रमुख साधन बन्थ्यो। भारवहनको निम्ति गधा-खच्चर घोड़ा प्रयोग गरिन्थ्यो। यी पशुहरूको निम्ति ठाउँ ठाउँमा पिउने पानीको व्यवस्था गरिन्थ्यो। यसै सन्दर्भमा तीता मीठा अनुभव र संस्मरणहरू, खरसाङको नामक पुस्तकमा श्री जे. बी. बलले वर्णन गर्नु भएका यी पंक्तिहरू उल्लेखनीय छन्- ‘मङ्गलबार नक्सल मतिगड़ा हाटबाट गोसवालाहरूले ल्याएको खसी, बाख्रा, भैसी, राँगा, गोरू सुङ्गुर आदि राख्ने, आराम गराउने खरसाङमा ठूला-ठूला अलगड़ाहरू निर्माण गरेका थिए। घाँस, दाना, पानी दिने एकजना पत्तावाला नियुक्ति गरिएको थियो। दिनमा जानवरहरूलाई आराम गराएर राती ठीक नौ बजी गोटा गन्ती पास कटाएर मात्र दार्जीलिङको निम्ति छोड़िन्थ्यो।’

यातायात-भारवहनमा खटिने पशुहरूको स्वास्थमा ध्यान नदिइकन काममा लगाएमा जरिमाना तिर्नुपर्ने हुन्थ्यो। ठाउँ ठाउँमा नि:शुल्क पशु चिकित्सा केन्द्र अनि अस्पताल जहाँ (उपचारार्थ दाखिल गरिन सकिने) व्यवस्था गरिन्थ्यो। श्री जे बी. बल अझ लेख्नुहुन्छ- ‘मिसेज अलकार्डले धनाढ़य, पतिको मृत्युपछि दार्जीलिङ जिल्लामा एउटा सोसाइटी खोलेकी थिइन्, नाउँ थियो दार्जीलिङ टु एनिमल छोट्करीमा- डी. एस. पी. सी. ए.। यही नाउँले प्रख्यात थियो जिल्लाभरि।

‘यसप्रकार अङ्ग्रेजीहरू पशुहरूलाई भोज्य पदार्थको रूपमा ग्रहण गर्ने धार्मिक मान्यतामा विश्‍वास गरे तापनि तिनीहरूको पशुप्रतिको प्रेम-दया-समवेदना पूर्ण व्यवहार खूबै प्रेरक एवम् अनुकरणीय लाग्दछ।

दार्जीलिङको शहरीकरणमा अङ्ग्रेजहरू अनि स्थानीय वासिदाहरूको निम्ति क्रमश: ईडेन अस्पताल, काला अस्पताल (भिक्टोरिया अस्पताल) निर्माण गरियो। विशेष सङ्क्रामक रोगीको निम्ति अलग्गै खाली घर अस्पताल सिंहमारी छेउमा स्थापित भयो। नगरपालिका क्षेत्रमा कुनै व्यक्तिको सङ्क्रामक रोगले मृत्यु भएमा नगरपालिका स्वास्थ्य विभागद्वारा मृतकको घर परिशोधन गरिन्थ्यो।

शहरमा डाकघर, थाना, कचहरी व्याङ्क, झेलखाना सार्वजनिक स्नान घर, मुर्दाहट्टी, बङ्गलो, लर्ज रेसकोर्स जिमखाना, पाठशाला एवं अन्य आवश्यक सरकारी कार्यालयहरूको निर्माण भयो। त्यसताक यातायात एवम् भारवहनका निम्ति उत्तम साधन रेलगाड़ीहरू ओहोर-दोहोर हुन्थ्यो। दार्जीलिङदेखि बिजनबारीको बाटो घाटोको असुविधा भएकोले सन् १९३१ मा निर्मित घिर्लिङद्वारा बिजनबारी एवम् यसको छेउछाउबाट साग-सब्जी, सुन्तला आदि भारवहन गरिन्थ्यो।

शहरको भौतिक संशाधनका सुविधाको साथमा मानिसलाई निरन्तर प्राकृतिक परिवेशसँग सम्पर्कमा रहनु अति नै आवश्यक हुन्छ। विमारीलाई स्वास्थ्यलाभको निम्ति, ससाना बालबालिका एवम् वृद्धजनलाई शान्त- सुन्दर स्वास्थ्यवर्धक प्राकृतिक परिवेशको आवश्यकताको बोध भएकोले दार्जीलिङमा वर्चहिल पार्क (पछि पदमाजा नायडू चिडियाघर), भिक्टोरिया पार्क (हाल भानुभवन), चौरस्ता, मालरोड, बोटानिकल गार्डन (फूलबारी), डोनोभन पार्क (यहाँ साईकल किरायमा सिक्ने व्यवस्था भएको थाहा लाग्दछ), सरवरी पार्क (क्रिकेट ग्राउण्ड) आदि स्थापना गरियो।

यसरी खूबै योजनावद्ध ढङ्गले कञ्चनजङ्घाको मनोरम दृश्यले सुशोभित दार्जीलिङ पहाड़लाई भारतको अन्य पहाड़ी क्षेत्रभन्दा धेरै व्यवस्थित बनायो अनि विश्‍वको मानचित्रमा दार्जीलिङ शहर पहाड़की रानी नामले अलकङ्करित भयो।

दार्जीलिङ नगरपालिका सञ्चालनको निम्ति बोर्ड गठन सरकारद्वारा गरिने प्रक्रिया सन् १९१४ सम्म रह्यो। त्यसपछि सरकारद्वारा नगरपालिका बोर्डका कतिपय सदस्यगणलाई मनोनित गरी नियुक्त गर्ने अनि कतिपय स्थानीय सदस्यगणलाई चुनावद्वारा नियुक्त गर्न सन् १९१६ मा परिक्षाको निम्ति चुनाव सम्पन्न हुन्थ्यो। नगरपालिका प्रमुख डेपुटी कमिश्‍नर बन्थे। त्यससमयदेखि भारत स्वतन्त्रता पछि केही वर्षसम्म पनि नगरपालिका चुनावमा मतदानको अधिकार। उम्मेद्वार नामाङ्कन अधिकार सबै वयष्क नागरिकलाई थिएन। म्याट्रीकुलेशन पास गरेका अथवा घर/जमिन/स्थायी पसल भएका नागरिकले जसले नगरपालिका कर भुग्तान गरे मात्र मतदानको अधिकार प्राप्त हुन्थ्यो।

दार्जीलिङ शहरको व्यवस्थापना दायित्व निर्वाह

स्वतन्त्रता पछि जनमत प्राप्त गरेका निर्वाचित भूमिपुत्र उम्मेद्वारहरूलाई अङ्ग्रेजले तयार गरेका सुन्दर व्यवस्थित बनाउने सुयोग नगरपालिका प्रमुख डेपुटी कमिश्‍नरलाई प्राप्त थियो। एस. डी. ओ. नै हुन्थे जो प्रशासकीय कानून-व्यवस्थाका ज्ञाता छन्। यसले प्रशासकीय कार्यमा उनको अनुमति अनिवार्य बन्थ्यो। तर विस्तारै निर्वाचित सदस्यगण माझबाट नै नगरपालिका अध्यक्ष मनोनित गरिन थालियो। तथापि समय समयमा परिस्थिति अनुरूप प्रशासक अधिकारी नै नगरपालिका अध्यक्ष रहन्थे।

व्यवस्थित दार्जीलिङ शहरको स्वरूप केही यस्तरी परिवर्तन हुँदै गयो। अस्थायी चौक बजारका पसलहरू समय समयमा खाली गरी सफा गर्ने एवम् स्वतत्रता दिवसमा परेड प्रदर्शन गर्ने परम्परा बन्द भयो। यस्ता अवसरमा खाली गर्ने प्रशासक पक्षका आदेशलाई राजनीतिज्ञले अमान्य गरिदिन्थे (जनतालाई रूवाएर कसरी स्वतन्त्रता दिवस मनाउने? भन्ने धम्कीले प्रशासकलाई चुप गराइन्थ्यो) यसरी एकपछि अर्का राजनीति दलकाले अस्थायी पसल हटाउन नदिने चुनावी वचनले खुशी भई जनताले राजनैतिक दलका झण्डा फहराएर आफ्नो समर्थन व्यक्त गर्ने परम्परा बस्यो। तर निर्वाचित सदस्यगणमा कस्तो खाले स्थायीकरण? यसको मोडल थिएन। यसबारे उनीहरूमा चिन्तन वा दूरदर्शिता नभएकोले चौक बजारमा आ-आफ्नै मनपरिको, अव्यवस्थित पसलहरू निर्माण गरिन थालियो। जसलाई नेतृत्वले जहिले पनि नजरअन्दाज गरिदिन्थे। कहिले भोटको लागि। कहिले जनबलको डरले। कहिले धनबलको लालशाले।

यसरी नै दार्जीलिङ शहरले चारैतिर नै अव्यवस्थित रूप धारण गर्दै आयो।

वर्तमानमा जही तही साग सब्जी, माछा मासु एवं अन्याय पसलहरू बाटो नै साँघुरो हुनेगरी खोलेको देखिन्छ। मधेसकाहरूले टोकरी माछा वा अन्य पदार्थ ल्याएर जतासुकै राखी विक्री गरी बेलुकी फर्के पनि कसैको आपति भएन। देश/विदेशका माग्ने बाटोमा नै लम्पसार माग्न बस्छन्। यी सब हेर्ने अभिभार कसको हो कसैलाई थाहा छैन। स्थानीय असहाय-अपाङ्ग व्यक्तिहरूप्रति प्रत्येक नागरिक नगरपालनकर्त्ताद्वारा यथोचित सहयोग प्रदान गरिनु परम् कर्त्तव्य हो। यस दिशामा हू-केयर्स नामक सामजिक सङ्गठनका युवावर्गद्वारा वर्तमानमा खूबै सराहनीय कार्य गरिएको पाइन्छ।

एक सबल स्वास्थ्य व्यक्तिलाई भिख-दान दिएर आलसी बनाउनु गलत हो- यसले पुण्यको साटो दान दातालाई पापनै लाग्दो हो।

पर्यटन-दार्जीलिङको प्रमुख आयस्रोत हो। यहाँ देश-विदेशका थरि थरिका पर्यटकहरू भम्रण गर्न आउँछन्। यसैले अङ्ग्रेजशासनकालदेखि उन्नाइसय साठीको दशकसम्म पनि मूल सडक बाटो-घाटो छेउमा कुखुरा-माछा-मासूको दोकानको लागि अनुमति मिल्दैन्थ्यो। यसले उपभोक्तालाई स्वस्थ्य-स्वच्छताको दष्टिकोणले हानी पुऱ्याउँछ। पर्यटनको दृष्टिले पनि यस प्रकारको अव्यवस्थाले प्रतिकूल प्रभाव पार्दछ।

हामी पहाड़वासी स्वभावले अन्यको तुलनामा अति दयालु एवं करूणामयी हुन्छौं। तर आज किन कुखुराहरूलाई खापैखाप चेप्टाएर भोक तिर्खाको ख्याल नै गरिँदैन? जसमा केही त त्यही खोरमा मरिसकेको हुन्छ। यसरी मधेशबाट ल्याइने जानवरहरूप्रति पनि सहानुभूति पूर्ण व्यवहार गरिँदैन। अङ्ग्रेजी शासन कालमा पनि आज झैं पशुहरूलाई वघ गर्न अघि तड्पाइँदैन थियो।

दार्जीलिङ शहरमा वर्तमानमा भवन-एवम् यसका शौचालय निमार्णमा सही नियम पालन नगरिएकोले गर्दा शहरको स्थिति यस्तो दयनीय छ कि एक घण्टा मूसलघार पानी पर्दा शहरको सडक बाटा घाटामा पानीसँग मलमूत्रको भल बगेर हिँड़्न नै गाह्रो पर्छ।

यसको साथमा पानी/तरल पदार्थ बग्ने नाली/झोड़ामा थाक थाक मैला कसिङ्गरको रासले स्थिति अझ खराब बन्दछ। यसको जिम्मेवार हामी स्वंय नै हौं। यसरी प्रतिदिन आफ्नो घर/दोकान छेउका नाली झोडामा कसिङ्गर फाल्दा नगरपालिकाका ती सफाईकर्मीगणलाई कस्तो कठिनाईसँग सफा गर्न पर्छ- यो सोचाई आजका सभ्य, शिक्षित सचेत जनतामा किन आउन नै सकेको छैन?

हामी जस्तै हाम्रा छिमेकी राज्य एवम् राष्ट्रकाले जब स्वच्छता नियम पालन गर्न सक्दछन् भने सबैको सङ्कल्प एवम् सत्प्रयासमा दार्जीलिङलाई पनि स्वच्छ बनाउन अवश्य सकिन्छ।

सत्तरको दशकमा पश्‍चिम बङ्गालका तत्कालिन मुख्यमन्त्री सिद्धार्थ शङ्कर रे को समयमा चौक बजारको अवयवस्थित स्वरूपलाई सुधार्न मोटर स्टाण्डमा सुपर मार्केटको योजना बनियो। त्यसताक सारा जनताले नै निकट भविष्यमा चौक बजार सुपर मार्केटमा स्थान्तरित हुने सपना देखे।

विदेश झैं सुन्दर स्वच्छ फराकिलो व्यवस्थित बजारको सपना देखे। उक्त मार्केटमा विभिन्न पसलहरूको आ-आफ्नै विभाग हुने जनताले जानकारी पाए। यस सुपरमार्केटमा पसलको निम्ति इच्छुक नागरिकलाई आवेदन गर्न भनि त्यसताकका नगरपालिका प्रमुख एसडीओ श्री अभिदिनले उनी कहाँ सम्पक गर्न चौक बजारमा ठूलो पोस्टरमा टाँसे।

तिनी नगरपालिका प्रमुख भए तथापि पसल आवन्टित गर्ने अघिकार हाम्रा आफ्नै निर्वाचित सदस्यगण एवं जनता प्रतिनिधिलाई छ। तर यसमा विवेकपूर्ण सर्वेक्षण अनुसार निष्पक्षतासँग बेरोजगारी गरिब, आवेदकलाई पसलहरू आवन्टित गर्ने काम भएन। यस बाहेक सुपर मार्केटको भूइँ तल्लामा सार्वजनिक गाड़ी राख्ने पार्किङ व्यवस्था अनुरूप एक तिरबाट प्रवेश त अर्को तिर गाड़ी निकासी गरिने प्रबन्ध नराम्रो थिएन तर दुभाग्यवश त्यहाँ पनि राजसत्ताको सदुपयोग आफ्नैद्वारा गरिएन।

दार्जीलिङ एक पहाड़ी क्षेत्र भएकोले सानो बाटो घाटो सडक छन् अनि त्यही पनि अतिक्रमण गरी निज भवन निमार्ण गर्ने कतिका सङ्कुचित मानसिकताले पहाड़लाई नै कलङ्कित गर्ने कार्य भएको छ। घर निमार्ण पूर्व जमिन क्रय गर्दा नै बाटोलाई प्राथमिकता दिइन्छ। तर ठाउँ ठाउँमा बाटो अतिक्रमणले गर्दा शहरीक्षेत्रमा कुनै दुर्घटना भए अग्निशमन विभागका सानो गाड़ी पार गर्ने बाटोसमेत साँघुरिएको छ।

स्वाधिन भारतमा पनि हामी राज्य अधिकारबाट वञ्चित छौं। तथापि प्रजातन्त्रमा निर्वाचित सांसद, सभासद, विधायक, नगरपार्षद, पञ्चायत सदस्यगणलाई क्षेत्रिय विकाशक कार्य गर्नमा स्वतन्त्रता छ। कतिपय सार्वजनिक कार्य गरिएको पनि छ भने कतिमा हाम्रो ध्यान नै गएको छैन।

यस मध्ये दार्जीलिङको मुर्दाहटीमा विद्युतीय शवदाह मसिन बर्षौं देखिनै थातिमा रहेको छ। दिन प्रतिदिन भौतिक विकाश एवम् जनसख्या वृद्धिको कारण रूखपात मासिँदै गइरहेको छ। यसैले दाह संस्कारमा दाउरा जुटाउन सबैलाई सजिलो हुँदैन।

यसोस्ले विद्युतीय शवदाह उपकरणको व्यवस्था पूर्ण गर्नु अनिवार्य छ। यस्ता कार्यमा अर्थको सदुपयोग हुनपर्छ। यस बाहेक कतिपय सम्पन्न हस्ती एवम् समृद्धशाली कलाकारको लागि लाखौं घनराशी खर्च हुन्छ, जो उनीहरूकालई त्य धन उँठको मुखमा जिरा सरह हो। तर त्यस्ता घनराशी हाम्रा वेरोजगार युवावर्गमा आवन्टित गरे उनीहरूको निम्ति हजार रूपियाँ बराबर हुने हो। युवाहरूको निम्ति धनराशी खर्च गरिनुपर्छ। बेरोजगारलाई योग्य र कर्मशील बनाइनुपर्छ। उनीहरूको निम्ति विविध स्वरोजगार प्रशिक्षण आवश्यक छ।

कुनै क्षेत्र/राज्य/राष्ट्रको सुव्यवस्थित विकाशको नीति नियम निर्धारणमा राजनीतिको महत्वपूर्ण दायित्व बन्छ। राजनीतिको वास्तविक ज्ञानको अभावमा नै चापूलसी-भाइबन्दी, घूस पूजारी, भष्ट्राचार दलबन्दीहरूको वर्चस्व रहँदा मन-मानी त हुने नै भयो।  जनमत प्राप्त गर्न पूर्वको वाचा स्वयंलाई जनसेवामा समपिर्त गर्ने मौखिक शपथ र व्यावहारिकता समानता आउन पर्ने हुन्छ। तर यसको ठीक विपरित निर्वाचन पश्‍चात् लटरी फँसेको बराबर भौतिकतामा मस्त भएको हुँदा राजनीतिको दुरूपयोग भइरहेको छ।

दार्जीलिङ नगरपालिकामा एक समय हाम्रा आफ्नै निवाचित व्यक्तिले शहरको खाली जमिन आपस्तमा आवन्टित गरेको थाहा लागेको छ भने कति सुपर माकेर्टमा पसलहरू आफ्नो-आ निम्ति आवन्टित गरेको देखिन्छ।

यसप्रकारका मनमानी अव्यवस्था हाम्रो राष्ट्रिय-राजकीय-क्षेत्रिय राजनीतिमा धेरै नै देखिन्छ। नियम कानून व्यवहारिक रूपमा एउटै हुनपर्छ अनि नियम विरूद्ध कार्य गरिँदा प्रजा-सत्तापक्ष-प्रशासकपक्ष एक अर्कासँग डराउनु पर्छ।

यी सब नहुनुको प्रमुख कारण-राजनीति बिषयमा अनभिज्ञता पनि हो। कुनै ठूलो सानो कार्य गर्न अघि पूर्व जानकारी-प्रशिक्षण प्राप्त गर्न आवश्यक हुन्छ। डाक्टरी ज्ञान प्राप्त नगरेकालाई विमारीको उपचार गर्न लगाएमा उपचारको साटो हानी नै हुन्छ। विविघ विषयमा कति नै जानकारी अनुभव भएका व्यक्तिले यदि गाड़ी चलाउन सिकेका छैनन् भने उनलाई यसकी अभिभारा दिएमा दुघर्टना हुन्छ। उसरी नै राजनीति वा राष्ट्रनीतिको प्रारम्भक ज्ञान नै नभएकालाई राजसत्ताको अधिकार प्रदान गरिए समाज वा राष्ट्र हितको कार्य हुन गाह्रो पर्छ। यसैले वर्तमान भारतीय राजनीतिमा कम से कम निर्वाचित सदस्यहरूमा यस बिषयका प्रशिक्षणद्वारा राजव्यवस्था नियम कानून जानकारी प्राप्त गर्न आवश्यक छ।

यसरी आफ्नो दायित्वको आभास भएमा आफ्नोपनको भावना परिवारमा सङ्कुचित नरहेर फाँटिलो हुँदछ। महँगाई, गरीबी, बेरोजगारले ग्रस्त जनसाधरणका दुःख-अभावको आभास हुन्छ। परिश्रमी, जीविकापर्जन गर्न चाहने ती पथ-पसलेजनका विविशताको आकंलन हुन्छ। कैयौं हप्तासम्म बेरोजगार रहेका दैनिक मजदूरका स्वाभीमानी मुस्कानभित्र लुकेको उनको आर्थिक त्रासदीको अनुभूति हुन्छ, तब मात्र सर्वजन हितमा कार्य गर्ने त्याग समपर्णको भावना उत्पन्न हुन्छ।

ज्ञान आर्जन गरी त्यसलाई व्यवहारिकता परिवर्तन गरेर नै यूरोपेलीहरू धेरै विकसित भए। अन्यथा आज भन्दा चार सय वर्ष पूर्व उनीहरू असम्य, जङ्गली नै थए। अन्धविश्‍वास रूढीवादले ग्रस्त थिए। बुद्धि स्वतन्त्रताको आन्दोलनमा अनेक परम्परावादी शासकीय पक्षबाट दण्डित हुन्थे।  शहिद बन्थे। देशबाट निष्काषित हुन्थे तर ज्ञान प्राप्त गर्ने गतिविधि थामिएन।

विगत चार सय बर्षमा सकडौं वैज्ञानिक जन्माए। उनीहरूले अन्य देशबाट ज्ञान प्राप्त गर्न हिचकिचाएनन्। यसै क्रममा अनेक पुरातन भारतीय ग्रन्थहरू अङ्ग्रेजीमा अनुदित भए। यसको दिग्दर्शनार्थ यहाँ अङ्ग्रेजी भाषामा अनुदित कौटिन्य आर्य गास्त्र पुस्तकको भूमिकामा वरिष्ट विद्वान Dr. J.F. Fleet Ph. DCICICS यसरी लेख्नु हुन्छन्- Kautilya is renounced not only as a king maker but also for being the greatest Indian exponent of the duties of king ministers and official and the method of diplomacy…. But the work itself remained hidden from modern eyes until it was found in the text of which the translation is laid before us here.

यसप्रकार पुस्तकबाट राज व्यवस्था विषय महत्वपूर्ण ज्ञान प्रशंसा आर्जन गरेको पाउँछौं। सैकड़ौं बर्षको दासत्वको कारण आज हाम्रा देशका शीर्षस्थ विश्‍व विद्यालयका छात्रहरूदेखि राजनैतिक दलका नेताहरू मनुस्मृतिको घोर विरोध गर्दै यसलाई जलाउने कार्य गरिरहेका छन्। त्यही भनुस्मृति बिट्रिशहरूले वर्षौँ पूर्व नै अङ्ग्रेजीमा अनुवाद गरेका हुन्। सन् १९३२ मा प्रकाशित Hygiene- A Textbook of College Students पुस्तकमा लेखक Florence Meredoth B Sc. M.D यसरी लेख्नु हुन्छ-  Religious rituals are even e far back as the ancient Hindus included rites regarding bathing. The Code of Mane gave specific directions for washing the hands. The right hand was to be washed ten times and left seven times. Had those ancients had modern bacteriological knowledge they would not have done better than to preserve asthey did.

अङ्ग्रेजीहरूले यद्यपि आफ्नो राजनैतिक साम्प्रदायिक महत्वाकांक्षा हासिल गर्नलाई तत्कालिन भारतीय  शिक्षा नीतिलाई तहस-नहस गरी कानूनीरूपले अमान्य घोषित गरी आफ्नै शिक्षा नीति लागू गरे। तथापि ज्ञान आर्जन गर्नमा उनीहरू विशेष भारतीय साहित्यबाट उपकृत भएको पाउँछौ।

समग्रमा भन्न पर्दा अङ्ग्रेजद्वारा निर्मित दार्जीलिङ शहरको सुवयवस्था सराहनीय छन् भने स्वतन्त्रता पश्‍चात दार्जीलिङ शहरको वर्तमान अव्यवस्थितिको आफ्नै भूमि पुत्रहरू नै जिम्मेदार छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares