गुरूङ विकास बोर्डको प्रथम स्थापना दिवस : गुरूङ लोक कला केन्द्र निर्माणको परिकल्पना

दार्जीलिङ, 20 अप्रेल।


गुरूङ विकास बोर्डले अझै विपन्न परिवारका गुरूङहरूको घर, रोधी घरका साथै गुरूङ लोक कला केन्द्रको निर्माण गर्ने परिकल्पनासितै आज प्रथम स्थापना दिवस पालन गर्यो। यहाँको गोर्खा दुःख निवारक सम्मेलन भवनमा गुरूङ सदस्या-सदस्याहरूको व्यापक उपस्थितिमा आयोजना गरिएको यस कार्यक्रमलाई सम्बोधन गर्दै बोर्डका अध्यक्ष खगेन्द्र गुरूङले भने-गुरूङ विकास बोर्ड गठन भएको आज 1 वर्ष पूर्ण भयो, जसले एक वर्षको अवधिमा 500 जना विपन्न गुरूङ परिवारको घर निर्माण गरिदिएको छ।

यसैले आगामी दिनमा पनि बोर्डले अझै धेरै घरहरू निर्माण गर्ने योजना बनाएको छ। यति मात्रै होइन, बोर्डले गुरूङ समुदायको संस्कृति, भाषा अनि कलाको पनि संरक्षण गर्ने लक्ष्य राखेको छ, यसैले आगामी मई महीनादेखि कालेबुङको चारखोलमा गुरूङ लोक कला केन्द्रको निर्माण कार्य शुरू गर्ने योजना बनाइएको छ, जसको निर्माण खर्च प्रथम चरणमा 30 लाख रूपियाँ हुने अनुमान लगाइएको छ।

पश्‍चिम बंगालभरि मोठ 89,250 जनसंख्या रहेको गुरूङ समुदायका विद्यार्थीहरूलाई गुरूङ भाषा सिकाउनको लागि पनि विकास बोर्डले प्रयास गरिरहेको बताउँदै गुरूङले भने-दार्जीलिङ पहाड़ी इलाकामा गुरूङ भाषा बोल्न सक्ने गुरूङहरूको संख्या धेरै कम्ति छ, समतल इलाकामा त झनै गुरूङ भाषा बोल्ने होइन, बुझ्ने पनि भेट्टाउन गाह्रो पर्छ। यसैले दार्जीलिङ पहाड़का केही स्कूलहरूले गुरूङ भाषाको पठन-पाठन गराउने इच्छा जाहेर गरिरहेका छन्, ती स्कूलहरूमा केही समयपछि गुरूङ भाषा पढ़ाउने व्यवस्था गरिने तय गरिएको छ।

ताकि इच्छुक विद्यार्थीहरूले आफ्नो भाषा सिक्न सकुन्। यति मात्रै होइन, गुरूङको संस्कृति, कलाहरू पनि वर्तमान समयमा लोप बनेर गइरहेको छ, यसको संरक्षण गर्नको लागि पनि विकास बोर्डले ठोस पहल गरिरहेको छ। यसैले कालेबुङको चारखोलमा निर्माण हुने गुरूङ लोक कला केन्द्रमा गुरूङ समुदायसित सम्बन्धित सांस्कृतिक वाद्य-वादन, भेषभूषा आदि पनि संरक्षण गरेर राखिनेछ।

एक प्रश्‍नको उत्तरमा गुरूङ विकास बोर्ड अध्यक्ष खगेन्द्र गुरूङले भने-गुरूङ विकास बोर्डले एउटा घर 2 लाख रूपियाँको लागतमा निर्माण गर्ने गरेको छ। यसका साथै बोर्डले केही विद्यार्थीहरूलाई स्कील डेवलपमेन्टको लागि पनि प्रायोजन गरिरहेको उनले जानकारी गराए। यसैबीच, आजको कार्यक्रममाझनै विकास बोर्डको तर्फबाट छाम्पा मेगी गुरूङद्वारा शोध गरिएको द गुरूङ नामक शोध पुस्तकको पनि लोकार्पण गरियो। गुरूङ विकास बोर्डले आगामी दिनमा गरीब गुरूङ समुदायको लागि 750 वटा घर निर्माण गर्ने लक्ष्य राखेको पनि खगेन्द्र गुरूङले बताए।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares