कालेबुङमा पाइयो डेङ्गु फैलाउने मच्छर, नगरपालिकाले गर्ने दवाई स्प्रे

कालेबुङ, 20 अप्रेल।


कालेबुङ शहरमा डेङ्गु फैलाउने एडियस इजिप्ती मच्छर रहेको पुष्टि भएको छ। आज कालेबुङ नगरपालिकाका स्वास्थ्य विभाग अधिकारीहरू लगायत सिलगडीबाट आएका एन्थ्रोपोलोजिकल डिपार्टमेन्टका भेक्टर बोर्न कन्सलटेन्टहरूले विभिन्न वार्डहरूको भ्रमण गरेर पानीमा रहेको मच्छरको लार्वालाई जाँच गरेपछि उक्त कुराको पुष्टि गरेका हुन्।

विशेष गरी कालेबुङ नगरपालिकाको 1 अनि 11 नम्बर वार्डमा उक्त डेङ्गु फैलाउने मच्छरको लार्वा पाइएको नगरपालिका अध्यक्ष रवि प्रधानले बताएका छन्। आज उक्त कुराको पुष्टि गर्ने टोलीमा एन्थ्रोपोलोजिकल डिपार्टमेन्टका भेक्टर बोर्न कन्सलटेन्ट दिपेन्द्र शर्मा लगायत उनका सहयोगी साथै कालेबुङ नगरपालिकाका स्वास्थ्य अधिकारी एसडी जिम्बा, फोहोर व्यवस्थापन अधिकारी सञ्जय प्रधान आदि रहेका थिए।

डेङ्गु फैलाउने मच्छरको लार्वा पाइएपछि अब जनसाधारण आफै पनि सचेत बनेर यस्ता मच्छर फैलिन नदिन पहल गर्नुपर्ने आवश्यक्ता रहेको नगरपालिकाका अधिकारीहरूले बताएका छन् भने भोलिदेखि नै क्यामोफोस नामक औषधि लगाएर विभिन्न वार्डहरूमा स्प्रे गर्ने कार्य पनि नगरपालिकाले शुरू गर्ने भएको छ। नगरपालिका अध्यक्ष रवि प्रधानले पनि यस दिशामा नगरपालिकाले यथाशक्य अनि सक्रिय रूपमा पहल गर्ने बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares