ट्र्याजेडी क्वीन-को उकाली ओह्राली

प्रस्तुति : शैलेन्द्र समदर्शी


पञ्जाबबाट ‘बम्बई फिल्म’-मा लाइफ बनाउन आएका धर्मेन्द्रले जब मीना कुमारीसँग पहिलो फिल्म खेल्ने अवसर पाए, त्यसबेला उनी धेरै रोमाञ्चित भएका थिए। एक प्रकारले यो धर्मेन्द्रका लागि जीवनकै सबैभन्दा ठूलो अवसर थियो। धर्मेन्द्रले फिल्म उद्योगका मानिस र आफन्तहरूलाई एकाधिकचोटि सोधेका थिए, ‘मीना कुमारी कस्तो शैलीकी छिन्? उनको व्यवहार कस्तो छ? उनीसँग काम गर्दा के-के कुरालाई ध्यानमा राख्नुपर्छ?’

उनका एक आफन्तले त मीना कुमारी जुन फिल्ममा हुन्छिन्, त्यो फिल्ममा रहेका अन्य सबै कलाकारको अभिनय उनकै छायामुनि परेर ओझल बन्नगरेको समेत बताएका थिए। ‘उनी यस्ती अभिनेत्री हुन्, जसले दृश्यमा एकै शब्द नबोली अनुहारको एउटा सानो भावभङ्गीले दर्शकमा जादू गर्न सक्छिन्’, ती परिचितले धर्मेन्द्रलाई भने, ‘तिमीले जानेबितिक्कै उनको खुट्टा छुनू।”

यद्यपि धर्मेन्द्र उनलाई भेट्न पछि गए। यी लिजेण्ड अभिनेत्रीसँग अत्यन्त शिष्टतासँग भेट गरे। उनको प्रशंसा गरे।

मीना कुमारी, जसलाई विशेषगरी दुःखान्त फिल्ममा उनले गरेको जीवन्त अभिनयका लागि सम्झना गरिन्छ। उनलाई भारतीय सिनेमाकी ‘ट्र्याजेडी क्वीन’ पनि भनिन्छ। अभिनेत्री सँगसँगै उनी उम्दा शायर र पार्श्वगायिका पनि थिइन्। उनले धेरजसो फिल्ममा जस्तो दुःखान्त अभियन गरिन् त्यस्तै दुःखान्त क्षण जीवनका अन्तिम वर्षहरू बाँचिन्।

एकजना निर्देशकले मीना कुमारीमाथि पुस्तकै लेख्ने एकजना लेखकलाई भनेका थिए, ‘दिलीप कुमारजस्ता सशक्त एक्टरलाई पनि मीना कुमारी अघि स्थिर रहन गाह्रो हुन्थ्यो।’ मधुबालाले भनेकी थिइन्, ‘मीनाजस्तो आवाज कुनै अन्य एक्ट्रेसको छैन।’ राज कपूरले उनीअघि आफ्नो संवाद (डायलग) भुल्थे। र मीना कुमारीलाई लामो-लामो संवाद (डायलग) एकपटक सुन्दैमा याद हुन्थ्यो। व्यापारिक बलिवुड फिल्म (कमर्शियल बलिवुड फिल्म) इतरका दर्शक, जो समानान्तर सिनेमाका प्रशंसक हुन्, उनीहरूलाई थाहा छ, सत्यजीत रेले मीना कुमारीबारे के भनेका थिए। निश्चित रूपले उनी धेरै उच्च योग्यता भएकी अभिनेत्री थिइन्।

प्रायः 33 वर्षको आफ्नो करिअरमा उनले 90 भन्दा बढ़ी फिल्ममा काम गरिन्। यीमध्ये उनको सबैभन्दा उम्दा काम ‘साहब बीबी और गुलाम’ (1962) मा छ। ‘पाकिजा’ (1972) पनि उनको सबैभन्दा सम्झनायोग्य फिल्म हो। यसबाहेक गुलजारको निर्देशनमा रहेको फिल्म ‘मेरे अपने’ (1971) सबैभन्दा धेरै हेरिएको फिल्म हो, त्यबेला। यो फिल्ममा जस्तो अभिनय मीना कुमारीले गरेकी छन्, त्यस्तो अभिनय अन्य कसै अभिनेत्री गर्न सक्दैनन्। उनको फिल्म ‘मझली दिदी’ (1967) पनि थियो, जुन भारतको ‘अफिशियल एन्ट्री’-को रूपमा ओस्कर अवार्ड्समा गएको थियो। उनको ‘दिल अपना और प्रीत पराय’ (1960), ‘शारदा’ (1958), ‘मिस मेरी’ (1957) जस्ता धेरै फिल्म छन्, जसबाट अत्यधिक मनोरञ्जन लिन सकिन्छ।

हिन्दी सिनेमामा सबैभन्दा चर्चित जीवन बाँच्ने मीना कुमारीको प्रमे प्रसङ्गलाई मानिसले जहिल्यै मनोरञ्जन लिने सन्दर्भमा हेर्ने कोशिश गर्छन्। अर्थात् अत्यन्त ठट्यौली र सतही रूपमा। यद्यपि मीना कुमारीको प्रेमको राम्रो कुरा भनेको उनले समाजको पर्वाह नगरी धेरै पुरुषसँग प्रेम गरिन्। र उनले कहिल्यै बाहिरी नैतिकता (एक प्रकारले देखाउटी नैतिकता)-लाई आफ्नो रुचि र जीवनशैलीको फैसला गर्ने अनुमति दिइनन्। अत्यन्त राम्रो अभिनय र व्यक्ति मीना कुमारीको जन्म 1 अगस्त,  1933 -मा भएको थियो। यहाँ यी लिजेण्ड अभिनेत्रीलाई केही कथामा सम्झिने प्रचेष्टा गरिएको छ।

अपहेलित मीना कुमारी

बम्बईको एउटा झोपड़ीमा उनकी आमा इकबाल बानो र पिता मास्टर अली बख्श बस्थे। पिता थिएटर आर्टिस्ट थिए। थिएटरमा उनी हार्मोनियम पनि बजाउँथे। परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर थियो। एक प्रकारले भन्नुपर्दा दुर्दशा नै थियो। यस्तैमा 1 अगस्त, 1932 -मा उनको घरमा मीना कुमारी जन्मिइन्। घरमा अघिबाटै दुई छोरी थिए। उनी चाहन्थे, छोरा जन्मिऊन्। यसैले मीना कुमारी जन्मिँदा कसै पनि खुशी मनाउने स्थितिमा थिएनन्।

डेलिवरी गर्ने डाक्टरलाई फिस दिनेसम्म पैसासमेत थिएन। बताइन्छ, अली बख्श कतिसम्म निराश थिए भने उनले मुटुलाई ढुङ्गा बनाएर भर्खरै जन्मेको नानीलाई दादर नजिक रहेको एक मुस्लिम अनाथालयबाहिर छाड़े। यद्यपि उनी केही टाढ़ा मात्र पुगेका थिए, नानी चर्को स्वरमा चिच्याउन थालिन्। त्यो अघिको ढुङ्गा मुटु पुनः पग्लियो। पुनः फर्केर मीना कुमारीलाई काखमा लिए। नानीको शरीरमा रातो कमिला बसेको थियो। त्यसलाई धपाए र मीना कुमारीलाई घर लिएर गए।

महजबीन बानोदेखि मीना कुमारीसम्म

त्यसै त उनको असली नाम मीना कुमारी थिएन। उनको असली नाम महजबीन बानो हो। निर्माता विजय भट्टले महजबीन बानोलाई मीना कुमारी बनाए। वास्तवमा घरको अवस्था ठीक थिएन। फिल्ममा नानीहरूलाई पनि ‘रोल’ प्राप्त हुन्थ्यो। यस्तैमा उनकी आमा महजबीन बानो  छोरीहरूका लागि रोल खोज्ने गर्थिन्। एकपटक उनले सात वर्षीय महजबीन बानोलाई पनि एउटा फिल्म स्टुडियो लिएर गइन्, जहाँ त्यस समयका ठूला निर्माता विजय भट्ट बसेका थिए।

‘यी नानीका लागि कुनै योग्य काम छ भने दिनुहोला’, आमा इकबाल बानो भनिन्। महजबीनको अनुहार विजय भट्टलाई मन पर्‍यो। उनले फिल्म ‘लेदरफेस’ (1939) मा बाल भूमिकाका लागि यी सात वर्षीय नानीलाई लिए। पछि विजयले भने, ‘अहिले लगातार उनले फिल्म खेलिरहेकी छन्। यसैले यो नाम ठीक छैन। अन्य केही राख्नेछौं।’ यसै समय उनले महजबीन बानोको नाम परिवर्तन गरी बेबी मीना बनाए। त्यसपछि उनी ठूलो भएपछि मीना कुमारी भनिन्, जुन नाम बलिवुडकै एउटा प्रख्यात र सम्मानित बन्यो।

अशोक कुमारको ठट्यौली सत्य प्रमाणित

दादरमा मीनाको परिवार बस्थे। यसको ठीक अघि रूपतारा स्टुडियो थियो, जहाँ फिल्मको शूटिङ भइरहन्थ्यो। एकपटक त्यहाँ उनकी ठूली दिदी खुर्शीद काम गरिरहेकी थिइन्। कम्पाउण्डमा मीना खेलिरहेकी थिइन्। पिता अली बख्शले त्यो स्टुडियोमा शूटिङ गरिरहेका सुपरस्टार अशोक कुमारककहाँ लिएर गए। अशोक कुमारले उनलाई चिनिहाले। किनभने अली बख्शले पनि सानोतिनो अभियन गर्नेगर्थे। ‘साहब यी मेरी सानी छोरी’, उनले भने। अशोक कुमार धेरै खुशी भए।

उनले बेबी मीनातिर फर्केर भने, “अहिले त तिमी नानीको रोल गर्छौ। चाँड़ो ठूली हुनू, त्यसपछि म तिमीसँग काम गर्नेछु। तिमी हाम्रो अभिनेत्री बन्नू।’ बिना सोचीसम्झी आफूले गरेको यो ठट्यौलीमा अशोक कुमार हाँसे। त्यसपछि छेउका अरू पनि। यद्यपि उनलाई थाहा थिएन, एकदिन साँच्चै यस्तो हुनेछ। यो ठट्यौली सत्य प्रमाणित भयो, बम्बे टकिजको फिल्म ‘तमाशा’ (1952) मा, मीनालाई ‘कास्ट’ गरियो। यो फिल्ममा उनको सहकलाकार थिए, अशोक कुमार र देव आनन्द। भविष्यमा ‘परिणीता’ (1953), ‘बन्दिश’ (1955), ‘शतरञ्ज’ (1956), ‘एक ही रास्ता’ (1956), ‘आरती’ (1962), ‘बहू बेगम’ (1967), ‘जवाब’ (1970) र ‘पाकिजा’ (1972) मा पनि दुवैले सँगै काम गरे।

सोच्नै नसकिने फिस

आफ्नो समयको सबैभन्दा धेरै फिस लिने केही ‘एक्ट्रेस’ -मा मीना कुमारी पनि पर्थिन्। 1940 पछिको समयमा उनी एउटा फिल्मका लागि 10,000 रुपियाँको बाक्लो फिस लिन्थिन्। पछिका वर्षहरूमा उनी धेरै ठूला स्टार बनिन्। त्यसपछि समय र अभिनयसँगै उनको फिस पनि बाक्लिँदै गयो। त्यस समय अत्यन्त बाक्लो फिस लिए तापनि आफ्नो फिल्ममा अफर दिन र रोल सुनाउनका लागि निर्माताहरू उनको घरअघि लामो लश्कर लाग्थे।

कविता लेख्ने मीना कुमारी

उनले कुनै औपचारिक स्कूले शिक्षा प्राप्त गरिनन्। यद्यपि मीना कुमारीले धेरै भाषा जान्दथिन्। अध्ययनमा रुचि राख्ने उनले धेरै पुस्तक पढ़्थिन्। उनी शायरी र कविता लेख्न रुचाउँथिन्। कैफी आजमीबाट उनले धेरै सिकिन्। कविताप्रतिको धैर्यताकै कारण उनी गुलजार नजिक पुगिन्। त्यसबेला उनको विवाह कमाल अमरोहीसँग भइसकेको थियो। मृत्युअघि उनले आफ्नो कविता र अन्य धेरै विषय गुलजारलाई छोड़िराखिन्।

कमाल अमरोही र मीना कुमारीको प्रेम

कमाल अमरोही (जोसँग मीना कुमारीको विवाह भयो)-लाई सबैभन्दा पहिला उनले अङ्ग्रेजी म्यागजिनमा देखेकी थिइन्। त्यसबेला उनी कुनै एउटा अङ्ग्रेजी म्यागजिन पढ़िरहेकी थिइन्। त्यसमा उनले कमाल अमरोहीको फोटो देखिन्, जो त्यस समय हिन्दी सिनेमाका चर्चित लेखक-निर्देशक रहिसकेका थिए। उनले ‘महल’ (1949) जस्तो सुपरहिट फिल्म बनाएका थिए।

मीना उनको व्यक्तित्व, पढ़ाइ-लेखाइ र सोचसँग अत्यन्त प्रभावित भइन्। जब मीना दुर्घटनामा परिन्, यी दुई अत्यन्त नजिक भए। यो नजिकपन बिस्तारै प्रेममा परिणत भयो। एकाअर्कामा उनहरू चिट्ठी लेखालेख गर्थे। रातभरि फोनमा कुराकानी गर्थे। केहीपछि परिवारको इच्छाविरुद्ध मीनाले लुकेर कमालसँग विवाह गरिन्। कसैलाई केही नभनी कमालको घर गइन् र त्यहीं बस्न थालिन्।

शङ्कालु कमाल र स्वतन्त्र मीना

कमाल र मीनाको वैवाहिक सम्बन्ध एकदशक चल्यो। पछि यो सम्बन्धमा चिसोपन आउन शुरु भयो। कमाल मीना कुमारीलाई लिएर अत्यन्त ‘शङ्कालु’ थिए। उनी अत्यन्त रुढ़िवादी थिए।  उनले धेरै सीमितता लगाएका थिए। शर्तमा बाँच्न बाध्य बनाएका थिए। जस्तो उनको मेक-अप रूममा कुनै पुरुष पस्न निषेध थियो।

यस्तै प्रकारले उनले एक असिस्टेण्ट मीना कुमारीका लागि राखेका थिए। यसको उद्देश्य उनीमाथि प्रत्येक समय दृष्टि राख्न सकियोस्। तर मीना कुमारीले यी सबै नियम तोड़िन्। बताइन्छ, उनले एकपटक स्टुडियोमा गुलजारलाई बोलाइन्। र, सबैअघि आफ्नो स्नेह प्रदर्शित गरिन्। यसपछि पतिको घर छोड़ेर आफ्नी दिदीको घरमा बस्न थालिन्।

मदिरादेखि मृत्युसम्म

मदिराले मीना कुमारीलाई मार्‍यो। तर यस्तो होइन, उनी शुरुदेखि नै खान्थिन्। मदिराको लतका दुई कारण छन्। भनिन्छ, उनलाई अनिद्राले सताउन शुरु गरेको थियो। उनका डाक्टर सइदले निद्राको औषधिको सट्टामा एक पेग ब्राण्डी खाने सल्लाह दिए। अर्को अनुमान यस्तो छ, निर्देशक अबरार अल्वीको फिल्म ‘साहब बीबी और गुलाम’ (1963) -को शूटिङको समय यो लत बस्यो।

उनले यो फिल्ममा जमिनदारकी बङ्गाली पत्नी सानी बुहारीको रोल गरेकी थिइन्, जो आफ्ना विलासी पतिको माया पाउन र ध्यानााकर्षित गर्ने विफल प्रयासमा लागेकी छन्। उनले ती पतिलाई खुशी बनाउन मदिरा खान शुरु गरिन्। यसपछि परपुरुषको माया खोज्न थाल्छिन्। यो फिल्मको शूटिङअवधि आफ्नो कलाकारितालाई जीवन्त पार्नका लागि मीना कुमारीले ब्राण्डी पेग पिउन थालिन्। फिल्मका लागि खाएको मदिराको लत उनमा हावी हुँदै गयो। पछि यो पिउने बानीले गम्भीर रोग निम्त्यायो र मृत्युको मुखमा पुर्‍यायो।

दुर्घटनामा औंला खायो

एकपटक मीना कुमारी आफ्नी बहिनीसँग महाबलेश्वरबाट फर्किरहेकी थिइन्। बाटोमा उनको कार ठूलो दुर्घटनामा पर्‍यो। मीनाको एउटा हातमा ठूलो चोट लाग्यो। शुरुमा त हात काट्नुपर्ने कुरा भनिएको थियो तर हातै त काट्न परेन। यद्यपि उनका दुईवटा औंला काट्न पर्‍यो। आफ्नो सम्पूर्ण करिअरमा मीना कुमारीले कुनै फिल्ममा दर्शकहरूलाई थाहै पाउन दिएनन्, उनका दुईवटा औंला छैन। उनले आफैलाई यस्तो गरी सम्हाल्थिन्, यति सुन्दर ढङ्गमा हिँड़्थिन्, उनको हात अघि भए तापनि सबैकुरा ‘परफेक्ट’ लाग्थ्यो।

धर्मेन्द्र जोसँग प्रेम गरिन्, अभिनय सिकाइन्

उनको धर्मेन्द्रसँगको प्रेम बहुचर्चित थियो। धर्मेन्द्र पञ्जाबको एउटा गाउँबाट आएका सोझो गाउँले केटो थिए। विवाहित थिए। त्यहीं मीना कुमारी सुपरस्टार थिइन्। फिल्म ‘पूर्णिमा’ (1965) मा उनले मीनासँग फिल्ममा हस्ताक्षर गरे। मीना कुमारीलाई त्यसबेला जिन्दगीमा स्थिर प्रेमको खाँचो थियो। यस्तै प्रेम खोजिरहेकी थिइन्। उनी चाहन्थिन् काखमा शिर राख्न सकुन्। धर्मेन्द्रलाई उनले त्यस्तै प्रेम गर्ने केटो देखिन्। बताइन्छ, उनले धर्मेन्द्रलाई ‘ग्रुम’ गरिन्। उनलाई एक्टिङ सिकाइन्। जुन फिल्ममा दुवैले सँगै काम गरे, त्यो फिल्मका लागि उनले एक-एक दृश्यको संवाद आफै बोलेर एक्टिङ आफै गरी धर्मेन्द्रलाई बताउँथिन्, सिकाउँथिन्।

गहन रूपमा क्रमबद्ध ढङ्गमा बताउँथिन्। उनको व्यक्तित्वलाई मीना कुमारीले उकासे। मीना कुमारी नै वास्तवमा धर्मेन्द्रकी मेण्टर थिइन्। यो मीनाजस्ती सुपरस्टारसँग खेलेको प्रारम्भिक फिल्म थियो, जसको कारण नै धर्मेन्द्रको करिअर उकालो लाग्यो। यदि उनी  नभएको बेला धर्मेन्द्रले यति ठूला स्टार बन्नपाउने कुरा सोच्नै गाह्रो थियो। पछिका वर्षहरूमा स्वयं धर्मेन्द्रले पनि मीना कुमारीको यो योगदानलाई स्वीकारे। उनी धर्मेन्द्रसँग प्रेम गर्थे। उनी र धर्मेन्द्रका नजिकका मानिसहरू भन्छन्, ‘जब धर्मेन्द्र मीना कुमारीको कोठाबाट बाहिर निस्कन्थे, त्यसबेला उनी रोइरहेका हुन्थे।

धर्मेन्द्रले मीना कुमारीको मानसिक पीड़ा हेर्नै सक्थेनन्। रोइहाल्थे, बरबर्ती। आँसु रोक्नै सक्थैनन्। र खसाउँथे, आँखाको डिलबाट गलैगला तल..। दुवै प्रेमले कुनै बलियो स्वरूप लिनसकेन, तर मित्रता सधैं दिगो रह्यो। जब मीना कुमारी अत्यन्त सिकिस्त थिइन्। रोगले अत्यन्त आशक्त भएकी थिइन्, त्यसबेला उनलाई हेर्न केही फिल्मी मित्रहरू मात्र उनको घरमा पुग्ने गर्थे। उनीहरूमध्ये एकजना धर्मेन्द्रमा थिए, जो जहिल्यै आँसुको समुन्द्री छाललाई बलैले रोकेर फर्किने गर्थे।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares