लाइफ : अ झुसिल्कीरा

बटरफ्लाई संवाद

कथाकार मनोज बोगटीको पहिलो कथासङ्ग्रह आउँदैछ, लाइफ : अ वटरफ्लाई। जसलाई नेपालमा 28 अप्रेल र भारतमा 5 मईको दिन सार्वजनिक गरिँदैछ। जसको टिजर यूट्यबमा उपलब्ध छ। पुस्तक सार्वजनिक हुन अघि संवाद कालेबुङ-च्यानलको  साक्षात्कारमा कथाकार बोगटी उपस्थित थिए। उनीसँग कथाकार छुदेन काविमोले गरेको कुराकानीको सार यहाँ प्रस्तुत गरिन्छः-

6 वटा कविता सङ्ग्रहपछि कथा लेखनतिर आउनु भो। बजार हेरेर आउनुभएको हो ?

होइन। खासमा म कथा त पहिल्यैदेखि लेख्थें। मैले जीवनमा पहिलोपल्ट लेखेको भनेकै कथा हो। 10 अक्टोबर 1996 मा मेरो पहिलो कथा प्रकाशित भएको हो। बीचमा कवितातिर तानिएँ। ऐले फेरि यता आएँ।  बजार हेरेर लेखिएको चाहीँ होइन। मेरा कथाहरू पत्रपत्रिकातिर छापिँदै आइरहेकै हो। 6 वटा कविता किताब प्रकाशित गरिसकेँ। अब किन कथातिर नजाने भन्ने लागेको मात्रै हो।

म तपाईँलाई अघिल्लो वर्षको एउटा घटना सम्झाउँछु। जोरथाङमा कथा शिविर भएको थियो। त्यहाँ तपाईँले मेरो नामसमेत लिँदै भन्नु भयो, म हात उठाउँछु, अब कथा लेक्दिनँ। फेरि कथासँगै आउनु भो। के हो खासमा ?

हो, मैले भनेकै हो। त्यो कुरा मैले लाइफ : अ बटरफ्लाई-को भूमिकामा पनि लेखेकै छु। खासमा मैले भन्न खाजेको चाहीँ कथाको नाममा अर्थोक नलेखोस् भनेर पनि हो। मैले भन्न त भने नि। तर म आफै चैं   के गरिरहेछु त? आफ्नै पनि त परिक्षा गर्नु पऱ्यो। त्यही गरेको हुँ।

कविताले छोटोमा धेरै कुरा भन्न सक्छ। त्यसको तुलनामा कथाबाट म्यासेज दिनुपर्दा गाह्रो पर्दैन रहेछ ?

होइन। म्यासेज दिने तरिका एकै हो। तथापि कविता धेरै आर्टिस्टिक हुन्छ। जसले गर्दा सबैमा पुग्न नसकिँदो पनि रहेछ। त्यसको तुलनामा कथा मार्फत् पुग्न सहज हुन्छ। यसमा त्यति आर्टिस्टिक भइबस्नु पर्दैन। कथालाई केही छुट छ। आम मान्छेसम्म पुग्ने यो सहज बाटो पनि हो। कथाले मान्छेलाई अझ धेर प्रभावमा राख्छ। मलाई कविताभन्दा कथाबाट केही भन्नु केही सहज लाग्छ।

कथासङ्ग्रहको नाम पूरै अङ्ग्रेजीमा छ, किन ?

खासमा पुतलीको पखेटामा बसेको पृथ्वी भन्ने एउटा कथा छ। जहाँ एउटी जापानिज केटी छिन्। उसको नाम मिसुजा हो। जसलाई पुतली मनपर्छ। उ खास गरी पुतलीमाथि रिसर्च गर्ने पात्र हुन्। जसमाथि पुतली तस्करको अभियोग लाग्छ। उनले कथाको एक ठाउँ भन्छिन, जीवन पुतली जस्तै सुन्दर छ। त्यो वाक्य उनले अङ्ग्रेजीमा भन्छिन्। मैले त्यही नाम राखेको हुँ। त्यस्तो खासै केही छैन। जुन कुरालाई जुन भाषामा लेख्दा सहज हुन्छ, त्यही भाषामा भन्ने हो। अङ्ग्रेजीमा राखे पनि हुन्छ, बङ्गालीमा वा जोङ्खामा राखे पनि हुन्छ। आम मान्छेलाई सहज हुनु पऱ्यो। मैले त्यही गरेको हुँ। पात्रले भनेकै वाक्यलाई किताबको नाम राख्न मन लागेको हो मलाई। यही नाम राख्दा मलाई किताबले मेरो कथाविचार बोक्छ भन्ने पनि लाग्यो। दार्जीलिङलाई अङ्ग्रेजको उपनिवेशले अङ्ग्रेजी साख दिएकै छ। दार्जीलिङमा बोल्दा पनि बीचबीचमा अङ्ग्रेजी घुसाएरै बोल्ने धेर छन्। नेपाली भाषामा लेखेको किताबको नाम अङ्ग्रेजीमा हुँदा धेरैलाई नमिलेको लाग्नैसक्छ। किताब आएपछि उनीहरूले कसरी लेलान् हेर्नु पनि छ।

लाइफ: बटरफ्लाई। जीवन पुतली हो भने जीवन झुसिल्कीरा पनि त हो, होइन र ?

जीवन त्यसैकारण पुतली हो। किनकि त्यसले पुतली बन्नको निम्ति धेरै सङ्घर्ष पार गर्नुपर्छ। जीवनको विभिन्न रूपहरू छन्। कुनै सुन्दर, कुनै कुरुप। ती सबै मिलेर जिन्दगी बन्ने त हो। झुसिल्कीराको दौड़मा लिमिटेशन छ। झुसिल्कीराको घर्षण भनेको जीवनले गर्ने सङ्घर्ष हो। त्यो सङ्घर्ष पूरा गरेपछि नै उन्मुक्त बन्ने हो। पखेटा पलाउने हो। पखेटा पलाएपछि पनि जीवन उन्मुक्त बन्ने हो के त ? भन्ने प्रश्न त छँदै छ। खासमा संसारका जम्मै कथा एउटा सङ्घर्षशील मानिसलाई पछ्याउँदा भेटिन्छ।

एउटा मानिसको सङ्घर्ष नै जम्मै शास्त्रको बीउ हो।  समाजशास्त्र, राजनीतिशास्त्र, विज्ञान, दर्शन, प्रविधि, ज्ञानानुसासनका जम्मै पाटो त्यही सङ्घर्षको ढोकाबाट निस्किएका उज्याला किरणहरू हुन्। कहिले जालोमा पर्ने, कहिले आकाशमा उड्ने 8 वटा जीवनलाई शिलशिलाबद्ध पछ्याउनु मन लाग्यो यसपल्ट।

खासमा यी कथाहरू नगरीय जीवनका आरोहअवरोह हुन्। आरोहअवरोह अर्थात झुसिल्कीरादेखि पुतलीसम्मको सङ्घर्ष। तर झुसिल्कीरा पनि जीवन हो। भन्नै सकिन्छ, लाइफ : अ झुसिल्कीरा।

मनोज बोगटीहरूले अग्रजहरूलाई टेर्दैन हरे नि है?

कसले त्यसो भनेको हो ? त्यो मलाई थाहा छैन। हामीले कसैसित अटेरी गरेका छैनौं। सबै मान्छे राम्रा हुन्छन् भन्ने पनि छैन। म पनि केही खराबीसहितको मानिस हुँ। दार्जीलिङमा पनि लेखनका विभिन्न स्कूलहरू छन्। तेस्रो आयामको स्कूल छ। लीला लेखनको स्कूल छ। संक्रमणको स्कूल छ। स्कूलले काम गरेको ता राम्रै हुन्छ। तर जम्मै चाहिँ सही हुँदैन। ठीक नभएको कुरालाई पनि बलजफ्ती ठीक भनेर पुष्टि गर्दा लेखनको गतिमा अवरोध आउन सक्छ।

त्यस्ता  अवरोधहरू जहाँजहाँ पनि अनुभव हुन्छ, हामी खै गर्छौं। गरेको त्यति मात्रै हो। यसो हुँदा विचार, दर्शन, शास्त्र र मूल्य मान्यताका पुनर्पठन गर्ने संस्कार बनिन्छ। त्यसै गर्दा नै हामीमाथि आरोप लागेको हुनसक्छ। यसलाई त्यसरी भद्दा तरिकाले परिभाषित गर्न मिल्दैन। प्रशंसाले मात्रै त मान्छेलाई साँघुरो बनाउँछ। आलोचनाले -ले नै हो समाजलाई गति दिने।

यता समालोचकहरूको खड़ेरी छ भन्ने गुनासो छ। त्यस्तै हो ?

म त सधैँ समालोचकको मृत्यु भइसकेको समाज हो यो भन्ने गरेको छु। न साहित्यको समालोचना, आलोचना छ, न राजनीतिमाथि छ। आलोचकले, समालोचकले बनाउने सिँडी बिना नै सिर्जना हिमाल उक्लिसकेको छ। अहिले पो समालोचकहरू सर्जकहरूलाई पछ्याउँदै आउँदैछन्। समालोचकहरूमा सिर्जनाका गहिरा फाँटसम्म पुग्ने दक्षता नै छैन। त्यो दक्षता नभएका कारण नै उनीहरू कविताका समकालीन स्वरमाथि कुरासमेत गर्न सक्दैनन्। रिस्क उठाउने र अकादमिक फर्म्याटबाट बाहिर निस्किने मनोविज्ञान उनीहरूले विकास गर्नै सकेनन्।

रामकृष्ण शर्मा, गुमानसिंह चामलिङहरूको उहिले जमाना थियो, उनीहरू कुनै युनिभर्सिटीका प्राडाहरूले आफ्ना कारखानामा उत्पादन गरेका अकादमिक उत्पादन थिएनन्। अहिले केही प्राडाहरूले त्यही पुरानो फर्म्याटमा हालेर लेख्ने काम गरिरहेकै छन्। जस्तो, राजा पुनियानीले उमेश परियारको किताबमा दलित लेखनको कुरा गरेपछि अहिले दलित लेखकहरूका सिर्जनालाई कोट्याउने काम हुँदैछ।

नारीवादीहरू नारीवादका कुरा गरिरहेकै छन्, तर 70 प्रतिशत चियाबगान रहेको यो ठाउँका महिला श्रमिकहरूबाट नारीवादका रैथाने शास्त्र केलाउने ढङ्ग देखिन्न।

कुमार प्रधान गिरीको दुःखवादको बेलो कता होला भनेर प्रश्न गर्थे, नारीवादको बेलो, दलित लेखनको बेलो, नगर लेखनको बेलो कता होला? त्यो प्रश्न अझ पनि जिउँदै छ।

अहिले कविता र आख्यानको क्षेत्रमा धेरै काम भइसकेको छ। सर्जकहरूले आफ्नो काम गरिरहेका छन्। तथापि त्यो काम कस्तो हुँदैछ ? नयाँ पुस्ताले कसरी आफूलाई पारम्पराबाट बाहिर लगेर अलग राखिरहेको छ। अर्को परम्परा स्थापित गरेको छ, भारतेली नेपाली साहित्यको चिन्ता नयाँ सर्जकहरूमा कस्तो छ ? यस्तो विषयमा कहिले पनि आलोचकहरूबाट कुरा आएको छैन।

साँच्चै भन्नु हो भने, आलोचना धेरै पछि छ। समालोचक-आलोचक बिना पनि हाम्रो साहित्य बाँच्दो रहेछ त।

मनोज बोगटी अलि सनकी छ। घरि घरि राजनैतिक रूपमै हावी हुन खोज्छ। केही पाउँनै हुदैन, प्याच्चै कमेन्ट गर्छ। किन त्यस्तो  ?

चुपचाप बस्ने समाज खतरानाक हुन्छ। मौनताले समाजलाई पतनतिर लान्छ। सबैभन्दा ठूलो मूल्य भनेको अधिकारको निम्ति बोल्नु हो। जस्तो गोर्खाल्याण्डको लागि भारतभरिका गोर्खाहरू बोलिरहेका थिए। आज त्यही आवाजलाई यसरी दबाइयो कि, बोलूँ कि नबोलूँ ? भन्ने स्थिति बनाइदियो। मान्छेमा आपति गर्ने शक्ति हराउँदै गयो। छेवैमा असामाजिक काम भइरहेको छ, तैपनि आपति छैन। मेरो मान्यता के हो भने जहाँ म खराब अनुभव गर्छु, त्यहाँ म तत्काल प्रतिक्रिया गर्छु। एउटा सर्जक केवल सर्जक मात्रै हुँदैन। उसको समाजमा अलग अलग रूप हुन्छ। म एकजना समाजको नागरिक पनि हुँ। मेरो सम्बन्ध परिवारसँग छ। समाजसँग छ। यी सबसँग म सरोकार राख्छु। यसैले कहिले म पत्रकार भएर बोल्छु। कहिले सामान्य नागरिक भएर बोल्छु। जसरी बोल्नुपर्छ भन्ने लाग्छ, त्यसरी बोल्छु। तर म बोल्न चाँही बोल्छु।

तपाईँ हस्तक्षेपको पनि एक अगुवा हुनुहुन्छ। कथामा हस्तक्षेप कति छ ?

हस्तक्षेपको थ्योरी भनेको सर्जक जहाँ बसेको छ, त्यहीको समाज हेर्ने हो, अर्ग्यानिकता। म नगरमा बस्छु, त्यसैले नगरको समाज पनि हेर्छु। भोलिको नगर कस्तो हो ? त्यो पनि सोच्छु। त्यहाँ मेरो एउटा कथा छ। जहाँको एउटा कम्पनीको कल्पना छ। जसले समाजलाई खुशीदिन हरथोक गरिदिन्छ। घरमै पुगेर सुविधा दिनसक्छ। फासीवादले नगरलाई कस्तो जीवन दिइरहेको छ। यो कथाले त्यही भन्छ।  हस्तक्षेपले अन्तरविरोधहरू केलाउँछ। त्यो कति केलाइएको छ, पाठकले भन्ने हो।

पाठकले किन तपाईँको कथा पढ्नुपर्ने हो त ?

जीवन बुझ्नलाई।

 

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया