लीला लेखन-बारे रूपेन्द्र प्रभावी कटु र कृष्ण धरावासी-बिचको संवाद ( अन्तिम भाग)

संवाद »

 

यो २०६६ सालमा पोखराको  रेडियो बाराहीको सिर्जनामञ्च कार्यक्रमको लागि रेडियो पत्रकार रूपेन्द्र प्रभावी कटु-ले  कृष्ण धरावासी-सित लीलालेखनबारे गरेको लामो कुराकानी हो।

‘प्रभावी कटुका प्रश्नहरू हाजिरी जवाफ जस्ता थिए। निक्कै लामो कुरा भएको थियो।  अनि शुरू भएको थियो लामो वार्ता । त्यस अन्तर्वातामा रूपेन्द्रले निकै मेहनत गरि सशक्त आक्रमक प्रश्नहरू गरेका थिए,’ धरावासी भन्छन्,   ‘कसो कसो म थामिएको थिएँ। आजसम्म लीलाबारे मैले गरेका संवादहरूमा यो मलाई निकै चित्त बुझ्दो लाग्छ।’

धरावासीले यस अन्तर्वातालाई युटुबमा पनि राखेका छन्। खबरम्यागजिनका पाठकहरूको सजिलोको लागि धरावासीले आफैले संवाद टेपबाट उतारेका हुन्। जसको अन्तिम भाग यहाँ  प्रस्तुत गरिरहेका छौं-सम्पादक


पहलो भाग पढ्न यसैमा क्लिक गर्नुहोस्-


 

अघि यहाँले भन्दै हुनुहुन्थ्यो– लीलालेखन बुझेर के हुन्छकेही पनि हुँदैन । कसैको भात पनि पाक्दैनविद्यार्थीलाई परिक्षामा उत्तर दिने सामग्री पनि बन्दैन भन्दै हुनुहुन्थ्यो । अनि किन बोध गरिरहनु त फेरि ?

त्यही त ! बोध गऱ्यो भने, जसले बोध गर्छ उसलाई हुने तनाव त्यत्तिकै काम हुन्छ। अघि छिनाइ हाल्ने जुन रिस उठेको थियो अब बोधकले सोच्न थाल्छ कि उसको पक्षबाट यो विषय प्रतिको सोच पनि त एक किसिम त ठीकै हो त! मेरो पक्षबाट मैले सोचे जस्तो हो भने उसको पक्षबाट पनि त उसले बुझे जस्तै त हो नि। यस प्रकारले बुद्धिले काम गर्न थाले पछि त्यो च्वाट्टै छिनाइ दिने रिस त उठ्दै उठ्दैन नि। त्यो बोधले त सम्झौतातिर, समाधानतिरको जाने बाटो खोज्दछ त।

लीला बोधले मात्रै त्यो प्रेरणा दिन्छ मान्छेलाई ? लेखन नभई पनि?

जीवनलाई त उसले बुझ्यो नि! सांसारिकता बुझ्यो नि त ! सांसारिकता बुझेपछि त के भो भने एउटा घटनाका अनेक उत्तरहरू हुन्छन्। अनेक व्याख्याहरू हुन्छन्। आत्मपरकताहरू हुन्छन्। जस्तो– प्राय- सबैले भन्ने गर्छन् यो परिक्षाको रिजल्ट चाहीँ निष्पक्ष हुनु पर्छ। कर्मचारीले जनताको पक्षमा निष्पक्ष सेवा गर्नु पर्छ भन्छन् । वा यो मन्त्रीले निष्पक्ष रूपमा काम गर्नु पर्छ भन्छन्। निष्पक्ष भन्ने शब्द चाहिँ सबैको मुखमा छ। तर त्यो जसले निष्पक्ष हुनु पर्छ भन्छ, ऊ आफैले चाहिँ के उत्तर खोज्दै हुन्छ भने त्यो निष्पक्षता चाहिँ उसको पक्षमा निर्णय होस् भन्ने सोच्दछ।

कुन न कुनै तरिकाले स्वार्थ बोकेकै हुन्छ।

आफ्नो पक्षमा। जस्तै भनौं न– कुनै मन्त्रालय वा कार्यालयमा दश जना कर्मचारी नियुक्ति गर्नु पर्नेछ। पाँच सय जनाले आयोगको जाँच दिए। अब जत्ति नै बल गरे पनि चार सय नब्बे जना त फालिन्छन् फालिन्छन् नि। तर परिक्षा दिइसकेका ती पाँच सयकै भनाई हुन्छ– रिजल्ट चाहिँ निष्पक्ष हुनु पर्छ।

अनि त फेल हुने चार सय नब्बेको भनाइ प्रायः एउटै हुन्छ– के हुन्छ र यो देशमा। निष्पक्ष त गफ मात्रै हो। सबैले आफ्नाआफ्ना मान्छे लगेर हाल्छन्। माथि हाम्रा कुनै ठूला मान्छे थिएनन्। नेताले पनि आफ्ना आफ्नाको सिफारिस गरे। जी.एम.ले पनि त्यसै गऱ्यो। हाम्रा को छन् र गर्छन् भनेर भन्छन् फेल हुने चार सय नब्बेले।

पास हुने दश जनाले के भन्छन् भने– रिजल्ट चाहि साह्रै निष्पक्ष भयो है यसपाली। मैले पास हुन्छु भन्ने सोचेकै थिएन, तर लेखन चाहिँ मैले राम्रो लेखेको थिएँ। रिजल्ट निष्पक्ष गऱ्यो भने चाहिँ म स्योर पास हुन्छु भन्ने लागेको थियो, तर हाम्रो देशको यस्तो वातावरणमा के निष्पक्ष हुन्थ्यो र भनेर मैले त आसै गरेको थिइनँ तर फ्याट्टै नाम निस्केछ।

वास्तवमा यसपालिको रिजल्ट चाही साँच्चै निष्पक्ष भएकै हो है! चार सय नब्बेले बुझेको र दश जनाले बुझेको त्यो रिजल्टको चरित्र आत्मपरक त भयो नि। दश जनाको लागि त्यो निष्पक्ष भो बाँकी अरूको लागि चाहिँ निष्पक्ष भएन। अनि निष्पक्ष भनेको पनि त आफ्नो पक्ष रहेछ नि त। हामी प्रत्येकले आत्मपरक उत्तरू खोजिँदोरहेछ नि। हाम्रो व्यावहारिक जीवन र भोगिरहेको वर्तमान यही त हो। यस कुरालाई बुझ्यौं भने वा निष्पक्ष भन्ने चाहिँ हुँदैन, निष्पक्षको कुरा जसले गर्छ ऊ आफै पनि आफ्नो पक्षको कुरा गर्छ है भन्ने कुरा हामीले पहिल्यै बुझिराखेको छ भने त हामीलाई त्यो रिजल्टले त्यत्रो तनाव नै दिँदैन नि।

किनभने यो यस्तो हुने नै हो, म नपर्न पनि सक्छु मैले निष्पक्ष भने पनि, निष्पक्ष भन्ने कुरा चाहिँ एउटा शब्द मात्रै हो भावको क्षेत्रमा निष्पक्ष भन्ने चाहिँ कुनै अवश्यै हुँदैन भन्ने उसले बोध गरेमा त्यो बोधकर्तालाई जुन तनाव हुनु पर्थ्यो हुँदैन वा भइहाले पनि त्यति धेरै हुँदैन।

लीला लेखनको कुरा गरिरहँदा यस सँगसँगै मलाई उत्तरआधुनिकता बारेको केही प्रसङ्ग पनि सम्झना आइरहेको छ। उत्तर आधुनिकता सम्बन्धि परिचर्चाका सन्दर्भमा भनिने गरिन्छ सिर्जना गरिसके पछि सजकको मृत्यु हुन्छ, यथार्थमा, सत्यमा, न्यायमा भन्ने कुरा वास्तमा संसारमा कही पनि सम्भव छैन। लीलालेखनका पनि यस्तै मान्यताहरू रहेको कुरा यहाँका अभिव्यक्तिहरूबाट बुझिँदैछ, यो उत्तरआधुनिकतावाद र लीलालेखनका बीचको अन्तर सम्बन्ध के कस्तो छ?

शरीरबाट निस्केको आत्मा परमात्मामा फेरि गएर मिल्ने, भन्ने पूर्वीय दर्शनको मान्यता हो।

म पाश्चात्य साहित्यबाट नेपाली साहित्यमा भित्रिएको उत्तर आधुनिकतावादको कुरा गरिरहेको छु। तपाईँ पूर्वीय साहित्यको कुरा गर्दै हुनुहुन्छ।

 

म त्यही आउँछु। लीलालेखनले चाहिँ के भन्छ भने अन्धताबाट मुक्त हुनु पर्छ।

भ्रम र अन्धता चिर्नु पर्छ।

यति भनिसके पछि अब म तपाईँको प्रश्नको ठीक ठाउँमा आइपुग्छु। तपाईँको प्रश्नको ठीक उत्तर चाहिँ के हो भने– किन आवश्यक भयो त लीला लेखन….

म उत्तरआधुनिकतावादको कुरा गर्दै थिएँ…….

लीला लेखनको किन आवश्यकता पऱ्यो, नगरेको भए पनि त हुन्थ्यो नि। लेख्न त लेखिएकै छ नि। भन्नै चाहिँ किन भन्नु पऱ्यो होला त लीला लेखन भनेर। कथा लेख्नु, उपन्यास लेख्नु, कविता लेख्नु। देवकोटाले भनेनन्, लेखनाथले भनेनन्, कसैले भनेनन्, तिमीहरूलाई चाहिँ किन भन्नु पऱ्यो नि। भन्ने प्रश्न पनि सँगै आउँछ।

अब यसको चाहिँ कुरा के हो भने लीलालेखनको प्रस्तावित पहिलो लेख नै भागवतको एउटा श्लोकबाट शुरू भएको छ। यसो भन्नुको अर्थ के हो भने लीलालेखनले साहित्यमा पूर्वीय दृष्टिकोणहरू, पूर्वीय मान्यताहरू, पूर्वीय विश्वासहरू, पूर्वीय संस्कृतिहरू र पूर्वीय जीवन पद्धतिका आधारमा साहित्यलाई, हेर्ने एउटा दृष्टिकोणको प्रस्ताव गरिएको हो। अब उत्तर आधुनिकता सम्बन्धि जुन प्रश्न गर्नुभयो– त्यो उत्तरआधुनिकता चाहिँ पश्चिमी संसारबाट, खास गरी युरोप, अमेरिका तिरबाट आएको छ।

पाश्चात्य साहित्यबाट ………

पाश्चात्य साहित्यबाट आएको छ। त्यो गलत र खराब कुरा हो भनेको होइन। त्यो आउँदा जति पनि अहिले विश्वविद्यालयले पढाइरहेका साहित्यका सिद्धान्तहरू, मान्यताहरू जति छन्, ती जम्मै पश्चिमी साहित्यका सिद्धान्तका आधारमा हाम्रो यताको साहित्यको पनि पढाइ हुन्छ। हाम्रो लेखाइ पनि त्यसैको आधारमा हुन खोज्दछ।

मैले एउटा कथा लेखें भने, मानौं यौनको बारेमा मैले एउटा कथा लेखें भने समीक्षकले के भन्छ भने– कृष्ण धरावासीको यो कथा चाहिँ फ्रायडवादी कथा हो। अर्थात हामीले जे लेख्छौं त्यसलाई हेर्ने दृष्टिकोण चाहिँ पश्चिमी छ। दृष्टिकोणको विकास भने उताबाट विकास भएर आएको छ। त्यसरी त्यस्ता कुराहरू यता आउनु हुँदैन भनेको होइन, त्यो एउटा प्रविधि हो, ज्ञान हो, आयो के नराम्रो भो त।

तर आउँदा आउँदा यति धेरै आयो कि हामीसँग चाहिँ केही नै छैन हामी चाहिँ जङ्गलमा छौं, हाम्रो कुनै संस्कृति पनि छैन, र अब हामी केही सिक्दैछौं भने उनीहरूले उताबाट पठाएको कुराहरू बुझेर भर्खर मान्छे हुन सक्दैछौं। जस्तो मानसिक स्थितिमा हामीलाई उत्तर आधुनिकताले पुऱ्याइरहेको छ। जे कुरा पनि उतैको असल, उताबाट आएको विचार राम्रो, दृष्टिकोण राम्रो, उताबाट आएको मान्यता राम्रो,………….

आयातीत कुरालाई मात्र हामीले मान्यता दिइरहेका छौं……..

हो नि । विश्वविद्यालय त्यही पढाउँछ, हाम्रो बुद्धिजीवीहरू त्यसैमा भिडेका छन्। आफूलाई उत्तर आधुनिक भनाउन सक्नु भनेको महान काम गर्न सकेको छु जस्तो ठान्नुको अवस्थामा हाम्रो बौद्धिकता पुगेको अवस्थामा छ। तर, लीला लेखनले चाहिँ के गर्छ भन्दा– उत्तरआधुनिकताले लिएर आएका धारणाहरू पनि लिन्छ, जस्तो–मार्क्सवादको आइडोलजीको सिद्धान्त डेरिडाको विनिर्माणवाद फ्रायडका यौन मनोवैज्ञानिक धारणा आदि…..

अर्थात विभिन्न वादहरूको एउटा सङ्कलन हो लीला लेखन?

अझै म अघि जान्छु …… । हो त्यस्ता वैचारिकताहरू पनि यसले लिएको छ। तिनमा भएका राम्रा राम्रा कुराहरू पनि। जस्तो सवरीले रामको स्वागत गर्दै मीठो फलको रूपमा बयर दिन खोज्दा मीठो मीठो बयर दिन खोज्दा उनले मीठो बयर पत्ता लगाउन टोक्दै जिब्रोले चाख्दै मीठो र अमिलो छुट्याइन्। राम आए पछि मीठा बयरहरूको डालोको बयर उनले रामलाई दिइन्।

लक्ष्मणले ती बयरलाई हेरेर भने– ‘दाई ! यी बयर त जुठा छन् ।’ रामले भने– ‘भाइ यी जुठो होइन, मीठो हो ।’ लक्ष्मणले फेरि सोधे– ‘हेर्नोस् न सप्पै टोकेका छन्। यी कसरी मीठा हुन्छन् ? रामले भने– मीठो छ कि छैन कसरी थाहा पाउनु नचाखीकन। उनले यो टोकेको भनेको हामीलाई जुठो ख्वाउन होइन, मीठो ख्वाउने उद्देश्य हो। त्यसैले यसलाई हामीले जुठो मान्ने होइन, मीठो मान्नु पर्छ।

यसको अर्थ के हो भने– उत्तर आधुनिकताले पनि पढाएका राम्रा राम्रा चीज हामीले लिएका छौं। हामीले थप्यौं के छ भन्दा पूर्वीय जीवन र शैलीका हामीसँग भएका कुराहरू त्यसमा थप्यौं। बुद्धिजम्का शुन्यवादका कुराहरू थप्यौं, शङ्कराचार्यका मायावादका कुराहरू थप्यौं, जैन स्यादवादका कुराहरू थप्यौं। उपनिषदका कुराहरू थप्यौं, पुराणका मिथकहरू र विम्व थाप्यौं। यी जो थप्यौं यी त हाम्रा हुन नि। हाम्रो संस्कृति र जीवन पद्धतिमा घुलेका यिनका पनि, तिनका पनि राम्रा, राम्रा एकठाउँ मिलाउँदा यो एक किसिमको नयाँ खालको लेखन वा बोधको चेतनाको रूपमा यसलाई बनाइयो। तर यो बनाउनु पछि त्यस्तो कुनै ठूलो उद्देश्य, अर्थात यसलाई कुनै ‘कल्ट’ वा सम्प्रदाय वा समूह जस्तो बनाउँ, लीला लेखकहरूको कुनै ठूलो टोली होस्, प्रहरी वा सेनाको बटालियन जस्तो बनोस वा यो देशभरि लीला लेखन मात्रै गरून, अरू केही नगरून– यस्तो खालको कुनै उद्देश्य छैन।

त्यसैले यो कुनै वाद पनि होइन, आन्दोलन पनि होइन। यो केवल एउटा लेख्ने प्रविधि हो, शैली हो। त्यो शैली मन पराउनेले त्यसै गरी लेख्छन्, मन नपराउनेले लेख्दैनन्। तर सामान्य अन्य लेखन भन्दा यस लेखनमा चाहिँ के हो प्राविधिक भिन्नताहरूले गर्दा पढ्नेहरूले नयाँ स्वाद पाउँछन्।

अब जोसिलो कुरा चाहिँ के हो भन्दा खेरी हामीले साँस्कृतिक रूपमा, साँस्कृतिक मनोविज्ञानको अध्ययन गरेनौं भने, हामीले लेखेको कुनै पनि लेखनले जीवनको अभिव्यक्तिको सुन्दरतम प्रस्तुति हुन सक्दैन। त्यो जीवनको नजिक आइनै पुग्दैन। संसारको जुनसुकै विचार मान्यता, दृष्टिकोण वा सिद्धान्तमा त्यसको संस्कृतिको छाप हुन्छ, इतिहासको छाप हुन्छ, धार्मिक विश्वासहरूको छाप हुन्छ।

उत्तर आधुनिकतामा जे विकास भएर आएको छ, त्यो देखिँदा पूर्ण आधुनिक भएर देखिएता पनि भित्र पस्नु भो भने पश्चिमबाट विकसित भएर आएको यस उत्तरआधुनिकता भित्र हामी इसाइपन प्रस्ट देख्न सक्ने छौं। तिनका साँस्कृतिक मान्यताहरू त्यहाँ भेटिन्छन्। यदि हाम्रो संस्कृतिमा त्यसलाई जस्ताको तस्तै ल्यायौं भने त्यसलाई हामी बुझ्न सक्दैनौं।

जस्तो फ्रायडवादको कुरा गरौं– बिसौं शताब्दिमा सिग्मण्ड फ्रायडले यौनको विश्लेषण गरे। यता चार हजार वर्ष अगाडि नै हामीसँग वात्सायनका कामसूत्र जस्ता ठूला ठूला कृतिहरू छन्। ती पनि पूराणबाटै झिकेका हुन्। हजारौं वर्ष अघि नै यौनका बारेमा विषद अध्ययन गरिएका ठूला ठूला ठेली हामीसँग उतिबेलैदेखि छन्।

त्यसो भए हामी पूर्वकाले फ्रायड आएपछि मात्र बुझ्यौ होला त?  हाम्रा अग्रजहरूले फ्रायडभन्दा अघि नै यौनमाथि काम गरिसकेका थिए त! त्यसो हुनाले अब हामीले मन्दिरका टुँडालहरू हेर्दै– ‘आहा ! क्या फ्रायडवादी टुँडाल’ भन्यौं भने हाम्रो चाहि मूल्याङ्कन के हुने भो त ? फ्रायडवादी चिन्तनको भित्री चुरो चाहिँ यहुदी संस्कृतिबाट उठेर आएको छ। सिग्मण्ड फ्रायड आफैं यहुदी थिए। यहुदी धर्म पुरानो धर्म हो। त्यही यहुदी धर्मबाट इसाई धर्म जन्मयो। त्यही यहुदी धर्मबाट इस्लाम धर्म जन्मियो। जस्तो कि हिन्दु सनातनबाट बुद्ध धर्म जन्मिएको छ।

यहुदी धर्मबाट, इसाई, मुसलमान धर्म जन्मियो। ती धर्महरूमा र हाम्रो पूर्वीय संस्कृतिमा यौनलाई हेर्ने दृष्टिकोण फरक छ नि। पूर्वीय सबै संस्कृतिहरूको भाऊ संस्कृतिका रूपमा स्थापित भएको सनातन संस्कृति हो। यसैबाट यताका सबै आदिवासी जनजातिहरू पनि अनेकौं कुराहरू सहजै सरेर गएका छन्।

माऊ संस्कृति कै प्रभावमा साना संस्कृतिहरू पनि हुर्किँदै जाने हुनाले पश्चिमी इसाइ वा मुसलमान संस्कृतिको यौन संस्कृति भन्दा यता त्यो कता हो कता फरक छ। हाम्रामा त हाड नाताका दृष्टिकोणहरू छन्। यता त आमा पट्टि र बाबु पट्टिको कति पुस्ता तर्काएर मात्र विवाह गर्न मिल्छ।

प्रेम प्रस्ताव नै गर्नु पर्दा पनि पहिला केटीको सम्पूर्ण पारिवारिक जानकारी लिएर कतैबाट नाता नपर्ने वा संस्कृतिले स्वीकृत दिने स्थिति रहे मात्र प्रेम प्रस्ताव गरिन्छ। रूप हेर्ने वित्तिकै हतारिएर त्यस्तो प्रस्ताव केटा वा केटी कसैले पनि तुरून्त निर्णय गर्दैन। तर उता त हाम्रो जस्तो यति कठोर नियम छैन। उनीहरूको त परिवारको सानो घेरो भित्रै पनि विवाह हुन्छ।

परिवारको सानो घेरा भित्रै पनि विवाह हुन सक्ने संस्कृति भित्रका सिग्मण्ड फ्रायडले आफ्नो यौन विश्लेषणमा बाबु छोरी वा आमा छोराका बीचमा पनि अवचेतन अवस्थामा यौन आकर्षण हुन्छ भनेको त उनको संस्कृति भित्रको कुरो पो भनेको त! हाम्रो पूर्वीय सनातनमा पनि मिल्ने कुरो भनेको हो र? कान्छा काकाकी राम्री छोरी छ यसपाली विहे गर्छु भन्ने भाव उत्पन्न हुन्छ त हामीमा?

त्यस्तो भाव उत्पन्न भयो भने पो त्यसलाई बल पूर्वक दवाउनु पर्छ र दमित चेतना हुन्छ त, उत्पादन नै नभए पछि कसरी दमित हुन्छ। त्यसैले हामीले कुनै यौन धारणाबारे कुरा गर्दा फ्रायडवादी आँखाले मात्र हेरेर हुँदैन। हाम्रो संस्कृतिसँग कहाँ मिल्छ त? त्यसैले हामीले हाम्रै सांस्कृतिक मनोविज्ञानका आँखाले जीवनलाई हेर्नु परेन र ! सार्विक सिद्दान्त अनुसार संसार भरी एउटै सिद्धान्त लागु हुन्छ भनेर हामीले बुझ्यौं भने त्यो मान्यता अब गलत हुन्छ।

यहाँले लीला लेखनको बारेमा यति वृहत चर्चा परिचर्चा गरिरहँदा, उत्तर आधुनिकतासँग लीला लेखनको तुलना गरिरहँदा, पाश्चात्य र पूर्वीय साहित्यको कुरा गरिरहँदा घुमाइ फिराई यहाँले अध्यात्मवाद तिर आफ्नो कुरालाई मोडिरहे जस्तो लागिराखेको छ। के लीला लेखन कृष्ण लीलाबाट आएको हो ? वा लीला लेखन भन्ने वित्तिकै अध्यात्मवादी साहित्यिक प्रवृत्ति हो कि!

लीला लेखनको बारेमा कुराहरू हुँदा खेरी समीक्षकहरूले पनि तपाईँले गरेका प्रश्नहरू जस्तै जिज्ञासा उठाएका हुन्छन्। तर आधार स्रोत चाहिँ के हुन्छ भने, लीलालेखन मात्रै आध्यात्मिक होइन नि, उत्तरआधुनिकता पनि आध्यात्मिक हो। त्यो त्यसको धागोको डोरो पनि समात्दै गयो भने इसाइपनमा पुगेर टुँगिन्छ।

त्यहाँ पनि लुकेको धार्मिकता त छ नि। लीलालेखनमा पनि संस्कृतिलाई समात्दै गए अध्यात्ममा त पुग्छै पुग्छ। तर लीला लेखनको उद्देश्य अध्यात्मलाई प्रमाणित गर्नु, ईश्वरीयतालाई प्रमाणित गर्नु, अन्धविश्वासतिर फर्केर जानु, मन्दिरहरू स्थापना गर्नु, देवताहरूको पूजा र भजन गर्दै हिँड्नु, स्वर्गको कल्पना गर्नु, आदि कुनै कुराहरू पनि लीला लेखनका उद्देश्य होइनन्। लीलालेखन पूर्ण भौतिकवादी चेतना हो ।

तर तपाईँ अध्यात्मवादको वकालत गरिरहनु भएको छ।

त्यसो भन्दा पनि, हामीले अरूलाई बुझाउनु पर्दा, उदाहरण दिनु पर्दा ती मिथकहरूको प्रयोग मात्र गरिएको हो।

सबै उदाहरणहरू यहाँले धार्मिक ग्रन्थहरूसँग जोडेर ल्याइरहनु भएको छ। सांस्कृतिक पक्षहरूसँग जोडिरहनु भएको छ………….।

त्यो चाहि किन जोड्नु पर्छ भने नि …….. । हजारौं वर्षदेखि हामी हिँडेर आएको संस्कृति नै त्यही हो। हाम्रो मान्यता त्यही हो। हामीले यी कुराहरू नजोडे पनि त्यही नै हुन्छ। मान्छे जति सुकै आधुनिक भए पनि भित्रै भित्रै ऊ आध्यात्मिक गतिविधिमा संलग्न भइरहेको भेटिन्छ। कति ठूलाठूला मार्क्सवादी हुँ भन्नेहरू पनि पूजा गरिरहेका, ब्रत लिइरहेका भेटिन्छन्। सबभन्दा भौतिकवादी र आधुनिक चेतनाले भरिएका हुन्छन् मार्क्सवादीहरू भन्ने चलन छ नि । तर उनीहरू पनि त्यसैतिर आकर्षित भेटिन्छन् त!

सको वैज्ञानिक पक्षलाई आधार मानेर लिएको हुन सक्छ कि …………. ।

जे होस् न ! तपाईँले ठूली एकादशीको ब्रत लिनु भयो भने, त्यो ठूली एकादशीको परिभाषा जोडेर हेर्दै जाँदा त अध्यात्म मै त पुगिन्छ नि। तुलसीको पूजा गर भन्छ, बिष्णुको आराधना गर्नु भन्छ। हैन र ? त्यसो त डा.बाबुराम भट्टराईले पनि त आमालाई केवल कार चढाएर …………… भगवतीको दर्शन गराउन पुऱ्याउनु भो नि त मन्दिरमा।

डा. भट्टराईले पो मन्दिरभित्र गएर घण्टी हल्लाउनु भएन होला त तर आमाकै चित्त बुझाइदिन भए पनि त मन्दिर त जानु पऱ्यो नि। त्यसो त उहाँले गोर्खा दरवारका पुरेतको हातबाट आर्शिवाद थापेर दक्षिणा चढाएकै हो। जनमैत्री अस्पतालमा लगाएको श्रीमद्भागवत पूराणमा पुगेर पुरेतको टीका र आर्शिवाद थापेकै हो। क.प्रचण्डले पनि बराह क्षेत्रसम्म पुगेर आफ्ना ग्रह दशा शान्त गर्न भैंसी पूजा गरेकै हो।

तर यी कुरा भनेका संस्कृति हुन्, धर्म होइनन् । डा.भट्टराई र क.प्रचण्डलाई धर्ममा विश्वास थियो, उहाँहरू पुरातनवादी हुनुहुन्थ्यो, रूढ धार्मिक हुनु हुन्थ्यो भनिएको होइन। डा.भट्टराई आफू आध्यात्मिक नभए पनि उहाँको आमा त हुनुहुन्थ्यो नि त। आमाको चित्त बुझाउन।

आमाबाबुको चित्त बुझाउनु पनि हाम्रो संस्कृति हो….

अरूको चित्त बुझाउनु पनि त हाम्रो संस्कृति हो नि। त्यो संस्कृति जाँदा जाँदै कहिले कता, कहिले कता हुँदै मन्दिर तिर पनि पुग्छ। मन्दिरमा पुगेर मैले घण्टी हल्लाइनँ भने पनि मन्दिर परिसरमा त पुगे नि! त्यसैले संस्कृति, अध्यात्म आदि भनिने कुराहरू त्याज्य होइनन्। यो बुझाइ हाम्रो गलत छ।

संस्कृतिलाई नै बुझेनौं भने त हामी नै रहन्नौ नि। हामीले बाबुलाई बाबु मानेको पनि संस्कृतिले हो आमालाई आमा मानेको पनि संस्कृतिले नै हो। कुनै पनि साहित्यलाई हामीले लिँदा खेरी साँस्कृतिक पक्षलाई पनि उत्तिकै महत्व दिएर हेर्छौ। अनि अध्यात्म साहित्य पनि संस्कृति कै एउटा पाटो मात्र हो। संस्कृति पट्टिबाट आउन हामीलाई सजिलो हुन्छ। लीलालेखनमा त्यसलाई हामी किन लिन्छौं भने उदाहरण दिन हामीलाई सजिलो हुन्छ। जस्तो कृष्ण सभामा पस्दा……. को उदाहरणले हामीले जति सजिलै बुझाउन सक्यौं नि, अर्को उदाहरणबाट त्यति सजिलो बुझाउन गाह्रो थियो। उदाहरणका लागि हामीले आध्यात्मिक मिथकहरूको प्रयोग गऱ्यौं तर त्यसैलाई प्रमाणित गर्न र मानिसलाई आध्यात्मतिर फर्काउन चाहिँ त्यसो गरिएको होइन।

जे जस्ता उदाहरण आए पनि तपाईँहरूले स्पष्ट पार्न खोजेको कुरा नेपाली साहित्यमा भित्रिएको लीला लेखन प्रवृत्तिका बारेमा हो। लीला लेखनको प्रयोग साहित्यका कुन कुन विधामा हुन सक्छ?

अहिले हामीले प्रयोग गरिरहेकोमा सबभन्दा सजिलो चाहिँ आख्यानमा हुँदो रहेछ। कथा, उपन्यास र नाटकमा। अझ सबैभन्दा सफल त नाटकमा हुन्छ।

विचित्रता देखाउनु पर्ने हुनाले ?

हो ! विभिन्न पात्रहरूका माध्यमबाट। एउटै विषयलाई विभिन्न पात्रहरूको माध्यमबाट, एउटै सम्वादलाई पनि विभिन्न ढङ्गबाट मनाउन सकिन्छ। त्यसैले सफलता चाहिँ नाटकमा हुन्छ तर अहिले यो नाटकमा भन्दा पनि कथा र उपन्यासतिर बढी केन्द्रीत भएको छ।

कसरी बुझने यो साहित्यमा लीला लेखनको प्रयोग भएको छ भनेर। सामान्य पाठकले खुट्याउन सक्ने आधारहरू केके हुन सक्छन्?

केही स्वभावहरू छन् लीला लेखनका। जस्तै लीला लेखन अन्तर्गत लेखिएका कृतिहरूमा कुनै पनि पात्रहरू कमजोर हुँदैनन्। परम्परागत लेखनमा चाहिँ एउटालाई नायक बनाउने, अरू सबै नायकका सहयोगी पात्र हुन्छन्। अरू पात्रले कमजोर कमजोर संवाद बोल्ने सजिला सजिला भूमिका निर्वाह गर्ने, नायकलाई चाहि ठूला ठूला, कडा, कडा संवादहरू बोल्न लगाउने, वीर वीर काम चाहिँ नायकले मात्र गर्न सक्छ।

यो परम्परागत लेखन हो। लीला लेखनमा प्रत्येक पात्र नायक हुन्छ। प्रत्येक व्यक्ति आफ्नो जीवनको नायक हो। यथार्थतामा पनि प्रत्येक व्यक्ति उसको जीवनको नायक नै हुन्छ। भीखारी पनि उसको जीवनको नायक हो, ड्राइभर उसको जीवनको नायक हो। त्यसैले हामीले लेख्ने कृतिमा जति पात्र आउँछन्, उसले पाएको भूमिका भरि उही नायक हुन्छ। उसले एक पृष्ठको भूमिका पायो भने त्यति भरिको नायक उही हो।

दश पृष्ठको पायो भने पनि उही हो। त्यस कारण लीला लेखनमा चाहिँ प्रयोग भएका वा भूमिकामा आएका पात्रहरू एउटा कमजोर अर्को बलवान एउटा ठूलो अर्को सानो हुँदैन। सबै पात्रहरू नायकीय भूमिकाले खडा भएका हुन्छन्। त्यसैले यस लेखनमा बहुनायकत्वको विशेषता रहेको हुन्छ। एउटै कथामा पनि थुप्रै नायकहरू हुन्छन्। लीला प्रविधिमा लेखिएका कृति भित्र पात्रहरूको निकै ठूलो भीड पनि हुन्छ।

पात्रहरूको, संवादहरूको घटनाहरूको भीड हुन्छ। सांसारिकता देखाउनु पर्दा त्यहाँ भित्रका विविधता देखाउनु पऱ्यो नि त। लीलाको सही परिभाषा त छैन, यसको अर्थ त खेल हो। हैन तिमीहरू दुईजना बसेर यहाँ के लीला गर्दैछौ हौ ? भन्दा बुझिने कुरा अर्कै छ, ‘तँ त निकै लीला गर्छस् नि, के हो तेरो पारा ?’ भन्दा बुझिने अर्थ अर्कै छ।

यसको खासै अर्थ त छैन तर हाम्रो पूर्वीय संस्कृतिमा ‘लीला’ शब्दलाई खेलको रूपमा, रमाइलोको रूपमा प्रयोग गरिने चलन छ। त्यसो भए यो लीला शब्द नै चाहिँ किन राखेको त भन्ने प्रश्नहरू पनि छन्। यो शब्द चाहिँ शिक्षित, अशिक्षित, पठीत अपठीत जसले पनि सजिलै बुझ्ने गर्दछन्। किनकि हाम्रो संस्कृतिमा यो शब्द साह्रै राम्ररी धुलेको छ। त्यसो त यो प्रविधिको लागि अर्कै शब्द भनेको भए पनि हुन्थ्यो, हुन त।

त्यसैले यसभित्र बहुनायकत्व र वैयक्तिकत्वलाई प्रधानता दिइएको हुन्छ। सकेसम्म लीला लेखनका कृति भित्र पात्रहरू मर्दैनन्। अनिवार्यताले ती मरे पनि उद्देश्यपरक लेखनद्वारा ती मारिँदैनन्।

यी आधारमा यो लीला मिसिएको लेखन हो भनी पाठकले छुट्याउन सक्छन्…..।

ठयाक्कै छुट्टिन्छ भन्न त सकिँदैन तर धारणामा किनभने लीलाले चाहिँ अवतारवादको पनि कुरा गर्छ।

जस्तो प्रगतिवादी सिर्जनाहरू अनि गैरप्रगतिवादी सिर्जनाहरू उत्तरआधुनिकतावादी सिर्जनाहरू, जसरी स्पष्टरूपमा छुट्टिन सक्छ त्यसरी लीलालेखन छुट्टिन सक्दैन।

उत्तरआधुनिकतावादी लेखन कहाँ त्यसरी छुट्टिन्छ?

प्रगतिवादी सिर्जनाहरू त छुट्टिन्छन् नि।

साँच्चैको प्रगतिवादी सिर्जना त छुट्टिन्छ तर त्यहाँ पनि प्रगतिशील र प्रगतिवादी दुई धार छन्। प्रगतिशील चाहिँ अलग्गै छुट्टिँदैन। प्रगतिवाद चाहिँ मार्क्सवादसँग जोडिएको हुनाले, त्यो अलिक सैद्धान्तिक रूढतामा बाँधिएको लेखन हुनाले त्यो छुट्टिन्छ।

यसरी छर्लङ्गसँगले चाहिँ लीलालेखन छुट्टिदैन ……. ।

छुट्टिँदैन। यो चाहिँ एउटा धारणामा आउँ । बोध पट्टिबाट त्यसलाई हेरिन्छ।

यो भौतिक धाराको लेखन हो भन्दै हुनुहुन्थ्यो, अहिले फेरि भन्दै हुनुहुन्छ बोध मात्रै गर्ने, आत्माले चिन्ने मात्रै कुरा हो यो।

हामीले यसलाई साहित्यमा मात्र होइन, हाम्रो दैनिक जीवनमा हामीले जे–जे चिन्छौं त्यो बोध नगरी त चिन्दैनौ नि। यो भैंसी हो भनेर चिन्न पनि त त्यसको पूर्व ज्ञान वा बोध भएको हुनु पर्छ नि नत्र भैंसी र गाईलाई कसरी छुट्टयाउनु ! बोध भनेको त चिन्नु हो । लीला बोध भनेको कुनै घटना वा वस्तु विशेषको चरित्रलाई चिन्नु भनेको बोध गर्नु हो।

तर भित्री चेतनामा पुग्नु भन्दा अगाडि त आँखाले देख्नु पर्छ पहिला, आँखा छुट्याउनु पर्छ नि। भौतिकवादले त त्यो भन्छ। आँखाले देखेका वा इन्द्रियले बुझेका कुरा मात्र सत्य हुन भन्छ नि भौतिकवादले त। यहाँ भक्त हुन्छ यो भौतिकवादी लेखन हो, अनि फेरि भन्नु हुन्छ बोध गरे पछि मात्र हरेक कुरा चिनिन्छ। पहिला आँखाले देख्छ कि चेतनाले देख्छ?

पहिला पहिला भौतिकवादीहरू आँखाले देखेको सत्य मात्र सत्य हो भन्थे तर अहिलेको भौतिकवाद र विज्ञानले आँखाले देखेको कुरालाई सत्य मान्दैन। बोधले मात्र सत्य थाहा पाइन्छ भन्छ। आँखाले देखेको सत्य किन हुँदैन भने हामीसँग ५ वटा इन्द्रियहरू छन्। यी सबै इन्द्रियले बोध गरेदेखि पर पनि पराविज्ञान भन्ने आइसक्यो अब।

त्यो पराविज्ञानले चाहिँ के भन्छ भने– इन्द्रिय भन्दा पर पनि जे छ त्यो पनि विज्ञान नै हो। सापेक्षित छ नि त सबै कुरा। यो टेबल साह्रो छैन नि। यो टेबल भन्दा साह्रो फलाम भइसके पछि फलामलाई यो टेबल साह्रो छैन। मेरो हात गिलो भएकोले पो मलाई साह्रो भयो। हामीले टेबल जहिले पनि साह्रो हुन्छ भनेर भन्यौं भने हाम्रो त्यो भनाइ नै गलत हुन्छ।

विज्ञानले टेबलको सदाकालको साह्रो पनलाई स्वीकार गर्दैन। त्यसैले बोध भन्ने कुरा कुनै आत्मिक वा धार्मिक नभई वैज्ञानिक कुरा नै हो। त्यसैले हाम्रो इन्द्रियले बोध गर्नु भन्दा पर पनि सत्यहरू छन्। चार अरब प्रकाश वर्ष टाडाबाट एउटा तारा पृथ्वीमा ठोकिने गरि आइरहेको छ भनेर वैज्ञानिकहरू भन्छन्।

चार अरब प्रकाश वर्ष भनेको अनन्त भयो। हाम्रो गणनाका अङ्कले भ्याउँदैन। त्यो तारा पृथ्वीमा चार अरब प्रकाश वर्ष पछि ठोकिन्छ अहिले हाम्रो लागि पो त्यो चार अरब प्रकाश वर्ष भनेको कत्ति टाडा हो कत्ति त।

तर कुनै एक दिन त त्यो चार अरब प्रकाश वर्ष पुग्छ नि। पुगेको दिन त ठोकिन्छ। तर आज त हामीलाई यो कुरा विश्वास गर्न मन लाग्दैन। तर वैज्ञानिकहरूले त्यति टाडा पनि त नापिसके नि त। पृथ्वी र सूर्यको दुरी पन्ध्र करोड कि.मी. टाडा भनिएको छ नि! यो नाप कसैले जञ्जीरले नापेर पत्ता लगाएको हो र ? पृथ्वी मै बसिबसी नापेको हो।

त्यो नापकै प्रामाणिकताका आधारमा उडाइएका रकेटहरू ठीक ठीक समयमा विभिन्न ग्रहहरूमा उत्रिरहेका छन् त! पृथ्वीमा बसीबसी गरिएको पो नाप नमिल्ने पर्ने नि। त्यसैले विज्ञान अब हाम्रा इन्द्रियका ज्ञान र बोध भन्दा पनि परतिर गइरहेको छ। त्यसैले बोध भन्ने कुरा वैज्ञानिक नै भए पनि यसलाई बुझ्न अर्को सहायक कुरालाई समेत बुझेको हुनुपर्छ। त्यसैले त्यसलाई बुझाउन जता जताबाट जे जे ल्याउन सकिन्छ ती सबै ल्याउने गर्दछौं। अर्को कुरा के छ भने बोध मात्र गर्दा मान्छे दार्शनिकतातिर पुग्छ, लेख्यो भने ऊ लेखक पनि हुन्छ, सान्सारिक पनि हुन्छ। त्यसैले हामी चाहिँ लेखक भएकाले लेखन भन्छौं, लेखन नगर्नेहरूले बोध गर्छन् र दार्शनिक हुन्छन्।

यो आफैंमा एउटा दर्शन पनि हो?

हो, दर्शन पनि हो। लेख्दा लेखन हुन्छ। हामी चाहिँ लेखक भएको हुनाले दर्शनपट्टि जाँदैनौं। हामी चाहिँ किताव लेखेर बस्छौं। अर्को नलेखकले त यसलाई दर्शनका रूपमा ग्रहण गरेर जीवन चलाउने एउटा शैली पनि बनाउन सक्छ।

अघि उत्तर आधुनिकताबारे पनि चर्चा गरियो। उत्तर आधुनिकता र लीलाका बीचमा पनि बहसहरू छन्। बहसहरू कस्ता छन् भने, जस्तो रोला बाथले लेखकको मृत्यु भन्नु भयो। त्यसमा उहाँले के भन्नु भयो भने जब कृति प्रकाशित हुन्छ र कृति पाठकको हातमा पुग्छ त्यसपछि लेखकको अधिकारबाट त्यो बाहिर हुन्छ र लेखक मरे सरह हुन्छ।

लेखकको शरीर नै मर्छ भनेको होइन, लेखकको अधिकारबाट कृति सार्वजनिक भएपछि लेखकले जब त्यसमा कुनै संशोधन गर्न पाउँदैन, सुधार गर्न पाउँदैन, स्पष्टिकरण दिन पाउँदैन, तब लेखक मरे सरह हुन्छ। कृति नै जिउँदो भएर कुद्न थाल्छ है अब। गल्ती भए पनि, दण्ड भए पनि, पुरस्कार भए पनि त्यो कृति हिँडिसक्यो, त्यस कारण लेखकको मृत्यु हुन्छ भनेर रोला बाथले भने।

उत्तरआधुनिकताले यो भनाइलाई खुबै महत्व दिन्छ। त्यतापट्टिबाट हामीलाई त्यो कुरा नयाँ लागेको छ। तर त्यसैलाई हामीले पूर्वीय साहित्य र संस्कृतिबाट हेऱ्यौं भने– त्यो हाम्रा लागि नयाँ कुरै होइन किनभने रामायण महाकाव्य हो, त्यसलाई वाल्मीकिले लेखे। राम भनेको रामायण महाकाव्यको नायक हो नि, सीता नायिका हो।

यता वाल्मीकिले लेखेको महाकाव्यका नायक र नायिका यता देवता भएर मन्दिरमा सजाइए। रामसीताको पूजा हुन्छ, भक्ति गरिन्छ। राम जन्मभूमि, बावरी मस्जिदका कति मान्छे मर्छन् मर्छन्। वेदब्यासले महाभारत लेखे। राधा र कृष्णको कत्रो कुरा छ? कति भजन र आराधनाका सामग्रीहरू छन्?

मुक्तिको लागि तारणहार नै मानिन्छ कृष्णलाई, तर त्यो कृष्णले गीता पुस्तकमा अर्जुनलाई युद्धभूमिमा युद्ध लड्न प्रेरित गरेको भनाई लेखिएको जुन किताब हो त्यसलाई श्रीमद् भागवत गीता भनिन्छ।

त्यो भनेको महाभारत भन्ने कृति भित्रको एउटा अध्याय हो। त्यो सिङ्गो महाभारत किताब नै व्यासजीले लेख्दैछन् भने भगवानौं वाच भगवान कृष्णले भन्नु भो अर्जुनलाई ……. भन्ने कुरा चाहिँ कसले लेखेको नि? वेदव्यासले लेखेको नि। कृष्णले भन्नु भो ‘हे ! अर्जुन !’ पनि त व्यासले नै लेखेको नि।

अर्थात भद्भागवत गीतामा भनिएका जति पनि महान कुराहरू छन्– ती जम्मै कुरा त वेद व्यासको दिमागबाट आएका कुरा हुन् नि त! सिङ्गै गीता नै वेदव्यासको दिमागबाट उत्पन्न भएको छ। कृष्ण र अर्जुन त युद्ध भूमिका पात्र पो हुन त। चरित्र पो हुन् त। ती त मेरो कुनै उपन्यासका दुईटा पात्रले गरेको सम्वाद जस्तै हुन्। हाम्रा पूर्वीय साहित्यमा पात्रको त्यत्रो ठूलो स्थान छ, लेखकको के छ? त्यसो भए हाम्रा वेदब्यास झन् कहिले मरे? हाम्रा बाल्मीकि कहिले मरे? यी ग्रन्थहरू तीन हजार देखि चार हजार वर्ष पुराना हुन् भनिन्छ भने हाम्रा लेखक त उतिबेलै मरेका रहेछन् त !

हामीले भन्न पो जानेनौं त, उनीहरूले भन्न जाने। उनीहरूले भनेको सुनिसके पछि यसो विचार गर्दा उनीहरूले लेखकको मृत्यु भयो भनेको पचास वर्ष भयो, तर हाम्रा लेखक त चार हजार वर्ष पहिले नै पो मरेछन् त दाइ ! भनेर भन्न हुने कि नहुने?

प्राकृतिकताको कुरा गर्दा, पुरातनको कुरा गर्दा अथवा यसलाई सांस्कृतिक सम्पत्तिको रूपमा लिने भए उनले पचास वर्ष अघि भनेको कुरा नै हामीसँग चार हजार वर्ष अघि देखि नै रहेछ भन्दा के गल्ती हुन्छ? मानव सम्पताकै प्रतिस्पर्धाको कुरा गर्दा पनि तिमी भन्दा हामी झन् धेरै पुरानो सभ्यतालाई सजिएका रहेछौं भनिएको पनि त हुन्छ।

अर्को कुरा, सोह्रौ शताब्दि तिर युरोपमा पृथ्वी घुम्छ भन्दा ग्यालिलियोलाई मार्न खोज्दै थिए। तँ कि यो पृथ्वी घुम्छ भन्ने सिद्धान्त फिर्ता लैजा, नत्र तलाई हामी मार्छौं भनेर त्यहाँका पोपहरू र सरकारले भन्यो।

नजरबन्दमा रहेका ग्यालिलियोले मर्नु भन्दा बहुलाउनु निको भने झैं उनले आफ्नो सिद्धान्त फिर्ता लिए। आजभन्दा चार सय वर्ष अघि युरोपमा ‘पृथ्वी घुम्छ’ भन्ने वैज्ञानिकलाई मार्न खोज्दै थिए तर हाम्रामा एउटा ठूलो ज्योतिषको किताब हुन्छ ‘मृगुसंहिता’ भन्ने। त्यो भृगुसंहिता भन्ने किताब नै पुराणहरू जत्तिकै पुरानो हो। त्यसमा नक्षत्रको गणना तथा नौ ग्रहकै गति र स्थितिको कुरा स्पष्ट छ र फल ज्योतिषका रूपमा पृथ्वीमा जन्मेका हरेक मान्छेको ‘कुण्डली’ त्यसमा भेटिन्छ।

उतिबेलै हाम्रा विद्वानहरूले त ग्रहका गतिहरूको अध्ययन गरि पृथ्वीले सूर्यको परिक्रमा गर्ने र अरू ग्रहहरूले पनि सूर्यले परिक्रमा गर्ने बारे अध्ययन गरि स्पष्ट उल्लेख गरेका छन्। फलानो दिन वा रात यति बजे देखि यति बजे सम्म सूर्य वा चन्द्र ग्रहण लाग्छ भने अनुसार आज पनि त लाग्छ नि। त्यो हिसाब त पूर्वीय ज्योतिषले त हजारौं वर्ष पहिल्यै गरेको रहेछ नि।

उतातिर चार सय वर्ष अघि पृथ्वी घुम्छ भन्दा डराउँदै थिए भने, हाम्रो त तीन हजार वर्ष पहिले नै ग्रहण लागेर, तारा, ग्रहहरूको गन्ती गरेर, मान्छेको जन्म मरण बारेको भविष्यवाणी नै गरिरहेका छौं त ! परम्पराका हिसाबले हेर्ने भए त्यो भा हामी कहाँ छौं? त्यसैले उत्तरआधुनिकताका नाममा जे पनि भेलवाढी जस्तो भएर आउने वित्तिकै हामीले त्यसलाई स्वीकार गरिहाल्नु पर्ने र हामीसँग केही पनि छैन, तिम्रै मात्र ठीक छ भन्ने कुरा रहेन।

त्यसैले लीला लेखनले चाहिँ हाम्रो सांस्कृतिक पक्ष ऐतिहासिक पक्ष, हाम्रो अस्तित्वको पक्ष, मनोविज्ञानको पक्ष, आदिलाई हाम्रो साहित्यबाट पनि लिएर आउनु पर्छ र उनीहरू भन्दा पृथक हुँदै हाम्रा पनि केही साहित्यिक दृष्टिकोणहरू छन् भन्ने कुरा उनीहरूलाई पनि हामीले दिनसक्नु पर्छ भनेर एउटा चुनौती स्वीकार गरिएको पनि हो।

र उत्तरआधुनिकतासँग लीला लेखनले लिने फरक मत भनेको यही हो । पश्चिमबाट फैलिरहेको बौद्धिक सामुन्डयबाट मुक्तिको प्रयत्न पनि हो यो। पहिले भूमिकब्जा गरि शासन गर्ने चलन थियो तर अब त्यस्तो स्थिति रहेन। अब दिमागलाई नै कब्जा गरे पछि भूमि कब्जा गर्ने परेन।

मानिस जहाँ बसेर पनि यदि उसले अर्को देशको आराधना गर्छ भने भइ गो नि। हामी पनि यही बसिबसी पश्चिमी विचार र दर्शनका प्रवक्ताका रूपमा काम गरिरहन्छौं भने मानसिक रूपमा दासताको स्वीकार त गरेकै भयो नि। चाहे मार्क्सवादका रूपमा होस् चाहे लोकतन्त्र, प्रजातन्त्र, मानव अधिकार, नारी मुक्ति, फ्रायडवाद, जुनसुकै रूपमा होस्। ती विचार र दर्शनका अन्ध प्रचारकका रूपमा हामी नै यहाँ दर्ता भयौं भने त्यो भन्दा ठूलो मानसिक दासता नै के होला त!

मानसिक दासता खडा गर्नका निम्ति सक्षम रहेका उताबाट प्रक्षेपित विचार र चेतनाहरू हाम्रो भाषा, संस्कृति र परम्परासँग मेल खाने कति नखाने कति भने छुट्याएर लिन र त्याग्नका निम्ति पनि त एउटा चेतनाको निकास त हुनु पऱ्यो नि ! हामीले पो लीलालेखन भन्यौं– सबैले लीला लेखन भन्नु पर्दैन नि।

त्यो केही नभने पनि त्यसका विरूद्धमा उभिने एउटा चेतना त हामीलाई चाहियो नि त! लीला लेखनको उद्देश्य एउटा कविता लेख्ने, उपन्यास लेख्ने वा एउटा कथा लेख्ने, पुरस्कार पाउने, ताली पिट्ने र मनोरञ्जन गर्ने मात्र होइन।

नयाँ पुस्तामा लीला लेखनको बोध कत्तिको छ भन्ने यहाँलाई लाग्दछ ?

अघि पनि कुरा भएको छ– यसको कुनै सम्प्रदाय बनाउने, भीड तयार गर्ने, समूह बनाउने, हामी मात्र लीला लेखक हौं, अरू होइनन् भन्ने खालको यसको कुनै सिमाना छैन। सिमाना नभइसके पछि यसमा कति जना लेखकहरू भए त भन्ने कुनै तथ्याङ्क पनि हुँदैन। यद्यपि अहिले मेरो जानकारीमा रहेको अनुसार पचास साठी वटा जति राम्रा राम्रा किताबहरू यस प्रविधिलाई स्वीकार गरि लेखिएका भेटिएका छन्। ती धेरै जसो कथा, नाटक, उपन्यास, निबन्ध, समालोचना र कविताहरूमा छन्। यी किताबहरू एकैतिरबाट मात्र नआएर विभिन्न जिल्लातिरबाट आएका छन्।

तपाईँ आफैंले चाहिँ यो प्रवृतिलाई अङ्गालेर लेखेका कृति कति होलान ? तपाईँका प्रकाशित सबै कृति लीला मै आधारित छन् ?

लीलाको धारणा अज्ञानतापूर्वक मसँग पहिले देखि नै थियो होला जस्तो लाग्छ अचेल । अहिले लीलाको नाममा हामी जे व्याख्या गरिरहेका छौं त्यस्तो चेतनाको बोध चाहिँ मसँग पहिले देखि नै रहेछ जस्तो लाग्छ। किनभने यो धारको चर्चा र अभ्यास गर्नु भन्दा अघि नै लेखिएका तथा छापिएका मेरा निबन्धहरूमा त्यसका छापहरू देखिन्छ।

ठ्याक्क भन्नुस् न कति वटा किताब चाहिँ यस लेखनमा आधारित होलान् ?

‘लीलालेखन’ शीर्षक मै एउटा पुस्तक २०५३ सालमा छापियो। त्यो इन्द्र ब. राईका कथाहरूको विश्लेषण गर्दै लीलाको सैद्धान्तिक विमर्श गरिएको किताब हो। त्यसपछि लीलाकै घोषणा गरि छापिएको किताब भनेको ‘शरणार्थी’ उपन्यास हो। शरणार्थी पछिका मेरा धेरै किताबहरूमा लीलालेखनको प्रयोग गरिएको छ ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया