भारतीय नेपाली साहित्य-संस्थाको आवश्यकता

Girl in a jacket

सरोकार

विजयकुमार सुब्बा 


भारतमा नेपाली भाषी समुदाय अल्पसङ्ख्यक समुदायमा पर्छौं । त्यसकारण यो समुदायको एकता र अस्तित्वको प्रश्न भावनात्मक होइन – वैज्ञानिक आवश्यकता हो । नेपाली जाति अथवा नेपाली समुदाय जे पनि भनौं – वास्तवमा चिनिने भाषाले हो । भारतमा । किनभने संस्कृति पनि आआफ्ना छन् – जातहरूका । सम्प्रदायहरूमा अलग अलग छौं । धार्मिक र राजनीतिक विश्वासहरूमा विभिन्न छौं हामी । छरिएर बसेका छौं विभिन्न प्रान्तमा ।

यी भिन्नताहरू छन् तर भाषाले हामी एउटा समुदाय हौं । मात्र भाषाले । यी सबै भिन्नताहरू बीच पनि अस्तित्वको निम्ति चाहिएको छ एकता । बौद्धिक समाजलाई यसको भाव विस्तार गरिरहनु आवश्यक नपर्ला ।  अल्पसङ्ख्यक र निर्बल जीवले आफ्नो अस्तित्व साथ साथ रहेर नै बचाइराखेका छन् । यो वैज्ञानिक तथ्य हो ।

डिस्कभरी च्यानल हेर्नेहरूलाई थाहा छ । जङ्गलमा भैंसीको बथानलाई छरपस्ट बनाएर एकलिएको एउटामाथि आक्रमण गर्छ बाघ । छरपस्टिएको जीव अधिक असुरक्षित हुने गर्छ जङ्गलमा । अचेत, निर्बल र एकलो जीवमाथि नै अधिक आक्रमण गर्दछन् शिकारीहरू । अनि मान्छेको इतिहासमा पनि पटक पटक यो दस्तुर चालु भएको हामी पढ्छौं । मान्छे विवेकशील प्राणी हो – अरू प्राणीको तुलनामा मात्र । तर मान्छेको शिकार मान्छेले नै गर्छ । मान्छेलाई मान्छेले नै आक्रमण गर्छ । देशले देशमाथि मात्र होइन – समुदायले समुदायमाथि पनि आर्थिक, राजनीतिक र सामाजिक आक्रमण गर्छ । कमजोर जातिमाथि बलियो जातिको अतिक्रमण र मनमानी चल्छ भन्ने कुराको प्रमाण यहाँ दिइरहनु पर्दैन । भारतमा नेपाली भाषी समुदाय त्यस्ता अतिक्रमण र मनमानीबाट कति सुरक्षित छ भन्ने प्रश्नको उत्तर पनि  अनेक घटनाहरूले दिइसकेकै हो ।

आर्थिक र सामाजिक सङ्घर्षमा छौं सबै । झेलिरहेछौं भारतीय अर्द्धपुँजीवादी, प्रतिक्रियावादी र प्रत्ययवादी लोकतान्त्रिक व्यवस्था । अनि स्वीकार गर्नैपर्ने तथ्य के पनि छ भने यो व्यवस्थामा ढाडिनेहरू र सुक्नेहरूको दुई वर्गले एउटै देश साझा गर्नपरिरहेको कुरो पनि सत्य हो । नेपाली भाषी समुदायको बहुसङ्ख्या ढाडिने वर्गमा पर्छन् कि सुक्ने वर्गमा पर्छन् भन्ने कुराको खोजी गरौं । तर यहाँ अब नेपाली भाषा बोल्ने जातिको अस्तित्व र सुरक्षाको सवालमा सोच्नु परेको छ हामीले । हामीलाई एक हौं भनेर चिनाउने भाषा मात्र हो । अघि सकियो भनेर । अनि त्यही भाषा पनि हामी आज सचेत भएनौं भने सुरक्षित कति वर्षलाई रहने हो भनेर अन्दाज गर्ने दिन सुरू भएको छ । अनि जुन दिन भाषा नै रहँदैन त्यो दिन हाम्रो जातिको नाम के रहला अथवा हाम्रो अस्तित्व बचाउने आधार के रहला ?

भारतमा नेपाली भाषाको व्यावहारिक वर्तमान अवस्था उति बिसञ्चो भएको दाबी गर्न नसकिए पनि सञ्चै छ भन्ने साहस पनि गर्न सकिन्न यथार्थलाई स्वीकार गर्ने बानी भएकाहरूले । शनैः शनैः नेपाली भाषा पढ्न नरूचाउने अथवा चासो नराख्ने विद्यार्थीहरूको सङ्ख्या बढिरहेको अनुभव गर्छन् नेपाली भाषा शिक्षकहरू । हाम्रो बोलीमा पनि अन्य भाषाका शब्दहरूको सहारा बिना गफ गर्न नसकिने अवस्था बढ्दो छ । अनि धेरै शिक्षित भनाउँदा अर्द्धशिक्षितहरूमा नेपाली पढ्नै आउँदैन, नेपाली बोल्नै आउँदैन भन्ने दास प्रवृत्ति पनि यही समुदायमा बढिरहेकै अवस्था छ । दास संस्कृति ।

भाषा बचाउनलाई बोल्ने, लेख्ने र पढ्ने प्रक्रिया प्रमुख छन् । बोल्ने कुराको उदाहरण दिइयो । पढ्ने कुराको अवस्था सबैलाई थाहा छ । नपढिएपछि लेख्ने आवश्यकता पनि पर्दैन । जुन दिन बोल्ने, लेख्ने र पढ्ने प्रक्रिया समाप्त हुन्छ त्यो दिन भाषा इतिहास बन्छ र त्यो भाषा बोल्ने जातिको अस्तित्व पनि इतिहास बन्छ । अनि जुन जातिको अस्तित्व समाप्त हुन्छ त्यो जातिको उन्नति र सुरक्षा पनि समाप्त हुन्छ । त्यो जाति नोकर, दास र कमाराहरूको समूहमा रूपान्तरित हुन्छ भन्ने कुरा असत्य होइन । त्यसकारण भाषाको प्रयोग र भाषाको अस्तित्व जातिको अस्तित्वको निम्ति महत्वपूर्ण कुरा हुन् । सोच्नुपर्ने हामीले भावी पिढीका नेपाली भाषीको निम्ति छ ।

त्यसकारण साहित्य भाषालाई बचाउने एउटा महत्वपूर्ण क्षेत्र हो । भारतमा नेपाली साहित्यको वर्तमान अवस्थामाथि अहिले चिन्तन गर्ने बेला छ । लेखक, कवि, कथाकार, निबन्धकार, नाटककार, समालोचक र उपन्यासकारहरू छन् तर पाठकहरूको अभाव बन्दै गएको पनि साँचो तथ्य छ । साँच्चै भनौं भने भारतका नेपालीहरूमा पढ्ने संस्कृति नै विकसित नभइरहेको अवस्था छ । अर्को एउटा बाँझो देखिन्छ भारतभित्र नेपाली साहित्यको सन्दर्भमा । साहित्यिक सम्पर्कको अभाव । आसाममा प्रकाशित कृतिहरू अथवा साहित्यिक सामग्रीहरू दार्जिलिङ, सिक्किम र देहरादुनतिर पुग्दैनन् । सिक्किममा प्रकाशित कृतिहरू अरूतिर प्रसारण हुने

व्यवस्थित माध्यम छैन । अरू त के र – दार्जिलिङ भेकमा प्रकाशित भएका कृतिहरूबारे सिक्किममा थाहा हुँदैन । यस क्षेत्रमा काम गर्नलाई र भारतका नेपाली भाषीमाझ सम्पर्क स्थापित गर्नलाई पनि भारतीय स्तरमा एउटा नेपाली साहित्यिक संस्था स्थापित हुन जरूरी देखिन्छ । यसको बहुआयामिक आवश्यकता छ ।

सन् २०१६ – मा दार्जिलिङमा एउटा दुई दिने गोष्ठीको आयोजनपश्चात  गठन गरिएको प्रगतिशील लेखक कलाकार सङ्घ , भारतको एउटा उद्देश्य यो पनि रहेको छ तर सङ्घको गठनपश्चात कालिम्पोङ, दार्जिलिङ र डुवर्स भेकतिर छिटपुट कार्यक्रमहरू आयोजना गरिनु बाहेक यो सङ्घले राष्ट्रीय स्तरको आफ्नो उद्देश्यलाई लिएर ठोस काम गर्न सकेको छैन । सङ्घलाई सक्रिय बनाउनु नबनाउनु भारतमा नेपाली भाषी समुदायको अस्तित्वमाथि सरोकार राख्ने नराख्ने सबैको इच्छा हो ।

सङ्घ रहोस् या नरहोस् – तर सवाल एउटा जातिको दीर्घकालीन अस्तित्व, सुरक्षा र प्रगतिको छ । प्रासङ्गिक संस्थाले यो काम नगरे पनि भाषाको अस्तित्व र साहित्यको विकासको निम्ति भने एउटा भारतीय नेपाली साहित्यिक संस्थाको आवश्यकता छ  तर आशा छ – प्रगतिशील लेखक कलाकार सङ्घ, भारतले नै यसको अगुवाई गर्नेछ र सरोकार राख्ने समूहले यसमाथि चिन्तन गर्नेछ । सामूहिक अस्तित्व बाँचे मात्र व्यक्तिगत अस्तित्व बाँच्छ भन्ने कुरा त दशौं श्रेणीका विद्यार्थीले पनि बुझ्छन् । हाम्रो सामूहिक अस्तित्वको निम्ति  चाहिन्छ भाषा र साहित्यको अस्तित्व ।

हामी अहिले मूल समस्याहरूबाट तर्केर काल्पनिक समस्याहरूमा भुलिने रोगले पनि ग्रस्त छौं । वस्तुगत यथार्थहरू नपचाउने रोग पनि छ । तर भारतीय स्तरमा नेपाली भाषाको र साहित्यको सङरक्षण र सम्वर्द्धनको निम्ति एउटा संस्थाको आवश्यकता भएको वस्तुगत यथार्थ पचाइन्छ भन्ने आशा पनि राखौं ।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया