हाम्रो स्वाभिमान’-ले गऱ्यो सफाई

काशी, 23 अप्रेल


बाबा रामदेव र आचार्य बालकृष्णको संरक्षकत्वमा रहेको गोर्खाहरूको सङ्गठन ‘हाम्रो स्वाभिमान’-ले पटक-पटक यथाशक्ति सत्कार्य गर्ने गर्दछ। नेपाली भाषाले जोडेको यस सङ्गठनमा नेपाली कार्यक्रमको लोभले पनि अहङ्कारहीन स्वाभिमानी भाषाप्रेमीहरू गौरवबोध गर्न दश काम छाडेर सहभागी हुने गर्दछन्।

आज वाराणसीको ललिताघाट र त्यहाँ स्थित नेपाली मन्दिरको सफाई कार्यक्रम राखिएको थियो। काशीनगरी र रामनगरका सदस्य, काशी हिन्दू विश्वविद्यालय र सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयका गोर्खा विद्यार्थी र शिक्षकहरू, रामनगरको सहजयोगी परिवार अनि विश्व हिन्दू महासङ्घको रामननगर शाखाको मातृशक्ति प्रकोष्ठका हिन्दीभाषी महिलाहरूले पनि उत्साहपूर्ण संलग्नता प्रस्तुत गरे।

रामनगर र काहिविवि.-का सहभागीहरू बिहान ७ बजे सामनेघाटमा भेला भईकन यन्त्रचालित डुङ्गाबाट ललिताघाट पुगेका थिए। पशुपति नेपाली मन्दिरको आँगनमा मन्दिर-धर्मशाला सञ्चालन समितिका सदस्यगण, वृद्धाश्रमका महिलाजन, आश्रमकुमारहरू र सम्पूर्णानन्द कुल-सदस्यहरू पहिल्यै भेला भइराखेका थिए।

एकछिन औपचारिक कार्यक्रम पनि भयो। हाम्रो स्वाभिमान, वाराणसी शाखाका सचिव आनन्द जोशीले स्वागत भाषण राखेपछि सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयको तुलनात्मक धर्मदर्शन विभागका प्रो. हरि अधिकारीले ‘हम लोग कल से ही काम कर रहे है, आज का अधिक सहभागिता प्रशन्नता की सूचक है’ भने।

काशी हिन्दू विश्वविद्यालयको प्राचीन भारतीय इतिहास संस्कृति पुरातत्त्वका प्रो. गौतम लामाले ‘नेपाली मन्दिरले पुरातात्त्विक महत्त्व राखेको र यहाँको वास्तुकला काशीमा अद्वितीय रहेको हुनाले यसको संरक्षण र सुन्दरीकरणमा विशेष ध्यान दिनुपर्ने आवश्यकता छ’ भने । प्रो. लामाले मन्दिर परिसरको सिँडी सजिलो बनाइनुपर्ने, पानी र शौचालयको व्यवस्था हुनुपर्ने, बारबेर गरिनुपर्नेबारे युक्ति दिँदै सुन्दर देखिए श्रद्धालु र पर्यटकहरू अझ धेर आकर्षित हुने कुरा गरे।

दिवाकर प्रधानले सम्पर्कसूत्रको रूपमा नेपाली भाषाको महत्त्व दर्शाउँदै नेपालीभाषीहरूको उदारताले गर्दा भोजपुरी-हिन्दीभाषीहरू पनि ‘हाम्रो स्वाभिमान’-का यस्ता सत्कार्यमा सहभागी बनेको हर्ष प्रकट गरे। रामानुज महाविद्यालयको वेदान्तदर्शन विभागका प्राध्यापक डा. गोपाल अधिकारीले नेपाली मन्दिरको इतिहास संक्षेपमा राख्दै मन्दिर परिसरको सुरक्षामा सञ्चालन समितिले भोग्नुपरिहेका तीता-मीठा अनुभव सार्वजनिक गरे ।

पशुपति मन्दिर र धर्मशालाका व्यवस्थापक रोहित ढकालले व्यवस्थापन समितिले धर्मशाला, विद्यार्थी वास र वृद्धाश्रम सधैँ सेवामा तत्पर रहेको जनाए। हाम्रो स्वाभिमानको  दिल्ली शाखाका अध्यक्ष प्रदीप छेत्रीले पठाएका हिन्दी भाषामा लेखिएको सन्देश हाम्रो स्वाभिमानको वाराणसी शाखाका उपाध्यक्ष सूरज पाण्डेले पढेर सुनाए भने दिवाकर प्रधानले त्यसको नेपाली रूपान्तर पाठ गरे। विश्व हिन्दू महासङ्घको रामननगर शाखाको मातृशक्ति प्रकोष्ठकी अध्यक्षा सुमन द्विवेदीले जननी र जन्मभूमिका लागि अरू देशवासीझैँ गोर्खा नारीहरू पनि उत्साही रहेको उल्लेख गर्दै नारीशक्तिको महत्त्वमाथि प्रकाश पारे।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया