गोजमुमोको पोस्टरको विरोधःविनय तामाङ र प्रार्थीहरू विरूद्ध कारण बताऊ नोटिस

 

मोहन लामा, दार्जीलिङ, 10 मई।


विनय तामाङ अनि 32 जना गोजमुमो उम्मेद्वारहरुको नाममा जारी गरिएको नोटिसमा भनिएको छ-तपाईंको पक्षमा दार्जीलिङका सार्वजनिक स्थलहरुमा टाँसिएका पोस्टरहरूले जात, भाषा अनि जातिमाझ विभाजन ल्याउने प्रयास भएको छ। यसैले यो नोटिस प्राप्त भएको 24 घण्टाभित्र यसको उचित जवाब दिनुपर्छ।


नगरपालिका चुनाउलाई केन्द्र गरेर गोजमुमोले दार्जीलिङ पहाड़भरि गोर्खाल्यान्ड बनाम बंगालको नारा दिएर लेखेको पोस्टरको विरोधमा दार्जीलिङकी जिल्लापाल एवं जिल्ला नगरपालिका अधिकारीले गोजमुमोका सहसचिव विनय तामाङका साथै दार्जीलिङका 32 जना गोजमुमो प्रार्थीहरुलाई 24 घण्टाभित्र कारण बताउने निर्देश दिएका छन्।

जिल्लापालद्वारा जारी गरिएको नोटिसमा पोस्टरमा लेखिएका वाक्यहरुलाई उल्लेख गर्दै भनिएको छ-गोर्खाल्यान्ड बनाम बंगालको नारा दिएर लेखिएको पोस्टरमा गोर्खाल्यान्ड आमालाई परायाको हातमा बिक्री हुनबाट बँचाउन, गोर्खाहरुको सुनौलो भविष्य बनाउन गोजमुमो प्रार्थीलाई भोट दिनुहोस्। यसरीनै अर्को पोस्टरमा बंगालको दासत्वलाई जरैबाट मास्न-हाम्रो भविष्य सुनिश्‍चित राख्न सबै मिली गोजमुमो प्रार्थीलाई जिताऊ भन्ने लेखिएको छ।

विनय तामाङ अनि 32 जना गोजमुमो उम्मेद्वारहरुको नाममा जारी गरिएको नोटिसमा भनिएको छ-तपाईंको पक्षमा दार्जीलिङका सार्वजनिक स्थलहरुमा टाँसिएका पोस्टरहरूले जात, भाषा अनि जातिमाझ विभाजन ल्याउने प्रयास भएको छ। यसैले यो नोटिस प्राप्त भएको 24 घण्टाभित्र यसको उचित जवाब दिनुपर्छ। यसबारे दार्जीलिङकी जिल्लापाल जोयशी दासगुप्तसित सम्पर्क गर्दा उनले भनिन्-पोस्टरमा बंगालको दासत्व भन्ने जुन वाक्य उल्लेख गरिएको छ, यसको विरोधमानै कारण बताऊ नोटिस जारी गरिएको हो। यसले जनतामा विभ्रान्ति ल्याउने कार्य गर्छ, यसको विरोधमा अहिलेसम्म विनय तामाङ अनि दुइजना उम्मेद्वारहरुलाई नोटिस पठाइएको छ। यी पोस्टरहरुमा जसको फोटो छ, उनीहरु सबैलाई नोटिस पठाइनेछ।

यसबारे गोजमुमोका सहसचिव विनय तामाङले भने-पोस्टरमा गोर्खाल्यान्ड पनि लेख्न नपाउने कहाँको कानून हो? गोजमुमो अध्यक्ष विमल गुरूङ, महासचिव रोशन गिरी अनि दार्जीलिङका 32 जना गोजमुमो उम्मेद्वारहरुलाई चुनाउपछि बाकसमा बन्द गरेर दार्जीलिङ जिल्लाबाटै बाहिर हटाउँछु भन्ने मन्त्री इन्द्रनील सेन विरूद्ध किन कानून लाग्दैन? गोजमुमोले यस चुनाउको लागि दुइप्रकारका पोस्टर तयार पारेको छ अनि यसमा गोर्खाल्यान्ड र बङ्गालको नाम उल्लेख गरिएको छ।

तर के गोर्खाल्यान्ड र बङ्गाल कुनै जाति हो? यदि यस पोस्टरमा गोर्खा बनाम बंगाली लेखिएको भए कानूनी कार्वाही गर्नु उचित थियो। तर अब गोर्खाल्यान्ड लेख्न पनि नपाइने? यसका साथै उनले आफू विरूद्ध दार्जीलिङ सदर थानाले गैर जमानती मामिला दर्ता गरेको पनि जानकारी गराउँदै उनी विरूद्ध आईपीसीका धारा 125, 153 ए, 153 बी अनि 505 पनि लागू गरेको बताए। जसमा तामाङलाई 2 दिनभित्र थानामा उपस्थिति दिने निर्देश दिइएको छ। तामाङले भने-कानून सबैको लागि समान हुनपर्छ। तर राज्यका मन्त्री इन्द्रनील सेन विरूद्ध गोजमुमोले दर्ता गरेर जीडीलाई थानाले अहिलेसम्म पनि एफआईआरमा पनि परिणत गरेको छैन।

यसको अर्थ के हो? राज्यका मन्त्री आएर दार्जीलिङमा जे भन्दा पनि हुने अनि गोजमुमोले गोर्खाल्यान्ड लेखेको पोस्टर टाँस्दा पनि पुलिसले मामिला दर्ता गर्ने? यसरीनै उनले अझै अघि भने-गोर्खाल्यान्ड शब्दलाई केन्द्र अनि राज्य सरकारले पनि स्वीकृति दिइसकेको छ, यसैले गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिट्रेशनको गठन भएको हो। यति मात्रै होइन, गोजमुमोको मूल लख्य गोर्खाल्यान्ड हो र यो आवाज गोजमुमोले उठाइरहनेछ। गोर्खाल्यान्डको आवाज दार्जीलिङमा पोस्टरको माध्यमबाट मात्रै होइन, देशका प्रधानमन्त्री, गृहमन्त्रीअघि पनि राखिसकेको छ अनि गोजमुमोलाई पञ्जीकरण गर्दा चुनाउ आयोगसमक्ष बुझाइएको पार्टीको संविधानमा पनि अलग राज्य गोर्खाल्यान्ड गठनको माग उल्लेख गरिएको छ।

गोर्खाल्यान्ड कुनै एउटा जाति विशेषको लागि उठाइएको माग होइन, दार्जीलिङ पहाड़मा बसोबासो गर्ने गोर्खालगायत सम्पूर्ण जात, सम्प्रदायको लागि यसको माग उठाइएको हो। यसरीनै उनले यसपालीको नगरपालिका चुनाउको लागि जिल्ला प्रशासनले मीडिया सेलको स्थापना नगरेको विषयमाथि पनि प्रश्‍न खड़ा गर्दै भने-प्रत्येक चुनाउमा मीडिया सेलको गठन हुन्थ्यो अनि सबै पार्टीले आ-आफ्ना पोस्टर, पर्चा, व्यानर आदिलाई अनुमोदनको लागि मीडिया सेलमा प्रस्तुत गर्ने गर्थ्यो। तर अनुमोदनको लागि पेश गर्न मीडिया सेल किन बनाइएन? यदि मीडिया सेलले गोजमुमोद्वारा बनाइएको पोस्टरलाई खारेज गरेको भए त्यसलाई पार्टीले सहजै स्वीकार गर्नेथियो। तर प्रशासनले जबर्जस्ती राजनीति प्रेरित आरोपहरु लगाइरहेको छ। तर प्रशासनले पक्षपातपूर्ण कानून लागू गर्नु उचित छैन, उनले भने।


अनुसूचित जाति प्रार्थीहरुलाई जिताउने अपील

दार्जीलिङ खबरदाता, 9 मई/2017


दार्जीलिङ इन्डिजेनियश अनुसूचित जाति सङ्घघका अध्यक्ष एवं दमाई विकास बोर्डका उपाध्यक्ष विवेक सेवाले दार्जीलिङ पहाड़का चारवटा नगरपालिका क्षेत्रमा तृणमूल काङ्ग्रेस पार्टीबाट उम्मेद्वारका रूपमा खड़ा भएका अनुसूचित जाति संघका सदस्य क्रमैले विरेन्द्र विश्वकर्म, पुनम विश्व, सीता सेवा अनि पवन सुन्दासलाई भारी मतले विजय बनाउने आह्वान गरेका छन्।

उनले भने-राज्यको तृणमूल कंग्रेसले दार्जीलिङ पहाड़का अनुसूचित जातिको उत्थानको लागि कामी, दमाई अनि सार्की विकास बोर्ड दिएको छ, यसैले राज्य सरकारले दिएको यस ऋृणलाई मतदानको रूपमा हामीले चुक्ता गर्नुपर्छ। विकासको मार्गमा दार्जीलिङ पहाड़ पछाड़िरहेको थियो, जसमा अनुसूचित जातिको पनि कुनै विकास हुनसकेको थिएन। तर राज्यको तृणमूल काङ्ग्रेस सरकारले यस जातिको उत्थानको लागि यस जातिअन्तर्गत पर्ने तीनैवटा समुदायलाई अलग-अलग विकास बोर्ड दिएर सहयोग पुऱ्याउने कार्य गरेको छ।

यसैले यस जातिप्रति राज्य सरकारले दिएको सहयोगको लागि हामी धन्यवादस्वरूप तृणमूल काङ्ग्रेसबाट खड़ा भएका प्रार्थीहरुलाई भोट दिनुपर्छ। यसैले दार्जीलिङको वार्ड नम्बर 18 बाट खड़ा भएका तृणमूल काङ्ग्रेस प्रार्थी विरेन्द्र विश्वकर्म, मिरिकको वार्ड नम्बर 2 बाट खड़ा भएकी पुनम विश्व, खरसाङको वार्ड नम्बर 6 बाट खड़ा भएकी सीता सेवा र कालेबुङको वार्ड नम्बर 1 बाट खड़ा भएका पवन सुन्दासलाई भारी मत दिएर विजय गराउनुपर्छ।

उनले भने-दार्जीलिङ पहाड़को अनुसूचित जातिलाई जुन सरकारले माया दिएको छ, त्यस सरकारलाई हामीले पनि माया गर्नु हाम्रो परम कर्तव्य हो। यसैले यस चुनाउमा पहाड़का चारैवटा नगरपालिकामा तृणमूल काङ्ग्रेसलाई विजय बनाउनुपर्छ, त्यसरीनै आगामी दिनमा दार्जीलिङ पहाड़मा हुने पञ्चायतको चुनाउमा पनि तृणमूल काङ्ग्रेसलाई विजय बनाउनुपर्छ, उनले पहाड़का सम्पूर्ण अनुसूचित जातिका सदस्य-सदस्याहरूलाई अपील गरे।

 

 

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन