सहयोगी हातका 40 सदस्यले दिए राजीनामा : घोटाला भएको आरोप

दार्जीलिङ, 25 अप्रेल।


सहयोगी हातकी संस्थापिकाले सङ्गठनको आर्थिक राशिमा व्यापक घोटाला गरेको अभियोग लगाउँदै सहयोगी हातका 40 जना सदस्यहरूले सामूहिक राजीनामा दिएको आज घोषणा गरे। स्मरण गराइन्छ, 10 नोभेम्बर 2017-को दिन मात्रै दार्जीलिङ पहाड़ी इलाकाका मानसिकरूपले अस्वस्थ, बेसहारा आदिको सेवा गर्ने उद्देश्य लिएर नै सुमित्रा राईको अगुवाईमा सहयोगी हात नाम दिएर एक सामाजिक संस्थाको गठन गरिएको थियो। जसले दार्जीलिङका धेरै बेसहाराहरूको सहयोग गरिरहेको थियो भने खरसाङको सन्त मेरिजस्थित मटिल्डा हाउसलाई पनि एक वृद्धाश्रमको रूपमा सञ्चालन गर्दै आइरहेको थियो। तर आज यसै संस्थाका दार्जीलिङ, खरसाङ अनि सोनादाका लगभग 40 जना सदस्यले सहयोगी हातबाट सामूहिक राजीनामा दिएको घोषणा गरे।

यसै सम्बन्धमा सङ्गठनकी पूर्व अध्यक्षा हेमलता सुब्बाले भनिन्- सहयोगी हातकी संस्थापक सदस्य सुमित्रा राईले सङ्गठनको संविधानको पनि उल्लङ्घन गरिरहेकी छन् भने उनले सङ्गठनको हिसाब-किताब पनि ठीकसित देखाएकी छैनन्। यसैकारण नै हामीले गत 22 अप्रेलको दिन सोनादामा एक सभाको आयोजना गरेर सबैले सामूहिक राजीनामा दिएका हौँ। अबदेखि हाम्रो सहयोगी हातसित कुनै सम्बन्ध छैन अनि जनसाधारणले पनि अबोप्रान्त सहयोगी हातको नाममा कसैले चन्दा सङ्ग्रह गर्न आए, चन्दा दिनु हुँदैन। किनभने, यसै सङ्गठनले सन्त मेरिजको मटिल्डा हाउसमा वृद्धाश्रम पनि सञ्चालन गरिरहेको थियो, तर यस वृद्धाश्रमलाई उपलब्ध भएको राशिको हिसाब-किताबमा व्यापक धाँधली भएको छ।

उनले अझै अघि भनिन्-वृद्धाश्रमको हिसाब-किताब नमिल्नुमा सोझै सुमित्रा राई जिम्मेवार छिन्। प्रथमतः सङ्गठनका सदस्यहरूलाई सहयोगी हातले मटिल्डा हाउसमा वृद्धाश्रम सञ्चालन गरिरहेको थियो भन्ने थाहै थिएन अनि यसबारे सुमित्रा राईले सदस्यहरूलाई अवगत गराउने पनि काम गरेकी थिइनन्। यसैकारण नै सुमित्रा राईसित सङ्गठनका सदस्यहरूले ठीकसित काम गर्न नसक्ने अनि पैसा पनि व्यापक मात्रामा हिनामिना गरिएको कारण नै हामी सबै सदस्यले यस सङ्गठनबाट राजीनामा दिएका हौं।

यसै सम्बन्धमा सङ्गठनबाट राजीनामा दिएकी कोषाध्यक्ष उमा तिवारीले पनि समित्रा राईले सङ्गठनको पैसा व्यापक मात्रामा घोटाला गरेको आरोप लगाउँदै मटिल्डा हाउसस्थित वृद्धाश्रममा राखिएको हिसाब-किताबको रेजिस्टरको बीच-बीचका धेरैवटा पन्ना नै च्यातिएको भेटिएको पनि बताइन्। जसको लागि उनले पनि सोझै सुमित्रा राईकै हात रहेको आरोप लगाएकी छन्। यसरी नै राजीनामा दिने सङ्गठनका सचिव बाबुल रसाइलीले पनि सुमित्रा राईमाथि नै आरोप थोप्दै सजिलो प्रकारले पैसा कमाउन चाहनेहरूले यस्ता सामाजिक सङ्गठनलाई माध्यम बनाएको बताउँदै यसप्रकारको कार्यहरूबाट सोझा सदस्यहरू प्रताडित बनिरहेको बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares