फाइनलिस्टहरूलाई विनय तामाङद्वारा उपहार गुच्छ प्रदान ः 12-13 मईमा ग्राण्ड हुनेछ दार्जीलिङ राइजिङ स्टारको ग्राण्ड फिनाले

दार्जीलिङ, 25 अप्रेल।


दार्जीलिङ पुलिसको आयोजना भइरहेको दार्जीलिङ राइजिङ स्टारका टप 40 फाइनलिस्टहरूलाई शुभकामना अनि बधाई टक्राउँदै जीटीए अध्यक्ष विनय तामाङले नकद राशिसितै अन्य उपहार गुच्छ पनि प्रदान गरेका छन्। जीटीएको सचिवालय लालकोठीमा आज दार्जीलिङ स्टारका फाइनलिस्टहरूसित तामाङले भेटवार्ता गरी बधाई- शुभकामना व्यक्त गरे भने आफ्नो तर्फबाट नकद राशिसितै गिफ्ट भाउचर पनि सबै प्रतियोगीहरूलाई प्रदान गरे।

दार्जीलिङ पहाड़मा प्रतिभाहरूको कमी नरहेको र प्रत्येक प्रतिभाहरूको सम्वर्द्धन गर्न जीटीए सदैव तत्पर रहेको उल्लेख गर्दै तामाङले सबै फाइनलिस्टहरूलाई भावी दिनहरूमा अझै प्रतिभाको निखार गरेर पहाड़को गौरव बनिने आग्रह पनि गरे।
दार्जीलिङ राइजिङ स्टार प्रतियोगितामा उपस्थित हुने आफूलाई धेरै इच्छा रहेको भएतापनि कार्य व्यस्तताले गर्दा उपस्थित बन्न नसकेको उल्लेख गर्दै ग्राण्ड फिनालेनमा भने सबै व्य़स्तताहरू पन्साएर पनि सहभागी बन्ने पनि तामाङले प्रतियोगीहरूलाई वचन दिए।

यसबाहेक जीटीएको तर्फबाट उक्त ग्राण्ड फिनालेलाई अझ भव्य बनाउन तथा प्रतियोगीहरूको निम्ति भव्य मञ्च जीटीएको तर्फबाट निर्माण गरिदिने तथा दार्जीलिङ शहरका कतिपय स्थलहरूमा एलसीडी लगाएर ग्राण्ड फिनालेको सीधा प्रसारणको व्यवस्था गरिदिने पनि तामाङले घोषणा गरे।
लालकोठीको कन्फरेन्स हलमा सम्पन्न औपचारिक भेटघाट कार्यक्रममा दार्जीलिङ राइजिङ स्टारका प्रतियोगी, आयोजक टोलीसित दार्जीलिङका पुलिस अधिक्षक अखिलेश चतुर्वेदी पनि उपस्थित रहेका थिए।

ग्राण्ड फिनाले चौरास्तामा खुल्ला अनि भव्यरूपमा गर्ने निधो गरिएको भएतापनि हालमा मौसम स्थिर नरहेको कारणले क्यापिटलमा नै सम्पन्न गरिने सम्भावना पनि रहेको छ। तथापि मौसम राम्रो भए चौरास्तामा नै ग्राण्ड फिनाले सम्पन्न गरिनेछ। ग्राण्ड फिनालेको दिन आयोजकको तर्फबाट दार्जीलिङका पुराना एवं प्रतिष्ठित कलाकारहरूलाई सम्मान प्रदान गर्ने पनि योजना रहेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया