गोर्खा र नेपाली हार्डवेयर र सफ्टवेयर

Girl in a jacket

सरोकार

विजयकुमार सुब्बा


 

गोर्खाल्यान्ड माग लिएर पहिलो आन्दोलन सक्दा नसक्दा विवाद निस्क्यो – हामी भारतमा नेपाली भाषा बोल्नेहरू गोर्खा कि नेपाली ? विवाद सुरू गर्नेहरूको तर्क जति गहिरो थियो त्यति नै गहिरो तर्क अर्को पक्षको पनि थियो । तर मज्जाको कुरो के थियो भने ‘हामी गोर्खाली’ भन्नेहरूले ‘हामी नेपाली’ भन्नेहरूको एउटै कुरा नसुन्ने र ‘हामी नेपाली’ भन्नेहरूले ‘हामी गोर्खाली’ भन्नेहरूको कुरै नबुझ्ने ।

साह्रै मज्जाको कुरा के थियो भने भारतका नेपाली भाषी बुद्धिजीवी र शिक्षित समुदाय यही कुराले विभाजित भइरहेछन् अथवा गराइन्दैछन् भन्ने कुराको ख्याल कसैले गरेन । अनि भारतीय नेपाली भाषी समुदायको ठोस समस्या जातिको नाम होइन भन्ने कुरा कसैले पनि गरेको याद भएन । वास्तवमा बुद्धु मान्छेको नाम ‘ज्ञानबहादुर’, डरछेरूवा मान्छेको नाम ‘बाघवीर’, लुते मान्छेको नाम ‘बलमान’ राख्दैमा यथार्थ बदली हुँदैन अथवा ज्ञानी मान्छेको नाम ‘पटराम’ राख्दा, साहसी मान्छेको नाम ‘तर्समान’ राख्दा र बलवान मान्छेको नाम ‘हल्लीकुमार’ राख्दा पनि केही फरक पर्दैन । ‘साधुराम’ नाम भएको मान्छेले रक्सी खाँदैन भन्ने ग्यारेन्टी हुँदैन । नामले त्यस्तो फरक केही पर्छ जस्तो लाग्दैन ।

यदि फरक पर्छ भने जातिकै पनि चरित्रले फरक पर्छ । फरक चेतनाले पर्छ ।

अङ्ग्रेजहरू भारतमा पस्दा अर्को नाम गरेर पसेका थिएनन् तर बुद्धिले लगभग तीनसय वर्ष शासन गरेर दुःखी नभई फर्की गए । उनीहरूले कहिले पनि हामी इङ्लिस कि विङ्लिस भन्ने तर्कमा अल्झिनु परेन । ठिकै छ भारतका नेपाली भाषीहरू यति लामो समयसम्म आफ्नो जातिको नाम समेत यही हो भनेर ठेकान नलागी बसेका छन् । कुरा के भने हामी आफूलाई नेपाली भनौं कि गोर्खाली, जबसम्म हामी आवश्यक परेको ठाउँमा एक हुँदैनौं तबसम्म हामीलाई कसैले टेर्नेवाला छैन । टेरोस कि नटेरोस त्यो अलग कुरा तर जबसम्म हामी भावनात्मक सोचलाई छोडेर युगसापेक्ष र वस्तुस्थिति सापेक्ष सोच राख्दैनौं तबसम्म हाम्रो अस्तित्वमाथि झुन्डिरहेको खतरा टर्नेवाला छैन । भाषा विवाद आखिरमा बनभोज खान जाँदा कुटाकुट परेर दाल-भात-तर्कारी बगरमै घोप्ट्याइराखेर लुरूलुरू घर फर्केको जस्तो भयो – त्योभन्दा उता केही भएन । प्रशान्त तामाङलाई इण्डियन आइडलको प्रतियोगिता जितायौं – सक्यौं । गोर्खाल्यान्ड आन्दोलनमा धेरै खट्यौं – सक्यौं । फेरि एकसय दिन बन्द गऱ्यौं – सक्यौं । अब के गर्ने ? तर हाम्रो अस्तित्वको सवाल सकिएको छैन ।

हाम्रो हार्डवेयर ठीकै छ । तर जाँच गर्नुपर्ने हाम्रो सफ्टवेयर नै हो ।

अब हामीले हाम्रो जातिको बलियो पक्ष र कमजोर पक्षहरूलाई केलाउनु जरूरी छ । हाम्रो सामूहिक चरित्रमा भएका गुण र दोषहरूको लेखाजोखा गर्नु जरूरी छ ।

भूपि शेरचनले भनेको हामी बुद्धु छौं र नै वीर छौं अहिले पनि साँचो नै छ कि ? अब पनि हामी वीर र बहादुर छौं भनिरहने कि वीर र बहादुर थियौं भन्ने ? हाम्रो पुर्खाको वीरत्व र बहादुरी हाम्रो अस्तित्वको लागि कति उपादेय छ अहिले ? अहिले अब हामी वीरबहादुर, रनबहादुर, बाघवीर नै रहने कि ज्ञानबहादुर, बुद्धिवीर र चेतनकुमार पनि बन्ने ?

भारतका ती प्रान्तहरू जहाँका स्कूलहरूमा नेपाली भाषा अध्ययन-अध्यापनको जिम्मा सरकारले लिएको छैन – त्यहाँ सचेत नेपाली समुदायले आफ्नै प्रयासमा नेपाली भाषाका विद्यालयहरू चलाइरहेका छन् । सुन्दा गर्व लाग्छ । ती प्रान्तहरू जहाँ नेपाली भाषी समुदाय अल्पसङ्ख्यक समुदायमा पर्छन् अनि जहाँ बहुसङ्ख्यकहरूको भाषाको वातावरण छ – त्यहाँ पनि जागरूक र जुझारू नेपाली समुदायले नेपाली भाषा र साहित्यको सङ्रक्षण गर्न संस्थाहरू र सङ्गठनहरू सम्हालिराखेका छन् । सुन्दा गर्व लाग्छ । अनि भारतका ती प्रान्तहरू जहाँ राज्य सरकारले नै नेपाली भाषामा शिक्षाको सम्पूर्ण जिम्मेवारी लिएको छ अनि नेपाली भाषीहरू बहुसङ्ख्यामा छन् – त्यहाँ धेरै नेपाली भाषी विद्वानहरू नै नेपाली भाषाको सङ्ररक्षण र विकासमा इमानदार छैनन् भन्ने अनुभव हुँदा छाती पोल्छ । ती प्रान्तहरू जहाँ नेपाली भाषीहरू बहुसङ्ख्यक समुदायमा पर्दछन् र त्यहाँ भीर पहराले पनि नेपाली भाषामा गीत गाउँछन् त्यहीँकै कति नेपाली भाषीहरू नेपाली भाषा बोल्न शरम मान्छन् भन्ने अनुभव हुँदा मुटु गाँठो पर्छ । जहाँ भानु जयन्ती समेत सरकारकै अनुदान र पूर्ण सहयोगमा सम्पन्न हुन्छ त्यहाँ एउटै पनि नेपाली साहित्यिक पत्रिका दीगो र निरन्तर छैन भन्ने देख्दा आँखाले पनि आँसु झार्नु अल्छी गर्छ ।

हाम्रो सफ्टवेयर अपडेट गर्नैपर्छ ।

हामीले गोर्खाल्यान्ड भनिरहेछौं । भित्र आत्मादेखि नै र चरित्रले नै गोर्खा कति छौं ? सोच्ने कुरो हो यो । हामी कोही बाहिरबाट गोर्खा भित्रबाट आधा अङ्ग्रेज छौं । नेपाङ्लिस भाषा बोल्छौं । तीन महिना दिल्ली बस्यौं भने फर्केर आउँदा भेलपुरी गनाउने भएर आउँछौं अर्थात् आधासरो हिन्दी बोल्ने भएर आउँछौं । अङ्ग्रेजी साहित्य मनपराउँछौं । हाम्रा कति आफन्तहरू हवाईजहाजमा पनि फ्रन्ट सिट खोज्छन् ! युरोपको साहित्यिक वादहरू प्रचार गर्छौं । हामीले विचारको बर्गर र पिज्जा खायौं तर सेलरोटी र फिलुङ्गेको अचार युरोपतिर पठाउन सकेका छैनौं । स्यान्डविच साहित्य खोज्छौं तर वाचिपा सिद्धान्तहरू अमेरिका पठाउने कुरा सोचेका छैनौं । विचारहरूको बीग बजार र साहित्यको सपिङ कम्प्लेक्समा हराएर गुन्द्री हाटको इकनमी सम्झेका छैनौं । हामी युनिक थियौं तर हाम्रो त्यो विशेषता कायम राख्न सम्झिरहेका छैनौं । नेपाली मौलिक सोचहरू र हाम्रो परिचय युरोपलाई दिन सक्दैनौं । पैंचो विचारहरू बोकेर उफ्रिन्छन् हाम्रा कतिपय विद्वानहरू । हामी अलिकति अग्लो चौकीमा बसेपछि आफ्नै आँगनको मान्छे देख्दैनौं । सडकमा कुद्न पायौं भने गोरेटोमा हिँड्ने दाजुभाइ बिर्सन्छौं । स्यालले कुखुरा लान्छ, रिसले आफ्नै भाइ कुट्छौं । अजिङ्गरहरूको पूजा गर्छौं र बारीमा निस्किने लिखुरे साँप मार्छौं  ……. यी कुराहरू छन् । त्यसो र साँचो गोर्खा कति छौं ? कहिले कहीं शङ्का लाग्छ – कतै हामी गोर्खा बिनाको गोर्खाल्यान्ड त भनिरहेका छैनौं ?

छन् हामीसित साँच्चिकै विद्वानहरू, प्रतिभाहरू, कलाहरू, विचारहरू र शक्ति पनि । तर हामी हामीलाई नै स्वीकार नगर्ने र नचिन्ने रोगले ग्रस्त पनि छौं कि ? सुन्नै पर्ने कुरा नसुन्ने तर ढाँटेको कुरा मात्र सुन्न मनपर्ने रोग पनि हामीलाई छ कि ?

हैन । अब हाम्रो समाज बलियो र सुन्दर समाज बनाउनतिर लागौं । हाम्रो जातीय सफ्टवेयर अपडेट गरौं नत्र रिपेयर गरौं । एन्टीभाइरस इन्सटल नगरी हुँदैन । यसरी हुँदैन । गिरीले तिमी त यहाँ नचिनिने भएछौ भनेका थिए । हामी चिनिने बनौं । धरणीधर सरले ‘जाग जाग अब जागन जाग’ भनेका थिए । उनले हामीलाई ‘सुत सुत अब सुतन सुत अस्तित्व बिलाइञ्जेल सुत’! भनेका थिएनन् । शिवकुमार राईको माछाको मोल थाहा नपाई गोब्रे दहमा मर्ने रने कहिलेसम्म अन्धकारमा जाल हान्दै घुमोस् ? तर यी सबका लागि हाम्रो जीवन शैली र विचारधारा कुदाउने पुराना पुर्जाहरू फ्याँकेर नयाँ पुर्जाहरू लाउन तयार हुनपर्छ । हाम्रो सफ्टवेयर अब अपडेट हुनुपर्छ ।

अब तोङ्बा तर्कहरू र बोतल विचारहरूमाथि विश्लेषण चाहिएको छ ।

फोटो: इन्टरनेट

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया