डा. हर्कबहादुर छेत्रीले दिए राजिनामा

कालेबुङ खबरदाता, 10 मई।


जन आन्दोलन पार्टीका अध्यक्ष डा. हर्कबहादुर छेत्रीले नर्थ बेङ्गल डेभलोपमेन्ट बोर्डबाट राजिनामा दिएका छन्। विश्वस्त सूत्रले बताए अनुसार डा. छेत्रीलाई बोर्डमा नामको मात्र उपाध्यक्ष पद् दिइएको थियो, जिम्मेवारी भने दिइएको थिएन।

केही दिन अघि जन आन्दोलन पार्टीको मेरुदण्ड युसुफ सिमिकलाई राज्य सरकारले मायल्याङ लेप्चा डेभलोपमेन्ट बोर्डको उपाध्यक्ष पद्बाट निष्कासन गरेको थियो।

डा. छेत्री शुरुमा मुख्यमन्त्री ममता व्यानर्जीसित निक्कै नजिकमा थिए। मोर्चाबाट राजिनामा दिएपछि उनले तृणमूल काङ्ग्रेसका धेरैवटा जनसभाहरूमा पनि बोलिसकेका थिए। कालेबुङ जिल्लाको माग लिएर आफ्नो विधायकत्वलाई बँचाएर राखेका थिए। मुख्यमन्त्रीले शुरुमा उनकै नाम लिएर कालेबुङ जिल्लाको घोषणा गरेकी थिइन्, जतिबेला उनको सम्बन्ध व्यानर्जीसित घनिष्ट थियो।

डा. छेत्रीले कालेबुङ जिल्लाको घोषणापछि जन आन्दोलन पार्टी गठन गरेर विधानसभा चुनाउ लडेका थिए, तर उनको नराम्रो गरी हार भयो। त्यसयता डा. छेत्री आफ्नो पार्टीमा नै सक्रिय छन्।

विधानसभा चुनाउमा ममता व्यानर्जीले डा. छेत्रीको नाम तृणमूल उम्मेदवारकोरूपमा लिएदेखि नै डा. छेत्री र ममता तथा कोलकत्ताका तृणमूल नेताहरूसित खटपट शुरु भएको थियो।

डा. छेत्री तृणमूल काङ्ग्रेसमा नपसी राज्य सरकारको पक्षमा नै काम गर्न चाहन्थे। त्यसै कारण विकासको मुद्दा लिएर जन आन्दोलन पार्टी गठन पनि गरेका हुन्। तृणमूल काङ्ग्रेसमाथि पहाडी जनताको भावना राम्रोसित नगाँसिने भएकोले पनि डा. छेत्री तृणमूल काङ्ग्रेसमा पसिहाल्न सकेनन्। ममता व्यानर्जीले ठाडो भाषामा ‘गोर्खाल्याण्ड होबेना’ भन्ने गरेकाले पनि डा. छेत्रीलाई राज्यका तृणमूल काङ्ग्रेसका नेता, मन्त्री, विधायकहरूसित तालमेल मिलाएर काम गर्न गाह्रो थियो। यद्धपि ममता व्यानर्जीले रुचाएका नेता थिए, डा. हर्क।

पछि कालेबुङमा नै आएर ममता व्याननर्जीले ‘मैले कसैले भनेर जिल्ला दिएको होइन’ भनिदिएपछि भने डा. छेत्रीले विस्तारै तृणमूल र ममता व्यानर्जी विरुद्ध मुख खोल्न थालेका थिए। उनले राज्य सरकार र ममता व्यानर्जी विरुद्ध मुख खोलेपछि नै ममता र तृणमूल काङ्ग्रेसका नेताहरूसित डा. छेत्रीको तालमेन मिल्न छोडेको सूत्र बताउँछ।

कोलकाता सूत्रले बताए अनुसार जन आन्दोलन पार्टीले तृणमूल काङ्ग्रेस वा ममता व्यानर्जीले भनेकोजस्तो काम गरिदिएन। त्यसकारण डा. छेत्रीसित मुख्यमन्त्रीको मोह भङ्ग भइसकेको छ। सूत्रले बताए अनुसार हिल टीएमसीबाट डा. छेत्री, जन आन्दोलन पार्टी र केही बोर्डका पदाधिकारीहरू विरुद्ध नकरात्मक रिपोर्टिङ गएको छ। जसको आधारमा नै युसुफ सिमिकलाई बोर्डको उपाध्यक्षबाट निष्कासन गरिएको हो। सूत्रले बताए अनुसार सिमिकलाई झैँ नोटिस कुनै पनि बोर्डको अझ दुईजनालाई आउन सक्ने सम्भावना छ।

सिमिकको निष्कासनपछि नै डा. छेत्रीले नर्थ बेङ्गाल डेभलोपमेन्ट बोर्डबाट राजिनामा दिने हल्ला चलेको थियो तर त्यसबेला उनले राजिनामा दिएनन्।

खबरम्यागजिनसित डा. छेत्रीले भने, ‘राजिनामा तयार छ, भोलि राज्यपालको हातमा थमाउनेछु।’

यद्धपि राजिनामाको कारण भने उनले खुलाइहालेका छैनन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन