साँच्चै कालेबुङले मिस् गऱ्यो

बी० पी० बजगाईं


त्यो आइतबार:

त्यो आइतबार ३० अप्रेलको दिन थियो| ‘खबरम्यागजिन डट कम’ –को लोकार्पण  कार्यक्रम सिद्धिएको थियो| मन पुष्पनको सामाजिक चेत बोकेको गीतहरूमा अल्झिएको थियो, कानमा अझै पनि सङ्गीतकार जीवनप्रकाश प्रधानको अघिको मेन्डोलिनको मिठो धून गुञ्जिरहेको थियो|

“आजको प्रोग्राम कालेबुङले मिस गऱ्यो है?”

पत्रकार मित्र प्रमोद गिरीको आवाजले म झसङ्ग हुन्छु, कार्यक्रमको मिठो यादबाट ब्यूँझेर हेर्दा हामी दुवै कालेबुङ टाउन हलबाट बाहिर निस्कँदै हुन्छौं|

आइतबारे चिन्तन:

केवल फेसबुके टिप्पणीले समाज बद्लिँदैन, राजनीतिको अन्धभक्तिले पनि समाज बद्लिँदैन| हाम्रो समाजलाई आज एउटा चौतारी चाहिएको छ जहाँ भिन्नभिन्न मत बोकेर उभिन सकौं, बाझाबाझ गर्न सकौं अनि ठोस निर्क्यौल निकाल्न सकौं| वैचारिक ठुँगाठुँग आफैभित्र गरौँ, घरको झगडा घरैभित्र मिलाउँ| अरूको घर बनाउन हाम्रो आँगन खनेर माटो नदिन आज हामीलाई आवश्यकता छ आफ्नै चौतारीको, आफ्नै बिसौनीको| यस कामको निम्ति आवश्यकता छ समाजका संवेदनशील मानिसहरूका सहभागिताको|

म आफैलाई अनुभव हुन्छ, हिजो सी के श्रेष्ठको सम्पादनमा निस्कने दैनिक ‘अब’ –को सम्पादकीयले बोकेका कुराहरू बोक्ने साहस गर्ने दैनिक पत्रिका आज हामीसँग छैनन्| त्यहाँ मैले निरन्तर गोर्खाल्याण्ड डायरी लेखेको थिएँ, आज निरन्तर रूपमा त्यस प्रकारको लेख छाप्ने साहस गर्ने अक्षर चौतारी हामीसँग छैन| हामी कतिदिन काठको खुट्टामा हिँड्नु? हामी कतिदिन काठको घोडामा हल्लिनु? काठलाई धमिरा लागेको दिन हाम्रो अस्तित्व के हुन्छ?

हामी फूल पनि मधेश कै रोज्छौं, घोडा पनि मधेश कै चढ्छौँ| हाम्रा नेताहरू भाषा पनि पो मधेश कै बोल्छन्| अरू कुरा के गर्नु हाम्रो बिसौनी र चौतारीहरू पनि मधेश कै रोज्छौं|

फेरी त्यो आइतबार:

स्थान कालेबुङको टाउन हल| एउटा ई-म्यागजिनको लोकार्पण कार्यक्रमलाई उत्साह दिन सित्तैमा कार्यक्रम गर्न दार्जीलिङबाट मेन्डोलिन, युकेलिली  र मेलोडिका बोकेर जीवनप्रकाश प्रधान, खरसाङबाट अकोस्टिक गिटार बोकेर आमोश मुखिया अनि गान्तोकबाट ईफेक्ट्स सहित काओन, मादल बोकेर  नरेन बर्देवा आए अनि डुवर्सबाट सित्तैमा कार्यक्रम गर्न आएका पुष्पन प्रधानका हाम्रो समाजसँग जोडिएका गीतहरूमा मन हल्लाउने सङ्गीत दिएर गए| मञ्चमा कालेबुङका कोही थिएनन्, तर हलमा सुन्ने कानहरू अधिक कालेबुङको हुनुपर्ने लाग्छ मलाई, तर त्यो दिन हल त्यस्तो थिएन| हलको अधिक भाग नै सिलगडी, डुवर्स, खरसाङ, दार्जीलिङका शुभचिन्तकहरूले भरिएको पाएँ|

कालेबुङ:

अहिलेसम्म मैले कालेबुङ भन्दा गर्व गर्दै आएको छु| त्यसका कारणहरु धेरै छन्| ती मध्ये प्रमुख कारण दार्जीलिङमा झैं यहाँ खरो औपनिवेशिक संस्कृतिले जन्म लिएन| ब्रिटिशकालमा यहाँ केही ब्रिटिश ऊनी व्यापारीहरूको चलखेल भयो तर सांस्कृतिक रूपमा कालेबुङ अक्षुण्ण नै रहन गयो| कालेबुङले चिया कमानका मालिकवर्गका कृपापात्र भएर बाँच्नु परेन, जसको कारण यहाँ पौरखी हातहरू धेरै जन्मिए| धेरै बर्ष कालेबुङको राजनैतिक केन्द्र दार्जीलिङ रहेको भएपनि यस भूभागले दार्जीलिङलाई धेरै उम्दा राजनैतिक नेताहरू प्रदान गऱ्यो|

अहिले आएर मनमा प्रश्न उभिन्छ, के अहिलेको कालेबुङमा पहिलेको सामाजिक-राजनैतिक गुणसूत्र रहेको छ?

किन जन्मिन्छ यस्तो प्रश्न?

सामाजिक परिवर्तनका मुख्य तीन कारण हुन्छन|

ती हुन्, (क) सामाजिक संरचनामा परिवर्तन

(ख) संस्कृतिमा परिवर्तन अनि

(ग) परिवर्तनको कारक।

सामाजिक संरचनामा परिवर्तन

आजको हाम्रो सामाजिक अनि राजनैतिक पाटोलाई मधेशले नियन्त्रण गरेको छ| मानिस घोर भौतिकवादी भएकोले यस्तो भएको हुनसक्छ| यस्तै गतिमा रहे भोलि गाउँमा मरौ-परौमा चाहिने समाज खोल्दा पदको चयन पनि हामीले कलकत्ताबाट सोधेर गर्ने दिन आउनसक्छ| विभिन्न बोर्ड र सहुलियतले हाम्रो गोर्खे एकता टुक्राएको छ| हाम्रो सामाजिक संरचनामा जुन परिवर्तन आएको छ त्यो पटक्कै जातिको हितमा छैन|

संस्कृतिमा परिवर्तन

संस्कृति भनेको केवल रिति-थिति अनि भेषभूषा र लोकबाजाहरूमात्र होइनन्| यो मान्छेको जिउने कला अनि सोच्ने तरिका पनि हो| अहिले हामीले एउटै जाति समुदायभित्र अलग अलग सोच राख्न थालेका छौं| आफुलाई अर्कोबाट फरक देख्न थालेका छौं| हाम्रो खस-किरातको सिङ्गो गोर्खे स्वरुप बद्लिएको छ| यो नकारात्मक सांस्कृतिक परिवर्तन हो|

परिवर्तनको कारक

माथि बताइएका दुवै परिवर्तनको कारक तत्व हामीभित्र निहित क्षुद्र लालच हो, अरू केही होइन| सामाजिक परिवर्तन एक विश्वव्यापी प्रक्रिया (Universal Process) हो तर परिवर्तन गुणात्मक (Qualitative) हुनुपर्छ| जाति टुक्रिनु, अति भौतिकवादी हुनु आदि पटक्कै गुणात्मक परिवर्तन होइन|

यी कुराहरूबाट जोगिन उपरोक्त तीनैवटा कारणहरूमा सकारात्मक परिवर्तन आएको हुनुपर्छ| अनि त्यस परिवर्तनको मुख्य कारक तत्व भनेको आफ्नो दुःख आफ्नै घरमा बिसाउने, सल्लाह गर्ने, चिन्तन गर्ने साझा चौतारी हो| कसले बनाउने साझा चौतारी? कसले भेला गर्ने सबै प्रकारका विचारहरूलाई एउटै मञ्चमा?

यस्तै परिस्थितिहरूले समाजमा आवश्यकता जन्माउँछ अनि त्यही आवश्यकताले खबरम्यागजिन डट कमहरू जन्मन्छन्|

कालेबुङले के मिस गऱ्यो?

यस्तो बेलामा देखापर्छ एउटा आव्हान, सबैलाई खुल्ला निम्तो ‘खबरम्यागेजिन डट कम’ –को| खबरम्यागेजिन डट कम, जहाँ हामी हाम्रा भिन्नभिन्न सोच-विचारहरूलाई विमर्शमा उभ्याउन सक्छौं, हाम्रो भलोको हामी नै कारक बन्न सक्छौं| म स्वयम् सिलगडी मधेशमा बस्छु तर मनमा सिङ्गो पहाड बोकेर बस्छु, जसरी पहाडमा धेरै हाम्राहरू मनमा सिङ्गो मधेश बोकेर बसेका छन्| मलाई पनि ‘मनोज बोगटी एण्ड टीम’ -ले कागजमा अथवा फोनमा निम्तो दिएको होइन| फेसबुक पढेर आएको हो म त्यसदिन कालेबुङ| आएको मात्र होइन अरुलाई आउने उत्साह पनि दिएको हो मैले| ‘यो कोद्वारा सञ्चालित हो,’ ‘यसको पछि को छ’ भनेर म पनि ‘मनोज बोगटी एण्ड टीम’ लाई शङ्का गर्न सक्नेथिएँ| तर काम गर्छु भन्नेलाई शङ्काको नजरले हेरिनुहुँदैन| उसलाई काम गर्न दिनुपर्छ, काम नजानेर बिगाऱ्यो भने माफ गर्नुपर्छ। जानीजानी बिगारे कठालोमा समात्नुपर्छ| यसैले त्यसदिन किन हो टाउन हलमा कालेबुङको उपस्थिति पहाडे समाजतन्त्रको निम्ति निराशाजनक थियो यद्धपी कालेबुङका धेरै कम साहित्यकार, बुद्धिजीवीहरू भने आएका थिए, सौहार्दपूर्ण वातावरण बनाउनमा उहाँहरूको योगदान अविष्मरणीय रहनेछ| यसैले जन्मन्छन् प्रश्न ‘के अहिलेको कालेबुङमा पहिलेको सामाजिक-राजनैतिक गुणसूत्र रहेको छ?’

त्यो आइतबार कालेबुङको ठुलो जमातसँग उभिन आएका थिए सिलगडी, डुवर्स, खरसाङ, दार्जीलिङका थुप्रै मनहरू| समाज विज्ञानको यस अध्यायले मन निकै गह्रौं बनायो|

बेलुकी मित्र डा० पुष्कर पराजुलीसँग सिलगडी फर्किंदा उनका मिठा गफहरूभित्र पनि अघिको घटनाले मनले कतै नरमाइलो मान्दै थियो| यसै कारण मैले पनि प्रमोद गिरीको टिप्पणीलाई दोहोऱ्याएर भनें, ‘साँच्चै कालेबुङले मिस गऱ्यो’….

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन