64 वर्षिय महिलासँगै कालेबुङ हाल्फ म्याराथानमा दौडिए धावकहरू, छनौट भएका छ जना मुम्बई म्याराथानमा जाने

कालेबुङ, 1 मई।

रन विद रोशनीद्वारा आयोजना गरिएको कालेबुङ हाल्फ म्याराथान भर्खरै मात्र शुरू भएको छ। कालेबुङको थाना डाँडा अघिल्तिरबाट शुरू भएको यस म्याराथानमा पुरूष अनि महिलावर्गमा गरेर कूल 1 सय 4 जनाले सहभागिता जनाएका छन्।

आगामी जनवरी महिनामा मुम्बई म्याराथानमा पुरूष अनि महिला दुवैवटा वर्गमा 3-3 जना प्रतियोगी पठाउन छनौट गर्ने मुख्य उद्देश्य लिएर नै रन विद रोशनीले यो म्याराथान आयोजना गरेको हो। “मुम्बई म्याराथान एसियाको सबैभन्दा ठूलो रोड रनिङ इभेन्ट हो। आज प्रथम, दोस्रो अनि तेस्रो स्थान ओगट्ने पुरूष अनि महिला वर्गका कूल छ जना प्रतियोगीहरूलाई हामी त्यहाँ लगेर सहभागी गराउँनेछौं। हाम्रो उद्देश्य हाम्रा धावकहरूलाई अन्तराष्ट्रीय साथै ओलम्पिकसम्म पुऱ्याउने रहेको छ”- म्याराथान आयोजनाको उद्देश्यबारे आयोजक पक्षबाट रोशनी राईले यसरी बताइन्।

म्याराथानमा स्थानीय लगायत देशका विभिन्न स्थानबाट पनि प्रतियोगीहरू सहभागी बन्न आएको जानकारी दिँदै तिनले विभिन्न सङ्घ-संस्थाहरूले पनि आफूहरूलाई सहयोग पुऱ्याइरहेको बताइन्। “हामी एकदमै खुशी छौं किनकी कालेबुङदेखि पेदोङसम्मका विभिन्न सङ्घ-संस्थाहरूले हामीलाई सहयोग गरिरहेको छ। दौडमा प्रतियोगीहरूको सहभागिताले पनि हामीलाई हर्षित बनाएको छ”- तिनले अझ बताइन्।

रोशनी राईले दिएको जानकारी अनुसार आजको दौडमा एकजना 64 वर्षिय महिलाले पनि अंशग्रहण गरेकी छन्। उनको सहभागिता सबैको निम्ति प्रेरणा रहेको तिनले थप बताएकी छन्। कालेबुङ थाना डाँडाबाट शुरू भएको उक्त म्याराथान पेदोङको खेल मैदानमा गएर समापन हुनेछ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया