जीटीए निर्वाचित बोर्डले चलाओस्ः माकपा

दार्जीलिङ, 1  मई: गोरामुमोपछि माकपाले पनि जीटीएलाई निर्वाचित सदस्यहरूद्वारा सञ्चालन गर्नुपर्ने माग उठायो। जसको लागि जीटीएको शीघ्र चुनाउ हुनुपर्ने पनि पार्टीले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर माग गरेको छ। लगभग 13 महीनापछि दार्जीलिङको चौकबजारमा माकपाको श्रमिक संगठन दार्जीलिङ जिल्ला चियाकमान मजदूर युनियनले मई दिवसको अवसर पारेर एक जनसभाको आयोजना गरेको थियो।

यसै जनसभालाई सम्बोधन गर्दै पार्टी नेता एवं पूर्व सांसद समन पाठकले दार्जीलिङ पहाड़मा अर्को व्यवस्था नहुञ्जेल जीटीएको चुनाउ गराइहाल्नुपर्ने माग गरे। ताकि दार्जीलिङ पहाड़मा गणतान्त्रिक परिवेश फर्किन सकोस्। यसै विषयमाथि जोड़ दिंदै पार्टीको वरिष्ठ नेता केबी वातरले पनि राज्यको सत्तारूढ़ दल तृणमूल कंग्रेसले पछिल्लो दैलोबाट भित्र पसेर जीटीए (गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन) चलाइरहेको आरोप लगाए। उनले भने-पछिल्लो दैलोबाट छिरेर तृणमूल कंग्रेसले जीटीए चलाइरहेको छ।

सरकारका प्रतिनिधिहरूले जीटीए सञ्चालन गरिरहेका छन्। जसको कारण जनताको आकांक्षा पूर्ण हुनसकेको छैन। यसैले दार्जीलिङ पहाड़को लागि अर्को व्यवस्था नआएसम्म जीटीएको चुनाउ गराएर निर्वाचित सदस्यहरूद्वारा जीटीएको सञ्चालन गर्नुपर्छ। जबसम्म जीटीए चल्छ, तबसम्म जीटीएलाई निर्वाचित बोर्डले चलाउनुपर्छ। यसका साथै उनले दार्जीलिङ पहाड़मा शीघ्र पञ्चायत चुनाउ पनि गराउनुपर्ने माग उठाए। यसै विषयमाथि जोड़ दिंदै पूर्व सासंद समन पाठकले पनि दार्जीलिङ पहाड़मा कालेबुङले जिल्ला अनि मिरिकले महकुमाको दर्जा पाएपछि पञ्चायत चुनाउ गराउन संवैधानिक अड्चनहरू भए पनि ती अड्चनहरूलाई शीघ्र समाधान गरी पहाड़मा पञ्चायतको चुनाउ गराउनुपर्छ भने। उनले भने-माकपाले दार्जीलिङ पहाड़मा आएर एउटा कुरा, सुकुना काटेपछि अर्को कुरा गर्दैन।

माकपले दार्जीलिङ पहाड़मा जे भन्छ, सिलगढ़ी, कलकत्ता अनि दिल्लीमा पनि त्यहीं भन्छ। माकपाले पहाड़का जनता वा गोर्खा जातिको भावनासित खेलवाड़ गरेको छैन अनि गर्दैन पनि। यसैले विगतमा पनि माकपा दार्जीलिङ पहाड़को लागि अलगै प्रशासनिक व्यवस्थाको पक्षमा थियो, अहिले पनि यसै माग र मुद्दाको पक्षमा छ। अब केन्द्र, राज्य सरकार र पहाड़का राजनैतिक पार्टीहरूमाझ यसको छिनाफाना हुनपर्छ। उनले राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीमाथि कटाक्ष प्रहार गर्दै भने-राज्यको सत्तारूढ़ दलले बंगालभरि दार्जीलिङ हाँसिरहेको छ भन्दै प्रचार गरिरहेको छ, तर यहाँका जनता कसरी हाँस्न बाध्य छन्, त्यसको सत्यता अर्कै छ। यसैबीच, उनले चियाश्रमिकहरूका लागि न्यूनत्तम रोजी ऐन लागू गर्ने सम्बन्धमा पार्टीको श्रमिक संगठनले वृहत्तर आन्दोलनको तयारी गरिरहेको पनि जनाए। स्मरण गराइन्छ, हिजो मात्रै गोरामुमोले पनि एक बैठकको आयोजना गरेर जीटीएलाई शीघ्र हटाएर संवैधानिक छैटौं अनुसूची लागू गर्नुपर्ने अनि दागोपापलाई पुनर्बहाल गर्नुपर्ने माग उठाएको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया