विद्यालयले पायो मान्यता, कम खर्चमा उत्कृष्ट शिक्षा दिने विद्यालयको प्रयास

बिजनबारी-कोलबोङ, 2 मई।

सञ्जय निरौला

आर्थिक रूपमा विपन्न परिवारका  नानीहरुले गुणस्तरीय शिक्षा पाउन सकुन् भन्ने उदेश्यले अर्गनाईजेशन अफ पुवर पिपल अपर्च्युनिटी (अप्पो ट्रस्ट) द्वारा गोक दुई ग्राम पञ्चायत अन्तर्गत कोलबोङमा सञ्चालित अप्पो इङग्लिस स्कूलले शुरुवात भएकै साल केन्द्रिय माध्यमिक शिक्षा बोर्ड अर्थात सी बी एस सी- अन्तर्गत छैटौं श्रेणीसम्म मान्यता पाएको छ।

स्कूलमा सम्पन्न सभामा यसको जानकारी  रिजनल डाइरेक्टर मिलन सुब्बाले दिएका छन्। आगामी दुई बर्षभित्रमा विद्यालयलाई अघि बडाएर  माध्यमिक साथै  उच्चतर माध्यमिक स्तरसम्म पुऱ्याउने आफूहरूको लक्ष्य रहेको  उनले बताएका छन्। सभालाई सम्बोधन गर्ने क्रममा उनले विद्यार्थीहरूलाई अघि बडाउन शिक्षकसँगै अभिभावकवर्गको पनि उत्तिकै हात रहने बताए। ट्रस्टका डाइरेक्टर बिमन भुजेलले पनि सभालाई सम्बोधन गर्दै शिक्षालाई व्यापारको  रूपमा मात्र नबनाएर कम्ती खर्चमा उत्कृष्ट शिक्षा प्रदान गर्ने उद्देश्य लिएर उक्त स्कूल शुरुवात गरेको बताए। समाजमा अझ पनि धेरै विपन्न नानीहरू शिक्षादेखि वञ्चित बन्न परिरहेको अनि यस स्थितिमा शिक्षालाई अझ महङ्गो बनाए विपन्न परिवारका नानीहरूले कसरी शिक्षा आर्जन गर्न सक्छन्? भन्ने प्रश्न पनि उनले गरे। विपन्न परिवारका दश जना नानीहरूलाई स्कूलमा निशुल्क शिक्षा दिने पहल आफूहरूले चालिसकेको जानकारी पनि उनले सभामा दिए।

गोक ख ग्राम पञ्चायत क्षेत्रमा हालसम्म एउटै पनि उच्च माध्यमिक विद्यालय नरहेकोले स्थानीय विद्यार्थी साथै अविभावकहरूलाई धेरै समस्या भइरहेको भए तापनि अबउसो उक्त विद्यालयले यस समस्यालाई पनि हटाएर लाने आशा आफूहरूले साँचेको अविभावकगणले बताएका छन्।

सभामा संस्थापक सदस्यहरु अम्बर बहादुर छेत्री,  भास्कर निरौला, निम छिरीङ लेप्चा,  दिल बहादुर गुरुङ लगायत व्यवस्थापन समितिकी  सचिव प्रमीला मङ्ग्राती, कोषाध्यक्ष पुनम देवान आदिको उपस्थिति रहेको थियो भने सभा पश्चात आफ्नो गाउँ आफै सफा बनाउँ भन्ने नाराको साथमा वरिपरिका नालाहरु सफाइ समेत गरिएको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया