गोरामुमोलाई गोजमुमोको चौतर्फी घेराउ: गोजमुमो चुनाउको लागि तयार छः सुरज

दार्जीलिङ, 2 मई: गोरामुमो प्रवक्ता निरज जिम्बालाई गोजमुमो केन्द्रिय समितिदेखि पार्टीका विभिन्न भ्रातृ संगठनहरू सबैले घेर्न थालेका छन् अनि गोरामुमोलाई दार्जीलिङ पहाड़मा अशान्तिको माहौल सृजना नगर्ने पनि अपील गरेका छन्। गोजमुमो केन्द्रिय समिति प्रवक्ता सुरज शर्माले गोरामुमो प्रवक्ता निरज जिम्बाले जीटीए हटाऊ, दागोपाप फर्काऊ भन्ने दिएको बयानको विरोध जनाउँदै भने-गोरामुमो प्रवक्ता निरज जिम्बाले गोजमुमोको जनसमर्थन खोज्दैछन्।

दार्जीलिङ पहाड़का तीनजना विधायक, तीनवटा नगरपालिकानै गोजमुमोको जनसमर्थन हो। तर दागोपाप फर्काइमाग्ने गोरामुमोको एकैजना नगरपार्षद पनि छैन। जीटीएमा गोजमुमो अध्यक्ष विनय तामाङलाई अध्यक्ष बनाएर राखिएको सम्बन्धमा गोरामुमोले जुन विरोध जनाएको छ, त्यो हाँसउठ्दो हो। गोरामुमोले अरूलाई गाली गर्नअघि आफ्नै इतिहास अध्ययन गरेको असल हुनेछ। किनभने, जीटीए गठन हुनअघि वा दागोपापको समय गोरामुमोका संस्थापक अध्यक्ष सुवास घिसिङलाई पनि सरकारले दागोपापमा 4 पल्ट मियाद बढ़ाइदिएकै हो। यदि गोरामुमोले दार्जीलिङ पहाड़मा जीटीएको चुनाउ होस् भन्ने चाहन्छ भने गोजमुमो त्यसको लागि पनि तयार छ। उनले राज्य सरकारले उपहारस्वरूप गोरामुमोलाई दिएको हिल एरिया डेवलपमेन्ट कमिटीको लागि 10 करोड़ रूपियाँ जीटीएमा पठाएको जानकारी गराउँदै भने-यो राशि लगेर गोरामुमोले जनताका कतिपय समस्या समाधान गर्न सक्नेछ।

तर यहाँ गोरामुमोले पहाड़लाई अशान्त बनाउने प्रयास गरिरहेको छ। दार्जीलिङ पहाड़ 104 दिनको बन्दपछि भर्खर मात्रै सामान्य स्थितिमा आइरहेको छ, पर्यटन मौसम शुरू भइसकेको छ, यस्तो अवस्थामा फेरि यहाँ गोरामुमोले आन्दोलनको धम्की दिएर पहाड़को स्थिति बिगार्ने प्रयास गरिरहेको छ। यसैले गोरामुमोले पहाड़लाई अशान्त बनाउने काम नगरेकोनै असल हुनेछ। यसरीनै गोरामुमो केन्द्रिय कार्यकारी सदस्य केशवराज पोखरेलले पनि गोरामुमोमाथि कटाक्ष प्रहार गर्दै गोरामुमोले पहाड़का जनतालाई दिग्भ्रमित पार्ने कार्य गरिरहेको आरोप लगाए। उनले भने-हिल एरिया डेवलपमेन्ट कमिटीसित हाम्रो कुनै सरोकार छैन भनेर बयान दिने गोरामुमोका अध्यक्ष मन घिसिङ र उनका साथी वा गोरामुमो केन्द्रिय समिति सदस्य अजय एड्वर्डले सिलगढ़ीको एउटा होटलमा भएको बैठकमा भाग लिएको के सत्य होइन? गोरामुमोले दागोपाप संवैधानिक हो भनेर पनि जनतालाई ढाँटिरहेको छ।

जीटीए जसरी असंवैधानिक हो, त्यसरीनै दागोपाप पनि असंवैधानिक हो। यदि कुनै व्यवस्थालाई संवैधानिक मान्यता दिलाउऩु हो भने त्यसको विधेयक लोकसभा र राज्यसभामा पारित भएको हुनपर्छ। यसैले जीटीए जसरी केन्द्र, राज्य र गोजामुमोमाझ सम्झौता भएर गठन गरिएको हो, त्यसरीनै सन् 1988-मा केन्द्र, राज्य सरकार र गोरामुमोमाझ सम्झौता भएर दोगापापको गठन गरिएको थियो। जसको लागि राष्ट्रपतिको अनुमोदन प्राप्त भएको थियो। गोरामुमो डिप्रेशनमा गएको कारणनै यस्ता कुराहरू गरिरहेको छ। यसैले जनताले सबै हरियो असल हुन्छ भन्ने भूल सोंच्नु हुँदैन, हरियो त लेऊ पनि हुन्छ, जुन लेऊमा चिप्लाएर पहिलानै 1200 जना मारिपठाएको छ। यसरीनै गोरामुमो प्रवक्ता निरज जिम्बाको खोइरो खन्दै गोजनामो दार्जीलिङ महकुमा समिति प्रवक्ता सपना छेत्री, गोजमुमो महकुमा समिति प्रवक्ता अरूण छेत्रीले पनि दार्जीलिङ पहाड़का जनतालाई गोरामुमोले 21 वर्ष ठगेको छ भन्ने आरोप लगाए। यसका साथै उनले गोजमुमो नेतृत्वावधीन जीटीएले कसैलाई नछुट्याइ सबैलाई समानरूपले शिक्षकको नियुक्ति प्रदान गरेको बताए।

 

फोटोः गोजमुमो प्रवक्ता सुरज सुब्बा र केशवराज पोखरेल।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया