खरसाङको गीतिगुञ्ज संगीत महाविद्यालयलाई नेपालको कलानिधि संगीत सम्मान् २०७४

खरसाङ, २ मई: खरसाङको गीतिगुञ्ज संगीत महाविद्यालयलाई नेपालको प्रतिष्ठित संगीत सम्मान् “पदमकृष्ण बाबाकुमारी कलानिधि संगीत सम्मान् २०७४” प्राप्त भएको छ। उक्त सम्मान गीतिगुञ्ज संगीत महाविद्यालयको प्राचार्य गोबिनसिंह घतानीले केही दिन अघि काठमाडौंमा ग्रहण गरेका हुन्। नेपालको काठमाडौँस्थित राष्ट्रिय नाचघर जमलमा आयोजित भव्य कार्यक्रममा उक्त सम्मान प्रदान गरिएको थियो। नेपालको पुरानो कलानिधि संगीत महाविद्यालयद्वारा आयोजित वार्षिकोत्सवमा खरसाङको नै पुरानो संगीत महाविद्यालयलाई शास्त्रीय संगीतको श्रीवृद्धिका लागि दिएको योगदानको कदर गर्दै उक्त सम्मान दिइएको छ।

पदमकृष्ण बाबाकुमारी कलानिधि संगीत सम्मान् २०७४ प्रदान गरिने कार्यक्रममा नेपाल राष्ट्रको सञ्चार राज्य मन्त्री बाँस्कोटा एवं वरिष्ठ साहित्यकार डा सत्यमोहन जोशीको बाहुलीबाट नगद राशि १०,०००(दश हजार) सहित अंगवस्त्र र ट्रफी प्रदान गरेर सम्मान गरिएको थियो। उक्त सम्मान गीतिगुञ्ज संगीत महाविद्यालयको प्राचार्य गोबिनसिंह घतानीले ग्रहण गर्दा गीतिगुञ्ज संगीत महाविद्यालयको विद्यार्थीहरु पनि उपस्थित थिए। यसरी गीतिगुञ्ज संगीत महाविद्यालयमा संगीत सिकेर नेपाललाई सांगीतिक कर्मथलो बनाएका कलाकारहरुले पनि नेपालमा मान्यता प्राप्त गरेको अनुभव गरेको प्राचार्य गोबिनसिंह घतानीले बताएका छन्।

खरसाङको पुरानो संगीत महाविद्यालय गीतिगुञ्जबाट संगीत सिकेर शिलाबहादुर मोक्तान, कुन्ती मोक्तान, बानिका प्रधान, जीवन राई, नर्बु शेर्पा, कैलाश राई, आनन्द राई, शरदा छेत्री, रजनी राई वर्तमान सम काठमाडौंमा नै बसेर संगीतको कार्यमा जुटेका छन्। यो संगीत महाविद्यालय सन् १९७६ मा स्थापना भएर विगत ४२ वर्षदेखि शास्त्रीय संगीतको शिक्षा प्रदान गर्दै आईरहेका छन्। यसावधि यसको शाखाहरु विभिन्न स्थानहरूमा स्थापना भएको छ भने विभिन्न सांगीतिक पुरस्कार र सम्मान पाएर धेरै उपलब्धीहरु पनि प्राप्त गरिसकेका छन्। यस संगीत महाविद्यालयले धेरै राम्रा गायक संगीतकारहरु जन्माईसकेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया