झोडाको पानी घरभित्र पसेको गुनासो, गुहार लगाए पनि अझसम्म कसैले गुनासो नसुनेको क्षेत्रवासीको दुखेसो

कालेबुङ, ४ मई।

“झोडाको पानीले घरको फाउण्डेसन त झरिसकेकै छ त्यहिँमाथि झोडा ब्लक भएको कारण पानी घरभित्र पसेर रातभरि सुत्न धरि सकेका छैनौं। हामीलाई यो झोडा अव्यवस्थित भएको कारण धेरै नै समस्या भइरहेको छ तर गुहार लगाए पनि न त विभाग न त नेताहरूले नै हाम्रो समस्या सुनिदिएका छन्।”

कालेबुङको डुङ्ग्रा ग्राम पञ्चायत अन्तर्गत रौसेको जम्बक झोडा अव्यवस्थित बनेको कारण समस्यामा परेका स्थानीय मानिसहरूले यस प्रकार गुनासो पोखेका छन्। स्थानीय टाँसी भोटीया, पवित्र लेप्चा, एडी लेप्चा आदिले आज झोडाको कारण आफूहरू ठूलो पानी आयो कि सुत्नै नसक्ने स्थिति भोग्न परिरहेको पीडा व्यक्त गरेका छन्।

स्थानीय मानिसहरूले बताएअनुसार रौसेको जम्बक झोडा अव्यवस्थित बनेको कारण कतिपय घरहरूलाई क्षति पुग्नसक्ने स्थिति उपार्जन भएको छ भने माथिबाट आएको मैलाको थाकले झोडा ब्लक भएर बाटोमा धरि हिड्नै नसक्ने स्थिति हुने गरेको छ। स्थानीय मानिसहरू स्वयंले झोडाको सफाई गर्ने गरेको भए तापनि माथिबाट बगेर आउने गरेको मैलाहरूको कारण झोडा बारम्बार ब्लक हुने गर्छ भने ब्लक भएपछि पानी कतिवटा घरभित्र पस्न पुगेको गाउँवासीको गुनासो छ।

“झोडाले मेरो अनि माथ्लो घरको फाउण्डेसन वाल झरिसकेको छ। तल्लो घरको मान्छेहरू त झन राती झोडाको पानी घरभित्र पसेकोले रातभरि सुत्न पनि सकेका छैनन्। झोडाले गर्दा हामीलाई धेरै दुख भइरहेको छ”- आफूहरूले भोग्न परिरहेको समस्याबारे पवित्र लेप्चाले यसरी बताइन्। स्थानीय टाँसी भोटीयाले पनि समस्याबारे बताउँदै भनिन्-“यो झोडामा माथि नगरपालिका क्षेत्रदेखिकै मैलाहरू बगेर आउँछ जसको कारण झोडा ब्लक भएर सम्पूर्ण मैलाहरू बाटोमा आउँछ। यहिँ बाटो भएर छिरीङ नर्सरी अनि जम्बोक स्कूलका नानीहरू जान्छन् उनीहरूलाई पनि बाटोमा आएको मैलाको कारण आवत-जावत गर्न धेरै असुविधा हुनेगर्छ। यसका साथै रेलीबाट आउने मानिसहरूलाई पनि बाटो ब्लक भएको कारण धेरै असुविधा हुनेगर्छ।”

“हामी आफैले गाउँमा मिलेर ब्लक भएको मैलाहरू धेरैचोटी उठाएर फ्याकेका छौं। सहयोगको निम्ति हामीले इरिगेसन डिपार्ट, ब्लक अफिसमा पनि लिखित अर्जी चडाइसकेका छौं। हालैमा जीटीए बोर्ड अफ एडमिनिष्ट्रेसन सदस्य सञ्चबीर सुब्बालाई पनि ज्ञापन दिइसकेका छौं”-स्थानीय एडी लेप्चाले बताए। आफूहरूले बारम्बार सम्बन्धित विभाग साथै नेतृवर्गलाई उक्त झोडा मरम्मती साथै व्यवस्थित बनाउन गुहार लगाएको भए तापनि आज पर्यन्त कुनै पक्षबाट पनि सहयोग प्राप्त नभएको बताउने स्थानीय मानिसहरूले यदि उक्त झोडालाई व्यवस्थित बनाइए आफूहरूको मात्र नभएर उक्त बाटो भएर आवत-जावत गर्ने विद्यार्थीवर्ग साथै जनसाधारणलाई पनि धेरै नै सुविधा पुग्ने बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares