लगन र परिश्रमका उदाहरण : रामजी शिवाकोटी

 

 

एन्टप हिल, मुम्बई – 37

आँट र साहस छ भने अनि परिश्रम र लगन छ भने मुम्बईले सबैलाई मौका दिन्छ। यसै भन्छन् 33 वर्षीय नेपाली ठिटा रामजी शिवाकोटी। झोलाजस्ता ससाना सरसामानलाई बेपारको आधार बनाएर आफ्नु खुट्टामा कसरी उभिनसकिन्छ भन्ने ज्वलन्त नमुनाका धनी हुन् यिनी।

भारतको बेपार नगरी मुम्बई। बेपार गर्नलाई नै अङ्ग्रेजहरू मुम्बई भित्रिएका थिए। यो क्रम आज पनी जारी छ। विदेसी अनि देसी सबै किसिमका मानिसहरू आज पनि मुम्बईमा बेपारको सिलसिलामा आउजाउ गर्छन् वा त यतै डेरा जमाएर बस्छन्। मुम्बईमा सजिलोसित बेपार किन फस्टाउँछ भने यहाँ सम्पर्कका माध्यमहरू धेरै छन्। सड़क मार्ग, हवाई मार्ग, रेलमार्ग, जलमार्ग, अटो, ट्याक्सी, घोड़ागाड़ी, साइकिल, जहाज, नौका इत्यादि। मसिना-मसिना यानवाहनहरू पनि बेपारकै धन्दामा व्यस्त हुन्छन्। सानु ट्याक्सी होस् वा बड़ेबड़े ट्रक र लरीहरू सबै नै दिनरात बेपारमा अल्झिरहेका हुन्छन्। प्रत्येक परिवारका हरदर सदस्यहरू बेपारमै लिप्त हुन्छन्। सारा भारतका मानिसहरू यहाँ बेपार गरिरहेका छन्। बिहार, युपी, बङ्गाल, दक्षिण, गुजरात, राजस्थान आदि स्थानका आमदेखि लिएर खास मानिसहरूले यहाँ सानादेखि लिएर ठुलाठुला बेपार धन्दा स्थापित गरेका छन्। यति मात्र हैन मुम्बईमा भारतबाहिरबाट आएर पनि धेरै परिश्रमीहरूले आफ्नो पौरख देखाएका छन्। यसैले मुम्बईलाई कमर्सियल टाउन भनिन्छ।

मानिसहरू पनि एकतरहले व्यापारिक नै भइसकेका छन् यहाँ। सानु कुरामा पनि पैसाको विषय निस्कन्छ। मानिसले संवेदनशीलता गुमाइसकेको छ यो ठाउँमा। हरेक कुरालाई पैसासित तौलिने गरिन्छ। महँगाइ पनि आकासै छुने छ। यसैले होला यहाँका मानिसहरू प्रत्येक कुरालाई पैसासित गाँस्छन् अनि आफ्नो आइस्तासित जोख्छन्। एकजनाले तीनचारवटा काम गरेर पैसा कमाउने गरेको पनि यहाँ देखिन्छ। मुम्बईमा धेरै नै कम यस्ता मानिसहरू भेटिन्छन् जो कुनै धन्दामा लिप्त नहोस्। स्कुल पढ़्नेदेखि लिएर कलेज पढ़ाउनेसम्म पनि अधिकतर मानिसहरू आफ्नो नोकरीदेखि बाहिर केही न केही काम गरिरहेकै पाइन्छन्। ठिटीहरू राती बारमा नाच्छन् अनि दिउँसो विद्या आर्जन गर्छन् यो ठाउँमा।

बेपार गर्नका लागि एकपल्ट पुग्नैपर्ने गन्तव्य हो मुम्बई महानगरी। गर्नेलाई जहीँ तहीँ भनेजस्तो मुम्बईमा लगन र सङ्घर्ष गर्ने क्षमता छ भने कसैले पनि आफ्नो भाग्य अज्माउन सक्दछ अनि परिश्रमको बलमा सफलता पनि प्राप्त गर्नसक्दछ। यस्तै एकजना उदाहरणीय युवाबारे आज चर्चा गरौँ। उनी हुन् रामजी शिवाकोटी।

साथी विकास दूतराजले एपोइन्टमेन्ट मिलाएपछि फोन गरेर 22 अप्रेलको साँझ 6 बजी चेम्बुर स्टेसन आइपुग्ने सल्लाह दिन्छन्। विकास पनि मिरा रोडबाट त्यहाँ पुग्छन्, म पनि सायन स्टेसनबाट पुग्छु। त्यसपछि फोनमा बाटो सोद्धैसोद्धै हामी पुग्छौँ चेम्बुर पश्चिमको काद्रिया नगर जहाँ शिवाकोटीज्यूको कारखाना अवस्थित छ।

नेपालीहरूले बेपार गर्नु भनेको एउटा अनौठो विषय हो। अनुपातको दरमा हेर्नु हो भने बेपारधन्दामा नेपालीहरू खुबै कम छौँ भन्दा हुन्छ भारतमा। तर यो व्यवसाय हाम्रो शत्रु भने कदापि होइन। चाहेको खण्डमा हामी यो धन्दामा पनि सिद्धहस्त बन्नसक्छौँ। मुम्बईमा यस्ता धेरै नेपालीभाषी व्यक्तिहरू छन् जसले बेपारलाई आफ्नो जीविकाको साधन बनाएर दिन गुणा रात चार गुणा प्रगति गर्दै आफ्नो परिचय कायम गरिसकेका छन्। यस्ता अन्य व्यक्तिहरूको परिचय भविष्यलाई साँचेर आज हामी बात गरौँ रामजी शिवाकोटीको।

तपाईँहरूले झोलाहरू देख्नुभएको छ। किसिमकिसिमका झोलाहरू हुन्छन् सामानहरू बोक्नलाई। हाते झोला, काँधे झोला, स्कुले झोला, कन्फरेन्स झोला, यात्रा झोला, बेपार झोला, लेडिज झोला इत्यादि। यात्रीहरूले आफ्नो सरसामान हालेर घिसार्दै हिँड़्ने यात्रीझोला देख्नुभएको छ। स्कुलेहरूले खाताकिताप खाँदेर काँधमा बोक्ने झोला पनि देख्नुभएकै छ। महिलाहरूले छड़के पारेर काँधदेखि कम्मरतिर भिरेको  झोला पनि देख्नुभएको छ। यस्ता झोलाहरूको फ्याक्र्टी अथवा कारखाना खोलेर मुम्बईमा आफ्नो बेपारलाई स्थापित गरिरहेका एक होनहार अनि परिश्रमी युवा हुन् रामजी शिवाकोटी। डेफोडिल्स इन्डस्ट्रिज नामले आफ्ना उत्पादनहरू तयार गर्ने शिवाकोटीज्यूको जन्म नेपालको जनकपुर अञ्चलको दोलखा जिल्लाको सुनखानी गाविस-मा भएको हो। टाटा, महिन्द्रा, एचडीएफसी जस्ता ठुल्ठुला कम्पनीहरूलाई आफ्नो माल ढुवानी गरेर आफ्नो अधीनमा 40-45 जनालाई नोकरी दिएर राख्ने शिवाकोटीज्यूको सङ्घर्षको कथा चुनौतीले भरिएको छ। आँट र साहस छ भने गर्न नसकिने केही छैन भन्ने उदाहरण उनको सङ्घर्षको कहानीले दिन्छ।

बालखै छँदा आमाको देहवासन भएको शिवाकोटीज्यूका पिताजीको आमदानी हुने कुनै व्यवसाय थिएन। परिवारका 3 छोरा र 2 छोरीहरूमा सबैभन्दा कान्छो शिवाकोटीका दाइले काठमान्डौँमा यस्तै ससाना झोलाहरू टोलटोल घुमेर बेच्ने गर्थे। यसरी हकरको रुपमा सामान बिक्री गर्ने दाइले बिस्तारै यस्ता सानासाना झोलाहरू बनाउन आफै सिके अनि आफ्नो सानु धन्दा बसाले। यिनै दाइबाट रामजी शिवाकोटीले पनि काम सिके यसै विधामा। तर उनको सपना थियो अलि ठुलो र नयाँ सहरमा पुगेर यो धन्दा सुरु गर्ने। साथीभाइले पनि भने भारतको मुम्बई नै यसको लागि उचित ठाउँ हो भनेर चम्काए। कलिलै उमेरका शिवाकोटीलाई लाग्यो मुम्बई पुगेर आफ्नो बेपार स्थापित गर्ने मन। तर मुम्बई त्यति सजिलो ठाउँ कहाँ हो र? यहाँ कस्ताकस्ताहरू जिरोबाट हिरो हुन्छन्, कस्ताकस्ताहरू हिरोबाट जिरो हुन्छन्। यस्तो अवस्थामा बेपारधन्दामा कमजोर रहेका हाम्राहरू टिक्नु त सपनाकै कुरो हुन्छ। लोक्कल रेलको धक्काधक्की सहन नसकेर दुइ दिनमा मुम्बई छोड़ी भाग्नेहरूको भिड़मा रामजी शिवाकोटीले पनि यस महानगरीमा आफ्नो भाग्य परीक्षाका लागि पाइला टेके सन् 2004-मा। कि गरी छाड़्यो कि मरिछाड़्यो भन्ने इरादा लिएर आएका शिवाकोटीले सानु काम पाए, तर दिनमा 15 घन्टा खट्नुपर्ने। ठिटौले उमेरका शिवाकोटीलाई सुरूमा यसरी खट्न गारो पऱ्यो। आँखाभरि सपना थियो केही न केही बन्नैपर्छ आफु भन्ने। नत्र त गाउँघरमा हाँसोको पात्र हुनुपर्ने स्थिति। साथीभाइले के भन्लान्…। नेपालमा आईए-को परीक्षा उत्तीर्ण गरेका शिवाकोटीलाई इच्छा त थियो नि कमर्समा स्नातक गर्ने तर शिक्षाको मार्ग उनको त्यहीँ रोकियो। सैद्धान्तिक रुपमा कमर्स ग्रेजुएट हुन नसके पनि उनी मुम्बई आएर व्यावहारिक रुपमा कमर्सियल ग्रेजुएट बन्दै गए त्यसपछि।

यसरी सानु धन्दा गर्दागर्दै उनले एकदिन मौका पाए प्रसिद्ध कम्पनी डकब्यागमा काम गर्ने। आफुले गरेको कामबाट अनुभव चाहिँ टपक्कै टिपिहाल्ने प्रवृत्तिका शिवाकोटीले यो कम्पनीमा काम गर्दा धेरै ज्ञान र व्यापारिक रणनीतिहरू सिक्ने मौका पाए। बेपारमा धेरै कठिनाइ छ, दिनदिनै प्रतियोगिता र प्रतिस्पर्धा बढ़्दो छ। बिक्रीको रणनीति चुनौतीपूर्ण छ। त्यसमाथि मुम्बईजस्तो व्यापारिक स्थानमा हामीजस्ता फुच्चे बेपारधन्दाका मानिसहरूलाई दोब्बर समस्या छ। दिनदिनै तकनिकी अग्रगतिमा बढ़िरहेको छ। सरकारी नियमकानुनहरूले बेपारीहरूको ढाड़ भाँचिरहेछ तरै पनि हरेस नखाई लड़्नुपरिरहेको छ आफ्नो भविष्यको निम्ति। मिहिनेत गरिरह्यौँ भने अवश्य नै काम फत्ते हुनेछ भन्ने शिवाकोटीज्यूको मूल दफ्तर चेम्बुरको देवनाथ, गोबान्दीमा रहेको छ। डकब्यागमा काम गरेपछि भने उनको व्यापारिक जीवनमा महत्त्वपूर्ण परिवर्तन आयो। यतिन्जेल कारिगरका रुपमा काम गर्ने शिवाकोटी त्यसपछि आफ्नै बेपारका मालिक बनेको रोमाञ्चक कथा छ। बिस्तारी बिस्तारी मार्केटिङ सुपरभाइजरसम्म बनेका शिवाकोटीको अघि एकदिन भाग्यले यौटा चुनौती दियो। भयो के भने, त्यसै कम्पनीका एकजना भेन्डरले यौटा गतिलो अर्डर पाएका थिए। ओएनजीसी कम्पनीले कम्ती समयमा 10 हजारवटा झोला बनाउने आदेश दिँदा कम्पनी र भेन्डरमाझ दाम मिलेन। साथी भेन्डरले यो अर्डर अस्विकार गर्दा शिवाकोटीले आँट गरे। यतिन्जेल कर्पोरेट स्तरमा काम सिकिसकेका, बेपार प्रबन्धनबारे अनुभव पनि बटुलिसकेका अनि नाफा-नोक्सानबारे पनि जानकार बनिसकेका शिवाकोटीले यो अर्डर आफ्नो थाप्लामा लिएर जुवा नै खेल्ने अठोट गरे। दुइचार पैसा पनि कमाइसकेका शिवाकोटीले 25 लाख रुपियाँको काम हातमा लिए। तर काम यति सजिलो थिएन। झोला उत्पादन गर्नअघि उनले आफ्नो कम्पनी पञ्जीकरण गराउनुपर्ने बाध्यता आइलाग्यो। रातारात गरेर उनले डेफोडिल्स इन्डस्ट्रिज भनेर कम्पनीको नामकरण गरे अनि त्यसैको ब्यानरमा आफ्नो जीवनको पहिलो उत्पादन आफ्नो परिचयको कम्पनी मार्फत् थाले। अनुभव र आँटको आधारमा उनी तय मितिभित्र कम्पनीलाई झोलाहरू आपूर्ति गर्न सक्षम बने। यो काममा आफ्नु हातमा 4-5 लाख रुपियाँ बसेको बताउँदै उनी भन्छन्, पैसा त त्यतिखेर ठुलो कुरो थिएन तर मलाई चाहिएको थियो यौटा प्लाटफार्म। आफ्नो बेपार थाल्नसक्ने क्षमता आफुसित छ भन्ने प्रमाणित गर्नु थियो। यसमा मैले सफलता प्राप्त गरेपछि मेरो बेपारले प्रगतिको बाटो समात्न थालेको हो।

यो कुरो हो सन् 2011 -को। यो दिन छ कि आजको दिन छ शिवाकोटीज्यूसित भारतका नामीनामी एकसयभन्दा धेर कम्पनीहरूसित बेपार चल्छ। राष्ट्रिय अनि अन्तर्राष्ट्रिय स्तरका सङ्गोष्ठी सम्मेलनतिर उनको कम्पनीको ट्याग रहेका ब्यागहरू प्रतिनिधिहरूले बोक्छन्। उनको बेपार मुम्बईमा मात्र हैन तर भारतभरि छरिएको छ। घरि कलकत्ता, घरि बङ्गलुरु, घरि दिल्ली, घरि सिलगड़ी, घरि सिक्किम गर्दै घुमिहिँड़्ने शिवाकोटी तर कट्टर रुपले बेपारी हैनन्। उनीभित्र आफ्नो जाति र समाजका लागि केही गर्नुपर्छ भन्ने ठुलो विचार छ। आफु बाँचुन्जेल समाजलाई केही दिन सकिएन भने यो जीवन बाँच्नुको कुनै औचित्य हुँदैन भन्ने उद्गार पोख्ने शिवाकोटी चाहन्छन् हाम्रा युवाहरू बेपारधन्दामा अघि आऊन्। सरकारी जागिरको सपना पन्छाएर उनीहरूले दक्षताका तालिम लिऊन्, शिल्प विकास गरून्। आफ्नो धन्दा बसालून्। आफ्नो खुट्टामा आफै उभिने प्रयास गरून्। मुम्बईमा नेपालीहरूको परिचय केवल अर्काको अधीनमा काम गर्ने भन्ने खालको छ अहिलेसम्म तर हामी आफै मालिक बनूँ यहाँ अनि आफुले अरूलाई काम दिनसक्ने बनूँ। हाम्रा युवाहरू अघि आऊन्, बेपारका कामहरू सिकून् भन्दै यस्ता कामका लागि अघि आउनचाहनेहरूलाई आफ्नोतर्फबाट यथासक्य सहयोग पुऱ्याउने मन पनि गर्छन् शिवाकोटी।

शिवाकोटी ब्रान्ड नामलाई प्रसिद्ध बनाउने सपना साँचेका रामजी नयाँ मुम्बईको बेलापुरमा बस्छन्। दुइ सालअघि मात्र हरियाणाको फरिदाबादकी नेपाली दुलही भित्र्याएर हालमा एक छोरीका पिता बनेका शिवाकोटी आफ्नो कार्यथलो चेम्बुरमा प्रतिदिन उपस्थित हुन आइपुग्छन्। हालैमा उनले यसै चेम्बुरको कमर्सियल स्थानमै यौटा ठुलो कोठा ग्रहण गरेका छन् जसमाथि उनी आफ्नो कम्पनी ठड़िएको हेर्न चाहन्छन्। शिवाकोटी ब्रान्डलाई उनी विश्वप्रसिद्ध बनाउन चाहन्छन्। अहिले पनि उनको कारखानामा एकनजर लगायौँ भने हामी देख्छौँ आईपीएल, महिन्द्रा, टाटा, एचडीएफसी लगायत विदेशी कम्पनीहरूको अर्डरस्वरुप तयार भइरहेका ब्यागहरू।

कुनै पनि कम्पनीबाट कम्तीमा पनि 200 -वटा झोलाहरूको आदेश लिने गरेको बताउँदै शिवाकोटी आफ्नो प्रगतिबारे भन्छन्, पार्टीलाई हामीले सन्तुष्टि दिन सक्नुपर्छ। टिकाउ माल दिनसक्नुपर्छ। बेपार भन्ने कुरा दीर्घमियादी हुनुपर्छ। दुइ पैसाको लोभले भविष्य बिगार्नु हुँदैन। कस्टमरलाई क्वालिटीको काम दिएर मन जित्नुपर्छ। पैसा ठुलो कुरो हैन दुनियाँमा तर आफ्नो व्यवहार हो। यसैले उपभोक्तालाई समयमा माल ढुवानी गर्न सक्नुपर्छ। आज आईपीएल-को अर्डर आएको छ तर यसलाई हामीले समयमा सर्वराह गर्न सकेनौँ भने त्यो सामानले कसिँगरको मोल पनि पाउँदैन र रद्दीको टोकरीमा जान्छ। यसैले चाहिएको समयमा आपूर्ति गर्नु अनि क्वालिटीको सामान आपूर्ति गर्नु नै बेपारमा आवश्यक तत्त्व हो।

हालमा आफ्ना सामानहरू काठमान्डौँ पनि निर्यात हुनथालेको बताउँदै उनी भन्छन्, अहिले इ-कमर्सको जमाना छ। सरसामानहरू पनि इ-वेबिलबाट पठाउनुपर्छ। दिनदिनै नयाँनयाँ चुनौतीहरू देखा पर्दैछन्। खटाइ धेरै छ अहिले। प्रतियोगिता छ चारैतिर। हामीले पनि चाँड़ै नै अनलाइन धन्दा थाल्ने सोच राखेका छौँ।

यति गर्दैगर्दै पनि हामीले आफ्नु सामाजिक बोधलाई पर सार्नुहुँदैन। मुम्बईमा विभिन्न कारणहरूले आउजाउ गर्ने नेपालीहरूका लागि दुइचार दिन बस्ने यौटा भनेजस्तो र सुबिधाजनक ठाउँको कमी छ। कामधन्दा गर्न आउने युवाहरूलाई मार्गदर्शन गराउने संस्था-समितिको कमी छ। यस्ता युवाहरूको सिपलाई विकसित गराएर हामीले उनीहरूलाई बेपारमा अघि आउने काममा सहयोग पुऱ्याउनुपर्छ। यस्तो कुनै यौटा समिति बनाएर हामीले युवाहरूलाई मद्दत पुऱ्याउनुपर्छ। यस्तो कामको लागि म सधैँ नै तयार छु भन्दै शिवाकोटीज्यू आफ्नो मनको भाव पोख्छन्।

बातचितको क्रम सिद्धिएपछि रात्रीको खाना यौटा हुटेलमा खाई हामी तीनै भाइ आआफ्नो रेल समात्न चेम्बुर स्टेसन पस्छौँ। केही बेरमा शिवाकोटीज्यूलाई बेलापुर अनि विकास र मलाई क्रमैले घाटकोपर र सायन लिएर जाने दुइवटा रेल सँगसँगै प्लाटफार्म नम्बर एक र दुइमा आउँछन् अनि हामी हात हल्लाउँदै हल्लाउँदै रातीको 11 बजी विदा हुन्छौँ भविष्यमा पनि फेरिफेरि भेटिरहने अनि मुम्बईको नेपाली समाजका लागि आफुले सक्ने केही सिर्जनात्मक काम गर्ने अठोट लिएर ताकि शिवाकोटीज्यूले सोचेको युवाहरूलाई मार्गदर्शन गराउने कुनै यौटा केन्द्र सुरू गर्नसकौँ अनि टाढ़ाटाढ़ाबाट आउने नेपाली अतिथिहरूका लागि यौटा बसेरा स्थापित गर्नसकौँ। यसरी हाम्रा मानिसहरूले मुम्बईमा आफ्नो बेपारधन्दा सुरू गर्न सकून् र बेपारको दिशामा पनि हामी कम छैनौँ भनेर हामीले आफ्नो नयाँ परिचय कायम गर्नसकौँ….।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया