बनिसकेको अर्काको घरअघि फोटो खिचाएर आफ्नो पैसा पदाधिकारीहरूले खाएको आरोप,  अझसम्म एक पैसा नपाएपछि जिल्लाअधिकारीसमक्ष गरिन् उजुरी

कालेबुङ, ७ मई।

“मलाई बोर्ड अन्तर्गत बनिएको अर्काको घरअघि उँभ्याएर फोटो खिच्यो। त्यतिबेला मलाई के थाहा मेरो नामको घरको पैसा खानलाई मलाई फोटो खिचाएको रहेछ भनेऱ। पछिबाट थाहा भयो मेरो नामको घरको निर्माण कार्य पूरा भइसकेको देखाएर पैसा अघिबाटै निकाली सकेको रहेछ तर मेरो घर भने अझसम्म बनिएकै छैन।”

कालिझोडा २० माईल निवासी बबिता दियालीले आज उक्त कुरा भनेकी हुन्। पश्चिम बङ्गाल कामी सांस्कृतिक तथा विकास बोर्डअन्तर्गत आफ्नो घर निर्माणको रकम अघिबाटै भुक्तान भइसकेको बताइए तापनि आफूले भने एक कञ्ची पनि नपाएको अनि आफ्नो घर जस्ताको तस्ते रहेको जनाउन कालेबुङ जिल्ला अधिकारी डा विश्वनाथसित भेट गरेपछि बबिता दियालीले उक्त कुरा भनेकी हुन्। “अर्काको घर अघाडी फोटो खिच्न लाउँदा मलाई के थाहा यस्तो हुन्छ भनेऱ। पछिबाट मात्र थाहा पाएँ मेरो घर निर्माणको पैसा त अघिबाटै निकालेर पनि खाइसकेको रहेछ”- बबिताले भनिन्। घर निर्माणको कार्य शुरू धरि नभएको अनि पुरानै घरमा बसिरहेकी बबिताले  आफ्नो घर निर्माण भइसकेको रिपोर्ट कसरी तयार भयो अनि घर निर्माण नभइकन नै त्यो पैसा कहाँ पुऱ्याइयो प्रश्न राखेकी छन्। बबिताले अझ भनिन्-“मलाई मेरो नामको घर बनाइदियोस् म यहिँ चाहन्छु।”

सिन्देबुङ बरबोट निवासी रीता रसाइलीले बताएअनुसार उनले पनि अहिलेसम्म घर निर्माणको निम्ति पहिले १० हजार अनि पछिबाट ४ हजार गरेर कूल १४ हजार बाहेक अरू रकम पाएकी छैनन्। फलस्वरूप उनको घर यत्तिका महिनासम्म पनि अधुरो नै छ। “बर्खा लागिसकेको छ, पुरानो घर चुहुन्छ यता नयाँ घर भने अधकल्चो नै छ”-उनले आफ्नो पिढा यसरी पोखाइन्। उनलाई पनि आफ्नो अधकल्चो घर यथाशीघ्र निर्माण होस् अनि पाउनपर्ने रहल रकम पावोस् भन्ने रहेको छ। उनले आजको भेटअवधि जिल्लाअधिकारीसमक्ष पनि सोही समस्या अनि माग राखेकी छन्।

यता बोर्डका सदस्य महेन्द्र गजमेरले आरोप लगाएअनुसार मुख्यमन्त्री ममता ब्यानर्जीले गरीब मानिसहरूको घर बनियोस् भन्ने हेतुले नै बोर्ड मार्फत् घर बनाउने योजना प्रदान गरेकी भए तापनि कामी विकास बोर्डका अध्यक्ष अनि उपाध्यक्षले भने कुनै पनि गरीबको घर राम्रोसित बनाएका छैनन्। “गरीबको निम्ति आएको योजना अन्तर्गत गरीबको काम पूरा गर्न सक्दैनन् भने अध्यक्ष अनि उपाध्यक्ष पदमा बसेर केहि फाइदा छैन”- गजमेरले भने।

बोर्डका सदस्य सुबोध खातीले आरोप लगाएअनुसार अहिले घडी बोर्डका अध्यक्ष तथा उपाध्यक्षले पीडित लाभार्थीहरूलाई धम्काउने कार्य गरिरहेका छन्। यद्यपि उनीहरूको धम्कीको परवाह नगरी सत्य कुरा लिएर अघि आइदिने आह्वान उनले पीडित कामी बोर्डका लाभार्थीहरूलाई गरेका छन्। “बोर्डका अध्यक्ष अनि उपाध्यक्षले जातिसित खेलवाड गरिरहेका छन्। घर नबनाइकन अर्काको घर अघि फोटो खिचाएर गरीबहरूको पैसा खाइरहेका छन्। गरीबको खुन-पसिना खाने यस्ता अध्यक्ष-उपाध्यक्षलाई पदबाट हटाइयोस् हामी माग गर्छौं”-सुबोध खातीले बताए।

अर्कोतिर जिल्ला अधिकारी डा विश्वनाथले कामी विकास बोर्डभित्र भइरहेको आरोप-प्रत्यारोपलाई लिएर छानबीन भइरहेको बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares