बोर्डमा धाँधली होइन घर डाइभर्ट गरेको उपाध्यक्षको स्पष्टिकरण, धाँधली गरेको प्रमाणित भए पदत्याग गर्ने

कालेबुङ, ८ मई।

पश्चिम बङ्गाल कामी विकास बोर्डभित्र व्यापक धाँधली भएको आरोपलाई खण्डन गर्दै बोर्डका उपाध्यक्ष यकिन लामिछानेले बोर्डभित्र धाँधली नभएको ठोकुवा गरेका छन्। धाँधली भएको भेट्टाइए पदत्याग गर्ने मन्तव्य पनि उनले आज प्रकट गरेका छन्।

कालिझोडाकी बबिता दियालीलाई अर्काको घर अघि उभ्याएर फोटो खिचाइएको कुरामाथि पनि उनले स्पष्टिकरण दिँदै उक्त समय छेवैको अर्का एकजना कामीको घरको अवस्था दयनीय रहेको कारण बबितासित सल्लाह गरेर उनको नाममा आएको राशिले अर्कोलाई घर निर्माण गरिदिएको अनि जसको घर बनाइएको छ उनको नाममा अहिले आएको राशिले बबिताको घर निर्माण गरिने उनले बताएका छन्।

“बबिता दियालीको नाम लिष्टमा छ, मैले नै सिग्नेचर गरेर ‘स्याङसन’ गरेको घर हो बबिता दियालीको। मैले पठाएपछि खरसाङ ब्लकले बबिताभन्दा ‘नीडि’ आइती लोहार जो हेण्डीक्याप हुन् उनलाई डाईभर्ट गरिदिएको रहेछ। समाज बसेर नै बबिताको घर अहिले राम्रै छ आइतीलाई दिउँ भनेर दिएको अनि भोली आइतीको घर बबिताकोमा जाँदैछ। यो त सानो कुरा हो, यसमा कुनै ठूलो कुरा जस्तो मलाई लाग्दैन। यसमा गैरकानूनी काम के गरेछ?”-उपाध्यक्ष लामिछानेले उल्टै प्रश्न राखे।

बोर्डमा यसरी एउटाको नाममा आएको घर अर्कोलाई बनाइदिने प्रावधान छ? भन्ने प्रश्न राख्दा उनले भने-“बोर्डमा कानून त कामीले बनाउँछ नी। कानून बनाउने त हामी छौं नी त, ग्याजेटमा छ, ग्याजेटमा त के-के छ छ त्यो। बेनेफिसरीको एकाण्टमा आएको पैसा हाल्दिनु, बेनिफिसरीले पाउनैपर्छ भनेर कुनै ग्याजेटमा छैन। ग्याजेटमा त घर आको पैसा त आफ्नो कल्चरल डेभलोपमेन्टको लागि चलाउनु भनेर पनि लेखेको छ, संस्कृति बचाउनु भनेर पनि लेखेको छ।”

बबितालाई यसै साताभित्र घर गराइदिने वचनवद्धता पनि लामिछानेले प्रकट गरेका छन्।  अर्कोतिर घर निर्माणको निम्ति सिन्देबुङ निवासी रीता रसाइलीले अहिलेसम्म 14 हजार मात्र पाएको कुरालाई लिएर भने आफू अनभिज्ञ रहेको अनि यसबारे आफूलाई कुनै लिखित जानकारी कसैले नदिएको उनले बताएका छन्। लाभार्थीहरू पनि सचेत बन्नुपर्ने सुझाव दिँदै उनले भने- “बेनिफिसरी पनि कन्सियस हुनुपर्छ। जब मीडियामा गएर बोल्नु उसलाई मुख लाग्दैछ, कालेबुङ आएर कम्प्लेन गर्न सक्दैछ भने कार्यालयमा किन आउन सक्दैन?”

बोर्डको खरसाङ ब्लक समितिका अध्यक्ष गुञ्जन रसाइलीले पनि बबिताको घर आइती लोहारलाई दिन अघि आपसी सहमति लिइएको दाबी गरेका छन्। उक्त समय आइती लोहारको घर बनाउन आवश्यक रहेको कारण नै उक्त निर्णय सबैको सहमतिमा लिइएको उनले बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares