बटरफ्लाई यात्रा : समयको धारलाई उल्टा चिर्दै बग्ने एक जिद्दी

बटरफ्लाई अनुभूति

बबिता मादेन (छेत्री)


रोङ्गोबाट फर्केकै दिन मैले लाइफ : अ बटरफ्लाई पढ़ी सिध्याए, भोलिपल्ट मनोजले इनबक्समा सोधे “मिसेस बुद्ध कथा कस्तो लाग्यो?” सोचेथेँ कुनै दिन कथाबारे विस्तारमा लेखौँला। तर बटरफ्लाईको ह्याङओभरबीच नै यात्राबारे अनि मनोज र कथाबारे पनि अलिकति लेखिहाल्न मन लाग्यो ।

त्यसो त म भीड़हरूबाट सधैँ अलग रहने गर्दछु, भनौं नै भने साहित्यका बौद्धिक जमातबीच आफैलाई सहज पनि पाउदिनँ। मभित्रको मेरो हिच्किचाहटले मलाई जबरजस्ती पछाड़ि तानेकै कारण कार्यक्रमतिर म कम्ति नै सामेल हुने गर्छु। तर जब मनोजले लाइफ : अ बटरफ्लाईको विमोचनमा रोङ्गो आउने निमन्त्रणा दिए, मैले नाई भन्न सकिनँ।

फेसबुकमा चिरपरिचित मुहार भएता पनि प्रथमपल्ट भेटेको आदरणीय दाजु, दिदी तथा प्यारो भाइहरूसँग 3.30 घण्टाको लामो यात्रा कसरी काटियो पत्तै भएन। उनीहरूको आत्मियता मेरो निम्ति सदा अमूल्य रहने नै छ। हामी पुग्दा कार्यक्रम शुरू भइसकेको थियो, कार्यक्रम अलिक फरक प्रकारले राखिएको रहेछ। त्यो फ्रेन्ड्ली वातावरणमा मैले असहज अनुभव गर्नु परेन। कवि मित्रहरूको सुन्दर कविता वाचनपश्चात् आमा र काकीको बाहुलीबाट पुस्तकको विमोचन गरियो।

त्यसपछि मनोजलाई खदार्पण गरेर बधाई दिनेहरूको ताँत लाग्यो, मैले घरबाट लगेको दुइवटा खदा आमा र काकीलाई लगाइदिए। त्यो दृश्य मेरो निम्ति साँच्चै भावपूर्ण थियो। भनिन्छ, आमाको दूध चुसेको ऋण सन्तानले दश जुनीमा मात्र चुक्ता गर्नु सक्छ। तर यस्तो लाग्यो कि मनोजले बाँकीको नौ जुनीको यात्रा पनि यसै जुनीमा पुरा गऱ्यो, एउटा आमाको निम्ति योभन्दा गौरवपूर्ण क्षण अरू हुनै सक्दैन। युद्ध जितेर फर्किएको छोरालाई छात्तिमा लगाउँदा पाएको शान्तिको आभास मैले आमाको आँखामा देखेँ।

आफैले पारेको रक्सीको धमिलो पानीमा एउटा सग्लो सपनाको बीउ कतिबेला अङ्कुरित हुँदै थिएछ योबाट सायद आमा पनि अनभिज्ञ थिइन् होला अनि प्रथमपल्ट मलाई यस कुराको बोध भयो कि बौद्धिक कारिगरीको डिग्री कुनै युनिभर्सिटीले दिनै सक्दैन। मान्छेमा भएको इच्छाशक्ति र लगनको अघि कस्तरी ठूला – ठूला डिग्रीहरू धराशयी हुँदा रहेछन्।

अनि मैले देखेँ दलगाउँको धुलोमा लुटुपुटु गर्दै हुर्किएको एउटा केटा, हातमा माध्यमिक तहको सर्टिफिकेट बोकेर समाजकै बौद्धिक जमातको अग्रिम पङ्क्तिमा खडा छन्। जबरजस्ती देखावटीको आवरण ओढ्ने मान्छेको भीडबाट मनोज अलग छन्। मैले मनोजलाई उनको कविताबाट चिनेकै होइन, राम्रो कवि हरे भन्ने सुनेको थिएँ।

पछि सोसल मीडियामा तत्कालीन षड्यन्त्रकारी, दमननीति सत्ताको मनमानी र राजनैतिक नेतृत्वहरूको दोगलापनमाथि जोश र साहसले भरिएको विचारहरू पढ़ेर म धेरै प्रभावित भएँ। मनोजले जब मलाई खबरम्यागजिनमा राजनैतिक लेख लेखिदिने आग्रह गरे दुई सेकेन्ड नसोची मैले हुन्छ भनिदिएँ।

परिवार त उनको पनि छ, समाजमा त उनी पनि बाँच्नुपर्छ, सत्ताकै मुहानबाट झरेको राजनैतिक धाराकै पानी उनले पनि पिउनु पर्छ तब त्यो अवस्थामा हाम्रो समाजका विशिष्ट/बौद्धिक जमातहरू हुलका हुल बाँधिएर सुरक्षित स्थान खोज्दै हिँडिरहेको बेला तत्कालीन आतङ्कलाई खुल्ला चुनौती दिँदै हिँड्ने प्राणीकै नाम चाहिँ मनोज बोगटी रहेछ – मैले मनोजलाई यसरी चिनेँ। समयको धारलाई उल्टा चिर्दै बग्ने जिद्दी पतिको पत्नी हुनु खेलाइँची कुरा होइन।

भक्तिमा म त्यो सहनशीलता र धैर्यपना स्पष्ट देख्न सक्छु। रोङ्गोको यात्रा जति सुन्दर थियो वाइट हाउसमा बिताएका पलहरू त्यति नै अविस्मरणीय छन्। भाइ अनिल, बहिनी सुमन र भक्तिले आतिथ्य सत्कारमा कुनै कसर छोडेनन्। स्वादिष्ट भोजनको निम्ति चुल्हामा खट्ने दाजु-भाइहरूप्रति आभारी छौँ।

छोटो समयमा वाइट हाउस होमस्टेले धेरै आत्मियता दिएर फेरि पनि रोङ्गो आउने तृष्णालाई आलै राखेको छ। लाइफ : अ बटरफ्लाईभित्र असामान्य केही छैन, असामान्य जस्तो लाग्ने सामान्य कुराहरूलाई जबरजस्ती कोचार्ने प्रयास पनि गरिएको छैन बरू माया गर्दै खुवाइदिने कोशिश गरिएको छ।

अब खाएर पाठकहरूलाई डाइजेस्ट हुन्छ हुन्न त्यो सबै पाठकको हातहातमा पुस्तक पुगेपछि मात्र थाह लाग्छ। अन्य विकसित समाजभित्र चिरपरिचित तर संस्कारको प्रतिमूर्ति देखावटी सभ्यताको खालभित्र बस्ने हाम्रो समाजभित्र कथामा नौलो प्रयोग ल्याएर कथाकारले एउटा चुनौती लिने जोखिम पनि उठाएका छन्। आफ्नो उन्मुक्त स्वभाव झै पात्रहरूलाई आजादी दिनमा कञ्जुस्याइँ गरिएको छैन, आठैवटा शीर्षकभित्र पात्रहरूलाई घुमाएर लघु उपन्यास पो हो कि भन्ने जस्तो भान पनि गराएका छ्न्।

शुरूबाटै कथाले पाठकहरूलाई बाँधिराख्न सक्छ। सानो-सानो विषय टिपेर कथाकार गहन प्रस्तुति दिन सफल भएका छ्न् र कथा पढ़िसकेर मलाई पनि भन्न मन लाग्यो साँच्चै लाइफ अ बटरफ्लाई।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares